हजाराैँ विद्यार्थीको सहभागितामा अखिल क्रान्तिकारीले विद्यार्थी दिवस मनायो / वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र शिक्षामा सबैको पहुँच हुने : नेता सन्तोष बुढा

(भिडियाे सहित)

 

 
 
तस्विर : भीम चापागाई

 

काठमाडौं: अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) ले हजारौँ विद्यार्थीको सहभागितामा ५४ औँ विद्यार्थी दिवस मनाएको छ । काठमाडौंको लैनचौर खेलमैदानबाट सुरु भएको ¥याली दरबार संग्रालयको उत्तरगेट, नागपोखरी दरबारमार्ग हुँदै  फेरि लैनचौरमै पुगेर सभामा परिणत भएको थियो । मंगलबार भएको उक्त ¥यालीको नेतृत्व अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले गरेका थिए । ¥यालीपछि आयोजित विद्यार्थी–सभालाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र शिक्षा सर्वसुलभ हुने र त्यसमा सबै जनताको पहँुच हुने बताए । उनले भने, ‘देशको विभेदकारी द्वैतशिक्षा नीतिको अन्त्य गरी सबैले पढ्न पाउने वैज्ञानिक शिक्षा नीति आवश्यक छ ।
 
धनी र गरिब एउटै बेन्चमा बसेर पढ्न पाउने शिक्षा नीति बनाउन आवश्यक छ र त्यो वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव छ ।’ अहिले नेपालमा द्वैतशिक्षा नीति लागू गरिएको भन्दै संसारमा कतै नभएको शिक्षा नीति लागू गरी शिक्षालाई निजीकरण र व्यापारीकरण गरिएको उनको भनाइ छ । राष्ट्रका कर्णधार विद्यार्थीलाई दिइने शिक्षा अवैज्ञानिक हुँदा देशमा दक्ष जनशक्ति उत्पादन हुन नसकेको उनको नेता बुढाको भनाइ छ । इतिहासमा राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गर्न विद्यार्थीवर्गले खेलेको भूमिका निकै ठूलो भएको स्मरण गर्दै नेता बुढाले अबको दलाल संसदीय ब्यवस्थाको अन्त्य पनि विद्यार्थीको दायित्व भएको बताए । नेकपाका जनपरिषद् प्रमुखसमेत रहेका नेता बुढाले सरकारले अरुण तेश्रो जलविद्युत परियोजना भारतलाई छोरी कन्यादान दिएको जस्तो गरी बेचेको भन्दै कुनै पनि हालतमा त्यो सफल हुन नदिने उद्घोष गरे ।
 
हजाराैँ विद्यार्थी सहभागी भएको ¥यालीमा विद्यार्थीहरूले स्वाधीनता र राष्ट्रियताको पक्षमा नारा लगाएका छन् । उनीहरूले हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीले अरुण ३ लगायत राष्ट्रघाती सम्झौता गरेको भन्दै चर्का नारा लगाएका छन् । उनीहरूले संगठनको झन्डा र ब्यानर फहराउँदै केपी ओली सरकारले बेला अरुण ३ जलविद्युत आयोजनाको शिलान्यास गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् । 
अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष नरेन्द्र विकले संचालन गरेका थिए । सचिव सन्तोषी भट्टराईले स्वागत भाषण गरेकी थिइन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्ण अधिकारी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्द, समाजवादी विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष् विवेक राई, अखिल पाँचौका महासचिव कपिलदेव पोखरेल, नयाँ शक्ति पार्टी नेपालका विद्यार्थी संगठनका अध्यक्ष श्यामबाबु गौतमलगायतको उपस्थित रहेको थियो । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनहरूले हरेक वर्ष जेठ १ गते विद्यार्थी दिवस मनाउने गर्दछन् । तत्कालीन सरकारले नेपालमा २०२१ साल जेठ १ गते विद्यार्थी संगठनमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।
 
२०७५ जेठ १ गते मंगलबार साँझ ६ : १६ मा प्रकाशित
 
 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :