सेलाए माओवादी अस्तु : सन्तोष बुढा मगर


माओवादी आन्दोलनलाई पूर्णतः अन्त्य गर्ने साम्राज्यवादी योजनाको अन्तिम दाहसंस्कार गर्ने क्रिया एमालेका नेताहरू मदन भण्डारी र जीवराज आश्रितलाई साम्राज्यवादी योजनामै दासढुंगामा त्रिशुली नदीमा फालिएको दिन पारेर बडो हर्षोल्लासका साथ सम्पन्न गरेका छन् । मलाई थाहा भएन, यो उहाँहरूलाई फालिएकोमा हर्षोल्लास हो कि अरूलाई यो साम्राज्यवादको विरोध गरे यस्तै हुन्छ भनेर स्मरण गराउने दिन हो ? जे होस्, उहाँहरूको स्मृतिको दिनमै माओवादीको अस्तु सेलाउने र दागबत्ती दिने साइत जुराए । अहिलेसम्म माओवादीका सबै कुरा वैधानिक रूपले सिध्याइसकेका थिए । मात्र पार्टीको नाम ‘माओवादी’ बँचेको थियो अस्तुको रूपमा । त्यो पनि प्रचण्डकै बाहुलीबाट अन्त्येष्टि गरे । यो पार्टी एकता होइन, ‘माओवादी अस्तु’ सेलाएको मात्र हो । यो उनीहरूको ‘कर्मकाण्ड’ मात्र हो ।

हिजो–आजका पेपरहरूले पहिलो पृष्ठमै बडो महत्वका साथ भँगेरा टाउके अक्षरहरूमा ‘इतिहासमै क्रमभङ्ग, इतिहासमै शक्तिशाली पार्टी निर्माण, शान्तिप्रक्रियाले सार्थकता पायो, अब देशले स्थिरता, विकास र समृद्धि पाउने’ जस्ता अनेक शीर्षकहरूद्वारा पेपर रङ्गिरहँदा अर्को पृष्ठतिरको भागमा भने कमै नजर परेको छ । यो केपी उर्फ पीकेको कुनै जादुगरी छडद्वारा भएको ‘जादु’ नभएर ‘माओवादी सिध्याउने साम्राज्यवादी गुरु योजना कार्यान्वयनको अन्तिम दृश्य’ मात्र थियो । यसअगाडिका धेरै दृश्यहरू धेरैले देखेका छन् भने यसपछाडिका दृश्यहरू हेर्न बाँकी छ ।

चर्चित लेखक खगेन्द्र सँग्रौलाले माओवादी शान्तिप्रक्रियामा आउनेबित्तिकै एउटा लेखमा, ‘नेपालमा एउटा एमालेले त हैरान बनाएको छ भने अर्को एमाले चाहिएको छैन’ भनेर लेख्नुभएको थियो । हामीले पार्टीभित्र २०६५ सालमै, ‘यो एमालेकरणतिरको दिशा हो’ भनेर आलोचना गरेका थियौँ । ६ वर्षअगाडि २०६९ सालमा पार्टीमा संशोधनवाद हाबी भएको निष्कर्षका साथ तत्कालीन प्रचण्ड नेतृत्वको एकीकृत माओवादीबाट विद्रोह गरेका थियौँ । त्यति बेला पनि आजको जस्तै धेरैले यसलाई यो ढंगले बुझेका थिएनन् । आज जो भएको छ, त्यो त्यस बेलाका परिकल्पना थियो सार्थक रूप हो । यसमा प्रचण्ड सचेत रूपले निरन्तर र योजनाबद्ध लागिपरेका थिए । त्यसकारण नै हामी बेलैमा बाटो लागेको कुरा आज सत्य पुष्टि हुन आएको छ ।

एक पटक विगतको इतिहासको शृंखलालाई जोडेर हे¥यौँ भने पनि यसको एउटा शृंखला भेटिन्छ । २००७ सालको आन्दोलन पनि साम्राज्यवादी योजनामै राणा शासनबाट राजा शासनमा अवतरण गरिएको थियो । २०३६ सालको विद्यार्थी आन्दोलनलाई पनि त्यसरी नै हस्तक्षेप गरेर जनमत सँग्रहमा ल्याएर २०४६ को आन्दोलनालाई संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय व्यवस्थामा ल्याएर टुंग्याइयो । २०५२ सालमा सुरु भएको माओवादी जनयुद्धलाई १९ दिनको जनआन्दोलनमा ल्याएर टुंग्याइयो । दश वर्षको शान्तिपूर्ण प्रक्रियामा आएपछि जनयुद्धको समापन, जनसत्ताको बिघटन, क्यान्टोनमेन्टको साँचो समर्पण, क्यान्टोनमेन्ट नेपाली सेना परिचालन गरेर कब्जा गराउनु, जनमुक्ति सेनाको विघटन, संविधानसभाको विघटन, कथित संविधानसभा २ को चुनाव घोषणा, कथित स्थानीय निर्वाचनको घोषणालगायत सबै घटनाक्रमहरू प्रचण्डकै बाहुुलीबाट सम्पन्न हुनुलाई संयोग मात्र भन्न सकिन्न । यी सबै घटनाक्रमको शृंखलामा गएको वर्ष संघ तथा प्रदेशको एकैचोटि गरिएको चुनावमा कथित वामपन्थीहरूको र लोकतन्त्रवादीहरूको एलाइन्सबीचको चुनावी प्रतिस्पर्धा पनि संयोगवस भएको थिएन ।

यसबारे गएको दुईटा निर्वाचन खारेजीको अभियानपछि बसेको छैटौँ केन्ेद्रीाय समितिको बैठकमा प्रस्तुत राजनैतिक प्रस्तावमा स्पष्ट रूपमा भनिएको छ, “पुँजीवादी संसदीय व्यवस्थाको चुनावी परिणामपछि राजनैतिक अन्तर्विरोधमा केही परिवर्तन आएको छ । हामीले स्पष्ट गर्दै आएका छौँ कि दलाल पुँजीवादी राज्यसत्ताको निर्माण र संचालनमा तीनवटा राजनैतिक प्रवृत्तिहरू रहेका छन् । पहिलो, नेपाली कांग्रेसको नेतृत्वमा दलाल पुँजीवादी धार । दोस्रो, एमालेको नेतृत्वमा संचालित ्कम्युनिस्ट नामधारी संशोधनवादी र दक्षिणपन्थीहरूको ‘सामाजिक दलाल पुँजीवादी’ धार र तेस्रो, राप्रपाको नेतृत्वमा संचालित राजावादी संसदीय पुँजीवादी धार । सैद्धान्तिक र आधारभूत रूपले अहिले पनि दलाल पुँजीवादी राज्य र श्रमिक जनताबीचको अन्तर्विरोध नै मुख्य रहेको छ । परन्तु चुनावी परिणाम र सरकार बनोटका दृष्टिकोणले राजनैतिक र व्यवहारिक संघर्ष एमाले–माके गठबन्धन र जनताको बीचमा अगाडि आएको छ”, (६ नंं. बुँदा राष्ट्रिय परिस्थितिको १ नं. उपबुँदा अन्तर्विरोधमा परिवर्तनको अनुच्छेद) ।

निश्चय नै गएको साम्राज्यवादी डिजाइनमा गरिएको संसदीय निर्वाचनबाट राजनीतिक समीकरणमा केही फेरबदल भएका छन् । माके र एमालेको आन्तरिक बाध्यात्मक स्थिति, क्रान्तिकारी चुनौतीको सामना गर्नुपर्ने वस्तुगत आवश्यकता र साम्राज्यवादीहरू दबाब र परिस्थितिको अवसर छोप्ने चलाखीपूर्ण राजनैतिक स्वार्थका कारण बन्न पुगेको कथित वाम गठबन्धनका प्रमुख घटकमध्येको एमाले–माकेको पार्टी एकता कुनै नौलो परिघटना भने होइन । संशोधनवादी दलहरूको बीच ध्रुबीकरण र क्रान्तिकारीहरूबीचको ध्रुबीकरण कम्युनिस्ट आन्दोलनमा निरन्तर चलिरहने प्रक्रिया हो । यति हो, एकता सापेक्ष र संघर्ष निरपेक्ष हुने भएकोले एकता छिटो–छिटो हुँदैन तर अन्तर्संघर्ष, दुईलाइन संघर्ष, फुट र विभाजनहरू निरन्तर चलिरहने प्रक्रिया भएकोले मान्छेले फुटलाई मात्र देखिरहेको हुन्छ तर एकता र मिलन प्रक्रियाहरू निश्चित–निश्चित समयमा मात्र हुने गर्दछन् तर ध्रुबीकरण प्रक्रियाहरू निरन्तर चलिरहेका हुन्छन् । माक्र्सवादी द्वन्द्ववादको नियमअनुसार ‘फुटको अर्को नाम जुट’ पनि हो । ‘एउटासँग फुट्दा अर्कोसँग मिल्ने र एउटासँग मिल्दा अर्कोसँग फुट्ने’ पनि हो । माके र एमाले एकता हुँदा कतिपय मान्छेहरू माके–एमालेबाट पनि फुट्छन् भन्ने कुरा पनि त्यतिकै सत्य हो । यदि मिल्दा एमालेमा विग्रह आएन र माकेमा मात्र विग्रह आयो भने त्यो माकेको एमालेमा विलय हो । माओवादको परित्याग, जनयुद्ध छाड्नु (सशस्त्र संघर्षको मान्यताको परित्याग), जनमुक्ति सेना र जनयुद्धको उच्चारण गर्नसम्म नसक्नु र त्यसलाई गैर–राजनीतिक पदावली लडाकु र द्वन्दमा लगेर विसर्जन गर्नु, चुनावचिन्हमा हँसिया–हथौडा छाडेर सूर्य चिन्ह मान्न तयार हुनु, ले सैद्धान्तिक, वैचारिक, राजनैतिक र व्यवहारिक सबै हिसाबले माक्र्सवादको परित्याग गरेपछि एमालेलाई ४५÷५५ को समीकरणमा ल्याउन सजिलो भयो । यो भनेको सरासर प्रचण्डको आत्मसमर्पण र माकेको एमालेमा विलय हो । प्रचण्डको नवसंशोधनवाद संशोधनवादमा पतन हो । यसलाई हामी एक दशकअगाडि नै एमालेकरणको बाटो हो भनिसकेका थियौँ । अहिले वस्तुगत रूपले साक्षात् भएको मात्र हो । यसअगाडि साइत नजुरेको मात्र हो । मगनी त उहिल्यै १२ बूँदे सहमतिपूर्व नै गरिसकेका थिए । यसरी प्रचण्डहरू एमालेसँगको एकतामा जाने निश्चित भएपछि नै किरण, विप्लवहरू फुटेका हुन् र पछिल्लो चरणमा क. सुदर्शन फुट्नुभयो र अस्ति भर्खरै आहुति, गोपाल किराती र लोकेन्द्र बिस्टहरू फुटे । अझै कति फुट्छन् र कति जुट्छन् हेर्न बाँकी नै छ । मेरो भन्नुको अर्थ हो – फुट जुट पनि हो र एकता फुट पनि हो । दुःखको अर्को नाम सुख पनि हो र खुसी या हर्षको अर्को नाम दुःख पनि हो । यो हर्ष बधाई कति दिनलााई हो हेर्न बाँकी छ किनकि एक क्षणलाई ‘एक जेटका दुई पाइलट’ भने पनि ‘एउटा घारमा दुई रानु’ धेरै दिन सँगै बस्न नसक्ने यथार्थ पनि हाम्रोसामु छ । ‘मूतको तातो’ क्षणिक रोमान्स मात्रै हो ।

यस सन्दर्भमा हाम्रो छैटौँ केसको प्रस्तावमा अगाडि लेखिएको छ, “नेपाली राजनीतिमा देखिएको अस्थिर फेरबदलहरूले अन्तर्राष्ट्रिय केन्द्रहरूको प्रवेश, हस्तक्षेप र सक्रियता अरू तीव्र बन्ने सम्भावना देखिन्छ । नेपाललाई सधैँ आफ्नो प्रभाव क्षेत्र ठान्ने भारत एमाले–माके गठबन्धन बहुमतपछि लचकतापूर्वक नयाँ चालहरू चाल्नेछ । उसले एकातिर माके–एमाले गठबन्धनलाई नियन्त्रणमा राख्ने, फकाउने तरिका अपनाउनेछ भने अर्कोतिर कांग्रेस र मधेसवादीहरूलाई सत्तामा पुनस्थापना गर्ने खेलमा लाग्नेछ । सरकारलाई आफ्नोअनुकूल सम्झौता र सहमतिमा तान्नेछ भने दबाब र घेराबन्दी पनि संचालन गर्नेछ । भारतको घेराबन्दी, दबाब र फसाउने नीतिले गर्दा देश अरू राष्ट्रघात र जनघात व्यहोर्नुपर्ने स्थिति आउने सम्भावना छ”, (६ नं. बुँदाको उपबुँदा २ बाट) । यस्तै अर्को अनुच्छेदमा भनिएको छ, “कांग्रेस हुँदा उनीहरूलाई जुन सहजता हुन्थ्यो, एमाले–माके सरकार बन्दा त्यसमा केही कठिनाइ महसुस हुने र त्यसले उनीहरूको क्रियाशीलता सक्रियता अरू वृद्धि गर्ने हुन्छ”, (उही बुँदा) । “यस अवस्थामा यी शक्तिले सकेसम्म एमाले–माके गठबन्धनलाई लोभ्याउने र दबाबमा राख्ने नीति नै लिनेछन् । एमाले–माकेलाई आफ्नोअनुकूल बनाउँदा आत्मसमर्पण गराउने र त्यसमा समस्या आएमा उनीहरूलाई घेराबन्दी र हस्तक्षेप गर्ने तरिका प्रयोग गर्नेछन् । यसले स्वभावतः राष्ट्रिय राजनीतिमा नयाँ खालका चुनौती देखापर्नेछन्”, (उही) ।

एमाले–माके गठबन्धनको सम्भावित सरकारप्रति औँल्याउँदै प्रस्तावमा भनिएको छ, “एमाले–माके गठबन्धन सरकार बने पनि यो इतिहासकै कमजोर सरकार मध्येमा रहनेछ । राज्यसत्ताका आधारहरू (मुख्यतः आर्थिक एवं सैन्य) पुरानै ठाउँमा छोडेर कवल उपरीसंरचना त्यो पनि केवल सरकार मात्र निर्माण गरेर देशलाई स्थिरता र समृद्धि दिने कुरा हदैसम्मको मनोगत र मूर्खतापूर्ण सोच हुनेछ । यो आधारबिनाको कमजोर संरचना बन्नेछ या पुरानै आधारमा जानेछ, त्यो पनि एक कठपुतलीको रूपमा बदलिंदा हदै कमजोर बन्न पुग्नेछ । सरकार कमजोर बन्न पुग्ने तर सत्तामा जसरी पनि बस्नुपर्छ र खानुपर्छ भन्ने सोचमा पुग्दा साम्राज्यवादी शक्तिकेन्द्रहरूको स्वार्थअनुरूप विभिन्न राष्ट्रघाती र जनघाती सम्झौता र सहमतिहरू गर्नुपर्ने परिस्थिति देखापर्छ या जनतालाई जानाजान प्रतिक्रियावादी सत्तावरिपरि भ्रमित पार्ने चालबाजी हुने छ या त प्रतिक्रियावादी तत्वहरूको घेराबन्दीमा पर्ने अवस्था बन्नेछ । कथित वामको ट्रेडमार्कले अन्तर्राष्ट्रिय पुँजीपतिवर्गलाई झस्काउनेछ र उनीहरू यसको भ्रम साफ गर्ने स्तरमा आक्रामक दाउपेचमा लाग्नेछन् । जसलाई यो गठबन्धन न रोक्न सक्नेछ न त सत्ताबाट नै बाहिर आउन चाहनेछ । यस अवस्थामा राष्ट्रघात र जनघात बढ्दै जानेछन्”, (उही, उपबुँदा ४) ।

हाम्रो दस्ताबेजले गत २०७४ असारमा सम्पन्न चुनावी परिणामपछिको समीक्षामा गरेका यी अनुमान आज यथार्थ साबित गर्दै कथित वाम गठबन्धनले जसरी पनि सत्तामा टिक्न भारतीय प्रधानमन्त्री मोदीले साक्षात् साकार पारेर गएको छ भने एमाले–माके गठबन्धन केही समयका लागि पार्टी एकता गर्न पुगेका छन् । यो एकता र राष्ट्रघात हाम्रो अनुमानभन्दा बाहिर छैन र यिनले आगामी दिनमा के के गर्दै जान्छन् भन्ने कुरा पनि हाम्रो नजरभन्दा बाहिर छैन । त्यसैले यो केपी उर्फ पीके गठबन्धन सरकारले दिने शान्ति र समृद्धि हैन, राष्ट्रघात र जनघात, आत्मसमर्पण र दलाली, महङ्गी र भ्रष्टाचारी, ठेकदारी शासन र प्रतिक्रान्ति नै हो भन्ने कुरा प्रष्ट छ ।

यसरी के भन्न सकिन्छ भने यो इतिहासको ‘शक्तिशाली पार्टी’ होइन इतिहासमै कमजोर पार्टी बन्न गएको छ । जो अरूको खुट्टामा उभिएको छ । जो ्कम्युनिस्ट खोल ओडेर पुँजीवादको व्यपार गरिरहेको छ । जो साम्राज्यवादबिना एक क्षण पनि स्वतन्त्र रूपले सोच्न र बाँच्न सक्दैन । जो राष्ट्रियताको निम्ति एक क्षण पनि अडान लिन सक्दैन । जसले विगतका नेपालमाथि गरिएको असमान सन्धि–सम्झौताहरूको खारेजी गरेर नेपालको हितमा नयाँ सन्धि–सम्झौता गर्नुको सट्टा इतिहासमा पीस–पीसमा पटक–पटक भएका प्रधानमन्त्री र जलश्रोत मन्त्रीहरूले घोषित र अघोषित रूपमा गरेका सबै असमान सन्धि, सम्झौता र सहमतिहरूलाई प्याकेजमा नेपालकै भूमिमा बोलाएर रोहवरमा राखी ल्याप्चे लगाउँछ र देशलाई बन्धकीमा राख्छ । जसले दश वर्षको जनयुद्धलाई पैसा र पद, कुर्चीको लागि लाजै नमानी बेचिखान्छ र जसले माक्र्सवाद, लेनिनवाद र माओवादका सम्पूर्ण मूल्य–मान्यतालाई बेचिखान्छ । यस्ता इमान, इज्जत र कुनै मान–मर्यादा नै नभएका लाछी नेताहरूले गरेका संशोधनवादी पार्टी एकता कसरी शक्तिशाली हुन्छ ? रूप मात्र हेरेर मोटो, ठूलो भुँडी पल्टाएकै भरमा शक्तिशाली हुँदैन । त्यो रोगले सुन्निएको पनि हुन सक्छ । पार्टी बलियो भए सरकार बलियो हुनुपर्ने । इतिहासमै सबभन्दा कमजोर सरकार बन्न पुगेको तथ्य अस्ति भर्खरै नरेन्द्र मोदीले देखाएर गएको छ । कतिसम्म लाचारपना देखाए भने मानौँ हाम्रो नेपालमा सेना नै छैन र सुरक्षा दिनै नसकिने अवस्था छ । के नेपालको सुरक्षा व्यवस्था यति कमजोर छ ? आखिर रहेछ भन्ने प्रमाणित गरे केपी ओलीले । यो भनेको यो गठबन्धनको सरकार यति नाजुक र लाचार छ, जसले केही गर्न सक्ने अवस्थामा छैन, उसले के को स्थिरता र समृद्धिको धाक लगाउने ? यतिसम्म लाज मर्नु कुरा देखियो कि ‘गर्नेलाई भन्दा हेर्नेलाई लाज’ भनेझैँ पार्टी एकता पनि भारत आएर गरिदिनुपर्ने, चीनले भनिदिनुपर्ने । कसरी शक्तिशाली भए ? यो भ्रम कसैमा छ भने यो भ्रम मात्र हो । यो राष्ट्रघाती, जनघाती सरकार हो । केपी प्रधानमन्त्री भएपछि मात्र ४ पटक मूल्य वृद्धि भयो । हटाउन सक्छ कालापानीको भारतीय सेना, यो शक्तिसाली पार्टीले ? नेपालमा भारतीय सेना आउँदा, कालापानीमा यतिका वर्ष भारतीय सेना बस्दा, लिपु लेखमा हस्तक्षेप हुँदा, दक्षिण सिमानाहरू मिचिदा, नेपालै दुब्ने गरी भारतले एकतर्फी सीमावर्ती क्षेत्रमा बाँध लगाउँदा, गोविन्द गौतमहरू दिनदिनै मारिइरहँदा, सीमा क्षेत्रहरूमा हाम्रा नेपाली सुरक्षाकर्मीहरूमाथि भारतीय पुलिस–सेनाबाट अभद्र व्यवहार हुँदा एक शब्द बोल्न नसक्ने लाछी दलालहरूले कसरी देश र जनताको रक्षा र विकास गर्न सक्छन् । नेपालमै आएर नेपाली जनतालाई सुताएर आधा रातमा अरूण ३ भारतलाई दिने प्रधानमन्त्री कसरी बलियो भयो ? बलियो हुनलाई नेपालीत्वको छाती र हिम्मत चाहिन्छ । मालिकका सामु एक सास पनि फेर्न नसक्ने, भारतीय नेताहरू परका विषय भए, खुफिया एजेन्सी पिसाब फेर्ने नेताहरू कसरी शक्तिशाली हुन्छन् । यी सब भ्रम र दलाली प्रलााप मात्र हुुन् । होसियार, यसको पछाडि खतरनाक षड्यन्त्र छ ।

यी परिणामले के सावित गर्दै गएको प्रतीत हुन्छ भने यसले अनिवार्य रूपमा गुणात्मक प्रतिरोधलाई निम्त्याउँदैछ किनभने यी नयाँ जोगीहरू बढी खरानी घस्छन् भन्ने कुरा पनि स्पष्ट नै छ र यो प्रतिक्रियावादी राज्यसत्तालाई कथित वाम आवरणले ढाकेर संसदीय सामाजिक दलाल पुँजीवादी राज्यसत्तालाई टिकाउन साम्राज्यवादले दिएको निर्देशन उनीहरू अक्षरशः पालन गर्नेछन् र यसको पहिलो तारो क्रान्तिकारीहरू बन्नेछन् । राष्ट्रवादीहरू बन्नेछन् । दमनको मात्रा बढाउनेछन् र यसको अनिवार्य परिणति प्रतिरोध हुनेछ र यसले एउटा गुणात्मक संघर्षलाई जन्म दिनेछ ।
अन्तमा यति मात्र भनौँ, ‘घाम–पानी, घाम–पानी, स्यालको विहे, कुकुर जन्ती, बिरालो बाहुन ।’ सबै मिलेर सेलाए माओवादी अस्तु । खुसीयालीमा जात्रा मनाए । चोर–चोर मिलेर जतासुकै जाऊन् ।
२०७५, जेठ १३ गते आइतबार अपरान्ह ५ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :