केपीको मधुमास र पीकेको विलय


गत फागुन ३ गते सरकारमा आसीन हुन पुगेको केपी शर्मा ओली (केपी) ले मधुमास (सय दिन) पूरा गरेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रको सरकार (हालको नेकपा अन्डरलाइन) ले अब देशमा चक्काचौँध गर्छ भनेर जसरी केही सञ्चारमाध्यमहरूले हौवा फिँजाएका थिए, राष्ट्रवादी सरकार भनेका थिए, जनपक्षीय कार्यक्रम लागू गर्छ भनेका थिए, यी सय दिनमा यस्ता कुनै कामहरू भएनन् । ‘सुखी नेपाली समृद्ध नेपालको’ नारा दिएको यो सरकारले समाजवाद उन्मुख राज्यप्रणाली बनाउने बेतुकका कुरा गरिराखेको छ । तर व्यवहारमा ठीक उल्टो दिशामा अघि बढिरहेको छ । यी सय दिनहरूमा केपी सरकार राष्ट्रवादी ठहरियो ? यसले जनपक्षीय कार्यक्रमहरू ल्यायो ? जनताका अधिकारहरूको सुनिश्चितता ग¥यो ? यसका अबका दिनहरूले समाजवादको अनुभूति गराउँछन् त ?

केपी ओलीको विगतलाई बिर्संदै केही मान्छेहरूले उनी खास्साका राष्ट्रवादी हुन् भन्ने टिप्पणी गर्ने गरेका थिए । जब उनी दोस्रोपटक प्रधानमन्त्री हुन पुगे अथवा यसो भनौँ उनको गठबन्धनले स्पष्ट बहुमत हासिल ग¥यो तबदेखि उनको राष्ट्रवादको जामा ढिला हुँदै गएको थियो । सरकार बन्नुभन्दा पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लगातारको फोनवार्ता, उनको दूतका रूपमा सुष्मा स्वराजको नेपाल भ्रमण, भ्रमणका क्रममा केपी र पुष्पकमल दाहाल (पीके) सँग मात्र भेट र गोप्य वार्ताले उनको दमदार राष्ट्रवादमा धमिरा लाग्न थालेको थियो ।

केपी र पीकेको सरकार बन्यो (हालमा आएर एउटै पार्टी बनेको छ ।) चीनको हेनान प्रान्तको बोआओको ‘विश्वको बृहत् समृद्धिका लागि खुला र उन्नतिशील एसिया’ विषयक फोरम २०१८ (अप्रिल ८ देखि ११ सम्म) मा भाग लिन केपीलाई भारतले अघोषित प्रतिबन्ध लगाएको थियो । त्यस समयमा केपी चीन नजाऊन् भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकतर्फी समय निर्धारण गरी अप्रिल ६ र ७ मा भारतको राजकीय भ्रमणमा बोलाइदिए । केपी चीन नगएर लुत्रुक्क परी भारत गएका थिए । भारत जानुअघि चैत १९ गते संसद्मा चर्को स्वरले राष्ट्रघाती सन्धिसम्झौता नगर्ने, भारतसँग नझुक्ने गुड्डी हाँक्न भ्याएका थिए तर भारतमा उनले भनेको जस्तो केही गर्न सकेनन् । उनी दिल्लीबाट बदनाम भएर फर्किएका थिए ।

नेपाल फर्किएको लगत्तै उनका परराष्ट्रमन्त्रीलाई चीन पठाएर भ्रमणको चाँजापाँजो मिलाएका थिए । लगभग मिति पनि तय भएको थियो । एकाएक मोदी नेपाल आइदिए । मोदी आएनन् मात्र उनले केपी ओलीको राष्ट्रवादी मुकुण्डो पूर्ण रूपले च्यातेर फ्याँकिदिए । जनकपुरदेखि काठमाडौँ, काठमाडौँको होटेल द्वारिकाजबाट गरेको नेपालको जलस्रोतमाथिको अतिक्रमणात्मक अरुण ३ को संयुक्त शिलान्यास, नेपालको रणनीतिक र सामरिक महत्वको मुस्ताङ भ्रमण, त्यहाँ २ दिनसम्म भारतीय सेनाको बसाइसम्म पुग्दा मोदी पूर्ण रूपमा एकातिर केपी भारतीय कठपुतली बनेको र उनको राष्ट्रवाद पानीको फोका मात्र रहेको पुष्टि गर्न सफल भए । मोदी नेपालमा रहँदै गर्दा पीकेको माके र केपीका बीचमा चलेको अन्तरसङ्घर्ष छताछुल्ल हुँदै गर्दा मोदीकै बृहत् योजनामा एकाएक एकता हुन पुगेर बनेको सिङ्गो नेकपा अन्डरलाइन पार्टी अबउप्रान्त मोदीभक्त भएको प्रमाणित पनि उनले गरिदिएका छन् । यतिसम्म भयो, भारतीय दलाल भन्ने गरिएको नेपाली काङ्ग्रेसका नेताहरूले समेत केपीको राष्ट्रवादलाई संसद्मा नै कुरीकुरी गरिरहेका छन् ।

केपी सरकारमा आएपछि उनले आफू इतिहासकै फासिस्ट भएको प्रमाणित गरेका छन् । नेपालको सामन्ती राजतन्त्रका विरुद्ध भीषण सङ्घर्ष गरेको वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने अभीष्ट बोकेको नेकपाका नेता÷कार्यकर्तालाई केपी सरकार गठन हुने बित्तिक्कै धरपकड, गिरफ्तारी, झूट्टा मुद्दा लगाइरहेको छ । संविधानको निर्माता र पालक भनेर नथाक्ने केपी ओलीको ठाडो निर्देशनमा अहिले सार्वजनिक सुरक्षाको डन्डा लगाएर उनकै अदालतले दिएको ४÷४ पटकको छोड्ने आदेशलाई लत्याउँदै गिरफ्तार गरिराखेको छ । यसको ज्वलन्त उदाहरण नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसभासद् किरण राई हुन् ।
केपी सरकारले सामान्य सभाजुलुसमाथि पनि प्रतिबन्ध लगाएको छ । पेट्रोलियम पदार्थको मूल्य दिनदिनैजस्तो बढाएको छ । लोकप्रियताका नाममा सञ्चारमाध्यमहरूमाथि अघोषित नियन्त्रण गरी भ्रमपूर्ण र असत्य समाचारको बौछार नै गरिराखेको छ ।

यसरी केपीका यी सय दिन केवल भ्रमको खेती गर्ने, भ्रम सुकाउने र भ्रम नै उठाउने बिस्कुनबाहेक अरू केही हुन सकेको छैन । भ्रमको पछिल्लो नमुना भनेको चैतमा अर्थमन्त्रीले जारी गरेको श्वेतपत्र र जेठ १३ मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणलाई लिन सकिन्छ । एक महिनाअघि टाट पल्टिएको देशको अर्थतन्त्र एक महिनाको बीचमा कायापलट भएको देखाइएको छ । आर्थिक सूचकाङ्कहरूमा निकै ठूलो सुधार भएको देखाइएको छ । मानौँ जादुको छडीले काम गरिराखेको छ ।
यसै क्रममा पीकेको माके केपीको एमालेमा विलय भएको छ । विचार, राजनीति, वर्ग सबैलाई सदाका लागि तिलाञ्जली दिएर विशुद्ध आफ्नो ज्यान जोगाउन, जनयुद्ध र जनमुक्ति सेनाको नामको अकुत रकम बचाइराख्न र परिवारको जीवनलाई हराभरा बनाउन तर जनता, कार्यकर्ता, सहिद परिवार, बेपत्ता योद्धा परिवारको रगत, पसिना र सपनामाथि खेलबाड गरी उनी केपीमा विलय भएका हुन् । त्यसैले पछिल्ला सय दिनहरू नेपाली इतिहासका लागि पश्चगामी रहे । इतिहास मजाकमा दोहोरिन पुगेको छ । सम्पादकीय 
२०७५ जेठ १८ गते शुक्रबार दिउँसो २ : १३ मा प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :