मोदीको नेपाल भ्रमण : ओली लम्पसार – गुणराज लोहनी

 

 

 

भ्रमणमा भारतीय सेनाको आतंक

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको भएको वैशाख २८ र २९ गतेको भ्रमणको तयारीका नाममा नेपालमा एउटा सार्वभौम राष्ट्रभित्र हुनेभन्दा नहुने धेरै क्रियाकलापहरू भइरहेका थिए । मोदी आउनुभन्दा १० दिनअगाडिदेखि भारतीय सुरक्षाफौज अत्याधुनिक हतियार, सैन्य उपकरण जडित हेलिकप्टर, सैन्य विमानहरू जनकपुरमा अवतरण गरेका थिए । ती विमान र हेलिकप्टरहरूमा भारतका उत्कृष्ट भनेर चिनिने भारतीय जनतामा आतंक सिर्जना गरिराखेको कमान्डो फोर्स ब्ल्याक क्याट, अत्याधुनिक हतियारसहितको ठूलो संख्यामा भारतीय सैन्य पोशाकको सेनाको परेडले जनकपुर क्षेत्रमा भारतीय शासन र प्रशासनको आतंक सिर्जना भइरहेको थियो ।

सधैँ फोहर जनकपुरमा झाडु

जनकपुर सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्वको स्थान हो । मिथिला भाषा र सभ्यताले धनी जनकपुरबाट नेपालको केन्द्रीय राजनीति गरेर धेरै मधेसी मूलका नेताहरू सत्ता सञ्चालनसम्म पुगेका छन् । जनकपुर क्षेत्रबाट पञ्चायतकालदेखि नै मन्त्री बन्दै गए पनि त्यहाँको विकास र सरसफाइमा कसैले वास्ता गरेको देखिएको थिएन । नेपालको पहिलो राष्ट्रपति जनकपुरबाट नै बन्न पुगेका थिए रामवरण यादव । उनले जनकपुर नगरीको विकास र सरसफाइमा खासै ध्यान दिएका थिएनन् । यसका लागि कुनै योजना बनाएनन् ।

तर जनकपुरमा मोदी रामजानकीको पूजा गर्न आउने भनेपछि त्यहाँका तिनै हिजो सरकार र सत्तामा रहेका नेताहरू झाडु, कुचो लिएर सडक बढार्न थालेका थिए । सडक, ढल, शौचालयको व्यवस्था नभएको जनकपुरमा एकाएक सबै कुरा तयार हुन पुगेका थियो । त्यहाँका मधेसी नेताहरूको यो रवैया सबैले बुझ्ने गरी भारतीय शासकवर्गको लज्जास्पद दलाली हो भन्न नहिच्किचाए हुन्छ । यसरी सधैँभरि जनकपुर सफासुग्घर र सुन्दर भइदिए त असाध्यै राम्रो हुने थियो तर मोदीको भ्रमणसँगै त्यहाँको सरसफाइको पनि अन्त त भएकै छ, साथै फोहोरी खेल सुरु हुन थालेको छ ।

जनकपुरमा मोदी

नरेन्द्र मोदी जनकपुर आउनुभन्दा पहिला त्यहाँ भारतीय सैनिक जहाज र हेलिकप्टरले सबै पक्षको निरीक्षण र सर्वेक्षण गरिसकेको थियो । सबै सञ्चार–माध्यम र सर्वसाधारणलाई मोदी भारतीय सेनाको हेलिकप्टरमा पटनाबाट सिधै जनकपुर आउने जानकारी दिइएको थियो । तर, उनी दिल्लीबाट सिधै इन्डियन एयर लाइन्सको क्षेत्रीय भिटी–एआईवाई विमान चढेर वैशाख २८ गते १० बजे जनकपुर विमानस्थालमा उत्रिएका थिए । मोदी हेलिकप्टरमा जनकपुर विमानस्थलमा आउँदैछन् भनी पत्रकारहरू आकासतिर हेरिरहेका बखत एकाएक भारतीय विमानले अवतरण गरेको थियो । उक्त विमान अवतरण गर्ने १० मिनेटपछि मात्र मोदी हात हल्लाउँदै विमानबाट बाहिर निस्किए सबै जना आश्चर्यमा परेका थिए ।

जस्तो पहिरन र रूपरङ्गमा मोदी विमानबाट ओर्लिएका थिए, ठीक त्यही रङको परिहनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि उनलाई स्वागत गर्न जानकी मन्दिरमा पुगेका थिए । मोदी र ओलीले लगाएको पोशाक राजस्थानी भएकोले धेरै राष्ट्रवादको स्वाङ नगर्न संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वैशाख ३१ गते चितवनमा पुगेर पहिरनको वास्तविकता खोलेका थिए । त्यहाँ भएको मोदीको स्वागतमा आयोजना गरिएको कार्यक्रममा केपी ओली र नरेन्द्र मोदीको शिरदेखि पाउसम्मका शरीर एकै किसिमको पहिरनले ढाकिएको थियो । त्यही क्रममा मोदीले केपी ओलीलाई सम्बोधन गर्दै ‘मेरे भाइ साहेब कोलीजी’ भनेका थिए । एउटा स्वतन्त्र र सार्वभौम देशको कार्यकारी प्रधानमन्त्रीलाई ‘भाइ’ भनेर सम्बोधन मात्र गरेनन्, बरु उनलाई ओली नभनी कोली पनि भन्न भ्याएका थिए । उनले यसरी नेपाली प्रधानमन्त्रीको नाम बिगारेर बोल्दा पनि सच्याएनन् । यसबाट मोदीले नियतसहित कोली भनेको भनी बुझ्न सकिन्छ । एकातिर भाइ भन्नु अर्कोतिर नाम नै बिगार्नुले नेपालका शासकहरूलाई उनले जानीजानी हेपेको हुन् भनी निष्कर्ष निकाल्दा हुन्छ ।

त्यहाँ मोदी र ओलीले संयुक्त रूपमा रामायण परिपथको उद्घाटन गरेका थिए । साथै, जनकपुर–अयोध्या बस सेवाको हरियो झन्डा देखाएर सुरुआत गरेका थिए । उक्त परिपथका बारेमा नेपालको संसद्, सरकार वा सम्बन्धित निकायमा कुनै निर्णय गरिएको छैन । भारतका प्रधानमन्त्री मोदीले एकाएक ल्याएको प्रस्तावलाई केपी ओलीले दबाबमा परेर स्वीकार गरेका थिए ।

जनकपुरको नागरिक अभिनन्दन

जानकी मन्दिरमा पूरा गरेपछि मोदी बाह्रविगाहामा पुगेका थिए । त्यहाँ मोदीलाई रक्षामन्त्री ईश्वर पोख्रेलले स्वागत गरेका थिए । अभिनन्दनका क्रममा मोदीलाई १ सय २१ किलोको माला लगाइएको थियो । बाह्रविगामा बनाइएको महंगो मञ्च, त्यसको श्रृंगारपटार र त्यहाँ प्रस्तुत गरिएको कार्यक्रम, कार्यक्रमस्थल पूरै भारतीय तामझामले सजिएको थियो । कार्यक्रम सञ्चालकदेखि अभिनन्दनकर्ता, प्रदेश २ का मुख्यमन्त्रीले भाषण हिन्दीमा दिएका थियो ।

मुख्यमन्त्री लालबाबु राउतले मोदीलाई आफ्नो जीवनदाता, अन्नदाता, अभिभावकजस्तै गरी नेपालको वर्तमान सत्ताले मधेसीमाथि गरेको शोषण, दमन र उत्पीडनको फेहरिस्त प्रस्तुत गरेका थिए । उनले विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशका प्रधानमन्त्री भन्दै संविधानमा उनीहरूका मागलाई नसमेटिएको बताएका थिए । उनले मधेस नेपालको अभिन्न अंग भएको भने पनि भारत र मोदीलाई आफ्नो मुक्तिदाताका रूपमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरिराखेका थिए ।
मोदी नेपाल आउँदै गर्दा बिहारका एकजना भारतीय जनता पार्टी जुन मोदीकै पार्टी हो, का सांसद् कृति आजादले जनकपुर नेपालको भएकाले फिर्ता माग्नुपर्ने भनी ट्वीट गरेका थिए । तर, भारतीय सत्तापक्षीय सांसद्को त्यस्तो सार्वजनिक अभिव्यक्तिबारेमा अहिलेसम्म नेपाल र भारतको आधिकारिक पक्षबाट कुनै प्रतिक्रिया आएको छैन ।

जनकपुरको मोदीको केपी ओलीले स्वागत गर्दैगर्दा राखिएका दुईवटा देशको झन्डामा नेपालको भनिएको झन्डाको कुनै आकार–प्रकार नै मिलेको थिएन । प्रधानमन्त्री स्वयं उपस्थित रहेको कार्यक्रममा यसरी झन्डा नै बिगारेर राखिएको थियो । मोदीले त्यहाँ १ अर्ब भारतीय रूपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका थिए ।

मोदीको काठमाडौंमा एक रात

मोदी जनकपुरबाट काठमाडौं २८ गते नै पुगेका थिए । त्यहाँ उनी हायत होटेलमा बसेका थिए तर होटल द्वारिकाजमा मोदी र ओलीले राष्ट्रघाती अरुण ३ परियोजनाको स्वीच थिचेर शिलान्यास गरेका थिए । महाकाली सन्धिलाई २०५३ साल असोजमा संसद्बाट दुईतिहाइ बहुमतद्वारा एमालेको सहभागितामा पारित गराएपछि राष्ट्रघातीमा दर्ज भएको उसले त्यसमा पनि केपी ओलीले भारतले २०७२ सालमा लगाएको नाकाबन्दीमा राष्ट्रवादको नकावले अनुहार छोपेको थियो । नेपालका सही देशभक्तहरूले एमालेको यो नकाबधारीपनलाई छद्म राष्ट्रवादी भन्दै आएका थिए । तर, नेपालको हितमा मात्र नभएको होइन कि नेपालको प्राकृतिक साधन–स्रोतमाथिको भारतीय एकाधिकार दोहन भएको अरुण ३ परियोजनाको केपी र मोदीको संयुक्त शिलान्यासले उसको राष्ट्रवादको नकाव उत्रिएको छ ।

यति मात्र होइन, उक्त शिलान्यास कार्यक्रममा केपीले विभागीय मन्त्रीलाई प्रवेश निषेध नै गरिदिए । सबैलाई थाहा छ, मोदी आउनुभन्दा ठीक २ दिनअघि मात्र ऊर्जामन्त्री वर्षमान पुनले आफ्नो निवासमा पत्रकारहरूलाई बोलाएर अरुण ३ परियोजनाको विरोध गर्न नहुने बताएका थिए । यसरी भारतको एकलौटी दलाली गरेका वर्षमान पुनलाई त्यही अरुण ३ को शिलान्यासमा नबोलाएर के गर्न खोजेका हुन् ? प्रचण्डको पार्टीभित्र यस विषयले निकै हङ्गामा मचाएको छ ।
काठमाडौंमा मोदीलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष एक्लै पुगेका थिए । प्रचण्डले आफ्नो सहपाठी वा सहयात्री कसैलाई लगेका थिएनन् ।

मोदीको मुस्ताङ भ्रमण

वैशाख २९ गते बिहानै मोदी भारतीय हेलिकप्टरहरूको सुरक्षा र स्कटिङमा उतैबाट ल्याएको हेलिकप्टर चढेर मुस्ताङस्थित मुक्तिनाथको दर्शनका लागि भनेर गएका थिए । कति मान्छेलाई थाहा छ ? मोदी प्रधानमन्त्री हुनुभन्दा पहिला नै नेपालका सबै मठमन्दिर पुगिसकेका छन् । उनी राजनीतिमा प्रवेश गर्नुभन्दा पहिला नै नेपालको जनकपुर, पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीमा वषौं समय बिताइसकेका छन् । त्यसैले यी क्षेत्रहरू मोदीका लागि नयाँ होइनन् ।

उनी मुक्तिनाथ पुगेर भित्रै प्रवेश गरेर पूजाआजा गरेका थिए । अहिलेसम्म मन्दिर भित्र पसेर कसैलाई पनि यसरी पूजा गर्न दिइएको छैन । त्यसैले नेपालका कैयौं सञ्चार–माध्यमहरूले “मोदीले मुक्तिनाथको भर्जिनिटी तोडे” भनी समाचार सम्प्रेषण गरेका थिए । मुक्तिनाथमा उनले खिंचाएका १६ वटा विभिन्न पोजका फोटाहरू सार्वजनिक भएका छन् ।
मोदी मुस्ताङमा अवस्थित मुक्तिनाथको पूजा गर्दैगर्दा नेपाली सञ्चार–माध्यमहरूलाई पूर्णरूपले प्रवेश निषेध गरिएको थियो । तर, भारतीय सञ्चार–माध्यमहरू आजतक, टिभी टु डेहरूले प्रत्यक्ष प्रशारण गरिरहेका थिए । पूजाआजा सकिएपछि मोदी काठमाडौं फिर्ता भए । तर उनीसँग गएका २ वटा हेलिकप्टर र केही भारतीय सेनाहरूले २ रात त्यहीँ बिताएका थिए ।

मुस्ताङ चीनको तिब्बतसँग जोडिएको जिल्ला हो । खम्पाको विद्रोहलाई चिनियाँ जनमुक्ति सेना र तत्कालीन शाहीसेनाले टिक्न नदिएपछि अमेरिका र भारतको त्यसक्षेत्रमा विशेष चासो रहेको छ । नेपालका लागि भारतीय र अमेरिकी राजदूतहरू प्रायः त्यहाँ जाने गर्दछन् । त्यहाँ भारत र अमेरिकाको लगानीमा धेरै बौद्धगुम्बा, विद्यालयहरू बनेका छन् । त्यो क्षेत्र चीन र नेपालका लागि सामरिक रणनीतिक महत्वको क्षेत्र रहेको छ । यसरी २ रातसम्म अत्याधुनिक हतियार र उपकरणसहित भारतीय सेना बस्नुलाई सहज मान्न सकिँदैन ।
त्यहाँबाट फर्किएका मोदीले पशुपतिनाथको पूजा गरेका थिए । त्यसपछि कांग्रेसका नेताहरूसँगको भेट अनि केपी ओली र उनको संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए । त्यसपछि उनी काठमाडौं महानगरपालिकाले गरेको अभिनन्दनमा गएका थिए । उक्त कार्यक्रममा भारतीय सुरक्षा निकायले नेपाली पत्रकारहरूलाई राष्ट्रिय सभाहलभित्र प्रवेशमा रोक लगाएको थियो ।

मोदी भ्रमणको विरोध र दमन

नरेन्द्र मोदी नेपाल आउने मिति भारतीय पक्षले तय गरेर नेपाललाई दिएको थियो । उक्त समयमा नेपालका प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारी हुँदै थियो । चीनले गोङजाओ सम्मेलनका लागि यसअघि नै बोलाएको थियो । भारतले त्यसै समयमा भ्रमणका लागि दिल्ली बोलाएर रोकेको थियो ।

केपी सरकारले मोदीको भ्रमणको १० दिन अघिदेखि नै नेकपाका नेता र कार्यकर्तालाई गिरफ्तार गर्न थाल्यो । मुस्ताङमा मजदुर संगठनको पोस्टर टाँसिरहेका कमरेडहरूलाई गिरफ्तार ग¥यो । जनकपुर अञ्चलमा जो कोही देखिए पनि भटाभट गिरफ्तार गर्न थाल्यो । रेडफोर्सका केन्द्रीय नेता रोहित ढकाल, अखिल नेपाल शिक्षक संगठनका जगदीशचन्द्र रायलगायत ११ जनालाई गिरफ्तार ग¥यो । काठमाडौंमा पत्रकार सम्मेलन गरिराखेका अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाक्रीलगायतका ११ जनालाई मंगलबारकै दिन गिरफ्तार गरेको थियो । काठमाडौं, जनकपुर र मुस्ताङमा नेकपाका कुनै पनि नेता–कार्यकर्तालाई देख्नेबित्तिक्कै गिरफ्तार गरेर राखिदिन सरकारले ठाडो आदेश दिएको थियो ।

यसका बाबजुद पनि नेकपाले काठमाडौं दशौं हजार पर्चा छ¥यो । २९ गतेका दिन सुन्धारामा विरोध जुलुस ग¥यो भने मोदी र ओलीले गरेको राष्ट्रघातको प्रतिरोधमा ३० गते शानदार नेपाल बन्द सफल ग¥यो । मोदीको यो भ्रमण र भएको राष्ट्रघातको विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी) ले पनि विरोध गर्दा त्यस पार्टीका वरिष्ठ नेता सीपी गजुरेललाई गिरफ्तार गरिएको थियो । काठमाडौं मात्र नभएर देशैभरि विरोध गरिएको थियो । केपी सरकारले मोदी र भारतको यतिसम्म दलाली ग¥यो कि भारत र मोदीको नाममा लेखिएका कुनै पनि चीजलाई फाल्दै पुलिसहरू हिंडेका थिए । यसको ज्वलन्त उदाहरण साझाको कार्यालयमा नाकाबन्दीको विरोध गरी रखिाएको ब्यानरसमेत निकालिएको थियो । बुटवलमा गरिएको विरोध जुलुसमा प्रहरी दमन भयो ।

केपीको किन यति दलाली

नरेन्द्र मोदीको नेपाल भ्रमण र केपी ओलीले उनीप्रति रामभक्त हनुमानभक्ति देखाएका छन् । संसारकै सस्तो, स्तरीय, ऊर्जापूर्ण अरुण ३ पच्चीस वर्षका लागि कौडीको भरमा त्यो पनि उधारोमा दिएका छन् । जनकपुर, काठमाडौं र मुस्ताङमा भएको भारतीय सुरक्षाफौजको बाक्लो उपस्थिति, भारतले नेपालको रणनीतिक र सामरिक क्षेत्रको खुल्लमखुला अन्वेषण र खोजको केपी ओलीले टुलुटुलु हेरेर बसे भने कतै किनारका साक्षी बनेका छन् ।
आफूलाई राष्ट्रवादी भन्दै आएका केपी ओलीले दोस्रोपटक प्रधानमन्त्री भएपछि किन यति धेरै भारतीय दलाली गरिरहेका छन् त ? अहिले उनकै पार्टीभित्र मात्र नभएर उनकै गुटमा पनि प्रश्न उठाइरहेका छन् । उनकै पार्टीका उपाध्यक्ष भीम रावलले सार्वजनिक सञ्चार–माध्यममा बोलिरहेका छन् । उनकै मन्त्रीमण्डलका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद्मा नै कुरा उठाए । माओवादी केन्द्रका अधिकांश मन्त्रीहरू मोदीको भ्रमणमा कतै पनि देखिएनन् । उपेन्द्र यादव, भारतीय एजेन्ट भनेर चिनिएको अमरेशकुमार सिंहले विरोध गरिराखेका छन् । समग्रमा मोदीको यो भ्रमण असाध्यै विवादित र विरोधपूर्ण रह्यो ।

केपी ओलीले यति नगरेको भए, उनको सरकारलाई भारतले फू गरेर ढालिदिने थियो । आफ्नो सरकार टिकाइराख्नका लागि र आफ्नो भारतभक्तिलाई उजागर गर्न ओलीले मोदीको भ्रमणमा आफूले गर्न सक्ने सबै काम गरेका हुन् । अत्यधिक बहुमत भएको वामगठबन्धनको भनिएको सरकार जुन इतिहासमा नै सबैभन्दा बढी ७५ प्रतिशत मत पाएको हौवा फिंजाइएको ओली सरकार इतिहासमा नै सबैभन्दा राष्ट्रघाती, भारतीय कठपुतली रहेको पुष्टि भएको छ ।

२०७५ जेठ ३ गते बिहीबार बिहान ११ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :