सरकारलाई नकच्चरो रोग लाग्यो – शर्मा / सरकारलाई अल्जाइमर रोग लाग्यो – दीक्षित

काठमाडाैं : सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारी स्तरबाट भएका मानवअधिकार उलङघन लगायतका विषयप्रति टिप्पणी गर्दै सरकारमा हुदा सवै ठिक देख्ने तर सत्ता बाहिर भएपछि सबै गलत देख्ने बर्तमान सरकारलाई नकच्चरो रोग लागेको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा राष्ट्रिय जनअधिकार सरोकार अभियान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भने–‘नेताहरु सरकारबाहिर हुँदा सबैकुरा गलत देख्छन तर तिनै सरकारमा पुगेपछि सबै सहि देख्छन् ।’
सोही कार्यक्रममा बोल्दै नागरिक समाजका वरिष्ठ अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारलाई अल्जाइमर रोग लागेको बताए । उनले मानवअधिकार उल्लंघन गर्दा पतन हुनुपरेको इतिहास नबिर्सन सत्तासिनहरुलाई चेतावनी दिए । यस्तै नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले लोकतान्त्रिक भनिने सरकारले यो स्तरको मानवअधिकार उल्लंघन गर्ला भनेर आफुले कल्पनै नगरेको बताए ।

राष्ट्रिय जनअधिकार सरोकार अभियान, नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले ‘वर्तमान राजनीतिक व्यवस्थामा मानव अधिकारको अवस्था विषयक कार्यपत्र’ प्रस्तुत गर्दै यतिबेला नेपालको राजनीति संसदवादी शक्तिहरु र कम्युनिस्टबीचमा विचारधारात्मक लडाइँ भइरहेको र त्यस क्रममा राज्यले मानव अधिकारको व्यापक उलंघन गरिरहेको आरोप लगाए ।

कार्यक्रममा प्रदेश नं. १ का वरिष्ठ अधिवक्ता तथा महान्यायधिवक्ता चुडामणि आचार्य, नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउने, महिला नेतृ मनु अछामी, सुनसरीका पत्रकार लम्जेल संघर्षशील, तत्कालीन एमालेका पूर्व सभासद् ऋषी पोखरेल, जनयुद्धकी घाइते गीता शर्मा, बेपत्ता योद्धाको तर्फबाट नवराज ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।

पत्रकार लम्जेल संघर्षशीलले केही समय पहिले आफूलाई सुनसरी प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगसमक्ष उजुरी दिएका थिए । कार्यक्रममा शिक्षक संगठनका नेता तथा बुद्धिजीवी विकास न्यौपानेले मोरङमा प्रहरी प्रशासनले गरेको ज्यादतीपूर्ण क्रियाकलापको फेहरिस्त विवरण राख्दा सभाकक्ष स्तब्ध भएको थियो ।

कार्यक्रममा संगठनका सचिव तथा अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले उद्घोषण, पूर्व राज्यमन्त्री तथा संगठनका उपाध्यक्ष देवबहादुर पौडेलले स्वागत मन्तव्य र संगठनका सदस्य तथा पूर्व सभासद् वाङछे शेर्पाले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्ति, स्थानीय संचारकर्मी र जनताको ब्यापक सहभागी थियो ।

२०७५ जेठ २५ गते शुक्रबार अपरान्ह ६ : ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :