आठौँ महाधिवेशन र कम्युनिस्ट कार्यभार : प्रकाण्ड, प्रवक्ता, नेकपा

हाम्रो पार्टीको महान् एवम् ऐतिहासिक आठौँ महाधिवेशन सम्पन्न भएको छ । हजारौँ पार्टी सदस्य र कार्यकर्ता भएको पार्टीको महाधिवेशन देश–विदेशबाट सहभागी भएका कार्यकर्ता र हजारौँ जनताको उपस्थितिमा काठमाडौँको खुलामञ्चमा पार्टी महासचिव क. विप्लवद्वारा आगामी फागुन १ गते उद्घाटन भएको थियो । विश्व राजनीति विशेषतः नेपाली राजनीतिको केन्द्र भागमा हाम्रो पार्टीको आठौँ महाधिवेशन रह्यो । नेपालको क्रान्तिकारी कम्युनिस्ट पार्टी र आन्दोलनको यो महान् महाधिवेशनको आयोजक एवम् सम्पन्नकर्ताको ऐतिहासिक जिम्मेवारी हाम्रो पार्टीको काँधमा आउँदा पार्टी गौरवान्वित भएको छ । हाम्रो पार्टी र नेतृत्वलाई यो ऐतिहासिक अवसर प्रदान गर्ने नेपाली सर्वहारा श्रमजीवीवर्ग एवम् नेपाल राष्ट्रप्रति पार्टी स–गौरव हार्दिक आभार व्यक्त गर्दछ । राष्ट्र र जनताको मुक्ति गरिछाड्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

हाम्रो पार्टी नेपालको कम्युनिस्ट पार्टी हो । कम्युनिस्ट पार्टी हुनुले नेपालको सर्वहारा क्रान्तिलाई सम्पन्न गर्नु यसको पहिलो कर्तव्य हो । नेपालीक्रान्ति विश्व सर्वहाराक्रान्तिको एउटा अङ्ग हो । हाम्रो पार्टी कम्युनिस्ट अन्तर्राष्ट्रिय वा विश्व कम्युनिस्ट पार्टीको नेपाली शाखा हो । यसर्थ, हाम्रो पार्टी र क्रान्तिको सम्बन्ध एवम् जिम्मेवारी विश्व सर्वहाराक्रान्तिका साथै, कम्युनिस्ट अन्तर्राष्ट्रियसँग अभिन्न रूपले गाँसिएको छ । विश्व सर्वहारावर्गको यो गहन दायित्व नेपालीक्रान्तिमार्फत पूरा गर्न हाम्रो पार्टीले आठौँ महाधिवेशनद्वारा नेपाली श्रमजीवीवर्ग, राष्ट्रिय मुक्तिका पक्षधर राष्ट्रवादीहरू र नेपालका क्रान्तिकारी कम्युनिस्टहरूमा व्यापक रूपमा रहेको जिज्ञासा मेटाइदिएको छ । यसको अभिव्यक्ति प्रत्यक्ष वा परोक्ष रूपमा राष्ट्रिय राजनीति र नेपाली समाजमा भइराखेकै छ । यो सरोकार नेपालीक्रान्ति, राष्ट्रिय मुक्ति, नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको निम्ति असाध्यै गहन, जिम्मेवारीबोध र सदाकाङ्क्षाको उच्च अभिव्यक्ति हो । हाम्रो पार्टीले यसको पूराका पूरा सम्मान गर्छ । अर्कोतिर साम्राज्यवाद एवम् विस्तारवाद, देशको दलाल पुँजीपतिवर्ग, त्यसको दलाल सत्ता र सत्ताका सञ्चालकहरू नेपालीक्रान्ति र हाम्रो महाधिवेशनका विरुद्ध हात धोएर लागेका पनि छन् । यसको जवाफ हाम्रो महाधिवेशन, नेपाली क्रान्ति र नेपाली जनताले उचित ढङ्गले दिएको छ ।

अहिलेको विश्व, सत्ता राजनीतिको दृष्टिले पुँजीपतिवर्गको पुँजीवादी सत्ता वा साम्राज्यवादी सत्ता सञ्चालन भइराखेको विश्व हो; जुन अवैज्ञानिक, शोषणकारी, विभेदयुक्त र विश्व मानव–समाजको विकास एवम् समृद्धिको वाधक छ । विश्व सर्वहारावर्ग, सर्वहाराक्रान्ति र कम्युनिस्ट पार्टीले यसलाई बदलेर विश्वका श्रमजीवी (भौतिक र मानसिक श्रम) जनताको वैज्ञानिक समाजवाद हुँदै विश्व साम्यवाद स्थापना गर्नु अहिलेको विश्व मानवसमाजको ऐतिहासिक आवश्यकता हो । श्रमजीवीवर्ग र त्यसको नेता कम्युनिस्ट पार्टीको कार्यभार विश्वलाई बुझ्नु, वैज्ञानिक व्याख्या गर्नु, यसलाई बदल्नु र तिरन्तर क्रान्तिको विचार एवम् प्रयोगबाट विश्व साम्यवादमा पुग्नु हो । श्रमजीवीवर्ग र कम्युनिस्ट पार्टीको यो जिम्मेवारी मानवसमाजको ऐतिहासिक अनुभव, क्रान्तिका २० औँ शताब्दीका सफलता तथा असफलता र २१ औँ शताब्दीको विश्व मानवसमाजको आवश्यकतासँग सम्बन्धित छ । यो महान् कार्यका निम्ति सर्वप्रथम कम्युनिस्ट पार्टी र विश्व श्रमजीवीवर्ग ‘संसार अज्ञेय छ, जहाँ जान्न नसकिने ‘चीजहरू आफैँ भित्र’ छन् भन्ने जर्मन शास्त्रीय प्रत्ययवादी दार्शनिक जन्मदाता कान्टको आदर्शवादी धारणाबाट मुक्त भएर ‘संसार र त्यसका नियमलाई पू रै जान्न सकिन्छ । प्रयोग र व्यवहारद्वारा जाँचिएको, प्रकृतिका नियमहरूसम्बन्धी हाम्रो ज्ञान वस्तुगत सत्यको प्रमाणिकता भएको सच्चा ज्ञान हो र संसारमा यस्ता चीजहरू छैनन्, जसलाई जान्न सकिँदैन, बरु त्यस्ता चीजहरू मात्र छन्, जसलाई अझसम्म जानिएको छैन तर जसलाई विज्ञान र व्यवहारको कोसिसबाट खुलस्त पारिनेछ र जानिनेछ”१ भन्ने माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादी विचारबाट निर्देशित हुन आवश्यक छ ।

नेपाल कम्युनिस्ट पार्टीले विश्वलाई बदल्ने आफ्नो महान् उद्देश्यका निम्ति नेपाली समाजको आमूल परिवर्तन पहिलो खुट्किलो बनाउँदा नेपाली समाज र विश्व समाजसम्बन्धी ठोस दृष्टिकोण अगाडि सार्न जरुरी छ । विषयको यही गम्भीर्य र क्रान्तिको आवश्यकतालाई दृष्टिगत गरी हाम्रो पार्टीको आठौँ महाधिवेशनले एक हदसम्म अन्तर्राष्ट्रिय मूलतः राष्ट्रिय बहसको माध्यमद्वारा विभिन्न विषयसम्बन्धी संश्लेषण गरेको छ ः

(१) माक्र्सवादी दर्शन र विकासको प्रश्न

दर्शन प्रकृति, समाज, मानव चिन्तन र संज्ञानका प्रक्रियाको सामान्य नियमहरूको विज्ञान हो । यो सामाजिक चेतनाको एउटा रूप हो । यसले अन्ततः समाजको उत्पादक शक्ति र उत्पादन सम्बन्धलाई निर्धारण गर्दछ । ईपू ५८०–५०० मा प्राचीन युुनानी दार्शनिक सामोस पाइथागोरसले एजष्यिकयउजथ (दर्शन) पदावलीको प्रयोग गरेका थिए । यूनानी दार्शनिक अपÞmलानून (एबितय) ले एजष्यिकयउजथ लाई विशेष विज्ञानको रूपमा विकास गरेका थिए ।

दर्शनको विकास प्रक्रियामा यसको प्रारम्भिक चरित्र आध्यामिक थियो । १८ औँ शताब्दीको उत्तराद्र्धमा जर्मन दार्शनिक कान्ट (प्बलत) र १९ औँ शताब्दीको उत्तराद्र्ध र २० औँ शताब्दीको पूर्वाद्र्धसम्म आस्ट्रियाई दार्शनिक माख (ःबअज) सम्म पनि दर्शनको प्रकृति प्रत्ययवादी नै थियो । १८ औँ शताब्दीको पूर्वाद्र्धमा जर्मन शास्त्रीय दर्शनका प्रतिनिधि हेगेल (ज्भनभ)ि ले दर्शनशास्त्रमा द्वन्द्वात्मक नियमसम्म विकास गरे । जर्मन दार्शनिक लुडविक फायरबाखले भौतिकवादी नियमहरूको खोज गरे । दर्शनको क्षेत्रमा हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादको विकासले नयाँ आयाम थप्यो । १९ औँ शताब्दीको पाँचाँै दशकबाट माक्र्स–एङ्गेल्सले हेगेलको द्वन्द्ववादमा रहेको अधिभूतवाद र फायरबाखको भौतिकवादमा रहेको आदर्शवाद सच्याएर माक्र्सवादी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विकास गर्नुभयो । हेगेलको द्वन्द्ववादमा रहेको अधिभूतवादलाई सच्याउने क्रममा माक्र्सले भन्नुभयो, “मेरो द्वन्द्ववादी पद्धति हेगेलको द्वन्द्ववादी पद्धतिभन्दा केवल भिन्न मात्र होइनm बरु ठीक त्यसको उल्टो छ, हेगेलको लागि मानव मस्तिष्कको जीवन प्रक्रिया, जसलाई विचारको नामबाट उनले एउटा स्वतन्त्रकर्ता नै बनाइदिएका छन्, वास्तविक संसारको सृष्टिकर्ता हो र वास्तविक संसार ‘विचार’ को बाहिरी इन्द्रियग्राह्य रूप मात्र हो । यसको विपरीत मेरो लागि विचार यसबाहेक अरू केही होइन कि भौतिक संसार मानव मस्तिष्कमा प्रतिबिम्बित हुन्छ र चिन्तनको रूपमा बदलिन्छ ।”२ लुडविक फायरबाखको भौतिकवादमा रहेको आदर्शवादलाई उदाङ्गो पार्नेक्रममा एङ्गेल्सले भन्नुभयो, “भौतिकवादी जग हुँदा–हँुदै पनि परम्परागत आदर्शवादी सिक्रीले बाँधिएर रहे, धर्म र नीतिशास्त्रसम्बन्धी उनको दर्शनलाई हेर्नेवित्तिकै उनको सच्चा आदर्शवाद प्रस्ट हुन्छ ।”३ यसरी माक्र्स–एङ्गेल्सले दर्शनलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको वैज्ञानिक तहसम्म विकास गर्नुभयो । लेनिन र माओले त्यसमा उच्चता प्रदान गर्नुभयो । परिणामस्वरूप विश्व मानवसमाज, सर्वहारावर्ग र कम्युनिस्ट पार्टीसँग द्वन्द्वात्मक भौतिकवादी विश्व–दृष्टिकोण छ । यसको प्राकृतिक, घटना परिघटनाहरूलाई हेर्ने, अध्ययन गर्ने, बुझ्ने र बदल्ने सवालमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी वैज्ञानिक नियम छ ।

दर्शनको विकासको प्रक्रियालाई हेर्दा प्रारम्भिक चरणमा अध्यात्मवादी, बीचको चरणमा अधिभूतवादी आदर्शवादी र पछिल्लो वा वर्तमान चरणमा द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादी विज्ञानको तहसम्म विकसित हुन पुगेको छ । दर्शनको विकासका ऐतिहासिक शृङ्खलाका आधारहरू र यसका नियमहरूलाई हेर्दा दर्शन गतिशील र विकासमान छ भन्ने कुरा प्रमाणित हुन्छ । अर्को कुरा पनि के त्यत्तिकै सत्य हो भने प्रकृति विज्ञान, समाज विज्ञान र भौतिक विज्ञानमा हुने विकासले दर्शन विज्ञानमा विकासको माग गर्दछ । यसर्थ अहिलेको विश्वमा यस क्षेत्रमा भएको विकासले दर्शन विज्ञानमा विकासको आवश्यकतालाई उजागर गरेको छ ।

कम्युनिस्ट पार्टी र दुई लाइन सङ्घर्षसम्बन्धी दार्शनिक मान्यतामा स्पष्टता र विकास कम्युनिस्ट पार्टी, जनक्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनका निम्ति प्रमुख विषय बन्न पुग्दछ । क्रान्ति, प्रतिक्रान्ति र पुनक्र्रान्तिको अहिलेको विश्वमा त यो विषय अझै अहम् बन्न पुगेको छ । यस विषयवस्तुमा विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान सङ्कीर्णतावाद र समन्वयवादी समस्याले शक्तिशाली एवम् जनआधारित कम्युनिस्ट पार्टी निर्माण, क्रान्तिको विजय र निरन्तर क्रान्तिकारी यात्रामा गम्भीर क्षति हुन पुगेको छ । यसको वैचारिक समाधान ढिलो भइसकेको छ । वर्ग–विभाजित वर्तमान विश्व रहेसम्म यसको अन्त गरी वैज्ञानिक समाजवादी र साम्यवादी विश्व निर्माणका निम्ति नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको अनिवार्यता हुन्छ । जनताको नेतृत्वबिना स्वतःस्फूर्त सामाजिक क्रान्ति समाज र जनताको आवश्यकताको प्रतिनिधि हुन सक्दैन । मानवीय एवम् सामाजिक आवश्यकतामा समाजलाई बदल्न सचेतन पक्षको भूमिका निर्वाह गर्ने नेतृत्वदायी शक्ति कम्युनिस्ट पार्टी हो । यसकारण कम्युनिस्ट पार्टी एउटा वस्तु हो । वस्तु हुनुले योसँग विपरीत र तिनका बीचमा सङ्घर्ष अनिवार्य हुन्छ । समाजमा हुने कम्युनिस्ट विचार र पुँजीवादी विचारबीचको अन्तर्विरोधको प्रतिबिम्बन कम्युनिस्ट पार्टीमा हुन्छ । यी अन्तर्विरोधहरू वर्गसङ्घर्षको भीषण प्रक्रियामा गलत विचारको रूपान्तरण वा सत्रुतापूर्ण रूपमा व्यक्त हुन्छन् ।

कम्युनिस्ट पार्टीको कार्यदिशा र दुईवटा कार्यदिशाबीचको एकता र सङ्घर्षको दर्शनलाई कसरी बुझ्ने, व्याख्या गर्ने, सञ्चालन गर्ने र रूपान्तरण गर्ने भन्ने प्रश्न गम्भीर महत्वको छ । दार्शनिक दृष्टिले कम्युनिस्ट पार्टी विपरीतहरूको एकत्व हो । जबसम्म नेपाली समाज र विश्व समाजमा वर्ग रहन्छ, तबसम्म वर्गसङ्घर्षको प्रतिबिम्बन स्वरूप कम्युनिस्ट पार्टीभित्र श्रमजीवीवर्गको विचार र पुँजीपतिवर्गको विचारबीच अन्तर्विरोध रहिरहन्छ । कम्युनिस्ट पार्टीको बनोट, अस्तित्व र विकासको निम्ति विपरीत तत्वहरू सर्वहारावर्गको माक्र्सवादी विचार र बुर्जुवावर्गको संशोधनवादी विचार हुनु र यी दुई तत्वका बीचमा एकता र सङ्घर्ष चल्नु अनिवार्य छ । योे कम्युनिस्ट पार्टीसम्बन्धी द्वन्द्वात्मक भौतिकवादी दार्शनिक मान्यता हो ।

कम्युनिस्ट पार्टीभित्रको कार्यदिशाको सवालमा मालेमावादी दर्शन के हुने ? विगतमा नेपाली कम्युनिस्ट आन्दोलन र माओवादी आन्दोलनमा कम्युनिस्ट पार्टी हुनुले आमरूपमा हुने अन्तर्विरोधलाई सत्रुतापूर्ण अन्तर्विरोधको तहमा उठाए । दुई लाइनको स्तरसम्म पु¥याउने ध्वंसात्मक द्वन्द्ववादी र पार्टीभित्रको अन्तर्विरोध सत्रुतापूर्ण भइसक्दा पनि विपरीत लाइनहरूको एकत्वको रूपमा बुझ्ने र व्याख्या गर्ने द्वैतवादको समस्या रहँदै आयो; जसको प्ररिणाम नेपाली कम्युनिस्ट आन्दोलनमा आम अन्तर्विरोधलाई दुई लाइनको जामा पहिराउँदा गुटवाद, फुटवाद र विसर्जनवादको जन्म हुन पुग्यो । यसले कम्युनिस्ट पार्टी र आन्दोलनलाई गम्भीर क्षति पु¥यायो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा नामका दर्जनौँ पार्टी हुनु, क्रान्ति कमजोर पर्नु, दिशाविहीन हुनु र गन्तव्यमा पुग्न नसक्नु त्यसका ज्वलन्त उदाहरण हुन् । अर्कोतिर कम्युनिस्ट पार्टीभित्र अन्तर्विरोधले सत्रुतापूर्ण रूप लिइसक्दा पनि दुई लाइनको एकत्वको रूपमा बुझ्ने, व्याख्या गर्ने र लागू गर्ने द्वैतवादले सारसङ्ग्रहवादी, समन्वयवादी र सम्झौतावादी समस्या पैदा ग¥यो । यसले कम्युनिस्ट पार्टी, क्रान्ति र आन्दोलनलाई पुँजीवाद नेपालको सन्दर्भमा दलाल पुँजीवादमा पतन गरायो । नेपाली कम्युनिस्ट आन्दोलनको स्थापनाकालयताको अवस्थामा विशेषतः जनयुद्धको अघिल्लो चरणमा प्रचण्डले बाबुराम भट्टराईसँगको आम अन्तर्विरोधलाई दुई लाइनको स्तरमा व्याख्या गर्नु र पछिल्लो चरणमा उक्त अन्तर्विरोध सत्रुतापूर्ण भइसक्दा पनि सम्झौता गरी दलाल संसद्वादी यात्रा गर्नु यसैका उदाहरणहरू हुन् । कम्युनिस्ट पार्टी विपरीतहरूको एकत्व हो; जसमा माक्र्सवादसँग संशोधनवाद पनि रहेकै हुन्छ । पार्टी विपरीतहरूको एकत्व हुनुले यसमा ‘सङ्घर्ष, एकता र रूपान्तरण’ को निरन्तर प्रक्रिया चलिरहन्छ; जसले कम्युनिस्ट पार्टीलाई जीवन्त र गतिवान बनाइराखेको हुन्छ । जहाँसम्म कम्युनिस्ट पार्टीमा दुई लाइनको सवाल छ; कम्युनिस्ट पार्टी दुई लाइनको एकत्व होइन । कम्युनिस्ट पार्टीमा लाइन त क्रान्तिकारी माक्र्सवादी नै हुन्छ ।

क्रान्तिकारी लाइन हुनुले नै यो कम्युनिस्ट पार्टी हुने हो । क्रान्तिकारी लाइन र विचार भएन भने त्यो कम्युनिस्ट नै होइन वा नामधारी कम्युनिस्ट पार्टी मात्र हो । बरु क्रान्तिकारी लाइनमा आम अन्तर्विरोध रहन्छन् र रहन सक्छन् । अन्तर्विरोधको सवालमा महान् लेनिनले बुखारिनको सङ्क्रमणकालीन अवधिको अर्थशास्त्रमा टिप्पणी गर्दाको भनाइ उल्लेखनीय छ । उहाँ भन्नुहुन्छ, “सत्रुता र अन्तर्विरोध एउटै चीज होइन । सामाजवादअन्तर्गत पहिलो बिलाउनेछ, दोस्रो रहिरहनेछ ।”४ पार्टी लाइनमा आम अन्तर्विरोध हुन सक्छन् तर दुई लाइनको एकत्व कम्युनिस्ट पार्टीमा हुँदैन । बरु क्रान्तिकारी लाइनको नेतृत्वमा कम्युनिस्ट पार्टीको निरन्तर जीवन हुन्छ । आम अन्तर्विरोधहरूको विकास भएर दुई लाइनको तहमा पुग्यो भने पार्टी लाइनसम्बन्धी अन्तर्विरोध सत्रुतापूर्ण तहमा पुगेको हुन्छ । कम्युनिस्ट पार्टीको क्रान्तिकारी लाइनका विरुद्ध समानान्तर लाइनको रूपमा आउने अर्को लाइन मूलभूत रूपमा पुँजीपतिवर्गको संशोधनवादी, सुधारवादी र दक्षिणपन्थी प्रतिक्रान्तिकारी लाइन नै हो । यो अवस्थामा लाइनसम्बन्धी अन्तर्विरोध सत्रुतापूर्ण तहसम्म पुग्नु हो । यसको सामाधान कारवाही, विद्रोह वा सम्बन्ध विच्छेद हो । अतः कम्युनिस्ट पार्टीको दुई लाइनसम्बन्धी द्वन्द्वात्मक भौतिकवादी दार्शनिक मान्यता आम अन्तर्विरोधको सवालमा बहस, सङ्घर्ष र क्रान्तिकारी रूपान्तरण हुन्छ भने सत्रुतापूर्ण अन्तर्विरोधको हकमा सम्बन्ध विच्छेद हो ।

कम्युनिस्ट पार्टीको कार्यदिशासम्बन्धी अन्तर्विरोधमा आम अन्तर्विरोधको समाधान बहस, सङ्घर्ष र रूपान्तरण हो भने सत्रुतापूर्ण अन्तर्विरोधको समाधान सङ्घर्ष र सम्बन्ध विच्छेद हो । यो कम्युनिस्ट पार्टीको कार्यदिशासम्बन्धी माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादी दार्शनिक मान्यता हो ।

(२) वर्तमान विश्व र साम्राज्यवाद

आजको विश्व बीसौँ शताब्दीको विश्वभन्दा गुणात्मक दृष्टिले भिन्न र विकसित छ । यो राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र प्रविधिलगायतको क्षेत्रमा थप नयाँ ठाउँमा पुगेको छ । विश्व साम्राज्यवाद पनि पुरानै ठाउँमा छैन । यो न त पुँजीवादी सुधारवादी तथा शान्तिवादी बेलायती अर्थशास्त्री हब्सन जोन (ज्यदकयल व्यजल) ले सन् १९०२ मा ‘साम्राज्यवाद’ भन्ने आफ्नो कृतिमा “एउटै बढ्दो साम्राज्यको आकाङ्क्षाको स्थानमा आपसमा प्रतियोगिता गर्ने, राजनीतिक विस्तार र वाणिज्यलाभको एकै खालको लालसाद्वारा प्रेरित र वित्तीय अर्थ वा पुँजी लगानीसम्बन्धी स्वार्थले व्यापारसम्बन्धी स्वार्थमाथि प्रभुत्व हुन्छ” भनेर गरेको विश्लेषणको ठाउँमा छ । न त यो महान् लेनिनले सन् १९१६ (जनवरी–जुन) मा धेरै ठूलो अध्यायन, अनुसन्धान र विश्लेषणपश्चात् तयार पारेको आफ्नो कृति ‘साम्राज्यवाद– पुँजीवादको चरम अवस्था’ मा विश्लेषण तथा संश्लेषण गरेको ठाउँमा छ । लेनिनले यो संश्लेषण गरेको पनि आज १०० वर्ष पुगेर १०१ वर्षमा प्रवेश गरेको छ । यसकारण साम्राज्यवादको नयाँ संश्लेषण अहिलेको विश्वको वस्तुगत आवश्यकता बन्न गएको छ ।

माक्र्सले पुँजीवादको शोषणकारी चरित्र, उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको अन्तर्विरोधको अवस्थाले पुँजीवादको विश्वव्यापी पतन र विश्वव्यापी समाजवादी क्रान्तिको अनिवार्यतालाई कसैले रोक्न नसक्ने निचोड निकाल्नुभयो । त्यो बेलाका विकसित पुँजीवादी देशहरूमा भएका मजदुर आन्दोलनहरू माक्र्सको विचारद्वारा निर्देशित थिए । पेरिस कम्युन एउटा जल्दोबल्दो नमुना हो । अन्तर्राष्ट्रिय मजदुर सङ्गठन, कम्युनिस्ट सङ्घको सन् १८४७ नोभेम्बरमा सम्पन्न महाधिवेशनले माक्र्स–एङ्गेल्सलाई पार्टीको सैद्धान्तिक र नीतिगत कार्यक्रम तयार गर्न दिएको जिम्मेवारी पूरा गर्ने क्रममा कम्युनिस्ट घोषणापत्र तयार भई प्रकाशन एवम् मजदुर आन्दोलनमा प्रयोग हुँदै गएको ६९ वर्ष, पुँजीवादको (सन् १९१६ मा) अवस्थाको तथ्यसङ्गत विश्लेषण गर्दै लेनिनले भन्नुभयो, “साम्राज्यवाद निःसन्देह पुँजीवादी विकासको एक विशेष अवस्था हो ।”४ चरम अवस्थामा पुगेको पुँजीवादको विकासलाई साम्राज्यवादमा संश्लेषण गर्नुभयो । यसलाई थप भन्नुभयो, “यस पुस्तकमा साम्राज्यवादको आर्थिक सारबारे जे–जति भनियो, त्यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने हामीले साम्राज्यवादलाई सङ्क्रमणकालीन पुँजीवादको रूपमा बुझ्नुपर्छ र यसलाई मरणासन्न पुँजीवाद नै भने अझ बढी उचित ठहरिनेछ ।”५ त्यो बेलाको पुँजीवादको साम्राज्यवादी निष्कर्ष निकाल्दा लेनिनले त्यसका बहु–विशेषतामध्ये मुख्य विशेषताहरूलाई आधार बनाउनुभएको थियो । “पहिलो, उत्पादन तथा पुँजीको सङ्केन्द्रण भएर उच्च अवस्था; दोस्रो, वित्तीय पुँजीसँग औद्योगिक पुँजीको सम्मिलन र वित्तीय अल्पतन्त्र सिर्जना; तेस्रो, वस्तु निर्यातभन्दा पुँजी निर्यातको विशेष स्थान; चौथो, अन्तर्राष्ट्रिय एकाधिकारी पुँजीवादी संस्थाहरूको निर्माण; पाँचौँ, विशालतम् पुँजीवादी शक्तिहरूबीच सम्पूर्ण विश्वको विभाजन ।”६ लेनिनको साम्राज्यवादसम्बन्धी संश्लेषणलाई उक्त तथ्य र तर्कहरूले पुष्टि गरे । आर्थिक दृष्टिले पुँजीवादी खुला प्रतिस्पर्धाको ठाउँमा पुँजीवादी एकाधिकारको अभ्युदय हुनु साम्राज्यवादको विकासको मुख्य विशेषता सावित भयो । त्यसैले लेनिनले भन्नुभयो, “साम्राज्यवादको अत्यन्त सङ्क्षिप्त परिभाषा दिने हो भने हामी यही भन्न सक्छौँ कि पुँजीवादको एकाधिकारी अवस्था नै साम्राज्यवाद हो ।”७ उहाँले अर्को के पनि भन्नुभयो भने, “एकाधिकार नै पुँजीवादबाट एक उच्चतम् अवस्थामा सङ्क्रमण हो ।”८ लेनिनले त्यो बेलाको विश्व पुँजीवादको अवस्थालाई साम्राज्यवादमा संश्लेषण गरेपछि माक्र्सवादमा नयाँ आयाम थपियो । विश्वको सर्वहाराक्रान्तिको चरित्र नै विकसित भयो ।

माक्र्र्सले विश्वव्यापी वा विश्वका धेरै देशहरूमा एकैचोटि सर्वहारा समाजवादी क्रान्ति हुने भनेर निकालेको निष्कर्ष, पुँजीवादको विकास साम्राज्यवादी अवस्थामा पुग्नु र यसको मरणासन्न अवस्था हुनुले विश्वको कुनै एउटा देशमा पनि समाजवादी क्रान्ति हुन्छ र त्यो सम्भव छ भन्ने विचारको विकास भयो । यो केवल सैद्धान्तिक निक्र्याैल मात्र नभएर लेनिनले आफ्नै नेतृत्वमा रुसमा त्यसको सफलतापूर्वक प्रयोग पनि गर्नुभयो । त्यसपछि विश्वमा समाजवादी क्रान्तिको एउटा लहरै आयो । पूर्वी युरोप, चीनलगायतका देशमा समाजवादी एवम् जनवादी क्रान्ति सम्पन्न भए । सर्वहारावर्ग र श्रमजीवी जनताको हातमा सत्ता आयो । यसको विश्वव्यापी प्रभाव पर्न गयो । झन्डै विश्वको एक तिहाइ भू–भागमा समाजवादी एवम् जनवादी सत्ता सञ्चालन भए । प्रथम र द्वितीय विश्वयुद्धमा साम्राज्यवादी देशहरूका बीचमा भएको युद्ध, त्यसले विश्व पुँजीवादीलाई पु¥याएको नोक्सानी र सर्वहारावर्ग, कम्युनिस्ट पार्टी एवम् समाजवादी क्रान्तिलाई पु गेको टेवाको नयाँ संश्लेषणसहित अहिलेको साम्राज्यवाद आएको छ ।

भूमण्डलीकरण, उदारीकरण र निजीकरण अहिलेको साम्राज्यवादको मुख्य विशेषता हो । जुन २० औँ शताब्दीमा यही रूपमा थिएन । लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, समानुपातिक समावेशी सहभागिता, मानवअधिकार, लोक–कल्याणकारी राज्य, जातीय र धार्मिक विखण्डन एवम् अतिक्रमण, उच्च सैन्य प्रविधिको विकास तथा प्रयोग र फासिवादी एवम् आतङ्ककारी चरित्र आदि अहिलेको साम्राज्यवाद वा विश्व पुँजीवादका लाक्षणिक राजनीतिक विशेषताहरू हुन् । पुँजीको विश्वव्यापीकरण, निगम पुँजी, कल्याणकारी चरित्र र स्वरूप यसका आर्थिक विशेषता हुन् । चरम उपभोक्तावाद, छाडावाद, अश्लीलता, दलालीकरणलगायत यसका सांस्कृतिक विशेषता हुन् । एक्काइसाँै शताब्दीको विकसित प्रविधिको सैन्यक्षेत्र, सहरीकरण र उत्पादन शक्तिमा प्रयोगलगायत साम्राज्यवादको प्रविधिको क्षेत्रका विशेषता हुन् । उपर्युक्त विशेषता र पार्टीले महाधिवेशनको प्रस्तावमा प्रस्तावित गरेको राजनीतिक, आर्थिक, सांस्कृतिक र प्राविधिक गरी ४ वटा मुख्य विशेषता एवम् त्यसअन्तर्गत उप–विशेषताहरूले एक्काइसौँ शताब्दीकोे साम्राज्यवाद बीसौँ शताब्दीभन्दा भिन्न चरित्र, विशेषता र स्थानमा भएको पुष्टि गर्दछ । अहिलेको विश्व र साम्राज्यवादको सही विश्लेषण गरी वैज्ञानिक संश्लेषणमा पुग्नु नै साम्राज्यवादी विश्वलाई बदलेर विश्व साम्यवादी मानव समाज निर्माणका निम्ति विचारधारात्मक तयारी हो ।

नेपालीक्रान्तिको ठोस अवस्थामा भन्दा नेपालीक्रान्तिलाई सम्पन्न गर्नु पनि हो । अहिलेको साम्राज्यवाद अधिनायकवादी, फासिवादी, आतङ्ककारी, उपनिवेशवादी, अतिक्रमणकारी, हस्तक्षेपकारी, विखण्डनवादी, चरम एकाधिकारवादी, छाडावादी र मानवता विरोधी यसका मुख्य विशेषताहरू हुन् । एक्काइसौँ शताब्दीमा वैज्ञानिकहरूले विज्ञान र प्रविधिमा गरेको विकासको परिणाम विश्व एउटा एकाइ र एकाइ विश्वव्यापी बनाएको छ । अहिलेको विश्व भूमण्डलीकृत विश्व हो । एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्वमा मानवसमाज विरोधी तत्वको रूपमा साम्राज्यवाद छ । यसलाई उत्तर साम्राज्यवादमा संश्लेषण गर्नु वस्तुसङ्गत र तर्कसङ्गत दुवै हुन्छ भन्ने हाम्रो धारणा हो ।

(३) सर्वहारावर्ग र वैज्ञानिक समाजवाद

सर्वहारावर्ग विश्व मानवसमाजको ऐतिहासिक, श्रमजीवी, क्रान्तिकारी र अग्रगामी वर्ग हो । यो वर्ग सबै उत्पीडित वर्ग, जाति, समुदाय, क्षेत्र र राष्ट्रको मुक्तिको निम्ति अन्तिमसम्म लड्ने वर्ग हो । साम्राज्यवादले सिर्जना गरेका सबै किसिमका उत्पीडनको विरुद्ध निर्णायक सङ्घर्ष गर्ने वर्ग सर्वहारा श्रमजीवीवर्ग नै हो । पुँजीपतिवर्ग वा शोषकवर्गले आफ्नो स्वार्थसिद्ध गर्न पुँजीवादी राज्यसत्ताको निर्माण एवम् प्रयोग गरिराखेको छ ।

राज्यसत्ताबारे महान् लेनिन भन्नुहुन्छ, “माक्र्सको मतअनुसार राज्य वर्गीय प्रभुत्वको अस्त्र हो, एक वर्गद्वारा अर्को वर्गको उत्पीडनको साधन हो, यस्तो व्यवस्थाको सिर्जना हो, जसले वर्गहरूको आपसी टक्करलाई साम्य पारेर यस उत्पीडनलाई वैधानिक रूप दिन्छ र सजिलो पार्दछ ।”९ अहिलेको विश्वमा पनि राज्यसत्तासम्बन्धी यो विचार सही छ । पुँजीपतिवर्गको राज्यसत्ता सर्वहारा श्रमजीवीवर्गमाथि शोषण गर्ने साधन बनेको छ । श्रमजीवीवर्गले त्यसको विरोध वा विद्रोह गर्दा पुँजीपतिवर्ग र सर्वहारावर्गबीचको अन्तर्विरोधलाई बल प्रयोगद्वारा हल गर्ने उद्देश्यसहित दमनको भाषा बोल्छ । पुँजीपतिवर्गलाई राज्यसत्ता किन आवश्यक प¥यो भन्ने सन्दर्भमा लेनिन भन्नुहुन्छ, “शोषकवर्गहरूलाई शोषणको हित साधनका लागि अर्थात् जनताको विशाल बहुमतको विरुद्ध नगण्य अल्पमतको स्वार्थपूर्ण हित साधनका लागि राजनीतिक प्रभुत्वको आवश्यकता हुन्छ ।”१० यस भनाइबाट के पुष्टि हुन्छ भन्दा शोषक वा पुँजीपतिवर्ग आफ्नो स्वार्थपूर्ति गर्ने हतियारको रूपमा राज्यसत्ताको अधिनायकत्व प्रयोग गरिराखेको हुन्छ । राज्यसत्ता र त्यसको अधिनायकत्व वर्गीय हितको अस्त्र हो भने मुट्ठीभर शोषक वा पुँजीपतिवर्गले बहुसङ्ख्यक श्रमजीवी जनतामाथि लादेको सत्ता र अधिनायकत्व उल्टयाउन र जनताको हितलाई सुनिश्चित गर्न श्रमजीवी सर्वहारावर्गको निम्ति राज्यसत्ता र अधिनायकत्व अनिवार्य चीज हुन आउँछ । जुन न्यायसङ्गत र आवश्यक दुवै छ । यसबारेमा लेनिनको भनाइ विशेष उल्लेखनीय छ । उहाँ भन्नुहुन्छ, “राज्य भनेको शक्तिको विशेष सङ्गठन हो, कुनै वर्गलाई दबाउनको निम्ति बल प्रयोगको सङ्गठन हो ।”११ लेनिनको उक्त भनाइ सैद्धान्तिक दृष्टिले मात्र सत्य छैन कि अहिलेको विश्व पुँजीवादी वा साम्राज्यवादी सत्ताको चरित्रअनुसार व्यावहारिक दृष्टिले पनि त्यत्तिकै जिवन्त छ । यसर्थ, सर्वहारावर्गका निम्ति राज्यसत्ताभन्दा तलको कुरा अनर्थ हुन जान्छ । राज्यसत्ता अनिवार्य चाहिन्छ ।

सर्वहारावर्गलाई राज्यसत्ताको अनिवार्यताको महत्वलाई जोड दिँदै लेनिन भन्नुहुन्छ, “शोषकहरूको प्रतिरोधलाई दबाउनको निम्ति र समाजवादी अर्थ–व्यवस्थाको ‘सङ्गठन’ कार्यमा जनसङ्ख्याको विशाल समूह किसानहरू, निम्न पुँजीपतिहरू, अर्ध–सर्वहाराको नेतृत्व गर्नको निम्ति पनि सर्वहारावर्गलाई राज्यसत्ता अर्थात् शक्ति र बल प्रयोगको केन्द्रीय संस्थाको खाँचो पर्दछ ।”१२ सर्वहारावर्गलाई बहुसङ्ख्यक उत्पीडितवर्गको मुक्ति, हित, नेतृत्वको निम्ति राज्यसत्ता अनिवार्य बन्न पुग्यो । बुर्जुवा प्रतिक्रान्तिलाई नियन्त्रण गर्नको निम्ति पनि सर्वहारावर्गलाई अधिनायकत्व जरुरी हुन्छ । यसकारण आजको साम्राज्यवाद वा विश्व पुँजीवादलाई परास्त गर्न र सर्वहारा श्रमजीवीवर्गको राज्यसत्ता निर्माण गर्न श्रमजीवी जनताको राजनीतिक कार्यक्रम के हुने ? यो विषय निकै गम्भीर छ र क्रान्ति र प्रतिक्रान्तिका दुवै ऐतिहासिक अनुभवसहितको सर्वहारावर्गीय क्रान्तिको निम्ति यो अझै पेचिलो विषय बन्न गएको छ । विश्व पुँजीवाद वा साम्राज्यवादी विश्व व्यवस्थाका विरुद्ध सर्वहारावादी वैकल्पिक राजनीतिक कार्यक्रमको रूपमा श्रमजीवीवर्ग र त्यसको कम्युनिस्ट पार्टीले अगाडि सार्ने राजनीतिक कार्यक्रम वैज्ञानिक समाजवाद नै हो ।

मानवसमाजलाई विश्व साम्यवादमा पु¥याउने नेतृत्वको जिम्मेवारी पाएको सर्वहारावर्गको कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादको राजनीतिक कार्यक्रमलाई राजनीतिक र व्यवहारिक दृष्टिले नै पूरै शक्तिका साथ विश्व सर्वहारावर्गका अगाडि प्रस्तुत गर्नुपर्छ । नेपालीक्रान्ति र श्रमजीवी जनताको राज्यसत्ता स्थापना गर्ने सवालमा राजनीतिक कार्यक्रम के हुने भन्ने विषय निकै संवेदनशील र अहम् महत्वको छ । नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा इतिहासदेखि राजनीतिक कार्यक्रमको रूपमा नयाँ जनवादी कार्यक्रमलाई अगाडि सार्ने गरिएको छ । हामीले पनि हाम्रो पार्टीको स्थापनाकालदेखि अहिलेसम्म नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको राजनीतिक कार्यक्रम अगाडि सारेका छौँ । राजनीतिक कार्यक्रम भनेको समाज, जनता र राज्यसत्ताबीचको अन्तर्विरोधलाई जनवादी ढङ्गले हल गर्ने साधन हो । सामाजिक अन्तर्विराधको प्रकृतिले यसको निरूपण र विकासलाई निधारण गर्छ; मनोगत इच्छा वा यान्त्रिकताले होइन । विगतको नेपालमा राज्यसत्ताको चरित्र सामन्तवादी थियो । राष्ट्रिय चरित्र अर्धऔपनिवेशिक थियो । विगतका जनआन्दोलन र जनयुद्धले त्यो अन्तर्विरोधको अर्ध–समाधान गरेको छ, पूर्ण समाधान भने भएको छैन । सामन्तवादसँगको जनताको अन्तर्विरोध बदलिएर दलाल पुँजीपतिवर्ग र त्यसको राज्यसत्तासँग प्रधान बन्न पुगेको छ । राष्ट्रिय अन्तर्विरोधमा अर्धऔपनिवेशिक चरित्रबाट नवऔपनिवेशिक चरित्रमा फेरिएको छ । जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती शासन र राजतन्त्रात्मक संसदीय व्यवस्थालाई परिवर्तन गर्न र देशलाई स्वाधीन बनाउन नेपाली जनताले २००७ सालबाट निरन्तर जनआन्दोलन, सशस्त्र सङ्घर्ष र महान् जनयुद्ध सञ्चालन गर्दै आएको छ । अहिलेको साम्राज्यवाद, राष्ट्रिय मुक्ति एवम् जनक्रान्तिका विरुद्ध साम्राज्यवादी रणनीति र नेपाली समाज एवम् राष्ट्रको बदलिँदो राष्ट्रिय एवम् वर्गीय अन्तर्विरोधको कारण नेपाली जनक्रान्तिको राजनीतिक कार्यक्रमलाई विकास गर्नुपर्ने नेपालीक्रान्तिको तत्कालीन आवश्यकता बन्न गएको छ । यो आवश्यकताको परिपूर्ति गर्न पार्टीले नेपालीक्रान्तिको राजनीतिक कार्यक्रमको रूपमा ‘वैज्ञानिक समाजवाद’ लाई अगाडि सारेको हो । हाम्रो देशको वर्तमान वस्तुगत अवस्था जुन छ, यसलाई दृष्टिगत गरी पार्टीले अगाडि सारेको राजनीतिक कार्यक्रम नेपाली विशेषताको कार्यक्रम हो । वैज्ञानिक समाजवादी सत्ताको चरित्र एवम् अधिनायकत्वको सवाल र उत्पादन सम्बन्धको सवाललगायतका विषयमा राजनीतिक कार्यक्रममा नयाँ विकास गर्नुपर्ने आवश्यकता छ ।

(४) जातीय उत्पीडनको प्रश्न

नेपाल विविधतायुक्त सामाजिक विशेषता भएको देश हो । राष्ट्र, जाति, भाषा र संस्कृतिको दृष्टिले विश्वका अरू देशसँग अतुलनीय छ । भौगोलिक दृष्टिले आफ्ना विशेषता भए पनि भू–बनोट, सामाजिक बनोट र सांस्कृतिक दृष्टिले हाम्रो देश विशाल छ । पृथ्वीनारायण शाहको एकीकरणपूर्व नेपाली जनताका आफ्नै परम्परागत राष्ट्रिय, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार कायम थिए । एकीकरणपछि एकात्मक र केन्द्रीकृत सामन्ती राज्यले जनताका परम्परागत राज्य, राजनीतिक, आर्थिक, सांस्कृतिक अधिकार खोस्यो । वर्गीय, जातीय र आन्तरिक राष्ट्रिय अतिक्रमण गरी उत्पीडन कायम ग¥यो ।

एकात्मक सामन्ती राज्यको वर्गीय उत्पीडनको उपजको रूपमा आन्तरिक राष्ट्रिय र जातीय उत्पीडन थोप¥यो । अहिलेसम्म पनि आन्तरिक राष्ट्रिय उत्पीडनमा परेको राष्ट्र र त्यहाँ बस्ने जनता जातीय र क्षेत्रीय उत्पीडनको सिकार भइराखेका छन । केन्द्रीय सामन्ती राज्यसत्ताको वर्गीय उत्पीडन र ब्राह्मणवादी सत्ताको आन्तरिक राष्ट्रिय र जातीय उत्पीडन कायमै छ । उत्पीडित आन्तरिक राष्ट्र र जातिको मुक्तिको सवाल अबको क्रान्तिको महत्वपूर्ण सवाल हो । लेनिनले भन्नुभएजस्तै सर्वहाराक्रान्तिमा राष्ट्रिय मुक्ति आन्दोलनलाई एकाकार गर्नु नै हुन्छ । हाम्रो पार्टीले नेपालीक्रान्तिको कार्यदिशाको रूपमा अगाडि सारेको एकीकृत जनक्रान्तिमा आन्तरिक राष्ट्रिय तथा उत्पीडित जातीय आन्दोलनलाई सर्वहारावर्गीय आन्दोलनमा एकाकार गर्नुपर्छ । बाह्य राष्ट्रिय मुक्तिको सवालमा साम्राज्यवादी अतिक्रमण एवम् हस्तक्षेप त्यसको रणनीति र देशको भू–राजनीतिक अवस्थासमेतलाई मध्यनजर गरी जनक्रान्तिले स्थापित गर्ने एकीकृत वैज्ञानिक समाजवादी राज्यसत्तामा आन्तरिक उत्पीडित राष्ट्र र जातिको स्वशासनको अधिकार सुनिश्चित गर्नु नै उत्पीडनबाट मुक्ति प्राप्त गर्नु हो ।

(५) पार्टी नामबारे

कम्युनिस्ट पार्टी सर्वहारावर्ग मात्र नभएर सर्वहारावर्गको प्रतिनिधि पार्टी हो । यो वर्ग र जातिभन्दा माथि उठेको सामाजिक क्रान्तिको विज्ञान मालेमावादद्वारा निर्देशित तथा सञ्चालित हुने पार्टी हो । कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय आन्दोलन हो । नेपालीक्रान्ति त विश्वक्रान्तिको एउटा अङ्ग मात्र हो । अन्तर्राष्ट्रिय सर्वहारावर्गको प्रतिनिधि हुनुले हाम्रो पार्टी कम्युनिस्ट अन्तर्राष्ट्रिय (अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टी) को एउटा नेपाली शाखा मात्र हो । हाम्रो नेपाली सर्वहाराक्रान्ति विश्व सर्वहाराक्रान्तिको एउटा अङ्ग हो । कम्युनिस्ट पार्टी सर्वहारावर्गको पार्टी हुनु र विश्वका कुनै पनि देशका कम्युनिस्ट पार्टी कम्युनिस्ट अन्तर्राष्ट्रियका सदस्य हुनुले विश्वको कुनै पनि देशका कम्युनिस्टहरूले पार्टी नाम कम्युनिस्ट पार्टी राख्नु नै वैचारिक र तार्किक रूपले सही हुन्छ । जुन देशको कम्युनिस्ट पार्टी हो, त्यसको अगाडि वा पछाडि देशको नाम जोड्नु उचित हुन्छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको डरलाग्दो संशोधनवादबाट आफूलाई पृथक एवम् क्रान्तिकारी पार्टीको पहिचान बनाउन र जनतामा भिन्न सन्देश दिन कम्युनिस्ट पार्टीका पछाडि विशेषण प्रयोग गर्ने गरेको देखिन्छ । यो प्रयोगले कम्युनिस्ट आन्दोलनको एउटा कालखण्डमा सकारात्मक एवम् क्रान्तिकारी भूमिका निभाएको पाइन्छ तर निरन्तरता पाएको र गन्तव्यमा पुगेको इतिहास छैन । बरु एक पटक छोटो समयमा जनतामा प्रभाव राम्रो पारेका पार्टी आजीवन दक्षिणपन्थी संशोधनवादी भएको तितो सत्य छ । यसले जनता र आन्दोलनमा नफरत मात्र पैदा गराएको छ । यसले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पु¥याएको छ । जनताले सरर्र नाम मात्र हेर्दा क्रान्तिकारी र सुधारवादी पार्टी छुट्याउन नै गा¥हो पर्ने भयो किनभने उस्तै नामका धेरै पार्टी छन् । साम्राज्यवाद र संशोधनवादले त्यसैलाई कम्युनिस्ट पार्टी एवम् आन्दोलनविरुद्ध भ्रम सिर्जना गर्ने अस्त्र बनाउने दुस्साहस पनि गरे । २०६३ सालयता माओवादी पार्टी र आन्दोलन यसको अपवाद हुन सकेन । विगतकै नकारात्मक समस्याको सिकार भयो । कम्युनिस्ट पार्टीसम्बन्धी विचारधारात्मक तथा राजनीतिक सवाल, आत्मगत दृष्टिले कम्युनिस्ट पार्टीमा वैचारिक राजनीतिक विचलनताको समस्या, जसको परिणाम पार्टी विभाजन हुने र दुश्मनले त्यसलाई समातेर भ्रमको खेती गरी क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई स्थापित हुन नदिने षड्यन्त्रसमेतलाई दृष्टिगत गरी हाम्रो पार्टी केन्द्रीय समितिले महाधिवेशनमा पार्टी नाम नेपाल कम्युनिस्ट पार्टी तय गरेको हो । यो वैचारिक, सङ्गठनात्मक, रणनीतिक र व्यावहारिक दृष्टिले उचित छ । क. स्तालिनको मूल्याङ्कन, कम्युनिस्ट पार्टी सञ्चालनको नीति, कम्युनिस्ट आर्थिक प्रणालीबारे प्रस्तावसम्बन्धी आठौँ महाधिवेशन वैज्ञानिक संश्लेषण गरेको छ । आठौँ महाधिवेशनमा उच्च जनवादी वातावरणमा गहन बहस गरी वैज्ञानिक निर्णय लिइएका छन् । अन्ततः ऐतिहासिक आठौँ महाधिवेशनको राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरिएका विषय महाधिवेशनमा व्यापक बहसपश्चात् सही निर्णय लिइएका छन् । यी हाम्रो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिका विकसित र नयाँ आयाम हुन् ।
सन्दर्भ सामग्री
१. सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्सेविक) को इतिहास, पृ. ८५
२. पुँजी, खण्ड १, माक्र्स–एङ्गेल्स, जर्मन संस्करणको अनुकथन, पृ. ३१
३. सो.सं.क. पार्टी (बोल्सेविक) को इतिहास, पृ. ७९
४. अन्तर्विरोधबारे, माओ त्से तुङ, चुनिएका रचनाहरू, भाग १, पृ. २७६
५. साम्राज्यवाद–पुँजीवादको चरम अवस्था, लेनिन सङ्कलित रचना, भाग ३, पृ. १०७, १५१, १०६
६. राज्य र क्रान्ति, भीआई लेनिन, सङ्कलित रचना, भाग ४, पृ. १३, ३२, १२, ३३ (प्रकाण्ड सङ्कलित रचनाबाट)
२०७५ जेठ २१ गते सोमबार अपरान्ह ३ :३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :