जनविद्रोहपछि म फेरि जेल जानुपर्ने हुन्छ : बालकृष्ण ढुङ्गेल

काठमाडौं : तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेल मङ्गलबार गणतन्त्र दिवसको दिन रिहा भएका छन् । उनी काठमाडौँ डिल्लीबजारस्थित कारागारबाट रिहा भएका हुन् । सरकारले गणतन्त्र दिवसका अवसरमा प्रक्रिया पूरा गरेका कैदी बन्दीको कैद मिनाहा गर्न राष्ट्रपतिसमक्ष गरेको सिफारिस अनुमोदन भएसँगै ढुङ्गेलसहित ८ सय १६ जना बन्दी रिहा भएका हुन् । जेलमुक्त भएपछि ढुङ्गेलले पेरिसडाँडामा सहिद तथा बेपत्ता योद्धाहरूको सम्मानमा निर्माण गरिएको स्तम्भअगाडि उभिएर छोटो तर निकै भावुक र आक्रोशपूर्ण सम्बोधन गरे । उनले भने, ‘बालकृष्ण ढुङ्गेल तेस्रोपटक रिहा भएको हो । यो सायद अन्तिमपटक नहुन पनि सक्छ । जनताका नाममा गरिएका आन्दोलनहरू शासन गर्न पुगेपछि सत्ताले शासक जन्मायो भने जनताले विद्रोह गर्नुपर्ने हुन्छ । त्यस्तो भयो भने फेरि पनि म जेल जानुपर्ने हुनसक्छ ।’
उनले आफूलाई तेस्रोपटक जेल जान्छु भन्ने नलागेको भए पनि हिजो गणतन्त्र माग्दा टाउकाको मूल्य तोक्नेहरूले आफूलाई यतिबेला जेल पठाएको बताए । उनले भने, ‘मैले गणतन्त्र जिन्दावाद भन्दै गर्दा मलाई हिटरमा पिसाब फेराएर मेरो मिर्गौला नष्ट पार्ने शेरबहादुर देउवाहरू गणतन्त्र आएपछि गणतन्त्रको मालिक बन्छन् होला र मलाई अपराधी करार गर्दै फेरि जेल पठाउनुहुन्छ होला भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ ।’ पहिलो संविधानसभामा ओखलढुङ्गाबाट विजयी भएर संविधानसभामा पुगेका ढुङ्गेलले भने ‘देशमा गणतन्त्र घोषणा भएपछि र संविधानसभाद्वारा संविधान जारी भैसकेपछि गणतन्त्र माग्दा टाउकाको मूल्य तोक्नेहरूले गणतन्त्र हेरेर पश्चातापका आँसु बगाउँछन् होला भन्ने लागेको थियो आज तिनै गणतन्त्र माग्दा टाउकाको मोल तोक्ने, हिटरमा पिसाब फेराउने, सङ्कटकाल घोषणा गर्ने र नागार्जुनको जङ्गलमा लगेर योद्धाहरूलाई बेपत्ता पार्नेहरू गणतन्त्रका मालिक बने तर म कारागार गएँ ।’

जनयुद्धकालमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुङ्गेल जनयुद्धकालमै ७ वर्ष जेल बसिसकेका छन् । शान्तिप्रक्रियापछि सर्वोच्च अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । उनी गत कात्तिक १४ गते ललितपुरको सातदोबाटोमा रहेको डेराबाहिरबाटै पक्राउ परेका थिए । यता सर्वोच्चमा उनलाई माफी नदिन परेको रिट निवेदनमाथिको सुनुवाइ जारी छ ।

देशमा शान्तिप्रक्रियाको सुरुआतसँगै सबै द्वन्द्वकालीन मुद्दा सत्य, मेलमिलाप तथा निरूपण आयोगले हेर्ने भनिए पनि ढुङ्गेललाई बृहत् शान्तिसम्झौताविपरीत जेल हालिएको थियो । उनको पार्टी र प्रचण्डहरू सत्तामै रहेको बेला ढुङ्गेलजस्ताले जनयुद्धकालीन मुद्दाका विषयमा दुःख पाएका छन् । यसरी व्यक्तिगत तवरले जनयुद्धकालका मुद्दाहरू ब्युँताउने हो भने तत्कालीन माओवादी मात्र नभई सत्तामा रहेका कैयौँ हाइप्रोफाइल र सुरक्षानिकायका उच्च अधिकारीहरू पनि यसमा तानिन सक्छन् ।

२०७५ जेठ १६ गते बुधबार दिउँसो २ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :