माक्र्सवाद कि सुधारवाद : खेम थपलिया

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्वारा लिखित ‘माक्र्सवाद कि सुधारवाद’ पुस्तक भर्खरै प्रकाशित भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी केन्द्र जबजपन्थी एमालेमा विलय भएकै समय तथा राजनीतिका साथै विचारधारात्मक कामलाई क्रान्तिकाीहरूबाट विशेष पहलकदमी लिनुपर्ने यतिबेला जनयुद्ध र पछिल्ला समयमा लेखिएका राजनीतिक–वैचारिक लेखहरू समावेश गरेर ‘माक्र्सवाद कि सुधारवाद’ पुस्तक प्रकाशन हुनु निकै महत्वकारी र अर्थपूर्ण वैचारिक कार्य हो ।

पुस्तकको लेखन तथा प्रकाशनका विभिन्न उद्देश्य हुन्छन् । बास्तोलाको यो पुस्तकको मुख्य उद्देश्य क्रान्तिकारी वैचारिक–माक्र्सवादी उन्नयनका साथ नेपालमा क्रान्ति सम्पन्न गर्नु हो । विषयको विविधताभित्र वैचारिकी एकत्व रहेको पुस्तकको लेखकीयमा बास्तोलाले भन्नुभएको छ, ‘नेपालमा जो माओवादी आन्दोलनको पराजय भनिएको छ, अथवा कम्युनिस्ट आन्दोलनसँग प्रचण्ड र बाबुरामहरूलाई जोडेर जसरी क्रान्तिको असफलता भनिएको छ, त्यो वास्तविक रूपमा माओवादी आन्दोलन या कम्युनिस्ट क्रान्तिको महान् अभियानको धराशायी होइन, माक्र्सले भनेजस्तै “… यी पराजयहरूमा जुन कुरा धराशायी भयो त्यो क्रान्ति थिएन” (माक्र्स उही) । ‘पराजित भएको क्रान्तिपूर्वका परम्परागत अवशेषहरू’ थिए, जुन पुरानो सामन्ती ‘सामाजिक सम्बन्धहरूको परिणाम जुन अझसम्म तीष्ण वर्ग–अन्तर्विरोधहरूको विन्दुसम्म पुग्न सकेको थिएन’ जुन नेपाली क्रान्तिको नेतृत्वमा रहेका प्रचण्ड–बाबुरामहरूमा विद्यमान ‘व्यक्ति, भ्रम, संप्रत्ययन वा धारणाहरू’ थिए, जसबाट नेपाली जनयुद्धको नेतृत्व दस वर्षको भीषण वर्गसङ्घर्ष र जटिल अन्तर्सङ्घर्ष तथा संसद्वादी दलालहरू र विविध प्रकारका रूप र रङका संशोधनवादीहरूका विरुद्धको वैचारिक एवम् राजनीतिक सङ्घर्षको प्रक्रियाबाट शान्तिप्रक्रियापूर्व ‘मुक्त भएको थिएन’, (माक्र्स उही) ।

बास्तोलाले लेखकीयको अर्को एक ठाउँमा भन्नुभएको छ, ‘प्रचण्ड–बाबुरामहरूले क्रान्तिका लागि क्रान्तिकारी शक्तिहरूबीच गर्नुपर्ने व्यवहारबारे माओले निर्देश गर्नुभएको ‘दीर्घकालिक सहअस्तित्व र परस्पर अनुगमन’ अपनाएका थिएनन्, त्यो उनीहरूमा रहेको उपभोक्तावादी निम्न पुँजीवादी षड्यन्त्र थियो; जसको कारण मुख्य नेतृत्वको हैसियतले प्रचण्डले कहिल्यै पनि सामूहिक नेतृत्व र दीर्घकालिक सहपाठीको विकास गरेका थिएनन । प्रचण्ड, किरण, बादल, बाबुरामको टिम जनयुद्धको तयारी, योजनाको कार्यान्वयन र प्रयोगमा यौटा असल दस्ता बन्ने सम्भावना थियो जो चीनको सन्दर्भमा माओ, चाओ र चुतेहको दस्ताको रूपमा चित्रित गर्न सकिन्थ्यो । तर प्रचण्डबाट माथिका समकक्षी नेताहरूलाई काबुमा राख्न युवा नेताहरूको उपयोग गर्ने र युवाका बीचमा पनि आपसी अन्तर्विरोध खडा गरी त्यसको केन्द्र आफूलाई बनाउने अभ्यास गरियो । यो सामन्तवादी मनोदशाको परम्परागत अवशेष प्रचण्डमा थियो । त्यस्तैगरी, प्रचण्डले राजनीतिक–वैचारिक क्षेत्रमा आन्दोलनको विकास र क्रान्तिकारी नयाँ सत्तालाई केन्द्रमा राखेनन्, बरु पुरानै सत्तामा बढीभन्दा बढी स्थान बनाउने चेष्टा गरेको देखियो । क्रान्ति सम्पन्न गर्नका लागि मूलभूत रूपमा चार आधारहरू अनिवार्य हुन्छ । क्रान्तिकारी विचार, नीति र सेना भएको कम्युनिस्ट पार्टी, सूचना–सञ्चारको व्यवस्था एवम् राम्रो पकड, सप्लाईको व्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध क्रान्ति सम्पन्न गर्नका लागि आवश्यक पर्ने अनिवार्य आधारहरू हुन् । प्रचण्डले जसरी तसरी पार्टीलाई आफ्नो नियन्त्रणमा राख्न सफल थिए, वास्तवमा त्यसमा पनि त्यही निम्न पुँजीवादी तथा सामन्तवादी संस्कृतिको अभ्यास गरिएको हुन्थ्यो, जसमा क्रान्तिकारीहरूलाई सबै हिसाबले एकताबद्ध गर्नुको सट्टा एक–अर्कामा जुधाउने र आफ्नो बनाउने मनोदशाबाट ग्रसित रहेको हुन्थ्यो, बाँकी तीन कुराहरू खास गरी सप्लाई, सूचना र अन्तर्राष्ट्रिय सम्बन्ध बाबुरामको नियन्त्रणमा छाडिएको थियो, जसको कारण जनयुद्धले आवश्यक छलाङ लगाउने अवस्थामा ब्रेक गराइएको थियो,’ (उही) ।

प्रस्तुत पुस्तकका बारेमा लेखकको थप स्पष्टोक्ति छ, लेखक यो पुस्तकमा समेटिएका रचनाहरू महान् जनयुद्धले सूत्रपात गरेका ती सुनौला युगका क्रान्तिकारी कार्यभार पूरा गर्ने विचारहरू हुन्, जसप्रति प्रचण्ड–बाबुरामहरूबाट धोखाधडी भयो । पार्टीको कार्यदिशालाई स्थापित गर्नु, कार्यकर्ता र जनतालाई क्रान्तिका लागि प्रशिक्षित गर्नु र क्रान्तिप्रति जनतालाई विश्वस्त गर्नु ती रचनाहरूको कर्तव्य थियो । त्यति मात्र होइन, यी रचनामार्फत कम्युनिस्ट दृष्टिकोण स्पष्ट गर्नु, जनतालाई प्रशिक्षित गर्नु, नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका संशोधनवाद र प्रतिक्रियावादमा देखिने प्रतिक्रान्तिकारी विचारहरूको धज्जी उडाउनु र समस्त जनतालाई वर्गसङ्घर्षका लागि तयारी गर्नु यसको कार्यभार थियो । … यो पुस्तकमा जनयुद्धको समयदेखि नवसंशोधनवादलाई परास्त गरी नयाँ पार्टी बनेसम्मका जति रचनाहरू उपलब्ध भएका छन्, सबै यौटै पुस्तकमा समेटिएका छन् । त्यकारण यो पुस्तक माओवादको नेपाली प्रयोगको अभिव्यक्ति पनि हो । जनयुद्धको प्रयोग, प्रचण्ड–बाबुरामको नवसंशोधनवाद पलायनवादका विरुद्धको सङ्घर्ष र नयाँ कार्यदिशा एकीकृत जनक्रान्तिको विकाससम्मका विचारहरू एकत्रित छन् । … सरकारमा पार्टी रहँदा समाजका विविध विषय शिक्षा, स्वास्थ्य, स्वाधीनता र विकास कस्तो हुने भन्ने कम्युनिस्ट दृष्टिकोण दिइएको छ । यो पुस्तकमा समेटिएका कतिपय रचना प्रचण्ड–बाबुरामसँगको दुईलाइन सङ्घर्षसँग सम्बन्धित छन र कतिपय रचना नयाँ पार्टी बनिसकेपछि विभिन्न विषयमा सैद्धान्तिक प्रश्नलाई स्पष्ट गर्न लेखिएका छन् । यो पुस्तकबाट तमाम पाठकमा, कम्युनिस्ट आन्दोलनका कार्यकतामा र जनतामा समेत कम्युनिस्ट दृष्टिकोण निर्माण गर्न मद्दत त गर्नेछ, यसले आगामी क्रान्तिको कार्यभार पूरा गर्न पनि मद्दत गर्नेछ भन्ने विश्वास लिएको छु’, (उही) ।

पुस्तकको ‘प्रकाशकीय’ मा भनिएको छ, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेपालका राजनीतिकर्मी मात्र नभएर सशक्त माक्र्सवादी लेखक पनि हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसमेत रहनुभएका बास्तोला अन्तर्राष्ट्रिय मामिला एवम् जनवादी कला–साहित्यको क्षेत्रमा पनि राम्रो दखल राख्नुहुन्छ । उहाँले सञ्चारका विभिन्न माध्यमबाट समसामयिक विषयमा आफ्नो दृष्टिकोणलाई सार्वजनिक गरिरहनुभएको छ । उहाँका लेखहरूबाट जनसमुदायहरूले प्रशिक्षित हुने अवसर पनि प्राप्त गरिरहेका छन् । तिनै छरिएका लेखादिहरूलाई पुस्तककारका रूपमा यहाँ ‘माक्र्सवाद कि सुधारवाद’ शीर्षकमा व्यवस्थित गर्ने प्रयास गरिएको छ । नेपालमा पछिल्ला चरणमा पठन–संस्कृति कमजोर हुँदै गएकोले विचारधारात्मक काम पनि न्यून हुनु स्वाभाविक नै हो । यस किसिमको अभावको थोरै मात्र भए पनि परिपूर्तिका लागि ‘माक्र्सवाद कि सुधारवाद’ शीर्षक पुस्तकको प्रकाशन गर्ने जमर्को गरिएको हो ।’

विभिन्न आयामका ८२ वठा वैचारिक तथा सैद्धान्तिक लेखहरू समाविष्ट बास्तोलाकृत प्रस्तक पुस्तकमा ‘शैक्षिक समस्या र समाधानको सैद्धान्तिक पक्ष’, ‘चैत २४ को सन्देश र सर्वहारावर्गको दायित्व’, ‘आत्मसमर्पणवाद र संसद्वादीहरूको आत्मसम्मान’, समकालीन नेपाली राजनीतिका चुनौती’, ‘सेती–महाकालीमाथिको आन्तरिक उपनिवेश र वर्गीय मुक्तिको प्रश्न’, ‘सुकुमबासी समस्या र जनताको सङ्घर्ष’, ‘जनयुद्धको १५ आँै वार्षिकोत्सवको सन्दर्भमा’, ‘आन्दोलनको हरक्षेत्रमा सर्वहारा अधिनायकत्वको आवश्यकता’, ‘ऐतिहासिक केस बैठक र त्यसका निर्णयहरूको महत्व’, ऐतिहासिक केन्द्रीय समिति बैठक र तत्कालीन कार्यभार’, ‘जनवादी शिक्षाका सन्दर्भमा’, ‘संयुक्त सरकारको आवश्यकता’, ‘वैचारिक स्पष्टता र पार्टीको शुद्धीकरणको आवश्यकता’, ‘हाम्रो पीबी बैठक र छलफलको विषय’, ‘वर्तमान राजनीतिक समस्याको कडी र समाधानको प्रश्न’, ‘वर्गयुद्धमा सञ्चारको प्रयोग’, ‘नेपालको स्वास्थ्य समस्या र राज्यको दायित्व’, ‘निःशुल्क शिक्षाको अनिवार्यता र चुनौतीहरू’, ‘क्रान्तिकारी आन्दोलन र विचारको विकास’, ‘कृष्ण सेन ‘इच्छुक’ सँगका अविस्मरणीय ती दिनहरू’, ‘नेपाली राष्ट्रियता र राष्ट्रिय मुक्ति आन्दोलनको आवश्यकता’, ‘पुँजीवादी अधिनायकत्व र संविधानसभा’, ‘नेपालीक्रान्तिका केही जटिल प्रश्नहरू’, ‘परिवर्तित समयमा विकास–निर्माणसम्बन्धी अवधारणा’, ‘वर्तमान राजनीतिक गत्यावरोध र सत्तासङ्घर्ष’, ‘वर्तमान राजनीतिक परिस्थितिमा संसद्वादी पार्टीहरूले खेल्नुपर्ने भूमिका’, ‘संविधानसभाको चुनावमा जनताको विजय ऐतिहासिक आवश्यकता’, ‘संविधानसभाको चुनाव र हाम्रो दृष्टिकोण’, ‘स्वायत्तता ः एकता या विखण्डन’, ‘शान्तिप्रक्रियाका चार वर्ष, भाइचाराहरूको चिन्ता र अबको बाटो’, ‘सामुदायिक स्वास्थ्य र स्वास्थ्य सेवा’, ‘पार्टी अन्तर्सङ्घर्ष व्यवस्थापन सम्बन्धमा’, ‘हाम्रो पार्टीको बहस र जनवादी केन्द्रीयता’, ‘वर्तमान परिस्थितिको जटिलता र आगामी विस्तारित बैठक’, ‘पुरानो सत्ताको गहिरिंदो सङ्कट’ शीर्षक रहेका छन् ।

 

त्यसैगरी, प्रस्तुत पुस्तकमा समाविष्ट अन्य शीर्षकमा ‘गहिरिँदो सङ्कट र सन्निकट क्रान्ति’, ‘नेपाली जनयुद्ध र त्यसको अन्तर्राष्ट्रिय प्रभाव’, ‘ऐतिहासिक केसको बैठक र नेपालीक्रान्ति’, ‘अगाडि कसरी बढ्ने’, ‘माक्र्सवाद कि सुधारवाद’, ‘क्रान्तिकारी सङ्कट र सर्वहारा दायित्व’, ‘नेपाली समाज र भारतीय हस्तक्षेप’, ‘माओवाद, जनयुद्ध र नयाँ जनवादी क्रान्ति’ ‘आजको साम्राज्यवाद र सर्वहाराक्रान्ति’, ‘संविधानसभा ः यसको चरित्र र भविष्य’, ‘नेपालको शिक्षा प्रणालीमा क्रान्तिको आवश्यकता’, माक्र्सवाद र अवसरवादबीच सङ्घर्ष’, ‘माओवादी सरकार र पुरानो सत्ताबीच अन्तर्विरोध’, ‘पार्टी निर्माणको प्रश्न र नयाँ पार्टी’, ‘जनताका लागि स्वास्थ्य’, ‘ऊर्जा सङ्कट, माथिल्लो कर्णाली र राष्ट्रिय स्वाधीनता’, ‘नेपालको तरल राजनीति र धर्मराउँदो राष्ट्रिय स्वाधीनता’, ‘विश्व परिवेश र नेपालीक्रान्तिको सम्भावना’, ‘राष्ट्रिय स्वाधीनता र जनवादी क्रान्ति’, ‘एमाओवादीको नेपाली जनवादी क्रान्तिका दुई कार्यनीति’, ‘वर्तमान राजनीतिक सङ्कट र त्यसको वैज्ञानिक निकास’, ‘ऐतिहासिक ७ आँै महाधिवेशन र संशोधनवादविरुद्ध सङ्घर्ष’, ‘मुख्य प्रवृत्ति पुँजीवाद होइन, समाजवाद हो’, कब्जा जमिनसम्बन्धी माओवादी नीति’, ‘नेपाली समाजको राजनीतिक अर्थशास्त्र’, ‘आर्थिक अनुशासन र सर्वहारा अर्थनीति’, ‘पार्टी विभाजनबारे उठेका प्रश्नहरू’, ‘नेपालमा कृषि क्रान्ति’, ‘कम्युनिस्ट एकताबारे’, ‘विध्वंसात्मक भूकम्प र हुनुपर्ने भावी योजना’, ‘राष्ट्रिय सङ्कट र समाधानको प्रश्न’, ‘स्वाधीनताको बाटोमा अघि बढ्ने सन्दर्भमा’, ‘बाबुराम दलाल पुँजीवादमा पतन’, संस्कृति, जनसंस्कृति र कम्युनिस्ट संस्कृति’, ‘माक्र्सवादमा विकास र एकीकृत जनक्रान्ति कार्यदिशा’ र ‘एकीकृत जनक्रान्तिको सैद्धान्तिक पक्ष’ आदि रहेका छन् ।

प्रस्तुत पुस्तकको महत्वपूर्ण आलेख रहेको शीर्षक हो ‘माक्र्सवाद कि सुधारवाद’ । यही शीर्षकलाई पुस्तकको मूल–शीर्षक बनाइएको छ । ‘माक्र्सवाद कि सुधारवाद’ मा बास्तोला भन्नुहुन्छ, ‘अहिले भारतीय विस्तारवाद र उसका नेपाली दलालहरू काँधमा काँध मिलाएर एकातिर र आम नेपाली जनता अर्कोतिर बनेर प्रधान अन्तर्विरोध बनेको छ । यसप्रकारको अन्तर्विरोधको अवस्थामा राष्ट्रिय स्वाधीनताको लागि सङ्घर्ष गर्ने शक्तिहरूसँग राष्ट्रको बचाउका लागि संयुक्त मोर्चाको निर्माण गर्नु आजको ऐतिहासिक आवश्यकता हो । यसका निम्ति हामीले सम्झौता गर्दै आएको शक्तिलाई बदल्न सक्नुपर्छ । हामीले सम्झौता गर्दै आएको शक्ति नै भारतीय विस्तारवादसँग घालमेल हुँदै राष्ट्रिय आत्मसमर्पणवादी शक्तिमा बदलिएपछि त्यसप्रकारको विस्तारवादी र राष्ट्रिय आत्मसमर्पणवादीका विरुद्ध सङ्घीय शासन प्रणाली, धर्मनिरपेक्षता र जनताको गणतन्त्रका पक्षधर देशभक्त, गणतन्त्रवादी शक्तिसँग सम्झौता गर्न सक्नुपर्छ । सम्झौता भइरहेका शक्तिसँग सधैँ सम्झौताको माग गर्नु सम्झौतावाद हुन जान्छ तर क्रान्तिको काम पूरा गर्नका लागि ऐतिहासिक आवश्यकताअनुसार सम्झौता र सहकार्य गर्नु क्रान्तिकारिता हुन्छ’, (पृ. २३४) ।

धर्मेन्द्र बास्तोलाको प्रस्तुत पुस्तकमा रहेको निकै महत्वपूर्ण लेखहरूमध्ये ‘एकीकृत जनक्रान्तिको सैद्धान्तिक पक्ष’ पनि एक हो । यहाँ उहाँले भन्नुभएको छ, ‘नेपालको विशिष्टतामा अहिले ७ प्रकारका अवस्था रहेका छन् । पहिलो, भूपरिवेष्टित र गरिब देश हुनु । दोस्रो, गाउँ र सहरको सम्बन्ध नजिक हुनु । तेस्रो, मध्यमवर्गको विस्तार हुनु । चौथो, जातीय, क्षेत्रीय, लैङ्गिक र सांस्कृतिक विभेद कायम रहनु । पाँचाँै, देशभक्त शक्तिहरूको प्रभाव बढ्दै जानु । छैठाँै, सत्तामा दलाल पुँजीवादको प्रभुत्व हाबी हुनु र सातौँ, विज्ञान र प्रविधिको विकासले देशभरका जनतालाई र विश्वभरका जनतालाई एकीकृत गर्नु नेपालका विद्यमान विशिष्ट विकासहरू हुन् । यसप्रकारका विशेषताहरूलाई एकीकृत रूपमा बुझ्ने र त्यसको समाधान पनि एकीकृत रूपमा दिन सक्ने भनेको नेपालका समस्याहरूलाई राजनीतिक, आर्थिक एवम् सङ्गठनात्मक तरिकाले एकीकृत गर्नु हो । विश्वस्तरमा कम्युनिस्ट आन्दोलन, साम्राज्यवाद विरोधी आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनलाई एकीकृत र सङ्गठित गर्नु हो । यसप्रकारको एकीकृत तरिकाले मात्र नेपालमा क्रान्ति सम्पन्न हुन सक्नेछ र त्यसले विश्व समाजवादी आन्दोलनलाई अगाडि बढाउन सक्छ’, (पृ. ५४२) ।

यही शीर्षकमा बास्तोला थप जोड दिएर भन्नुभएको छ, ‘एकीकृत जनक्रान्तिले दर्शनमा द्वन्द्वात्मक भौतिकवादसँग अनिश्चयतावाद र कृष्णबिबरको सिद्धान्तलाई एकीकृत गर्दछ, अर्थशास्त्रमा पुँजीवादको केन्द्रीकृत, परजीवी र मरणासन्न अवस्थालाई अहिलेको भू–मण्डलीकृत पुँजीको अति केन्द्रीकृत, अति परजीवी र मृतचितामा लम्पसार उत्तर–साम्राज्यवादसँग एकीकृत गर्दछ, समाज विज्ञानमा नयाँ जनवादलाई वैज्ञानिक समाजवादमा एकीकृत गर्दछ । एकीकृत जनक्रान्तिले विज्ञानमा प्रयोग हुने बलको सिद्धान्तलाई द्वन्द्ववादसहित अनिश्चियवाद तथा कृष्णबिबोरसम्मको सम्भावनासँग एकीकृत गर्दछ र यसलाई जनताले बलको रूपमा प्रयोग गर्ने जनताको सेनाको तागतमा आधुनिक विज्ञान र प्रविधिलाई एकीकृत गर्दछ’, (उही) ।

रातो खबर प्रकाशन गृह प्रा.लि. प्रकाशक रहेको प्रस्तुत पुस्तकको आवरण तथा भित्री सज्जा आकर्षकयुक्त रहेको छ । पुस्तकमा समावेश भएको कतिपय लेख हतारो र चटारोयुक्त तथा तत्कालीन आवश्यकताअनुसार लेखिएकाले यसमा पुनरावृत्तिको सीमा हुनु स्वाभाविक नै छ । यसमा वर्णविन्याससम्बन्धी पनि केही सीमा छन् । लेखकको लेख्ने र विषयलाई आलेखमा सरलीकृत र वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्ने कुराले पनि पुस्तकको गुणवेत्तालाई मनग्गै प्रभाव पार्दछ । माक्र्सवादी लेखकहरूका निम्ति अन्तर्वस्तु प्रधान हुँदाहुँदै पनि रूप पक्षलाई पनि कम आँक्नुहुन्न । जे होस्, विचार, सिद्धान्त, दर्शन, आदर्श, बलिदान र सपनामाथि यति धेरै घात र बज्रपात भइरहेको र सामाजिक दलाल पुँजीवाद मैमत्त बनेर छताछुल्ल भइरहेको यतिबेला धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्वारा लिखित प्रस्तुत पुस्तक ‘माक्र्सवाद कि सुधारवाद’ ले उपस्थिति र औचित्यपूर्ण हुने कुरामा कुनै दुविधा छैन । पृष्ठ सङ्ख्या ५४८ रहेको प्रस्तुत पुस्तकको मूल्य साधारणतर्फ रु. ५००÷– र संस्थागततर्फ रु. १०००÷– रहेको छ ।

२०७५ जेठ १४ गते सोमबार बिहान १० : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :