गिरफ्तार सुकुमबासी नेताहरुलाई रिहा गर : अध्यक्ष पुन

 

काठमाडौं : अखिल नेपाल भूमिहीन सुकुमबासी संघले आफ्नो संगठनका नेताकार्यकर्ताहरुलाई बिनाकारण पक्राउ गरिएको भन्दै बिनाशर्त र तत्काल रिहाइको माग गरेको छ । सोमबार साँझ संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारद्वारा विभिन्न ठाउँबाट सुकुमबासी नेताहरूलाई गिरफ्तार गर्नु र सुकुमबासी बस्ती उठिबास गर्नु निन्दनीय र घृणित कार्य भएको जनाएका छन् । अध्यक्ष पुनले सरकारी दमनका विरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी पनि दिएका छन् । विज्ञप्तीमा सुकुमवासी संघका केन्द्रीय सदस्य एवं भेरी ब्युरो संयोजक प्रकाश आचार्य, बाँके जिल्ला संयोजक तिलक गिरी र जिल्ला सदस्य कालीबहादुर परियारलाई जेठ ९ गते कोहलपुरबाट बिनाकारण पक्राउ गरेको भन्दै बिनासर्त रिहाइको माग गरिएको छ । साथै सरकारले दमनलाई निरन्तरता दिएमा आफ्नो संगठन त्यसको सशक्त प्रतिकार गर्ने र देशब्यापी संर्घषमा उत्रने बाध्य हुने पुनको विज्ञप्तिमा उल्लेख छ ।
प्रस्तुत छ विज्ञप्तीको पूर्णपाठ–

हाम्रो गौरवशाली संगठन अखिल नेपाल भूमिहीन सुकुमबासी संघका केन्द्रीय सदस्य एवं भेरी ब्युरो संयोजक प्रकाश आचार्य, बाँके जिल्ला संयोजक तिलक गिरी र जिल्ला सदस्य कालीबहादुर परियारलाई दलाल सामाजिक फाँसिवादी केपी सरकारको पुलिसले यहीँ जेठ ९ गते कोहलपुरबाट बिनाकारण गिरफ्तार गरेको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कथित कम्युनिस्ट नाममात्रको फाँसिवादी दलाल सरकारले देशका विभिन्न ठाँउका सुकुमबासीबस्ती उजाड पार्नुका साथै, साना व्यापारी, श्रमजीवी जनता र गरिबहरुमाथि दमन गर्ने र दलाल पुँजीवादीहरुको हितमा क्रियाशील हुने हर्कत गर्दै आएको छ । यो देशमा करिब ६० लाख जनता सुकुमबासी छन् र कथित सरकारको अर्थ मन्त्रीले समेत देशमा ६० लाख बढी गरिब जनता रहेको तथ्याङ्क पेश गर्नुले यो कुराको पुष्टि गर्दैछ । केपी ओली सरकारले कथित समाजवादको फोस्रो अलाप गरिरहेका बेला देशका विभिन्न ठाउँबाट सुकुम्बासी नेताहरू गिरफ्तार पर्नु र सुकुम्बासी बस्ती उठिबास गर्नु निन्दनीय र घृणित कार्य हो । यसको हामी घोर निन्दा र भत्र्सना गर्दछौं । साथै, बाँकेमा गिरफ्तार पर्नु भएका हाम्रो संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्यलगायत देशभरिका सुकुम्बासी नेताकार्यकर्ता र जनतालाई बिनासर्त रिहाई गर्न जोडदार माग गर्दछौं । यदि यस प्रकारको फाँसिवादी दमनलाई सरकारले निरन्तरता दिएमा हामी त्यसको सशक्त प्रतिकार गर्ने र देशब्यापी संर्घषको घोषणा गर्न बाध्य हुनेछौं ।

२०७५ जेठ १४ गते सोमबार राती ११ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :