इच्छुकको सपना पूरा भएकाे छैन

 
 

शिव डुम्रे / बुटवल : पत्रकार एवं जनवादी साहित्यकार कृष्ण सेन इच्छुकलाई स्मरण गर्दै बोल्ने वक्ताहरुले इच्छुकका सपनाहरु पुरा नभएको बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन लुम्बिनीले रुपन्देहीको बुटवलमा आयोजना गरेको १६ औं स्मृति दिवसका सन्दर्भमा आयोजीत चियापान तथा भेटघाट कार्यक्रममा बोल्ने वक्ताहरुले इच्छुकले देखाएको बाटोमा अगाडी बढ्नुपर्नेमा जोड दिए ।कृष्ण सेन इच्छुकको राजनीति, समाज परिवर्तन, जनपक्षीय पत्रकारिता, सांस्कृतिक आन्दोलन तथा प्रगतिवादी साहित्यको क्षेत्रमा इच्छुकले गरेको योगदानको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका रुपन्देही जिल्ला इन्चार्ज शरद ओलीले कृष्ण सेनलाई सम्झेर मात्रै उहाँको सपना पुरा नहुनेमा जोड दिए । उनले आजको राजनीतिक परिवेशमा समेत कैयौं पत्रकारहरुलाई स्वतन्त्रापूर्वक लेख्न र बोल्न प्रतिबन्द रहेको भन्दै कृष्ण सेनले आफ्नो समयमा क्रान्तिप्रति प्रतिबद्ध, इमान्दार भएर सधै परिवर्तनको लागि बोलिरहेको चर्चा गरे । कार्यक्रममा बोल्ने वरिष्ठ अधिवक्ता तथा साहित्यकार दिल साहनीले कृष्ण सेनको हत्या खोजिको विषय बनाउनुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा नेकपाका नेता तेजेन्द्र केसी, नेपाल पत्रकार महासंघका पूर्व सभापति हरि लम्साल, नेपाल पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसी, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य पत्रकार दिपक ज्ञवाली, प्रेस युनियन रुपन्देहीका सभापति विक्रम खड्का, पत्रकार महासंघका पूर्वसचिव रुद्रहरी कुँवरलगायतले कृष्ण सेन सबैको आदर्श व्यक्तित्व रहेको भन्दै उहाँको सपना पुरा गर्न पत्रकारहरुले आफ्नो कलमलाई जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कृष्ण सेनको तस्वीरमा माल्यार्पण समेत गरिएको थियो । १६ औं स्मृतिमा १६ वटा दिप प्रज्वलन गरि उद्घघाटन गरिएको कार्यक्रमको अध्यक्षता गर्दै क्रान्तिकारी पत्रकार संगठनका लुम्बिनी संयोजक प्रकाश डुम्रेले पत्रकार कृष्ण सेन सबैको साझा पत्रकार तथा आर्दश रहेको बताउँदै राज्यसत्ताले जनपक्षीय पत्रकारका कलमहरुलाई प्रतिबन्ध लगाउन नहुने भन्दै पत्रकारिताको धार अझ बलियो बनाउनेतर्फ ध्यान दिन जरुरी रहेको बताए । कार्यक्रममा पत्रकार शिव डुम्रेले सञ्चालन तथा पत्रकार खोमा तरामुले स्वागत मन्तव्य दिएका थिए । २०१३ सालमा जन्मनुभएका कृष्ण सेन इच्छुकलाई जनादेश पत्रिकाको सम्पादक रहँदै गर्दा २०५९ साल जेठ ६ गते गिरफ्तार गरी १३ गते हत्या गरिएको थियो । सेनको स्मृतिमा विभिन्न पत्रकार संघ संगठनहरुले यो दिवस मनाउँदै आएका छन् ।

२०७५ जेठ १२ गते आइतबार अपरान्ह ३ ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :