क्रान्तिबिउ छर्दै राज्य : प्रकाश अधिकारी

राज्य आफ्नो घरमा काम गरिरहेका राजनीतिक आस्थाका बन्दीहरूलाई दमन गर्ने बाटोमा लागिपरेको छ । राज्यले आफ्नो हर्कत देखाइराखेको छ । निरीह जनतालाई दमन गर्ने कार्यले अझ जनतामा विद्रोहको भावना बढ्छ भन्ने हेक्का राज्यसँग हुनुपर्ने हो । अझ यो सरकारका प्रमुखहरू नै आज जुन स्थानमा आएका छन् तिनीहरू तत्कालीन सरकारको दमनको प्रतिरोधमा आफूलाई झन् दृढतापूर्वक उभ्याउँदै निरन्तर परिवर्तनको आस्थालाई आत्मसाथ गरेकै कारण वर्तमान स्थितिमा आइपुगेका हुन् । परिवर्तनको बाटोलाई छेक्न सकिन्न भन्ने कुरा बुझ्दाबुझ्दै पनि राज्य किन दमनकारी भएर आउँदैछ ?

राज्य क्रान्तिको बिउ छर्दैछ । आफ्नो गरेर खाँदै गरेका जनतालाई घर छाड्न बाध्य बनाएर अझै अरू क्रान्तिकारीलाई गोलबन्द बनाउन लागिपरेको छ । पुच्छरमा आगो लगाएर हनुमानलाई छाडिदिँदा लङ्का जलाएर सिध्याएको कथा पढेका नै थिए । तर पनि आज राज्य घरमा बसिरहेका क्रान्तिकारीलाई घरबाट बाहिर निकाल्दै समाजका सबै क्रान्तिकारीलाई गोलबन्द बनाउँदैछ । सुतेर क्रान्तिकारी बन्नेहरूलाई पनि गतिशील बनाउँदै गएको छ । बस्तीबस्तीमा क्रान्तिकारीलाई पु¥याउने दायित्वलाई राज्यले पूरा गर्दैछ । क्रान्तिकारीलाई पनि आफ्नो वर्तमान कार्यभार बढेको महसुस राज्यले गराएको छ । क्रान्तिकारीलाई गतिशील बनाउने चालक शक्ति राज्य बनेको छ । चट्टान फोरेर पीपल उम्रिएझैँ राज्यले दमन गरेर क्रान्तिकारी रोकिन्न । क्रान्तिकारीहरू एक्लै हुँदा पनि आफ्नो आदर्शलाई बचाउँदै दृढतापूर्वक राज्यको दमनका विरुद्धमा उभिन्छन् । क्रान्तिकारीले आफूलाई भएको दमनमा झन् स्पातिलो बनाउनेछन् । देशको मालिक जनता हुन् । जनताको आवश्यकतालाई आफ्नो मूल नारा बनाउनेहरू जनताको घरघरमा पुग्छन् । पोको पारिएको महान् क्रान्तिकारी बिउलाई राज्य आफैँले छर्दै हिँडेको छ । सुतेका जनतालाई जगाउने क्रान्तिबिउ छरेर राज्यले आफ्नो खुट्टामा आफैँ बन्चरो प्रहार गरिरहेको छ । टाउकोमा क्रान्तिमशाल जलाएका क्रान्तिकारीले राज्यले दिएको दमनमा अझै चम्किलो राँको बनेर जनतालाई आफ्नो अधिकारको ज्ञान दिँदै सुन्दर भविष्यमा डो¥याउनेछन् ।

समाज भनेको सम्बन्धको जालो हो । समाजमा व्यक्ति एउटा अलग्गै रहेको हुन्न । ऊसँग अनेकौँ मानिस जोडिएका हुन्छन् । मानिसको सम्बन्धलाई हेर्ने हो भने व्यक्तिले विशुद्ध समाजको पात्रविशेषको भूमिका मात्र पूरा गरेको हुन्न । समाजका सदस्यसँगै समाजको गतिमा आएको परिवर्तनमा आफूलाई समाहित गरेको हुन्छ । राजनीतिले समाजको परिवर्तनको गतिलाई समातेको हुन्छ भने क्रान्तिकारीले वर्तमान वैज्ञानिक आवश्यकतालाई आत्मसाथ गर्दै समाजको परिवर्तनमा आफूलाई उभ्याएका हुन्छन् । क्रमिक विकासको गतिलाई तोड्दै छलाङको गतिमा समाज विकासलाई स्वीकार्दै आफ्नै जीवनकालमा वैज्ञानिक परिवर्तन निम्त्याउने अभिलाशासहित क्रान्तिकारीहरूले आफूलाई अगाडि सारेका हुन्छन् । समाज आफैँमा सङ्घर्षको प्रतीक हो । समाजका सदस्यले झन् आफूलाई सङ्घर्षमा अब्बल साबित गराउनेछन् । परिवर्तन देख्ने युगीन मानिसले राज्यको दमनमा आफूलाई रक्तसञ्चार गराउँदै सबै जनताको निरासामा बलिदानपूर्ण कथा सुनाउँदै जनता जगाउँदै समाजमा परिवर्तनको भविष्यलाई सुनिश्चित गराउन क्रान्तिकारीले आफूलाई जस्तोसुकै चुनौतीको सामना गरेर आफ्नो क्रान्तिकारी आदर्शलाई बचाउँदै समाजमा आफ्नो अलग पहिचान स्थापित गर्नेछन् । पदार्थमा परिवर्तन आन्तरिक कारणले मात्र हुने होइन, बाहिरी कारण पनि अनिवार्य भएर आउँछ । क्रान्तिकारीको सामाजिक सम्बन्धलाई क्रान्तिमा बदल्नका निम्ति राज्यको दमन अनिवार्य बाहिरी कारण हो । राज्यको दमनलाई झेल्दै विश्वमा युगपुरुषको जन्म हुन्छ । उसले आफ्नो युगलाई नै बदल्छ ।

राज्यले दमन गरेर समस्याको समाधान खोज्नु भनेको बिस्तारै आफ्नो विरोधी कित्ताको सङ्ख्या बढाउनु मात्र हो । परिवर्तनलाई रोक्ने होइन, आआफ्नो गतिमा बग्न दिएर मात्र हाल गर्ने हो । राज्यले आफूलाई सही साबित गराउन सक्यो भने त्यहाँ आफ्नो विरोधि शक्तिको कुनै गुन्जायस नै हुन्न । विरोधीलाई दमन गर्ने होइन, जनताको मन जित्ने कार्यक्रम अगाडि सारी विरोधी कित्तालाई आफ्नो कित्तामा समाहित गरेर मात्र विरोधी कित्तालाई सिध्याउन सक्छ । मुख्य कुरा जनताको चाहना र इच्छा हो । जसले जनताको आवश्यकता पूरा गर्न सक्छ उसैले समाजको नेतृत्व गर्ने हो । त्यसो हुँदा जनताको आवश्यकता पूरा गर्न लाग्ने हो भने राज्यमा कुनै पनि विरोधी कित्ताको जन्म हुँदैन । तर आवश्यकता पूरा गर्न छाडेर दमन गर्नतिर लाग्ने हो भने झन् यहाँ क्रान्तिकारीमा ऊर्जा पैदा हुन्छ । क्रान्तिकारीले क्रान्तिकारी सङ्कटलाई समातेर राज्यविप्लव गर्ने हो । मुद्दा सबैको साझा हो । जसले पूरा गर्न सक्छ उसैले समाजको नेतृत्व दिने हो । देशमा भएको असमानतालाई हेर्ने हो भने क्रान्तिकारी सङ्कट आउन लागेको छ । गैरराष्ट्रवादीहरू राष्ट्रवादी मुखुन्डो लगाएर देखापरेका छन् भने पुँजीवाद दलाल पुँजीवादमा विकास भएको छ । राज्य आफ्नो इसारामा भन्दा पनि अरू कसैको इसारामा राष्ट्रवादी बन्दै दलालमा परिणत भएको छ । देशको निकास यस्तो दलाली राष्ट्रवादबाट सम्भव छैन । गाउँगाउँमा विविध नामको शोषण बढेको छ । आफूले मत दिएर चुनेको व्यवस्था आफैँलाई घाँडो भएको अनुभूति बढेको छ । जताततै जनताको चाहनाभन्दा पनि सीमित मानिसको चाहनाले स्वार्थ पूरा गरेको छ । बैधानिक लुटतन्त्र मच्चिएको छ । यस्ता गलत कार्यको विरोधमा उत्रने र राज्यमा सुशासनको माग गर्नेहरूले आफूलाई बलियो बनाउने बेला आएको छ । विकृतिका विरुद्ध बोल्ने क्रान्तिकारीले आफूलाई सर्वत्र छर्दै देशमा भएको सबै विकृतिको अन्त्य गराउन लागिपर्नुपर्छ । देश निर्माणको महान् यात्रामा समाहित गराउँदै सधैँ जनताको आवश्यकतालाई आफ्नो आवश्यकता ठान्दै आफूलाई प्रज्वलित गराउँदै जनताको मन र मस्तिष्कलाई जित्दै सन्निकट भविष्यमै सुन्दर समाज स्थापना गराउन लागिपर्नुपर्छ । आफ्नो जीवनकालमा सुन्दर संसार सजाउने ध्येयको साथमा आफूलाई अविचलित बनाउँदै क्रान्तिको बिउले जुन ठाउँमा मिल्छ त्यहीँ फुल्नुपर्छ । आफूलाई जनतामा लगेर सत्य साबित गराउनुपर्छ ।

२०७५ जेठ १० गते बिहीबार अपरान्ह ४ : ०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :