अखिल (क्रान्तिकारी)द्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

काठमाडौं : नेकपानिकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) राप्ती क्षेत्रीय समन्वय समितिले आफ्नो संगठका प्युठान जिल्ला अध्यक्ष याङक पुन, सल्यान जिल्ला उपाध्यक्ष भीम ओली र सह सचिव मदन केसीलाई बिनाकारण पक्राउ गरिएकाे भन्दै तत्काल रिहाइको माग गरेको छ । क्रान्तिकारीका राप्ती क्षेत्रीय समन्वय समिति संयोजक पदम पोख्रेलले जेठ १४ गते अर्थात सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । साथै, पोख्रेलले आफ्ना विद्यार्थी नेताहरुलाई रिहा नगरे चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने पनि विज्ञप्ति मार्फत जनाएका छन् । यसैबीच अखिल (क्रान्तिकारी) सल्यानले सोमबारदेखि जिल्लामा शैक्षिक हडताल शुरु गरेको छ । उक्त संगठनले आफ्नो संगठनका जिल्ला उपाध्यक्ष भीम ओली र सहसचिव मदन केसीलाई बिनाकारण पक्राउ गरेको भन्दै जिल्लामा शैक्षिक हडताल घोषणा गरिएको जनाएको छ । आइतबार संगठनका जिल्ला अध्यक्ष टंकप्रसाद केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो संगठनले आह्वान गरेको शैक्षिक हडताल सफल पार्न सबैमा अपील गरेका छन् । शैक्षिक विकृति विसंगती र दलालीकरणका विरुद्ध संघर्ष गरिरहेको आफ्नो संगठनका प्रतिनिधिहरुलाई आस्थाकै आधारमा सरकारले पक्राउ गरी बन्दी बनाएको विरोधमा शैक्षिक हडताल घोषणा गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । उता अछामका सामुदायीक विद्यालयहरुले नीजि विद्यालय सरह शुल्क असुली गरेको भन्दै अखिल (क्रान्तिकारी)ले अनुगमन शुरु गरेको छ । क्रान्तिकारी जिल्ला समिति अछामले त्यहास्थित विभिन्न विद्यालयहरुमा गरेको अनुगमनका क्रममा सामुदायीक विद्यालयहरुले विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी शुल्क असुलेको तथ्याङक समेत सार्वजनिक गरेको छ । जिल्लामा स्थानीय जनप्रतिनिधिहरुले भाषणमा निशुल्क शिक्षा घोषणा गरेको भएपनि विद्यालयहरुमा चर्को शुल्क असुल्ने गरेको गुनासो अभिभावकहरुले गरेका छन् ।

२०७५ जेठ १४ गते सोमबार अपरान्ह ४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :