राष्ट्रघातका विरुद्ध नेकपाले गरेकाे बन्दको प्रभाव देशभरी / ठाउँ ठाउँमा तोडफोड र बम विस्फोटका घटना जारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपालबन्दको प्रभाव आज देशभरी नै परेको छ । बन्दको कारण लामो तथा छोटो दुरीका सवारी साधन, शिक्षण संस्था र उद्योगधन्दा कलकारखाना बन्द रहेका छन् । बन्दको अवज्ञा गर्ने सवारी साधनमाथि बन्दकर्ताले तोडफोड समेत गरेका छन् । बन्दको दिन चितवनमा भारतीय नम्बर प्लेटका र अन्य गरी ३० वटा जति सवारी साधनमाथि तोडफोड गरिएको छ । धादिङमा दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी भएको छ । धुनिबेशी ६ चालिसे बजारमा दुई वटा २० चक्के ट्रकमा बिहानै आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको भारतीय गाडीमा आगजनी भएको हो । आगजनीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । बाक्लो बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए । आगलागीपछि विद्युतको तार जल्दा विद्युत् सेवा समेत अवरुद्ध भएको छ ।

यता बन्दको दिन बिहान काठमाडौंको बानेश्वर,चावहिल र भक्तपुरको जगातीमा पनि बन्दकर्ताहरुले सवारीसाधन तोडफोड गरेका छन् । यसैबीच बन्दको दिन झापाको मेचीनगर नगरपालिकामा सुर्योदय यातायात प्रालिको बसमा बम विस्फोट भएको छ । विस्फोटबाट बस पुर्णरुपमा क्षतिग्रस्त बनेको छ । त्यसैगरी बुट्टाबारिमा बम फेला भेटिएको छ भने सुरुङ्गामा एउटा बम विस्फोट भएको छ । विस्फोटबाट कुनै मानविय क्षति पुगेको छैन । माइखोलाको पुलमा बन्दकर्ताहरुले अबरोध राखेपछी प्रहरीले सवारी साधन चलाउन दिएको छैन । त्यस्तै, झापाको सितापुरीमा बन्दकर्ताहरुले एउटा बस र एउटा ट्रकलाई ढुङ्गा प्रहार गरी तोडफोड गरिदिएका छन् । यस्तै चितवनको भरतपुरमा रहेको भाटभटेनीमा शक्तिशाली बम विष्फोट भएको छ । बन्दको दिन बिहान चितवन भरतपुर महानगरपालिकामा रहेको भाटभटेनीमा उक्त विष्फोट भएको हो । विस्फोटबाट मानविय क्षति नभएपनि भवनमा क्षति पुगेको छ । चितवनकै खैरेनी नगरपालिकाको पर्सा बजार, राप्ती नगरपालिकामा रहेको चिप्ले स्थित वडा नम्वर १ को कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ । बन्दको प्रभाव चितवन, झापा, धरान, विराटनगर, बर्दिबास, पोखरा, नवलपरासी, बुटवल, कञ्चनपुर लगायतका शहरहरुमा परेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेकोबेला अरुण ३ लगायत राष्ट्रघाती सम्झौता भएको, नेपाली सुरक्षा निकायको अपमान हुने गरी भारतीय सैनिकलाई नेपालमा परेड खेलाएको लगायतका विषयलाई लिएर नेकपाले एक दिने नेपालबन्दको घोषणा गरेको हो ।

२०७५ बैशाख ३० गते आइतबार दिउसो १ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :