प्रचण्डको परिवार मोह : विरही

 
अनिल शर्मा (विरही) नेकपा (माओवादी) पोलिट व्यूरो सदस्य तथा प्रकाशन विभाग ईन्चार्ज
अनिल शर्मा (विरही) नेकपा (माओवादी) पोलिट व्युरो सदस्य तथा प्रकाशन विभाग ईन्चार्ज
प्रचण्डले २०५७ को दोस्रोे राष्ट्रिय सम्मेलनमा प्रचण्डपथ पारित गर्दै मेरो व्यक्तित्व, निजत्व सबै पार्टी र समूहमा विलय भयो भनेका थिए । तर समयले त्यो भनाईलाई पुष्टि गरेन । बरु एउटा शाह राजाको स्थानमा थुप्रै छोटे राजाहरुको उदय भयो । आज प्रचण्डले परिवार वरपरको घेरालाई नै वर्ग उत्थान गराएर संसदीय राजनीतिको फोहोरी खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । यद्यपि क्रान्ति, देश, जनताका कुरा त काँग्रेसले पनि गरेकै छ ।
प्रचण्डको वास्तविकता बुझ्न उनका केही नातेदारको विगत र वर्तमान हेरे पुग्छ । प्रचण्डका ज्वाइँ (जेठी बहिनीका श्रीमान्) खेम भण्डारी चितवनकै दिव्यनगर निवासी हुन् । उनी प्रचण्डसँगै रामपुर कृषि क्याम्पस पढेका थिए । साथी प्रचण्डकी बहिनीसँग विवाह गरे । बैंकको ऋण लिएर कुखुरा व्यवसाय गर्थे । ०६३÷०६४ मा व्वसाय टाट पल्टेर बैंकले कालो लिष्टमा राख्यो । लिलामी हुँदै थियो । तर २०६३÷०६४ को जनआन्दोलनमा प्रचण्ड शक्तिमा आएका कारण बैंकले लिलाम गर्न सकेन । कालान्तरमा शक्तिको दुरुपयोग गरेर ऋण मिनाह गराइयो । खेम भण्डारीका जेठा छोरा गोकुल ०६४ सालसम्म लेडिज होस्टल चलाएर सामान्य जीवन बिताउँदै थिए । आज उनी नेपाल ग्याँसमा ५० प्रतिशत लगानीकर्ता भएका छन् । एक अरब लगानीको नेपाल ग्याँसका आधा हिस्सेदार भण्डारीपुत्र उद्योगका एमडी पनि हुन् । भण्डारीले पटिहानी, राप्ति नदी किनार, निकुञ्जवारी पाँचतारे पर्यटकीय होटल बनाउँदैछन् । नारायणगढ, पुल्चोकका महेन्द्रलाल प्रधान (कैलाश पेट्रोलपम्पका मालिक) रअका प्रतिनिधि, खुमबहादुर, शेरबहादुर, चितवन आउँदा बस्ने पूर्व भारतीय सेना (गोर्खा) का जवान कल्याण् श्रेष्ठ (पाम इन्टरनेशनल होटलका मालिक), हरि पन्त, प्रचण्डकै अर्का ज्वार्इं ऋषि न्यौपाने लगायतको लगानीमा सो पाँचतारे होटल बन्दैछ । भण्डारीले चितवनकै जुगेडीस्थित नारायणी नदी किनारामा अर्को ग्याँस उद्योग खोल्दैछन् । थुप्रै बैंक, जलविद्युत आयोजनामा शेयर खरिद गरेका छन् । चितवनको पोल्ट्री व्यवसायमा भारतीय लगानी भिœयाउन लबिङ गरिरहेका शंकास्पद व्यवसायी स्वामी भनिने गुणचन्द विष्टसँग मिलेर धेरैतिर लगानी गरेका छन् । केही समय अगाडि भण्डारी पुत्रको विवाहमा २० प्रकारका मदिरा पस्किएको एक सहभागीले बताएका थिए । 
 
renu
 
प्रचण्डका ऐजेरुझैं पलाएका अर्का नातेदार हुन् कान्छी बहिनीका श्रीमान ऋषि पौडेल । उनी अहिले चितवन, वीरेन्द्र क्याम्पस अगाडि नवनिर्मित भरतपुर गार्डेन रिसोर्टका ५ जनामध्येका एकजना निर्देशक छन् । ०६४ सालमा चितवनका महिला नेतृहरु अम्बिका मुडभरी ‘अञ्जना’ र सावित्री आचार्य ‘अस्मिता’ सेल्टर लिन जाँदा प्रचण्डकी बहिनीले ‘तिमीहरुको राजनीतिले मलाई के दियो ?’ भन्दै कुचोले हानेर पठाएकी थिइन् । ज्वाईं ऋषि पौडल भट्टीमा बसेर पार्टीको विरुद्ध धारेहात लगाउँथे । पौडेलले ०६४ सम्म नारायणगढ कमलनगरमा ‘हाइफूड सेन्टर’ नामक मासु पसल चलाउँदै थिए । कुखुरा काटेर बेच्ने पेशामा आफैं खटिन्थे । साइकलमा कुखुरा बोक्ने । पटिहानी, टाउन बजार निवासी ऋषि पौडेल भरतपुर ऐलानीको छाप्रोमा बस्थे । सुलभ ह्याचरीमा नाममात्रको लगानी थियो । त्यसका व्यवस्थापनक भारतीय व्यापारी राधेश्याम अग्रवाल थिए । ६ वर्षकै बीचमा प्रचण्डका ज्वाईं साहेप पाण्डेले चितवन, तोरीखेतमा जिल्लाकै सबैभन्दा ठूलो मैदा मिल खोलेका छन् भने माओवादी सेनाको शिविर नजिक ८ बिगाहा जग्गामा विशाल ह्याचरी र दाना उद्योग खोल्दैछन् । चप्पल पड्काउँदै हिँड्ने नारायण दाहालका भाई भरत ७० लाखको गाडी चढ्छन् । करोडौंको लगानीमा जग्गा दलाली गर्छन् । प्रचण्डका सबैजसो नातेदारहरु नव धनाढ्य भएका छन् । भ्रष्टाचारलगायतका प्रकरणमा छानविन गर्न सक्ने देखेपछि दुई कार्की लोकमान र सुशीलाविरुद्ध उभिएका हुन् । आफूलाई रिझाएर सत्तास्वार्थ पूरा गर्ने ध्याउन्नमा रहेका शेरबहादुरलाई सिरानी हालेर प्रचण्डले गुमेको शाख फर्काउने रणनीतिमा लागेका छन् । तर कलंकको साझेदारी व्यवसाय फस्टाउने सम्भावना कम छ । देउवा पार्टीभित्र कमजोर आधार, घट्दो शाख, गुटगत झमेला र रामचन्द्र पौडेलको प्रतिरोधका कारण अकर्मण्यतामा फसेका छन् । प्रचण्डको सहयोग नपाइकन नेतृत्व संकटमा फसेको काँग्रेसलाई नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न कठिन छ । देउवा आफैं आदर्श र नैतिकता नभएका खेलाडी हुन् । सत्ता स्वार्थका लागि जे पनि गर्न सक्छन् । प्रचण्ड देउवाको अवसरवादी प्रवृत्तिलाई आफ्नो स्वार्थमा प्रयोग गर्न चाहन्छन् । त्यसैकारण यी दुई पात्रको अनैतिक गठबन्धन चलिरहेको छ ।
 
भावी चुनावमा कहाँबाट उठ्ने ? स्थायी प्रकृतिको चुनाव क्षेत्र कहाँ बनाउने ? प्रचण्ड तनाव यथावत छ । सिरहाबाट हारेर पनि पछि जिताइएका प्रचण्ड काठमाडौं कीर्तिपुरबाट नराम्ररी पराजित भएका थिए । त्यसैले चितवनमा गृहजिल्लाको मनोविज्ञान भँजाएर आधार बनाउन चाहन्छन् । त्यसका लागि स्थानीय तहको चुनाव नै आधार बनाउने रणनीतिमा छन् । काँग्रेस र एमालेमध्ये एउटाको सहायेग नलिइकन त्यो रणनीति सफल हुन सक्दैन । अथवा लोकतान्त्रिक गठबन्धनको नाममा काँग्रेस–एमाले गठबन्धन र रेणुका दाहाललाई मेयरमा उठाउने कार्य भएको छ । ०४८ सालको निर्वाचनमा अमिक शेरचन नेकपा एमालेको सहयोगमा विजयी भएका थिए । ०६४ सालको जस्तो माओवादी लहर नभएको र तत्काल त्यस्तो लहर आउने सम्भावना समेत नभएको कारण एमाले या काँग्रेसमध्ये एउटाको आशिर्वाद अनिवार्य छ । प्रचण्डले छोरीलाई नै मेयरमा उठाउनु र देउवाले समर्थन गर्नु भोलि संसदको चुनावमा चितवनबाट प्रचण्डलाई उठाउने रणनीतिको शुरुवात हो । संसदीय चुनाव सकले जित्छ वा हार्छ हाम्रो लागि सरोकारको विषय होइन । तर प्रचण्ड–देउवा गठबन्धनले चितवनमा पकड बढाउनु भनेको भारतीय प्रभाव बढ्नु र छलछाम प्रवृत्तिको बढावा हुनु हो ।
 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :