महिलालाई एकजुट भएर लड्न आव्हान

 

 

ओम हमाल/पोखरा : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको तेस्रो जिल्ला भेला आइतबार पोखरामा सम्पन्न भएको छ । भेलाले प्राप्ति विकको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको सचिवमा पवित्रा देवकोटा र कोषाध्यक्ष चन्द्रमाया पुन चयन भएका छन् ।
भेलाको उद्घाटन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले गरेकी थिईन् ।

सो अवसरमा उनले संसदीय व्यवस्थाले जनताको मुक्ति सम्भव नभएको टिप्पणी गर्दै संसदवादी दलहरुले गरीब, किसान, मजदूर, महिला, दलित लगायतका उत्पीडित वर्गलाई चुनावको बेला उपयोग गरेपनि चुनाव सम्पन्न भएपछि ती उत्पीडित वर्गहरुको पक्षमा कुनै काम नगर्ने गरेको दृष्टान्त प्रस्तुत गरेकी थिइन् । नेतृ चन्दले वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र उत्पीडित वर्गको मुक्ति सम्भव हुने दाबी गर्दै त्यसका लागि सबै एकजुट भएर संसदीय व्यवस्थाविरुद्ध लड्नुपर्ने कुरामा जोड दिएकी थिइन् ।

नेकपाकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो संयोजक सावित्रा दूरा ‘आस्था’ले नेपालका महिलाहरु वर्गीय र लैङ्गिक दृष्टिकोणले उत्पीडनमा परेको बताउँदै यी दुवै खाले उत्पीडिनबाट मुक्ति पाउन नेपालका महिलाहरु एकजुट भएर लड्नुपर्ने बेला आएको बताइन् ।

सो भेलामा नेकपाका गण्डक ब्यूरो सदस्यहरु जगन तिवारी र गोकुल पराजुली, शहीद तथा बेपत्ता परिवार मोतिमाया पौडेल, ओमकुमारी विक, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो संयोजक अञ्जु कुमाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई लगायतका नेता तथा कार्यकर्ताहरुले भेलाको सफलताको कामना गरेका थिए ।
२०७५ जेठ १७ गते बिहीबार हान ११ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :