कमरेड कृष्ण सेन, स्मृति र आदर्श : विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी


स्मरण अर्थात् बितेको कुराको याद गर्नु या सम्झना गर्नु यत्ति हो शब्द स्मरणको अर्थ तर होइन, स्मरणको गहिराईमा पुगेर छाम्यो भने स्मरणको छायाँमा उत्कण्ठा र प्रेरणा, विष्मय र उल्लास, पीडा र गौरव, भावना र विचार छिपेको ठान्छु कति अजीव छ हैन त स्मरणको परिधि । हो मलाई कृष्ण सेन ‘इच्छुक’को स्मरण गर्दा यस्तै अनुभूति हुन्छ ।

धेरै नबुझेर पनि भुलि नसक्नुको एउटा दिन र दिनको पनि एक साँझ, जसले मेरो आजको जीवनमा पुग्न मजबुत जग हालिदिने काम ग¥यो, आँखाको नानीमा मात्र होइन, नसा–नसामा बगेर फालिनसक्नुको भार लगायो, त्यसको खुब याद गर्छु र झन्पछि झन् मुल्यवान ठान्छु । त्यसदिनको साँझ, भाषण र गीत, नेता र गायक, नयाँ समाजको परिकल्पना, नितान्त नयाँ जो मेरो दिमागमा पहिले कहिल्यै थिएन तर कहिल्यै नबिर्सनेगरी छाप छो्डयो, यससँग कृष्ण सेन ‘इच्छुक’ र तिलक बैरागीको स्मृति जोडिएको छ ।

गते कति हो ठ्याक्कै सम्झना छैन, तर २०३६ सालभरि राम्रै थाहा छ । रोल्पा, लिवाङको टुँडीखेलमा एउटा चश्मा लगाएको नौजवानले पञ्चायती व्यवस्थाको धज्जी उडाएर गरिब दुःखीको व्यवस्था ल्याउनुपर्नेमा जोड दिएर भाषण गरे । अर्को युवकले गीत गाउँ ‘गरिबको भन्नु के हुन्छ र आफ्नो बरिलै, यी दुइटा पाखुरा हुन् सोध न साइँलालाई ।’अर्को दिन दिउँसो माध्यामिक विद्यालयका पाका विद्यार्थीहरू चउरमा घेरा मारेर बसे र हिजोको कार्यक्रमको छलफल गर्न थाले । छलफलको हक पाई नसकेको भए पनि स्रोताको अवसरबाट मैले बुझेँ कि चश्मा लगाएर भाषण गर्नेको नाम कृष्ण सेन र गीत गाउनेको नाम तिलक बैरागी रहेछ । ती विद्यार्थीहरूको व्याख्या अनुसार उनीहरू दाङ र काठमाडौंतिर कलेजमा पढ्ने विद्यार्थी हुन् र कम्युनिस्ट विचारधाराको प्रचार र सङ्गठन निर्माण गर्न यता आएका हुन् । घेराभित्रबाट एउटाले प्रशंसा ग¥यो,‘त्यो चश्मेले त पञ्चेहरूको सातै खाइदियो ।’ अर्कोले थप्यो कि‘कम्युनिस्ट व्यवस्थामा गरिब धनी कोही हुँदैनन् सबै बराबर।’ गीत त झन् मुख मुखमै झुन्डिहाल्यो,‘सोध न साइँलालाई।’

पहिलो दिनको कार्यक्रम दोस्रो दिनको टिप्पणीले कम्युनिस्ट व्यवस्था, गरिब धनी सबै बराबर र कृष्ण सेन ‘इच्छुक’ प्रति मेरो किशोर मनोभावनामा मेट्नै नसकिने लगाव भरिदियो, जो केवल भावात्मक परिमाणले छल्किएको थियो । यो लगावको समीक्षाले गर्दा म सोच्दछु कि मान्छेहरूको एकोहोरो र मिच्छेटलाग्दो जीवनक्रियामा नितान्त नयाँ र आकर्षक परिकल्पनाको समाजले सायद यसरी नै पुरानोबाट नयाँमा हुत्याउँछ होला ।

गिरफ्तारीको विष्मयकारी खबर

‘कृष्ण सेन गिरफ्तार पर्नुभयो, प्रहरीहरूले समातेर लगे ।’ एउटा पाको विद्यार्थीले छात्रवासको चौरमा अरू विद्यार्थीहरूलाई सुनायो । सबै झुम्मिए, उसको विष्मयकारी खबरप्रति गोल भएर । यो अनपेक्षित खबरले मलाई किनाराबाट झटारेर झुम्मिएकाहरू माझमा लग्यो ।‘अब उहाँलाई के गर्छ ?’ अरूका कुरै नसुनी तीव्र जिज्ञासाका साथ प्रश्न गरेँ । एउटाले विस्तारै बोल्यो,‘प्रहरीको के विश्वास, मार्न पनि सक्छ ।’ अर्कोले थप्यो, ‘नमारे पनि जेलमा सडाउने पक्का छ ।’ गिरफ्तार, मार्न सक्छन्, जेलमा सडाउने कुराले मेरो किशोर मनोविज्ञानमा गहिरो चोट पुगायो । अरूले सोचेभन्दा औडाहा छुट्यो मेरो छातीभित्र र झुण्डबाट बाहिरिएँ किनकि म भित्र सेनजीलाई एकपटक नजिकबाट हेर्ने र बुझ्ने उत्कण्ठा थियो । त्यो इच्छामै घात लाग्यो, उता जीवनको अनिश्चय रह्यो । मैले मन–मनमा मार्ने भन्दा जेल हाले हुन्थ्यो भन्ने काल्पनिक कामना गरेँ । संजोग भनौँ, केही दिनपछि सुनियो कि उहाँलाई दाङ तुलसीपुरको जेलमा हालिएछ । चर्को पीडामा थोरै राहत जस्तो महसुस भयो, मार्नुभन्दा जेल ठीक । यो घटनाक्रम २०३९ सालको हो ।

रिहाइको उल्लासमय क्षण

‘कृष्ण सेन ‘इच्छुक’ छुट्नुभयो । तपाईंले थाहा पाउनुभयो ?’ कृष्णबहादुर महराले एक्कासी सुनाउनुभयो । विष्मयको सट्टा उल्लासको यो आकस्मिक खबरले पनि शरीरभरि विचित्रको तरङ्ग पैदा गरायो । स्वभावतः खबरबाट हामीभन्दा बढी खुसी महरा देखिनुहुन्थ्यो । हामी धेरै उमङ्गित भयौँ मात्र । यसो त यो समय मेरा लागि पनि धेरै अन्तरमा थियो । म बाल र किशोर जीवनबाट युवामा प्रवेश गरेको थिएँ र स्रोताबाट सङ्गठकको जिम्मामा पुगिसकेको थिएँ । म, सोनाम, अनन्त, पासाङ विद्यार्थीका स–साना नेता भइसकेका थियौँ । म अखिल (क्रान्तिकारी) को अध्यक्षमा थिएँ ।

समयको दूरी खास समयमा हुने क्रमभङ्गले बोध गराउने जस्तो लाग्छ । हामीले सेनजीको जेल जीवन गन्यौँ, ६ वर्ष बितेछ । यसो त गिरफ्तारीपछि हरेक साल १ वर्ष थपेर ‘यति वर्षदेखि बन्दी बनाइएका कृष्ण सेनलाई – रिहा गर’ भन्ने नारा वालिङ गरिरहन्थ्यौँ । मनोभावना भनिहालौँ, उहाँलाई हाम्रै वालिङ र सङ्घर्षले छुटाए जस्तो गौरव अनुभूति भयो । भित्र–भित्र हिसाब गरेँ, अब ६ वर्ष पहिलेदेखिको उत्कण्ठा पूरा होला ।

राष्ट्रिय भेलाद्वारा अभिनन्दन

‘कृष्ण सेन ‘इच्छुक’ लाई सबैले उठेर अभिनन्दन ग¥यौं । उहाँ ६ वर्षको कठोर जेल जीवनदेखि रिहा हुनुभएको छ ।’ गैंडाकोटदेखि माथि मन्दिर भएको डाँडा मौलाकालिका मन्दिर परिसरमा यदु गौतमले उद्घोषण गरे । देशभरिका विद्यार्थी साथीहरू कुतूहलता र उमङ्गका साथ उहाँतर्फ केन्द्रित भए । हुलको बीचबाट एउटा मध्यम कदको मान्छे उठेर मञ्चतर्फ लाग्यो । कालो कपाल र चश्माले सजिलै अनुमान गरियो कि कृष्ण सेन उहाँ नै हो । पहिलो देखाइ प्रत्यक्ष र निकट नभएकोले होला, दिमागमा अलि फरक चित्र थियो । प्रत्यक्षमा अलिक फरक लाग्यो, केहीमा बढी केहीमा कम । उहाँले सरल र शिष्ट भाषामा अभिनन्दन लिनुभयो र थोरै बोल्नुभयो । बोलाई माझिएको र दृढ खालको रह्यो । छोटोमा जेलभित्रको अनुभूति पनि सुनाउनुभयो । ‘हामी देश र जनताको निम्ति जीवन दिन पनि तयार थियौँ ।’ अरू धेरै याद छैन, यति भने ताजै छ । प्रत्यक्ष परिचय र छलफलमा उहाँको अटल निष्ठा र दृढ इच्छाको गहिरो प्रभाव प¥यो ममा । जो सुनेभन्दा फरक थियो ।

कृष्ण सेन ‘इच्छुक’ लाई केन्द्रीय समितिको संयोजक प्रस्तावित गर्छु, नवौँ केन्द्रीय समितिका अध्यक्ष रमण श्रेष्ठले घोषणा गर्नुभयो । सिङ्गो हलले जोडको तालीद्वारा स्वीकृत ग¥यो । उहाँ दसौँ राष्ट्रिय सम्मेलन तयारी समितिको संयोजकमा छानिनुभयो । हामी सबै प्रतिनिधिहरूलाई एउटा अनुभवी, तानाशाहको परीक्षामा उत्तीर्ण योद्धा र योग्य नेता पाएको महसुस भयो । यो नेतृत्वको अगुवाईमा विद्यार्थी आन्दोलनलाई सुदृढ बनाउन सकिन्छ भन्ने आत्मविश्वास पनि बन्यो । भेलाको अन्त्यसम्म पुग्दा सेन कमरेडबाट कल्पना गरे भन्दा भिन्न अथक मिहिनेत, दृढ समर्पण, अटल निष्ठाको नौलो प्रेरणा प्राप्त गरेँ, जो सधैँ–सधैँभरि अविष्मरणीय छ । यो २०४४ साल साउनको कुरा हो ।

अध्ययनका लागि दिएको प्रेरणा

‘धन्यवाद तर अध्ययनमा पनि ध्यान दिनुहोला ।’ अग्लो घन्टाघरको फेद, जहाँ हाम्रो सङ्गठनको सम्पर्कस्थल थियो, त्यही बसेको बेला म हिरासतबाट छुटेपछि सेन दाइले ममतापूर्वक भन्नुभयो, मैले हाँसेर हुन्छ मात्र भनें । मतलब २०४५ सालको चैतमा हो, हामीले असमान सन्धि जलाउने र गिरफ्तारी दिने निर्णय सङ्गठनले ग¥यो । हेमन्तप्रकाश ओलीको जिम्मा असन र मेरो रत्नपार्कमा प¥यो । ओलीजीले साथीहरू भनेर के सुरु गर्नुभएको थियो, पञ्चायतका प्रहरीहरूले कटबाँस बजारिहाले । उहाँलाई समातेर कुट्दै घोच्दै असनबिटमा कोचे । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘भारतीय विस्तारवाद–मूर्दावाद, अया..अया.. ‘मूर्दावाद, अया.. अया..।’ मैले ठानें, अब मेरो पालो । नभन्दै मैले पनि रत्नपार्कमा सन्धि जलाएर भाषण गर्न थालेको मात्र के थिएँ, प्रहरीहरूले झम्टिहाले । म चाहेको भए भाग्न सक्थेँ, त्यो कुरा सेन दाइले देख्नुभएको रहेछ । हिरासतबाट निस्केपछि सोध्नुभयो कि ‘तपाईं किन भाग्नुभएन ?’ मैले जवाफ दिएँ, ‘सङ्गठनले गिरफ्तारी दिने निर्णय गरेको थियो ।’ त्यसपछि हो, हाँसेर ‘धन्यवाद’ र ‘पढ्नुपर्छ’भनेको ! यो वाक्यले मलाई चस्स छोयो । स्कुल पढ्दा महरा सरले र सङ्गठनमा सेनजीले पढ्नुपर्छ भनेको उस्तै लाग्यो । यतिखेर म काठमाडौंको सचिव थिएँ ।

सेन दाइसँगका तीन छलफल

सेन दाइसँग सामान्य छलफल धेरै भए पनि सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक विषयमा केन्द्रित भएर तीनपटक विस्तृत र गहन खालको छलफल भएको थियो । २०४६ सालको आन्दोलनताका कीर्तिपुरमा, दुईलाइन संघर्षको बेला २०५० सालतिर कुलेश्वरमा र जनयुद्धको अन्तिम तयारी चलिरहँदा २०५२ सालमा । तीनपटककै छलफल फरक–फरक र नयाँ विषयवस्तुमा केन्द्रित थिए । २०४६ सालको आन्दोलनमा हामी युवाहरूलाई पार्टीले गरेको ढिलाढालापन मन परेको थिएन । जुुलुस गर्न र हड्तालको घोषणा गर्न पनि किन यतिविघ्न लिङरिङ गर्नुप¥यो ? हाम्रो आवेगात्मक प्रस्तुति हुन्थ्यो । पछि मात्र बुझियो कि संयुक्त आन्दोलन बनाउनको लागि कम्युनिस्ट पार्टीहरू माझ बहस चलिरहेको रहेछ । हाम्रो असन्तुष्टि देखेर मलाई कोठामा लानुभयो । आधा घन्टा जति पार्टीका जटिलता र आन्दोलनको सोचबारे राख्नुभयो । उहाँले भन्नुभयो,‘हामीले जति सहज आन्दोलनको चाहना राख्छौँ, पार्टीलाई मिलाएर लान व्यावहारिक कठिनाइ हुन्छन्, सबैको एकमत गर्ने कुरा आन्दोलनको प्रतिकूलताबारे बोध गराउने कुरा हो । अलि बुझ्नुपर्दछ चन्द भाई । फेरि पार्टी आन्दोलनको सोचमा प्रस्टै छ । अब छिट्टै घोषणा हुँदैछ, आत्तिनुपर्दैन ।’ उहाँको तर्कप्रति म सहमत भएँ । नभन्दै केही दिनपछि अर्थात् चैत ५ गतेबाट संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिले आन्दोलन सुरु ग¥यो ।


दुईलाइन संघर्षमा लामाजीहरूले सङ्गठनका सबै मान्यताहरू तोड्नुभयो । छर्लङ्ग देख्यो दुनियाँले कि एकताकेन्द्र दुईलाइनमा मिल्नै नसक्नेगरी विभक्त भएको छ । यता बहुमतले जनयुद्धको लाइन मुताविक सङ्घर्षलाई ठोस गर्ने तयारी र दस्ताहरू निर्माण गर्ने कार्य गरिरहेको छ । रोल्पा, रुकुमतिर काङ्ग्रेसी प्रशासन र गुण्डाहरूसँग झडप सुरु भइहाल्यो । उनीहरूले दमनलाई वेलगाम कुँदाउन थाले । मैले प्रश्न गरेपछि उहाँले कोठामा लानुभयो र मासुसहित खाना खुवाउँदै दुइलाईन सङ्घर्षको अनिवार्यता, वाध्यता र अवसरवादीहरूले पारेको हैरानीबारे सरल र व्यापक व्याख्या गर्नुभयो । साथै, पार्टी केन्द्रले छिट्टै निर्णायक फैसला गर्नेतर्फ सोचिरहेको बताउनुभयो । यसपटक पनि सन्तुष्ट भएरै फर्किएँ उहाँसँग ।

‘लेट जाओ, खडा होजाओ, कक करो, फायर करो’ हिन्दी भाषामा त्यसो भन्दै तीनतले घरको बिचतलामा तीनजना मान्छे लम्पसार पर्न गा¥हो कोठामा एकजना लाहुरे काकाले हामीलाई थ्री नट थ्रीको तालिम दिनुभयो । बमको तालिम भने अध्यक्ष प्रचण्ड आफैँले दिनुभयो । हामी त्यस्तै ७ जना थियौँ । उता कृष्ण सेन दाइहरू राजनीतिक प्रशिक्षणमा जुटिरहनुभएको थियो । यसैबीच भेट भयो हाम्रो । हामी ट्रेनिङ्गपछि चमचमाएका जस्ता भएका थियौँ । संसारै जित्न हिंडे जस्तो लाग्न थाल्यो । अद्भूत गति पैदा भयो भने पनि हुन्छ । यो पटक दुवैबीच नयाँ युद्ध थालनीबारे गहन छलफल भयो । मैले उहाँलाई केन्द्रीय समितिमा तपाईं जान मान्नुभएनछ किन भनेर सोधेँ । साथै, तपाईंजस्ता कमरेड जाँदा जनयुद्धलाई फाइदा पुग्ने कुरा राखेँ । उहाँ उभिएर प्रस्ट्याउनुभयो र आफू साहित्य–सिर्जनाबाटै अगाडि बढ्ने सोचमा रहेको र युद्धमा नयाँ साथीहरू जानुपर्ने तर्क राख्नुभयो ।

२०५५ सालमा चौथो विस्तारित बैठकबाट म केन्द्रीय समितिमा छानिएँ । जनयुद्धको तेस्रो वर्ष थियो यो । उहाँ जेलबाट छुटेपछि खुसी हुनुभयो र मलाई बधाई दिनुभयो । मलाई केही सुझाव पनि दिनुभयो । उहाँको बधाईमा मैले जिम्मेवारीबोध गरेको महसुुस गरेँ ।

अन्तिम गिरफ्तारी र अद्वितीय सहादत

‘माओवादीका सदस्य कृष्ण सेन काठमाडौंमा गिरफ्तार’ बीबीसीले २०५९ सालको एक राती प्रचार ग¥यो । सबै कमरेडहरू अस्वाभाविक ढङ्गले झस्किनुभयो । हाम्रा रेडियोका आवाज ह्वात्त बढे । कमरेडहरूले मतिर हेर्दै–लौ समात्यो सर कृष्ण सेनलाई भनें । यो प्रचारले फेरि आकुल–व्याकुल बनायो । हो भन्ने नै लाग्यो । १र२ दिनपछि पार्टीले वक्तव्य मार्फत समातेको पुष्टि पनि ग¥यो । हाम्रोबीचमा अनेकौँ अड्कलबाजी चले, कसैले भने ‘मार्न सक्छ ।’ कसैले भने सेन जस्तो स्थापित व्यक्तित्वलाई मारे आफैँ फस्छ, त्यसैले नमार्ला । जेल हाल्छ कि आदि आदि तर मलाई मार्न पनि सक्छ निर्लज्ज सत्ताले भन्ने लाग्यो किनकि हाम्रो पार्टीले आधारइलाका निर्माणको कार्यदिशा पारित गरेको थियो । स्थानीय सत्ताहरू बन्दै थिए । पहिलो बार्ता भङ्ग भएको थियो र अमेरिकाले शेरेलाई उचालिरहेको थियो । दाङ र अछाममा शाहीसेनाको सम्पूर्ण पराजय भएको थियो आदि आदि । नभन्दै त बीबीसीले फेरि प्रचार ग¥यो कि सेनको हिरासतमा मृत्यु भयो । अर्कोदिन सेन दाइकी श्रीमती तक्मा केसी कमरेड रेडियोमा गम्भीर भएर लास पनि नदिएको पीडा पोख्नुभयो । हामी त साँच्चै नै भावुक भयौँ । वास्तवमा युद्धले कठोर बन्न मात्र होइन, भावुकता पनि त्यत्तिकै बढाएको छ । दिनदिनै कमरेडहरूको सहादतको खबरले भित्रसम्म घोचिरहन्थ्यो । यो सहादतले त कहिल्यै नपुरिने घाउ लागेको अनुभूति भयो मलाई । हामी सबैले प्रण ग¥यौँ कि हत्या र मृत्युले सहिदहरूको होइन, सामन्ती सत्ताको अन्त्य भइरहेको छ ।

सेन दाइको साहित्यिक व्यक्तित्व र हाम्रो अपेक्षा

चर्चा, परिचय र बुझाइ नेताको भूमिकाबाट हुनुभयो सेन दाइ । हामीले उहाँबाट पछि पनि नेताकै अपेक्षा ग¥यौँ र मैले त पटक–पटक आग्रह गरेँ पनि तर पछिसम्म आइपुग्दा पनि नेताको लागि तयार हुनुभएन । उहाँ साहित्यतर्फ नफर्किनेगरी प्रवेश गरिसक्नुभएको रहेछ । दोस्रो भेटमा यो खोल्नुभएको थियो ।नेता मान्दा नै अर्थात् उहाँ जेल हुँदा नै कसैले मेरो हातमा किताब दियो । राप्ती, सन्देश र प्रभुत त्यहाँ सेन कमरेडका कविता पाएँ । लाहुरेको बारेमा मैले दोहो¥याइ–तेहे¥याइ पढेँ । निकै मन प¥यो कविता । काठमाडौं गएपछि त उहाँका धेरै कविता पढियो र शोकाञ्जली, इतिहासको यो घडीमा र बन्दी र चन्द्रागिरि त चर्चितै छन् । कविहरूको चर्चा हुँदा धेरै पहिले नै उहाँको बारेमा कुरा भयो । महेश्वरलाई पनि उहाँको कविता मन पर्दो रहेछ । छलफलमै कृष्णध्वज र हितमानले भनेको सुनेको थिएँ । सेनजी कवि हुने स्वभावकै मान्छे हो । बडो भावुक एउटा कुरामा पस्यो भने समय गएको पत्तै पाउनुहुन्न । मैले धेरैको मुखबाट सुनेको छु– सेनजीको कविता पढेपछि अरूको त पढेकै जस्तो हुँदैन । सत्य कुरा हो सेन कमरेडका कविता निकै फरक पाउँछु म पनि । उहाँका कविता सलल बगेको कञ्चन नदी जस्तो लाग्दछ । सरल शब्दहरूको सुन्दर सिलाइ । कुनै अड्काउ र दुविधा देखिंदैन । विचार, भावना र रागको बेजोड मिलान । कवितामा प्रतिवद्धता, दृढता र निष्ठा उहाँकै जीवन जस्तो सलक्क उभिएका हुन्छन् । सिर्पm एक दुई टुक्रा उल्लेख गरूँ :
प्रिय सखे
मेरा भुलचुकहरूलाई तिमीले क्षमा गरे
लामो अँध्यारो रातपछि
जग्मगाउने उज्यालो प्रकाशजस्तै
आजको कालो अँध्यारो चिरेर
हाम्रो आस्थाको साम्यवाद
एक न एक दिन जरुर झुल्कनेछ
हाम्रो निष्ठाको बीजबाट
एक न एक दिन जरुर
नयाँ जीवनको अङ्कुर फुट्नेछ ।
विजयको अन्तिम दिनसम्म
सबै रहौँला नरहौँला
र सायद यो खुसीको हर्षित क्षण
हाम्रो सुखद मिलनको अन्तिम क्षण पनि हुन सक्छ
र म पनि रहिनँ भने
यस काव्यको अन्तिम अध्याय पनि
लेख्दालेख्दै भोलि अपूर्ण हुन सक्छ
तर गेष्टापोको ग्याँसच्याम्बर जस्तो
यस सन्त्रासमय समयमा जसले
गद्दारी होइन, मृत्यु रोजेका छन्
वास्तवमा ती सच्चा जीवन बाँचेका छन् ।
(बन्दी र चन्द्रागिरिबाट)

भनिन्छ, साहित्य पनि राजनीतिकै एउटा पाटो हो र राजनीति पनि साहित्यकै एउटा पाटो हो । राजनीतिमा साहित्य भएन भने भुत्ते हुन्छ, खोक्रो हुन्छ र रुखो हुन्छ । साहित्यले राजनीतिलाई रापिलो, धारिलो र चम्किलो बनाउँदछ । त्यस अर्थमा साहित्यकार अनन्त कुनै न कुनै विचारको राजनीतिज्ञ पनि हुन्छ । सेन दाइ वास्तवमा साहित्यकार भए पनि जनताको राजनीतिज्ञ र नेता पनि हुनुहुन्थ्यो । उहाँको जेलैजेलको जीवन, गिरफ्तारी बीचबाट बलिदान स्वंयले यो बोध गराउँदछ ।

स्मृतिको निचोड

कृष्ण सेन ‘इच्छुक’ को प्रभाव, प्रेरणा र आदर्शमा उभिएर स्मरण गर्दा मलाई दुईचार कुरा दावीका साथ भन्न मन लाग्छ । पहिलो हो, जुनसुकै विचार र विज्ञान पनि आफ्ना उत्तम प्रतिनिधिमार्फत नै नयाँ पुस्तामा प्रवेश गर्दछ । त्यस्ता प्रतिनिधिहरूको अभावमा समाजले वैज्ञानिक विचारको श्रेष्ठताबाट वञ्चित हुनुपर्दछ । सेन त्यस्तै एउटा उत्तम प्रतिनिधि सावित हुनुभएको छ । दोस्रो, वैज्ञानिक विचारबाट हुर्केको इच्छाशक्ति तानाशाह र हत्याराहरूको गोली र बारुदभन्दा पनि सयौँगुणा बलियो हुन्छ । विचारमा उभिएको निष्ठा र आदर्श मृत्युभन्दा पनि शक्तिशाली हुन्छ । तेस्रो कुरा, आफ्नो मूल्यको निम्ति गरिने बलिदान मान्छेको खोक्रो जीवनभन्दा अजर–अमर हुन्छ र सत्ताबाट जन्मिने ढोङ्गी, अहङ्कारलाई चुरचुर पार्न योग्य हुन्छ । त्यसले नै नयाँ पुस्तालाई युग–युगसम्म निर्देशित गरिरहन्छ । कृष्ण सेन ‘इच्छुक’ त्यसैको एउटा पर्यावाची नाम हो ।
१७ असार २०६४
प्रस्तुत सामाग्री हामीले विप्लव संकलित रचना भाग १ बाट लिएका हौं, कृष्ण सेन ‘इच्छुक’को १६ औं स्मृति दिवसको सन्दर्भमा यहाँ प्रस्तुत गरेका छौं ।
२०७५ जेठ १४ गते सोमबार राती १२ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!