दार्चुलामा सडक निर्माण अलपत्र

काठमाडौं : त्रिदेशीय सीमाक्षेत्र तिंकर नाका जोड्ने दार्चुला तिंकर सडक निर्माणका लागि तीन वर्षदेखि विस्फोटक पदार्थको अभाव देखिएको छ । प्रदेश ७ को रणनीतिक महत्वको यस निर्माणाधीन सडकका लागि नेपाली सेनाले सम्झौताअनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्दा निर्माण कार्य प्रभावित बनेको हो ।
महाकाली करिडोर अन्तरगतको दार्चुला–तिंकर सडकखण्ड निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थको व्यवस्थापन गर्न नेपाली सेनासँग सम्झौता भएकोमा सम्झौता अनुसार विस्फोटक पदार्थ उपलब्ध हुन नसकेको दार्चुला तिंकर सडक योजनाले जनाएको छ । पटकपटक पत्राचार गरी विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनालाई अनुरोध गरिएको दार्चुला तिंकर सडक आयोजनाले जनाएको छ ।

०७२ वैशाख १२ को भूकम्पपछि काठमाडौंको स्वयम्भूमा उत्पादन हुने विस्फोटक पदार्थ आपूर्तिमा समस्या भएकाले सडक निर्माण कार्य प्रभावित बनेको दार्चुला तिंकर सडक योजनाका सूचना अधिकारी दिनेश रैखोलाले बताए ।

पूर्व सम्झौताअनुसार नेपाली सेनाले आवश्यक मात्रामा विस्फोटक पदार्थ आपूर्ति गर्न नसकेको उनको भनाइ छ । कडा चट्टानी भूबनोटका कारण तिंकर सडक निर्माणमा विस्फोटक पदार्थ प्रयोग गर्नुको विकल्प छैन । उत्पादन कम भएकाले विस्फोटक पदार्थ उपलब्ध गराउन नसकिने जानकारी नेपाली सेनाबाट आएको समेत योजनाले जनाएको छ ।

२०७५ जेठ २५ गते शुक्रबार अपरान्ह ५ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :