विवादित अरुण ३ परियोजनामा सतलजले कसरी काम गर्ला

अम्बिका चन्द / काठमाडौं : सर्वाधिक विवाद र बहस हुँदै आएको अरुण ३ जलविद्युत् परियोजनाको निर्माणकार्य निकै कठिन हुने देखिएको छ । उक्त परियोजना निर्माणका लागि नेपाल सरकारसँग सम्झौता गरेको सतलजलाई नेकपाले तुरुन्त आयोजनाबाट हात झिक्न दिएको चेतावनी सतलजलाई मुख्य चुनौती बनेको छ । भारत सरकारको स्वामित्वमा रहेको उक्त निजी कम्पनी सतलजले परियोजना निर्माण गर्नेबारे २०६४ फागुन १९ गते नेपाल सरकारको आधिकारिक निकायसँग सम्झौता गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा उक्त जलविद्युत् परियोजना उद्घाटनसमेत गरिएको थियो तर उक्त परियोजनाको जिम्मा लिएको भारतीय कम्पनी सतलजले निर्माणप्रक्रियाबाट हात नझिके उक्त आयोजनाको काम अघि बढ्न नसक्ने देखिएको छ ।

नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा परियोजनाले अटेर गरे उसको पूरै लगानी डुब्ने कडा चेतावनी दिइएको छ । सङ्खुवासभाको खाँदबारीमा रहेको उक्त जलविद्युत् परियोजना देशको सबैभन्दा कम लगानीमा निर्माण हुने परियोजना हो । नेपालले आफैँ निर्माण गर्नसक्ने उक्त परियोजना ९०० मेगावाट क्षमताको हो । यसबाट ४ अर्ब २ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजना विकास सम्झौता (पीडीए) अनुसार नेपालले कुल उत्पादनको करिब ११ प्रतिशत अर्थात् ८८ करोड युनिट मात्र बिजुली पाउनेछ । बाँकी सबै भारत निकासी हुनेछ । निकै कम लागतमा धेरै बिजुली उत्पादन हुने आयोजना लामो विवाद र बहसपछि अन्त्यमा चोरबाटो हुँदै भारतीय कम्पनीको हातमा पुगेको हो ।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि आफ्ना प्रभुलाई रिझाउन सुनको अन्डा मानिने उक्त परियोजना भारतलाई सुम्पेको जलस्रोतविद्हरू बताउँछन् । यस सम्बन्धमा संसद्मा समेत कुनै जानकारी नै दिइएको छैन । यो परियोेजना नेपालले नै बनाएमा नेपालीले रोजगारी पनि पाउने र नेपाली अर्थतन्त्रमा ठूलो टेवा पुग्ने थियो । तर सहमतिअनुसार २५ वर्षपछि मात्र उक्त परियोजना नेपालको स्वामित्वमा आउनेछ । त्यो अवधिको निकै ठूलो परिमाणको विद्युत् भारतले दोहन गर्नेछ । त्यतिबेलासम्म उक्त परियोजनाको भौतिक संरचना थोत्रो भइसक्नेछ । यस्तै भारतले आफ्नो अनुकूल हुने गरी परियोजनाको सबस्टेसन बिहारमा बनाउने भनेको छ । बिहारमा सबस्टेसन बनाएपछि नेपालीले रोजगार पाउने छैनन्, भारतीयले रोजगार पाउनेछन् । उक्त परियोजना नेपाल आफैँले बनाएको भए बिदेसिने युवाहरूले रोजगार पाउने थिए ।

२०२२ सम्म निर्माण पूरा गर्नुपर्ने भनिएको छ तर उक्त परियोजनालाई लिएर भारत र भारतीय कम्पनीप्रति जनमत बढ्दै गएमा भारतलाई ठूलो क्षति पुग्ने हुँदा सतलजले समयमै विचार गरे राम्रो हुने सरोकारवालाहरूको भनाइ छ । उक्त परियोजना नेपालले नै बनाउनुपर्दछ भन्ने पक्षमा लगातार सङ्घर्ष गर्दै आइरहेको नेकपाले स्पस्ट रूपमै भनेको छ, ‘अरुण ३ जस्ता आयोजनाहरू आन्तरिक खपतका लागि आन्तरिक पुुँजी परिचालन गरेर नेपालले निर्माण गर्नुपर्दछ । त्यसमा सर्वसाधारणले सेयर लगानी गर्न पाउनुपर्छ । चोरबाटोबाट नवऔपनिवेशिक शैलीमा भारतीय कम्पनीलाई सुम्पिएको छ । भारतीय कम्पनी सतलजलाई अरुण ३ बाट हात झिकेर र्फकन आग्रह गरेका छौँ । अन्यथा उसको ठूलो लगानी डुब्नेछ ।’

२०७५ जेठ २४ गते बिहीबार १२ : ५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :