कठपुतली : सिवेन्द्र काश्यप

 

कहिलेकाहीँ म्याउँ म्याउँ गर्छ
सेतो कठपुतली
कहिलेकाहीँ भौँ भौँ गर्छ
कालो कठपुतली
कहिलेकाहीँ बाघको छाला
ओढ्छ बेरूप कठपुतली
कहिलेकाहीँ आफ्नै स्वरमा
हाउहाउ गर्छ कठपुतली ।

कहिलेकाहीँ आफ्नै स्वजातिलाई
थर्काउँछ कठपुतली
कहिलेकाहीँ मालिकको इशारामा
कम्मर मर्काउँछ कठपुतली
तमासे ब्वाँसाहरूलाई इशारामा
तमासा देखाउँछ कठपुतली
बेसुरको गाना–बजानामा बिनाताल
नाचिदिन्छ कठपुतली ।

सो¥ह शृङ्गारले सिँगारिएकी युवतीझैँ
हाँसिदिन्छ कठपुतली
हावा भरेको भकुण्डोझैँ उफ्रीउफ्री
बाँचिदिन्छ कठपुतली
छेपाराले रङ फेरेझैँ
रङ फेर्छ कठपुतली
लाजै छैन लाज पचाएर
गलत काम गर्छ कठपुतली
हो, कठपुतली सेवक हो
मालिकको सेवा गर्छ कठपुतली ।

उसैलाई थाहा छैन एक दिन
भत्किनेछ काठे कठपुतली
एक दिन अस्तित्वविहीन हुनेछ
निष्प्राण कठपुतली ।।
२०७५ जेठ ७ गते सोमबार मध्यान्न १२ ५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :