‘वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकार’ अन्तर्किया सम्पन्न / सरकारी दमनको विरोध

 

 

काठमाडौं : जनाधिकार अभियान नेपालले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकार’ विषयक अन्तर्किया शुक्रबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानको हल, कमलादीमा सम्पन्न भएको छ । कार्यक्रममा जनाधिकार अभियानका अध्यक्ष एकराज भण्डारीले वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकारको अबस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । भण्डारीको कार्यपत्रमाथि टिप्पणी गर्दैे वक्ताहरूले राष्ट्रियता, सुशासन, मानवअधिकार र शान्तिप्रक्रिया जटिल स्थितिबाट गुर्जिरहेकाले राष्ट्रियताको रक्षा, मानवअधिकारको पुर्ण प्रत्याभुति, शान्तिप्रकिया जस्ता गम्भीर विषयमा राज्यलाई दबाव दिन अधिकारकर्मी र सचेत नागरिकहरु देशव्यापी रुपमा अभियान थाल्नुपर्ने बताएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्थिले शान्तिपुर्ण भेला सम्मेलनबाट गिरफ्तार गर्ने, धरपकड हुने कार्यले मानव अधिकारको अवस्था कमजोर बनेकोमा चिन्ता व्यक्त गर्दै अब आयोग चुप लागेर नबस्ने भनाई राखे । अन्तर्कियामा नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले देशमा लोकतन्त्र छैन कि भन्ने आभाष हुन थालेको भन्दै शान्तिपुर्ण भेला सभामा हस्तक्षेप गरेर मौलिक अधिकार हरण गर्नु निन्दनीय काम वर्तमान सरकारले गरिरहेको बताए । मानव अधिकारकर्मी प्रा. कपिल पोख्रेल, सुवोध प्याकुरेल चरण प्रसाई, नागरिक समाजका अगुवा डा. सुन्दरमणी दीक्षितलगायतले संविधानमा एउटा लेख्ने तर अभ्यासमा ठिक उल्टो काम गर्ने सरकारलाई सबै अधिकारकर्मीहरु खवरदारीका लागि जुट्नुपर्ने आवश्यकता औंल्याए ।

अन्तर्कियामा नेपाल कम्युनिस्ट पार्टीका पोलिट्व्युरो सदस्य पदम राईले राज्य निरंकुश भएर जनतामाथि दमन, धरपकड, अपहरण जस्ता जघण्य कार्य गरिरहँदा मानवअधिकारवादी र नागरिक समाज नबोल्नु चिन्ताको विषय भएको धाराणा व्यक्त गरे । नेता राईले राष्ट्रियता जनतन्त्र र जनजीविकाका बिषयमा आफ्नो पार्टी दृढतापुर्वक लडिरहेको बताए । राष्ट्र र जनसरोकारका बिषयमा बोल्दा राज्य दमन गर्छ भने प्रतिरोधमा उत्रने पनि राइले चेतावनी समेत दिए ।

अन्तर्कियामा नेकपा अन्डरलाईनका नेता झक्कु सुवेदीले नेपालको राष्ट्रियता असाध्यै कमजोर बनेको भन्दै मोदीको नेपाल भ्रमणमा भारतीय सेना आउनु लज्जास्पद विषय भन्दै प्रश्न गरे, “नेपालका प्रधानमन्त्री केपि ओली भारत भ्रमण गर्दा के नेपाली सेना लिएर गएका थिए ?” उनले राष्ट्रियता संटकमा पर्दै गएकाले राष्ट्रप्रेमीहरु सत्ताधारीहरुलाई निरन्तर खबरदारी गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व सचिव प्रभात चलाउनेले नागरिकको अभिव्यक्ति स्वतन्त्रता हरण गर्ने ओली सरकारबिरुद्ध सबै सरोकारवालाहरुले सशक्त ढंगले खवरदारी गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेकपाका अध्यक्ष ऋषि कट्टेलले शान्तिपूर्ण जनसंघर्षमा उत्रेका नेता-कार्यकर्ताहरुमाथि केपी सरकारले तीव्र दमन गरेकोमा आपत्ति जनाएका थिए । उनले अब सत्ताधारीहरुको चरम दमनविरुद्ध प्रतिरोध संघर्ष अनिवार्य भएको चेतावनी दिए । कांग्रेस नेतृ पुष्पा भुसालले सरकार लोकतन्त्रका नाममा अधिनायकवाद लाद्न उद्दत भएपनि जनताले सहेर बस्न नसक्ने बताईन् ।
२०७५ जेठ ५ गते शनिबार बिहान १० : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :