मरेर पनि बाँचिरहेका कलमवीरको सम्झना

 

अम्बिका चन्द / काठमाडौं : एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने र सहिदका सपना पूरा गरेरै छोड्ने अठोट गरेको नेकपाले क्रान्तिकारी पत्रकार, साहित्यकार, माक्र्सवादी सौन्दर्यचिन्तक तथा कलमवीर कृष्ण सेन ‘इच्छुक’ को विशेष सम्झना गरेको छ । सेनको १६ औँ स्मृति दिवसका अवसरमा नेकपाको केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा महासचिव विप्लव उपस्थित थिए । कृष्ण सेनको स्मृति दिवसमा महासचिव विप्लवले नेपाली क्रान्तिकारी आन्दोलनका अथक योद्धा, कवि तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’ ले देखाएको बाटोमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाए । तत्कालीन नेपाली जनयुद्धको सुरुआत र त्यसभन्दा अगाडिका दिनहरूमा कृृष्ण सेनसँगको सहकार्यका दिनहरूको सम्झना गर्दै विप्लवले इच्छुक राजनीतिक, वैचारिक तथा साङ्गठनिक क्षेत्रमा दक्ष व्यक्ति भएको र नेपाली जनवादी साहित्यमा उनको विशेष योगदान रहेको मूल्याङ्कन गरे । महासचिव विप्लवले आफ्नो स्पष्ट र क्रान्तिकारी दृष्टिकोणसहित नेपालको क्रान्तिकारी आन्दोलनमा निकै ठूलो योगदान पु¥याउने कृष्ण सेन सधैँ अमर रहने बताए । साथै विप्लवले इच्छुकलाई निकै शालीन व्यक्तित्व र शिष्ट व्यवहारका धनी व्यक्तित्व भनी मुक्तकण्ठले प्रशंसा गरे ।

सेन एक समालोचक, पत्रकार, नेता, विचारक थिए, मुख्य त कवि थिए र कवितामा उनको विशेष दख्खल थियो । कृष्ण सेनका बन्दी र चन्द्रागिरि, शोकाञ्जली, इतिहासको यस घडीमा कविता÷काव्य हुन् । राजनीतिक, वैचारिक एवम् साङ्गठनिक व्यक्ति हुँदाहँुदै पनि सेनको साहित्यिक पक्ष नै अब्बल रहेको उनका रचनाहरूले प्रस्ट्याउँछन् । सेनमा भएको साहित्यिक पक्षको सम्झना गर्दै विप्लवले भनेका छन्, ‘मैले धेरैपटक आग्रह गर्दा पनि सेन दाइ नेतृत्वका लागि तयार हुनुभएन किनकि उहाँ कहिल्यै नफर्कने गरी साहित्यतर्फ प्रवेश गरिसक्नुभएछ ।’ उक्त कुरालाई पुष्टि गर्दै समालोचक गोपीन्द्र पौडेल भन्छन्, ‘इच्छुक गद्य कवितामा अक्सर वर्णनात्म क शैलीबाट मुक्त कविता लेख्ने गर्दथे ।’ सेनका कविता साँच्चै जोडदार मात्र थिएनन् एउटा प्रवाहमा बगेका थिए ।’ विप्लव भन्छन्, ‘उहाँका कविता सलल बगेको कञ्चन नदीजस्तो लाग्छ, सरल शब्दहरूको सुन्दर सिलाइ, कुनै अड्काउ र द्विविधा देखिँदैन, विचार भावना र रागको बेजोड मिलन ।’

विचार र साहित्यका धनी कृष्ण सेनको कलमदेखि तत्कालीन शाही सरकार कायर बन्यो र २०५९ जेठ ६ गते काठमाडौँको बानेश्वरबाट पक्राउ ग¥यो । निःशस्त्र व्यक्तिलाई पक्राउ गरेर एक सातापछि जेठ १३ गते हत्या ग¥यो । उनलाई शाही सुरक्षा फौजले निकै अमानवीय तरिकाले यातना दिएर महेन्द्र पुलिस क्लबमा हत्या गरेको थियो । इच्छुकको सहादतको खबर जनआस्था साप्ताहिकले ‘खड्का बिरामी, सेन खरानी’ भन्ने शीर्षकमा पहिलो पृष्ठमा प्रकाशित गरेको थियो । इच्छुकको हत्या भएको १६ वर्षसम्म पनि उनका हत्यारालाई कारबाही भएको छैन । तत्कालीन माओवादी जनयुद्धको बेला शाही सरकारले कैयौँ ठाउँमा निःशस्त्र जनता, माओवादी समर्थक, शुभचिन्तक, कवि, कलाकार, साहित्यकारहरूलाई सामूहिक ढङ्गले हत्या गरेको थियो । अछामको गुम्दा, काभ्रेको अनेकोट, रोल्पाको भाबाङ र डोटीमा गरिएका सामूहिक र दर्दनाक हत्याकाण्डहरू भएपछि उनै सांस्कृतिक योद्धाहरूको स्मृतिमा सांस्कृतिक प्रतिरोध दिवस मनाउन सुरु गरिएको छ । यो दिवस चैत ५ गते पर्दछ ।

यसैबीच १७ औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक तथा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (चैतन्य) थिए । दार्शनिक एवम् सौन्दर्यशास्त्रीसमेत रहेका चैतन्यले देशमा जारी दलाल संसदीय व्यवस्थाले राष्ट्रियता र स्वाधीनतामाथि आघात पु¥याइरहेको भन्दै देश र जनताको वास्तविक समृद्धिका लागि एकपटक सशस्त्र क्रान्तिको खाँचो रहेको बताए । साथै उनले राष्ट्रियतामाथि वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको भन्दै राष्ट्रियताका पक्षमा कलम चलाउन स्रष्टा र पत्रकारहरूलाई आग्रह गरे । कार्यक्रममा ४ जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुनेहरूमा मोदनाथ मरहट्टा (चितवन), विनोद केसी (ललितपुर) शोभा दुलाल (काठमाडौँ) र फूलमाया दर्जी (कालीकोट) छन् । साहित्यकार तथा पत्रकार कृष्ण सेनकी धर्मपत्नी तक्मा केसी र छोरी पनि कार्यक्रममा सहभागी थिए । यसैबीच प्रतिष्ठानले जेठ ४ गते चितवन र ५ गते पोखरामा ‘प्रतिरोध कविता अभियान’ सम्पन्न गरेको छ । पत्रकार कृष्ण सेनको स्मृति दिवसमा क्रान्तिकारी पत्रकार सङ्गठनले देशभरि नै विभिन्न कार्यक्रम गरेको छ । अखिल नेपाल जनसास्कृतिक महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी पत्रकार महासङ्घको आयोजनामा काठमाडौँमा इच्छुकको १६ औँ स्मृति दिवसका अवसरमा प्रभातफेरी गरिएको छ ।
२०७५ जेठ १७ गते बिहीबार अपरान्ह ४ : १३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :