भारतीय साम्राज्यवादद्वारा नेपाली राष्ट्रियता र सार्वभौमिकतामाथि हमला

 

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले सुगौली सन्धिसँगै नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि भारतीय साम्राज्यवादले बल प्रयोग गरेर हस्तक्षेप गरिरहेको भन्दै त्यसको विरोध गरेको छ । नेपाल भारतबीच बेला–बेलामा भएका असमान सन्धि–सम्झौताहरूको निरन्तरतामा अरुण तेश्रो सम्झौता भएको निष्कर्ष निकालेको छ । कोशी र गण्डक सम्झौता, महाकाली सन्धि, चीन र भारतबीच भएको लिपुलेक १६ बँुदे सम्झौता, सीमा अतिक्रमण, सीमाक्षेत्रमा बनाएको बाँध, दशगजा क्षेत्र जोडेर भारतले बनाइरहेको १८ सय किलोमिटर लम्बाइ र ८ मिटर उचाइको सडकले नेपालमा दीर्घकालीन असर गर्ने नेकपाको भनाइ छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा यहाँका सत्ताधारीहरूले नाकाबन्दीलगायत कुनै पनि विषयमा कुरा नगरेको भन्दै मोदीसामु लम्पसार परेको बताएको छ । सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले मोदी नेपालमै भएको समयमा भारतीय जनता पार्टीका वहालवाला सांसद् कीर्ति आजादले नेपालको ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक भूमि जनकपुर भारतमा गाभ्न माग गर्नुलाई त्यहाँका सत्ताधारी सांसद्ले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि आक्रमण गरेको भन्दै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । विप्लवले भाजपा सांसद्को अभिव्यक्ति सच्याउनुपर्ने र भारत सरकारले अन्तर्राष्ट्रियस्तरमा नै माफी माग्नुपर्ने माग गर्दै देशभक्त, राष्ट्रवादी नेपाली जनतालाई सचेत रहन अपील गरेका छन् । आजादको उक्त अभिव्यक्ति उनको व्यक्तिगत नभई भारतीय साम्राज्यवादी शासकहरूको नेपाली स्वाधीनतामा आक्रमण गर्ने भित्री कुत्सित चाहना भएको विप्लवको भनाइ छ । हालै मोदीको नेपाल भ्रमणका क्रममा भएका राष्ट्रघातका नयाँ शृङ्खलाका विरुद्ध नेकपाले ३० गते नेपालबन्दको समेत आयोजना ग¥यो । नेकपाले मोदीको नेपाल भ्रमणका क्रममा अरुण ३ सम्झौता गरिएको, नेपालका सुरक्षा फौजको अपमान हुने गरी भारतीय सुरक्षा फौजले नेपाली भुमिमा परेड खेलेको र यहाँका संचारकर्मीमाथि गरेको अपमानको विरोध गर्दै नेपालबन्द गर्नुपरेको स्पष्ट गरेको छ । बन्दको दिन ३० गते साँझ जारी गरेको धन्यवाद विज्ञप्तिमा विप्लवले भनेका छन्, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ र २९ को नेपाल भ्रमणका क्रममा सर्वत्र विवादित अरुण ३ को शिलान्यास गर्नु र जनकपुरमा कथित नागरिक अभिनन्दनका नाममा भारतीय सेना र सुरक्षा फौजले गरेको ताण्डव नृत्य, मुस्ताङमा पूजा–अर्चना गर्ने नाममा मोदी र उनका डफ्फाले गरेको क्रियाकलाप, राष्ट्रिय नाचघरमा गरिएको स्वघोषित अभिनन्दन र नेपालका पत्रकारमाथि भारतीय सुरक्षा फौजले गरेको हर्कतलाई निरीह प्राणीझैं टुलुटुलु हेरेर बस्ने नेपालका शासकहरूको क्रियाकलापले नेपाल र नेपाली जनताको इतिहासमा नै मानमर्दन गरेको मात्र छैन कि आफ्नो लुटको स्वर्ग बचाउन यहाँ दलाल संसदीय पुँजीवादी शक्तिहरू हदैसम्म लम्पसार पर्दा रहेछन् भन्ने कुरा पुष्टि गरेको छ ।’ नेपालका शासकहरूले आफ्ना प्रभुलाई रिझाउन देशभक्त नेपाली जनता माथि दमन गरेको र केपी ओली सरकारले मालिक रिझाउन गरेको राष्ट्रघातका विरुद्ध गरिएको बन्द सफल भएको पनि सो पार्टीको निष्कर्ष छ । उक्त बन्द नेपाली जनताको प्रतिरोध र प्रतिवाद, यहाँका देशभक्त, राष्ट्रवादी, जनगणतन्त्रवादीहरूको सक्रियता, समर्थन, सहयोग र ऐक्यबद्धतामा सफल भएको जनाएको छ । आफ्नो पार्टी अहिले नेपाली जनता र नेपाल राष्ट्रको पूर्ण मुक्ति अभियानमा रहेकोले जबसम्म नेपालबाट दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त भई समाजवाद स्थापना हुँदैन, तबसम्म निरन्तर संघर्षमा जारी रहने भन्दै केपी र पीकेको कथित वाम–गठबन्धन तथा उनीहरूले भन्दै आएको समाजवादोन्मुख राज्य व्यवस्थाको भ्रम मात्र भएको नेकपाको निष्कर्ष छ । स्रोत : रातो खबर साप्ताहिक
२०७५ वैशाख २ गते बुधबार बिहान १० : ४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :