जनसत्ताद्वारा विवादित जग्गा कब्जा

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थानीय जनसत्ताले चितवन भरतपुर महानगरपालिका २६ साविकको दिब्यनगर गाविस वडा नं २ सिश्वारमा रहेको विवादित जग्गा कब्जा गरेको छ । उक्त जग्गाको हक दाबि सम्वन्धी विषयमा विवाद देखिएपछि वास्तविक हकवालाले उक्त जग्गा नपाउदासम्म कब्जा फुकुवा नहुने पनि जनसत्ताले जनाएको छ । सरकारी कागजपत्र अनुसार (कित्ता नं ४१० क्षेत्रफल साढे ११ कठ्ठा) उक्त जग्गा सोही ठाउँमा बसोबास गर्दै आएका गोबर्धन कामीको हो । तर कामी र उनकी श्रीमतीको २०५० सालतिर मृत्यु भइसकेको साविकको दिब्यनगर गाविस कार्यालयमा मृत्यु दर्ता भएको प्रमाण छ । तर २०५४ सालमा गाेर्वधनको छोरी हुँ भन्दै उक्त जग्गाको हक दाबि गर्न एक ५२ बर्षीय महिला तिलाई विकले नाता प्रमाणीतको लागि साविकको गाविस कार्यालयमा निवेदन दिएकी थिइन् । तर कागजमा मृतक गोवर्धनको विवाह भने २०४० सालमा भएको तर तिलाई विकको जन्म २०२३ सालमा भएको देखिएको थियो । पछि ३ लाख रकम खर्च गरी तिलाई विकले २०४५ सालमा लिएको आफ्नो नागरिकता खारेज गराई २०७३ सालमा दोस्रो पटक नागरिकता लिएको देखिएको थियो । सोही नागरिकताको आधारमा विकले आफ्नो नाममा उक्त जग्गा नामसारी गरेको देखिएको छ । सोही जग्गा किनबेचको लागि भू—माफिया जग्गा दलालहरुको निकै चलखेल भएको र अहिले उक्त विवादित जग्गाको उजुरी जनसत्तामा परेको छ । जनसत्ताले उक्त जग्गा सम्बन्धी अध्ययन गर्ने क्रममा जग्गावाला मृतक गोर्वधनको छोरा जीवीत रहेको भन्ने थाहा भएको छ । जग्गा विवादको विषयलाई लिएर नेकपाको स्थानीय जनसत्ताले घटनाकाे कानुनी र बास्तवीक तथ्य थाहा नहुदासम्म उक्त जग्गा कब्जा गरेको छ । नेकपाले भुमाफियाहरुको चलखेल रोक्न र गोबर्धनका वास्तविक सन्तति समक्ष नामसारी गर्नको लागि उक्त जग्गा कब्जा गरिएको जनाएको छ । जनसत्ताले जेठ १० गते झण्डा गाडेर जग्गा कब्जा गरेको हो ।

२०७५ जेठ १४ गते सोमबार बिहान १० : ०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :