क्रान्तिकारीका अध्यक्ष ढकालसहित नेताहरुलाई रिहा नगरे आठ विद्यार्थी संगठनले कडा आन्दोलन गर्ने

 
काठमाडौं : अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकाललगायतका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेपछि विभिन्न आठ विद्यार्थी संगठनहरुले आपत्ति जनाउदै थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिक र प्रकाश तिरुवालाई प्रहरीले सोमबार बौद्ध जोरपाटीबाट गिरफ्तार गरेको थियो । आठ विद्यार्थी संगठनहरुले सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पक्राउ गरिएकाहरुलाई बिनासर्त रिहाइको माग गरेका छन् ।
संयुक्त विज्ञप्तिमा राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही, नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतम, अनेरास्ववियुका सचिव पेशल दाहाल, समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष विवेक राई, अनेरास्ववियु (पाँचौं)का अध्यक्ष घनश्याम मिश्र, अखिल (क्रान्तिकारी)का संयोजक आलोक रायमाझी र राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । अध्यक्ष ढकालसहित पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई रिहा नगरिए आफूहरु कडा आन्दोलन उत्रिने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
यसैबिच अखिल क्रान्तिकारीका अध्यक्षसहित तीन विद्यार्थी नेता पक्राउ गरेको विरोधमा सोमबार साँझ देशभर मशाल जुलुस निकालिएको छ । अखिल (क्रान्तिकारी)को अगुवाईमा काठमाडौंमा विद्यार्थीहरु सडकमा निस्केर मशाल जुलुस निकालेका छन् । त्यसैगरी विद्यार्थीहरुले काठमाडौं, नवलपरासी, बुटवल, धनगढी, अछाम, महेन्द्रनगर, नेपालगंज, विरगंजलगायत देशभरी मशाल जुलुस निकालेका छन् ।
२०७५ जेठ २९ गते मंगलबार बिहान ८ : २५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :