स्मृतिमा सहिद कृष्ण सेन ‘इच्छुक’ – बन्धु चन्द

२०३६/०३७ सालतिर हामी साना स्कुले विद्यार्थी थियौँ । त्यसबेलाका पाठ्यपुस्तकमा लेखिएका गीत, कविता, कथा, निबन्ध निकै रुचिका साथ पढिन्थ्यो । अझ गीत र कविताहरू त भाका हालेर गाउन र वाचन गर्न झनै रमाइलो हुन्थ्यो । त्यतिबेला पाठ्यपुस्तकभन्दा बाहिरका किताबहरू विरलै पाइन्थे । एक दिन मेरो हातमा ‘हटारु’ लेखिएको किताब (पत्रिका) प¥यो । यसका सम्पादक प्रकाशक को थिए, किताबले दिन खोजेको सन्देश के थियो ? त्यो बुझ्न मेरो बालमस्तिष्कले भ्याउने कुरै भएन । त्यसमा खुब रमाइला गीत, कविता, कथा र निबन्धहरू थिए । ती सबै खुब चाख लिएर पढेँ मैले । त्यसमा ‘मेरो साथी’ शीर्षकमा दायाँ छेउमा साना अक्षरमा ‘सेन’ लेखिएको कथा थियो । त्यो कथामा रोल्पाबाट दाङको महेन्द्र क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्न गएको एकजना विद्यार्थी (जो लेखकका साथी थिए) लाई कसरी राजनीतिक चेतना दिइयो ? उसका व्यावहारिक बाध्यता र सपना के थिए ? भन्ने कुरालाई आत्मपरक शैलीमा रोचक ढङ्गले उल्लेख गरिएको थियो । त्यतिबेलाको मेरो बालचेतनाले त्यो कथाको भाव र उद्देश्य बुझ्ने कुरै भएन । तर कथामा उल्लिखित विभिन्न ठाउँको नाम, हाम्रो गाउँले जीवनको बयान अनि पढेर के बन्ने ? भन्ने हाम्रा र हाम्रा अभिभावका सपना चाहीं मेल खाने थिए । त्यसैले ती कथाका प्रसङ्ग मलाई अझैसम्म याद आइरहन्छ । त्यस कथाका लेखक सेन अनि कथामा उल्लेखित उनको साथी को थियो होला ? मेरो जिज्ञासा यथावत थियो । समयक्रममा हामी स्कुलमा संगठित हुँदै जाँदा र गोप्य रूपमा राजनीतिक क्लास पाउँदा हाम्रा अग्रज गुरुहरूबाट कृष्ण सेनको नाम बेलाबेलामा सुन्ने गरिन्थ्यो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा बहुदल स्थापना भयो । राजनीतिक पार्टीहरू खुला भएर आआफ्ना राजनीतिक कार्यक्रम लिएर गाउँगाउँमा पुग्न थाले । त्यसै सन्दर्भमा नेकपा (मशाल) को कार्यक्रम लिएर कृष्ण सेनको नेतृत्वमा एउटा टिम हाम्रो गाउँमा पुग्यो । हामीले पढेको रोल्पा घोडागाउँको रामेश्वरी मा.वि.को प्राङ्गणमा भएको जनसभामा कृष्ण सेनले जोडदार भाषण गर्नुभयो । दुब्लो–पातलो शरीर, भद्र र शालीन देखिने नेताले गरेको भाषण पछिसम्म पनि गाउँमा चर्चाको विषय बनेको थियो त्यतिबेला । जनतालाई सम्बोधन गरिसकेपछि आन्तरिक रूपमा उहाँले हामी केही व्यक्तिलाई राजनीतिक कक्षा दिनुभयो । त्यतिबेला नेपालमा काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा ‘वाम’ मोर्चा सम्मिलित अन्तरिम सरकार बनेको थियो । आआफ्ना विचारका राजनीतिक कार्यक्रम गर्ने क्रममा नेकपा (मशाल) ले रुकुमको सदरमुकाम मुसीकोटमा सांस्कृतिक कार्यक्रमसहितको सभा गर्दा कलाकारहरूले बन्दुक (नक्कली) सहितको नृत्य गरेको आरोपमा सरकारले सैन्य अपरेसन चलाएको थियो । वाममोर्चा सम्मिलत सरकारले गरेको उक्त सैन्य अपरेसनको विरोधमा नेकपा (मशाल) ले देशैभरि भण्डाफोर अभियान चलाएको थियो । कार्यक्रममा कृष्ण सेनले वाम र काङ उस्तै हुन् भनेर दिएको प्रशिक्षण आजैजस्तो लाग्छ ।

भौतिक रूपमा मैले कृष्ण सेनलाई पहिलोपटक देखेको, भेटेको र चिनेको त्यतिबेलै हो । उहाँको शालीनतापूर्वक सरल भाषामा आफ्ना विचारहरू राख्ने अभिव्यक्ति शैलीले म अत्यन्त प्रभावित भएकी थिएँ । उहाँ बोल्दै गर्दा मलाई मेरो बाल्यकालको ‘मेरो साथी’ लेख्ने सेन उहाँ नै हो भन्ने कुराको अड्कल काट्न अप्ठ्यारो भएन । पछि थाहा भयो, उक्त ‘हटारु’ पत्रिका उहाँहरूकै पहलमा प्रगतिशील साहित्यिक पत्रिकाका रूपमा दाङबाट निस्कने रहेछ र उक्त कथाका लेखक कृष्ण सेन ‘इच्छुक’ नै हुनुहुँदो रहेछ । जब यो कुरा थाहा भयो बल्ल मैले कथाको वास्तविक भाव र उद्देश्य बुझ्न थालेँ ।

२०४८ सालमा सहिद मित्रमणि आचार्यको सम्झनामा उहाँद्वारा लेखिएको ‘शोकाञ्जली’ खण्डकाव्य पढ्ने मौका मिल्यो । त्यसपछि विभिन्न पत्रपत्रिकामा कृष्ण सेन ‘इच्छुक’ का नाममा आउने हरेक रचनाहरू खोजीखोजी पढ्ने गर्थेँ म । उहाँको जनजीवनसम्म जोडिएका सुखदुःखका कथाव्यथा जनताको भावना अनि त्यसलाई बदल्ने विचारसहितको क्रान्तिकारी साहित्य रचनाले प्रभावित नहुने सायद कोही थिएन होला । जनयुद्धको तयारी तथा ग्रामीण वर्गसङ्घर्षको बेला गीतसङ्गीत र साहित्य जनतामा जागरण पैदा गराउने र वर्गसङ्घर्षको औचित्य पुष्टि गर्ने धेरै महत्वूर्ण साधन बनेका थिए । मणि थापा, पूर्ण घर्ती, कुलानन्द गिरीका गीतहरू अनि कृष्ण सेन, अमर गिरी आदिका कविता अत्यन्त चर्चित थिए त्यतिबेला । २०५२ साल फागुन १ गतेबाट जब जनयुद्धको सुरुआत भयो, त्यसपछि राज्यको दमन र क्रान्तिकारी योद्धा र जनताहरूको बलिदानको शृङ्खला पनि बढ्दै गयो । नेपाली क्रान्तिले समाजका नयाँनयाँ विषयवस्तुहरू उठान गर्दै जाँदा त्यसलाई जनताको भावना, विचार, सङ्घर्ष र मुक्तिको प्रश्नसँग जोड्दै त्याग, समर्पण र बलिदानको मूल्यबोधलाई गीतसङ्गीत र कलासाहित्यमार्फत जोड्ने र प्रचारप्रसार गर्ने काम कलाकार, साहित्यकार र पत्रकारहरूले गरे । युद्ध घनीभूत हुँदै जाँदा राज्य कति क्रूरतापूर्वक दमनमा उत्रियो भने कलाकारहरू नाच्दानाच्दै, गाउँदागाउँदै लेखक–साहित्यकारहरू लेख्दालेख्दै, पत्रकारहरू समाचार छाप्दाछाप्दै, गिरफ्तारीमा पर्नुपर्ने, हिरासत र जेलको यातना भोग्ने मात्र होइन, बेपत्ता र हत्या गरिने घटनाहरूसमेत हुन थाले । त्यसै सिलसिलामा कृष्ण सेन ‘इच्छुक’ लाई पनि पटकपटक गिरफ्तार गरेर जेल हालियो । तर जेलभित्र पनि उहाँको विचार साहित्यिक कृतिमार्फत यति सशक्त बनेर आयो जसले प्रतिक्रियावादी राज्यसत्ताको मुटु काँप्न थाल्यो । उहाँको विचारबाट अत्तालिएका क्रूर शासकहरूबाट २०५९ जेठ ६ गते उहाँलाई काठमाडौँबाट गिरफ्तार गरी बेपत्ता बनाइयो र जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर हत्या गरियो । तर शासकहरूले उहाँको हत्याको खबर सार्वजनिक गर्न सकेनन् । पछि घुमाउरो पाराले विभिन्न पत्रपत्रिकामार्फत उहाँको हत्याको घटनालाई बाहिर ल्याउने काम भयो । यसरी एउटा बहुआयामिक व्यक्तित्वका धनी निष्ठावान् क्रान्तिकारी योद्धा कृष्ण सेन ‘इच्छुक’ को भौतिक जीवन समाप्त पारियो । दुस्मनहरूले सोचेका थिए होलान् इच्छुकको हत्याले क्रान्तिकारी आन्दोलन शिथिल हुनेछ, कलमहरू लेख्न बन्द हुनेछन्, सबैमा निराशा आउनेछ र उनीहरूको लुटको स्वर्गमा शान्ति छाउनेछ तर त्यसो भएन । उहाँको सहादत त क्रान्तिका लागि ऊर्जा बनेर आयो । दुस्मनको कालकोठरीभित्र उहाँले प्रदर्शन गर्नुभएको अदम्य साहस क्रान्तिकारी दृढता र बलिदानी भावले दुनियाँलाई क्रान्तिमा दृढतापूर्वक अविचलित भएर अगाडि बढ्ने प्रेरणा मिल्यो र हजारौँ ंयोद्धाहरू उहाँको आदर्शलाई पछ्याउँदै सहिद बने ।

नेपालको क्रान्तिकारी आन्दोलनमा एउटा विशिष्ट आदर्श बिम्बका रूपमा स्थापित भएका कृष्ण सेनलाई मैले बाल्यकालमा कथामा चिनेँ । त्यो पनि अबोध बालापनमा ‘सेन’ नामले । भौतिक रूपमा पहिलो भेट राजनीतिक कार्यक्रममा भयो । नेताकै रूपमा चिनेँ । त्यसपछिका दिनहरूमा एकदुईपटक प्रत्यक्षअप्रत्यक्ष देखाभेट भयो तर कुराकानी र भलाकुसारी केही भएन । उहाँले मलाई चिन्नुभयो कि भएन थाहा छैन तर उहाँलाई मैले धेरैभन्दा धेरै साहित्यकारका रूपमा कविता र उहाँका कालजयी कृतिहरूमा चिनेँ । नेताका रूपमा विचारमा चिनेँ । पत्रकारका रूपमा जनादेश र जनदिशामा चिनेँ । त्योभन्दा पनि धेरै नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको महान् सहिदका रूपमा चिनेँ । उहाँसँग प्रत्यक्ष सहकार्य गरेका सहयात्रीहरूको बेग्लै अनुभूति होला तर उहाँलाई लाखौँकरोडौँ मित्रजन र शुभचिन्तकहरूले यसरी नै चिन्छन् होला ।

इच्छुकको बहुआयामिक व्यक्तित्वका बारेमा धेरै चर्चापरिचर्चा गर्नु जरुरी छैन किनकि नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा मात्र होइन, बुर्जुवा समाजमा समेत ‘इच्छुक’ यस्तो नाम हो जुन सरलता, मानवता, निष्ठा, त्याग, समर्पण र बलिदानको उच्च आदर्शका रूपमा स्थापित छ । वैचारिक राजनीतिक साङ्गठनिक साहित्यिक, सांस्कृतिक एवम् पत्रकारिताजस्ता विविध विधा र क्षेत्रमा विचारअनुसारको व्यवहार, आदर्शअनुसारको जीवन, अधिकारभन्दा कर्तव्य, आवेगभन्दा विवेक प्रयोग गर्नसक्ने विलक्षण प्रतिभा र क्षमताका धनीका रूपमा खरो उत्रिएका सशक्त योद्धाको नाम हो कृष्ण सेन ‘इच्छुक’ । आज ती महान् योद्धाले नेपाली श्रमजीवी जनता देश र साम्यवादको लक्ष्यप्रति समर्पित भई आफ्नो जीवनलाई आहुति दिएको पनि १६ वर्ष बितिसकेको छ । यो अवधिमा नेपालमा ठूलठूला राजनीतिक घटनापरिघटनाहरू घटिरहेका छन् । यहाँसम्म आउँदा नेपालमा इच्छुकको सपना पूरा गर्ने इच्छुकको व्यापार गर्ने र इच्छुकको सपनालाई तिलाञ्जली दिनेबीच सङ्घर्ष चलिरहेको छ । यतिबेला मेरो मनमस्तिष्कले एउटा प्रश्न सोधिरहेको छ, इच्छुक ! तपाईंका विचार र सिद्धान्तको रक्षाका लागि बलिदान गर्न आदेश दिनेहरू, मृत्युभित्र जीवन छ भनी सिकाउनेहरू नै आज जीवनका लागि सिद्धान्त र विचारलाई तिलाञ्जली दिँदै छाला बचाउ अभियानमा छन् । तिनैको कम्युनिस्ट शासनमा आज तपार्इंजस्तै अन्याय, अत्याचार र शोषणका विरुद्ध सङ्घर्ष गर्नेहरू जेलका चिसा छिँडीमा दिन काटिरहेका छन् । तपाईंकै भाषामा बाँच्नका लागि भट्टी पसल राख्न बाध्य कान्छीहरूका झुपडीमा दिनदिनै डोजर दौडिरहेका छन् । यस्तो बेलामा तपाईंको क्रान्तिकारी कवि चेतनाले कस्तो कविता लेख्थ्यो होला ?

प्रत्येक वर्ष जेठ १३ गते इच्छुकको सम्झनामा ‘इच्छुक स्मृति दिवस’ मनाउने गरिन्छ । यस वर्षको १७ औँ इच्छुक स्मृति दिवसका अवसरमा उहाँको आस्था, विचार र बलिदान भावलाई नबिर्सिने र उहाँको लक्ष्यप्रति अविचलित भएर अगाडि बढ्ने प्रतिबद्धताका साथ इच्छुकलगायत सम्पूर्ण महान् सहिदहरूप्रति इच्छुककै कालजयी कविताका केही अंशसहित भावपूर्ण श्रद्धाञ्जली !
यस सन्त्रासमय समयमा जसले
गद्दारी होइन मृत्यु रोजेका छन्
वास्तवमा ती सच्चा जीवन बाँचेका छन्
तिनको नश्वर शरीर कायम नरहे पनि
तिनका महान् अभिलाशाहरू
सधैँसधैँ जीवित रहनेछन्
जीवनको अन्तिम दिनसम्म पनि
जो कञ्चन र इमानदार रहे
तिनका सहज स्मृतिहरू पनि
सधैँसधैँ जीवित रहनेछन्
(बन्दी र चन्द्रागिरि)

लामो अँध्यारो रातपछि
झल्मलाउने उज्यालो प्रभातजस्तै
आजको कालो अँध्यारो चिरेर
हाम्रो आस्थाको साम्यवाद
एक न एक दिन जरुर झुल्कनेछ
हाम्रो निष्ठाको बीजबाट
एक न एक दिन जरुर
नयाँ जीवनको नवाङ्कुर फुट्नेछ
र एक न एक दिन जरुर
हाम्रो सुखद र ऐश्वर्यपूर्ण भविष्यको
सुन्दर सयपत्री फुल्नेछ ।
(बन्दी र चन्द्रागिरि)
२०७५ जेठ १६ गते बुधबार अपरान्ह ६ : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :