जीवनका पाइला–२ : चित्रबहादुर आले

भकारी फोर विद्रोह

सर्लाही जिल्लामा भएका अनेकौँ जनसङ्घर्षमध्ये सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश प्रकाशबहादुर सिंहको भकारी फोर विद्रोह निकै चर्चित घटना थियो । पञ्चायतीकालमा बहालवाला न्यायाधीशको घर–गोदाम दिउँसै सयौँ भोकानाङ्गा जनताको सागरले कब्जा गर्नु सामान्य विषय थिएन । भावना, कार्यशैली, सङ्गठनात्मक प्रभाव र वैचारिक कोणबाटसमेत नमुना सङ्घर्ष थियो ।

२०३४ असार …. गते बरहथवा नपा …… (साबिक सुन्दरपुर चोहर्वा) का सामन्त (स्थायी बसोबास काठमाडौँ) तथा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशबहादुर सिंहको घरधन्सार स्थानीय जनताले कब्जा गरेका थिए । त्यस क्षेत्रमा उसको ५ सय बिघाभन्दा बढी जग्गा थियो । बुढी बागमती नामको खोला त्यहीँ भएर बग्दछ । त्यो खोलाको सबै पानी उसकै खेतमा सिँचाइ हुन्थ्यो । त्यो खोलाको पानीसमेत अरूले प्रयोग गर्न पाउन्नथे । त्यस वर्ष त्यस क्षेत्रमा ठूलो खडेरी प¥यो । त्यसवरपरका जनतालाई ६ महिना पनि खान पुग्दैनथ्यो । घरको अन्न सकियो । लामो खडेरीले मकै बाली सखाप भयो । धानको बीउ ब्याडमै सुक्यो । किसानको आम्दानी हुने नदेखिएपछि साहूमहाजनले ऋण पनि दिएनन् । गरिबहरू भोकभोकै मर्ने अवस्था आयो ।

सर्लाही जिल्लामा नेकपाको राम्रो प्रभाव थियो । जनतालाई राहत उपलब्ध कसरी गराउने भन्ने बहस पार्टीमा चल्न थाल्यो । खाद्यान्न कहाँकहाँ छ, खोजी हुन थाल्यो । त्यसक्रममा प्रकाशबहादुर न्यायाधीशको नाम अग्रपङ्क्तिमा आयो । उसको धन्सारमा प्रशस्त खाद्यान्न थुपारेर राखिएको थियो । उसले आवश्यक खाद्यान्न काठमाडौँ लग्थ्यो र धेरैजति भारतीय बजारमा बेच्थ्यो । त्यसकारण पार्टीले उक्त खाद्यान्न अर्थात् ‘लुटेर जम्मा गरेको, खोसेर लिने’ नीतिअनुसार कब्जा गरेर जनतालाई निःशुल्क बाँडिदिने पार्टी निर्णय भयो ।

त्यस दिन बिहान उज्यालो हुनासाथ सयौँ नरनारी बाँधटोलमा जम्मा भए । बुढी बागमती खोलामा सिँचाइका लागि परम्परागत बाँध बाँधेको थियो । त्यसवरपरको टोललाई ‘बाँधटोला’ भनिन्थ्यो । प्रहरी दमन गर्न आयो भने प्रतिरोध गर्न उद्धव पोखरेलको नेतृत्वमा युवा दस्ता तयार गरिएको थियो । हजार आसपास जनता जम्मा भएका थिए । धान, चामल, तेल, मसला, दाल, मकै, तोरी, आलस, खेसरी धनसारमा सबैथोक प्रशस्त थियो । एक दाना पनि नराखीकन जनताले बोकेर हिँडे ।

बरहथवामा सामन्तको ‘कामत’ अर्थात् रेखदेख गर्ने कार्यालय थियो । त्यसको प्रमुख व्यवस्थापक थियो । कार्यालय हातामा रहेको ठूलो बगैँचामा बँदेल र बाख्रा पाल्थे । त्यसबेला सर्लाही जिल्ला सेक्रेटरी चित्रबहादुर आले हुनुहुन्थ्यो । जनता आआफ्नो घरतिर गइसकेका थिए । विजयी सानसहित फर्किंदै गर्दा विद्रोही–युवाको समूह र प्रहरीको बीचमा बाँधटोला (बान्टोला) मा जम्काभेट हुन गयो । अस्थायी प्रहरीचौकी हजारिया र इलाका प्रहरीचौकी बरहथवाको संयुक्त प्रहरी समूहले बाँधटोलामा युवा लक्षित गोली चलायो । क. चित्रबहादुर आले त्यहीँ हुनुहुन्थ्यो । पञ्चायतको जिल्ला विकास समितिको क्षेत्रीय सदस्यसमेत रहेका पार्टी सहयोगी दिवाकर के.सी.ले ‘तिमी छिटो घेरा तोड, म त उसकै व्यवस्थाको मान्छे हुँ, लगे पनि छोड्छ । यताको म हेर्छु’ भनेपछि आले घटना स्थलबाट बाहिरिनुभयो ।

प्रहरीले दिवाकर के.सी., गोविन्द प्रसाईं, नाति राजासहित ८ जनालाई गिरफ्तार ग¥यो । गिरफ्तार गरेका सबैलाई डाँका मुद्दा लगायो । आलेलाई रघुनाथकाण्ड र नन्दलालकाण्डको समेत मुद्दा थपेर पेस गरेको थियो । प्रकाशकाण्डपछि आले पूर्णतः भूमिगत जानुभयो । त्यसअगाडि ‘खुला उठबस, गोप्य कामकाज’ उहाँको कार्यशैली थियो । त्यो घटनापछि सर्लाहीमा दर्जनौँ गिरफ्तार भए । झूट्टा मुद्दा लगाइयो । प्रहरीदमन तीव्र भयो । धेरैले घरबार छोडेर हिँड्नुप¥यो । प्रहरी आतङ्क चरम भयो ।

त्यसबेला क. ऋषि देवकोटा ‘आजाद’ नेकपाका केन्द्रीय सदस्य र जनकपुर (उदयपुर, सप्तरी, सिराहा, रौतहटसमेत) का ब्युरो इन्चार्ज थिए । उक्त घटनापछि असोजमा चित्रबहादुर आले र रामसिंह श्रीस नेकपाका केन्द्रीय सदस्य भए । खुबीराम आचार्य आँखाको समस्याका कारण काम गर्न सक्ने अवस्थामा थिएनन् । रिक्त स्थानमा उनीहरू थपिएका थिए । जिल्लास्तरका नेताहरूमा आलेबाहेक सबैजना गिरफ्तार भएका थिए । सुरक्षाको कारण केन्द्रीय समितिले २०३६ असोजपछि आलेलाई सिराहा जिल्लाको सेक्रेटरी बनाएर स्थानान्तरण ग¥यो । गिरफ्तार भएका जिल्लाका नेताहरू २०३६ सालमा जनमतसङ्ग्रह भएपछि रिहा भएका थिए । प्रकाशबहादुर काण्डपछि भएको प्रहरी दमनको प्रतिरोध नभएको, क. आजादबाहेक अरू नेताहरूमा प्रतिरोधको सोचाइ र योजनासमेत नभएको आलेको आरोप छ जसको कारण सङ्गठनात्मक क्षति भएको, सङ्गठनात्मक आधार खस्केको, जनमनोबल नउठेको आलेको बुझाइ छ ।

२०३६ सालमा पनि पञ्चायती व्यवस्थाका विरुद्ध त्यस क्षेत्रमा जनसङ्घर्षहरू भएका थिए । सोही क्रममा महोत्तरी, बर्दिबास नगरपालिका हाथीलेट गाउँ, ब्याङ्क खाडी बजारमा कृष्णबहादुर रानाको हत्या पञ्चायती सरकारले ग¥यो । शाही नेपाली सेनाले उक्त हत्याकाण्ड मच्चाएको थियो । हाथीलेटको सहिदस्तम्भ अहिले पनि पञ्चायती ज्यादतीको जिउँदो प्रमाण बनेर उभिएको छ ।

क. आलेलाई सिराहा स्थानान्तरण गर्नुको अर्को कारण पनि थियो । सिराहामा विश्वनाथ शाह र गिरिराजमणि पोखरेल एकातिर, विष्णुलाल तामाङ (बीएल) र काजीलाल (के एल) अर्कोतिर दुई गुटहरू थिए । साह जमिनदार पृष्ठभूमि र संस्कारबाट आएका थिए । पोखरेल विद्यार्थी (निम्न पुँजीपति) वर्ग र संस्कारका थिए । बीएल र केएल किसान समुदायका भुइँमान्छे थिए । वर्गस्रोतले पैदा गरेको अन्तर र रूपान्तरणको अभावले पार्टीमा पैदा गरेको समस्या समाधान गर्ने प्रयोजनको कारण सिराहामा आलेलाई पठाइएको थियो । क.आलेभन्दा अगाडि सिराहाका सेक्रेटरी दानी थापा थिए । आले त्यसबेला सर्लाही, महोत्तरीको जनसङ्घर्षको नेतृत्व गरेका युवा भएका कारण सर्वस्वीकृति भएको बीएलको भनाइ छ । त्यसैबीच २०४५ सालमा तराईका लोकप्रिय नेता जयगोविन्द साहको भारतमा निर्वासनकै समयमा निधन भयो । आले सिराहाको ४ वर्षसम्म लगातार नेतृत्वमा रहनुभयो । साहको निधनपछि स्थापित नेतृत्वको अभावमा तराईमा केन्द्रीकरणको थप समस्या पैदा भएको आलेको बुझाइ छ । सिराहा सेक्रेटरी भएर ४ वर्ष क्रियाशील भएपछि क. आले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्लाको पनि सेक्रेटरी हुनुभयो ।

क. आलेको थबाङ यात्रा

२०३४ सालमा सर्लाहीमा प्रकाशबहादुर सिंहको भकारी फोरेपछि भएको दमनपछि तत्कालीन पार्टी महामन्त्री मोहनविक्रम सिंह सोध्दैखोज्दै सर्लाही आए । किसानको भेषमा आलेलाई खोज्दै भेट्न सिंह सर्लाही पुगेका थिए । जुझारु मगर जातिबाट आएको कुनै युवालाई थबाङ पठाउन पाए राम्रो हुन्थ्यो भन्ने सोचाइमा मोहनविक्रम थिए । यता त्यसो गर्दा प्रहरीको सिकारी आँखाबाट आलेलाई बचाउन सकिन्थ्यो । गिरफ्तार भएका कतिपयले पार्टीको भेदलाई बचाउन सकिन्थ्यो । गिरफ्तार भएका कतिपयले पार्टीको भेद खोलिदिएको आशङ्का पनि गरिएको थियो । त्यसकारण पनि आलेको सुरक्षाको प्रश्न जटिल बनेको थियो । सिन्धुलीमा ऋषि देवकोटा आजाद र दुर्गा सुवेदी, झापामा सुखानी हत्याकाण्ड भएको भयानक त्रासद समय थियो त्यो । ‘तिमी मगर हौ । थबाङमा मगरबस्ती छ । त्यहाँ राम्रो आधार बनाउन सकिन्छ । तिमी गएर राम्रो हुन्छ’ पार्टी महामन्त्री मोहनविक्रमले भनेपछि क. आले २०३४ तिहारतिर ३ महिनाका लागि थबाङ स्थानान्तर भएर जानुभयो । २०७३ साल नेकपाको आठौँ महाधिवेशनको अवसरमा झन्डै ४० वर्षपछि थबाङ पुग्दा क. आले ती दिनहरू सम्झेर भावुक हुनुहुन्थ्यो । ‘टाट्नामा दिसा गर्थे । तल भुइँमा नखस्दै सुँगुरले दिसा खान्थे । जताततै फोहोर थियो । जाँड पनि अत्यधिक खान्थे । अहिले त धेरै विकास भएछ । फेरिएछ थबाङ’ उहाँ भन्नुहुन्छ । उसबेलाको थबाङको सकारात्मक पक्ष के थियो त ? यो प्रश्नमा आलेको भनाइ छ, ‘कम्युनिस्टप्रति आस्थावान् थिए’ सङ्गठित भावना थियो । मेहनती थिए । सहयोगी भावना थियो’ त्यो उसबेलाको धुमिल चित्र हो जतिबेला आजका वामपन्थी नेता सन्तोष बुढा विद्यालय जाँदै थिए ।

बर्मन बुढाले पूर्णकालीन कार्यकर्ता आलेलाई आफ्नो घरमा ‘पुत्ने छोरा’ बनाएर राखेका थिए । उसबेला थबाङमा प्रहरीचौकी, मोटरबाटो केही थिए । खोलाबाट गाग्रीमा पानी बोकेर खान्थे । खाम मगर भाषा नबुझ्ने क. आलेले तराईमा हुर्केको युवा मनतनलाई दुर्गम लेकमा अभ्यस्त गराउनुभयो । ‘एक छाक आलु, अर्को छाक गहँु वा मकैको आँटो दिन्थे । आलु थालमा दिने चलन थिएन । मान्द्रो वा सुकुलमा लगाईदिन्थे’, उहाँ हाँस्दै अतीत सम्झनुहुन्छ ।

मान्छेको जीवन पनि अनौठो हुँदो रहेछ । कयौँ दशकहरू झुसिल्कीरोझैँ बित्छन् । कयौँ पल मात्र पनि अविस्मरणीय हुँदा रहेछन् । थबाङमा सबैले जसरी आलेले साल वा भोर्लाको पातमा तमाखु बेरेर ‘थबाङ मेड’ बिँडी खानुहुन्थ्यो । भाङबाट चरेस बन्थ्यो । चरेस बेचेर पैसा कमाउने पनि थिए । एक दिन क. आलेले बिँडी खानासाथ उडेजसो, उचाल्दैपछार्दै गरेजस्तो, केके भयो ! बर्मन बुढालाई गुनासो गरेछन् । भुक्तभोगी बर्मन बुढाले ‘केटाहरूले बिठ्याइँ गरेछन् । तिमीलाई चरेस खुवाएछन् । पानी खाऊ, बिस्तारै ठीक हुन्छ’ भनेछन् । वाकवाकी लाग्दालाग्दै आलेलाई निद्रा लागेछ ।

तीन महिनापछि जनकपुर फर्केपछि सिराहा सेक्रेटरी भएर गए । क. ऋषि देवकोटाको नेतृत्वमा काम हुन्थ्यो । थबाङबाट फर्केपछि क.आले जनकपुर ब्युरो सेक्रेटरी भए । आजाद इन्चार्ज थिए ।

निर्मल लामासँग भेट

जीवनको उत्तराद्र्धमा निर्मल लामा र चित्रबहादुर आले निकट रहेर काम गरें । तर केन्द्रीय समितिको सदस्य बन्दासम्म आले र लामाको भेटघाट भएको थिएन । तर मोहनविक्रम सिंहसँग भने २०३२/३३ सालतिर सर्लाहीमै भेट भएको थियो । सिंह क.आलेलाई सोध्दैखोज्दै पैदलै हिँडेर आले निवास पुगेका थिए । उसबेला र अहिले समयलीला फरक छ । अहिले कार्यकर्ताले नेता खोज्दै हिँड्नुपर्छ, उसबेला कार्यकर्ता खोज्दै नेता घरघर चाहर्थे । आजाद पनि कार्यकर्ता खोज्दै, बटुल्दै रातभरि हिँड्थे ।

२०४० सालमा जलजलाकाण्ड लगायतको विषय उठाएर जयगोविन्द साहले मोहनविक्रम नेतृत्वमा क्रान्ति नहुने, उनले नेतृत्व छोड्नुपर्ने माग गरे । २०३१ सालको चौथो महाधिवेशन र २०२९ सालको ‘केन्द्रीय न्युक्लियस’ गठनदेखि केन्द्रीय नेतृत्वमा रहेका जयगोविन्द साहले राजीनामा दिए । साहको राजीनामा नै पार्टी फुटको कारण बन्यो । त्यसरी २०४० सालमा एकीकृत चौथो महाधिवेशनको धारा दुई समूहमा विभाजित भयो ः एउटा धारको नेतृत्व मोहनविक्रम सिंह र अर्को धारको नेतृत्व निर्मल लामाले गरे । निर्मल लामा पक्षमा जयगोविन्द साह, सूर्यनाथ यादव, नरबहादुर कर्माचार्य, दिलबहादुर श्रेष्ठ, चित्रबहादुर आले, देवेन्द्रलाल श्रेष्ठ (काइँला बा) लगायत थिए । मोहनविक्रमका पक्षमा मोहन वैद्य, रामसिंह श्रीस, भक्तबहादुर श्रेष्ठ, सीपी गजुरेललगायत थिए । निर्मल लामा समूहले पार्टीको नाम नेकपा (चौम) र मोहनविक्रमले नेकपा (मसाल) राखे ।

२०४२ सालमा मोहनविक्रम सिंहको नेतृत्वमा (मसाल) फेरि विभाजित भयो । त्यसपछि अल्पमत पक्षको नेतृत्व मोहनविक्रम सिंहले पार्टी नाम नेकपा (मसाल) राखेर गरे भने बहुमत पक्षको नेतृत्व मोहन वैद्य ‘किरण’ ले पार्टी नाम नेकपा (मशाल) राखेर गरे । २०३७ सालको जनमतसङ्ग्रह नेकपा (माले) ले बहिष्कार गरेको थियो । मोहनविक्रम सिंह नेतृत्वको नेकपाले भाग लिएर बहुदलीय व्यवस्थालाई मतदान गरेको थियो । तत्कालीन नेपाल मजदुर किसान सङ्गठनका अध्यक्ष नारायणमान विजुक्छे रोहितले पार्टीमा अल्पमत परे पनि जनमतसङ्ग्रहमा भाग लिने निर्णय गरे भने अर्का नेता रूपलाल विश्वकर्मा बहिष्कारका पक्षमा अडिक रहे । त्यसरी रोहित र रूपलाल विश्वकर्मा नेतृत्वका दुई समूह अस्तित्वमा आए ।

सिन्धुलीकाण्ड

तत्कालीन नेकपाको ‘आर्थिक कारबाही’ (मनी एक्सन) गर्ने नीति थियो । जनकपुर ब्युरोलाई त्यस्तो कारबाही गर्ने निर्देशन थियो । …….. सालमा त्यसको तयारी भयो । त्यसबेला ईश्वरी दाहाल असारे सिन्धुली सेक्रेटरी थिए । तर क.असारेलाई त्यसको जानकारी गराइएको थिएन । न त कुनै संलग्नता नै थियो । घटनालगत्तै सोही स्थानमा पुगेका क.असारे झन्डै पक्राउ परेका थिए ।

दुर्गा सुवेदीको नेतृत्वमा दलबहादुर रजनमगर, उद्धव पोखरेल, वेदबहादुर थापा, चेतबहादुर आले, अमृत ठकुरीलगायतको लडाकु टोली थियो । सुदखोर ………………. सुनुवार (राई) को घरमा आर्थिक कारबाही थियो । ३ वटा नलकटुवा बन्दुक, केही पटका र खुकुरी हतियार थिए । लडाकु टोली पुग्नासाथ सुदखोरले आत्मसमर्पण ग¥यो । ५० तोला चाँदी, २० तोला सुन लगेर दरभङ्गामा रहेका मोहनविक्रमलाई बुझाइएको थियो । महोत्तरी हाथीलेट डिपुटोलका बाबुराम रानाको घरमा १ महिना राखेर नेतृत्वसम्म बुझाएको चित्रबहादुर आले बताउनुहुन्छ । पार्टी मुख्यालयका तर्फबाट जयगोविन्द साहले जनकपुर क्षेत्रको नेतृत्व गर्थे । कब्जा गरिएको सामान बुझाउन दरभङ्गा बाबुराम राना र चित्रबहादुर आले नै गएका थिए ।

सिन्धुलीको उक्त ‘मनी एक्सन’ लाई शतप्रतिशत सफल कारबाही मानिन्छ । सुदखोर …………… दनुवार उजुरी गर्न प्रहरीसमक्ष नगएको बुझिन्छ । न त प्रहरी प्रशासनले त्यसको सुइँको नै पायो । मरिन इलाकामा भएको उक्त कारबाही दुर्गम र आदिवासीमाथि भएको कारण पनि चर्चा कम भएको हुनसक्ने नेता आलेको अनुमान छ । सो कारबाही क.आलेको नेतृत्वमा भएको थियो ।

तत्कालीन सिन्धुली सेक्रेटरी ईश्वरीप्रसाद दाहाल ‘असारे’ घटनालगत्तै मरिन इलाका पुगेछन् । एउटा घरमा साँझमा बास लिन पुगे । गाउँले घिरिप्प जम्मा भई बाँधेर प्रहरीको जिम्मा लगाउने तयारी गरेछन् । पार्टी हो कि डाँका… अनेक धम्की, गाली भएछ । क.असारेले ‘मलाई प्रहरीसमक्ष बुझाउन सक्छौ । आज म एक्लो छु । तर हाम्रो पार्टीले बदला लिन्छ’ भनेपछ केही नगरी छोडेछन् । उनी अलि पर बारीमा मकैको ढोंड थुपारेको स्थानमा घुस्रेर रात कटाएछन् । सेक्रेटरीले आफ्नो जिल्लाको घटना थाहा नपाएर झन्डै धरापमा परेको रोचक प्रसङ्ग सिन्धुलीकाण्डसँग जोडिएको छ ।
क्रमश ……
२०७५ जेठ २८ गते सोमबार अपरान्ह ४ : ५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :