पुँजीवादी विश्वदृष्टिकोणका विरुद्ध भीषण गोलावारी : वैज्ञानिक समाजवाद – अनिल विरही

अनिल विरही

नेपालको कम्युनिस्ट आन्दोलनका युवा नेता क. विप्लव एकजना कवि र निबन्धकार पनि हुनुहुन्छ । ‘कसले बनायो नी दाजै उडिजाने बस’ जस्ता (गीत कविता नै मानिन्छ र कवितामा स्वर र सङ्गीत जोडेपछि गीत भन्ने गरिएको छ) माओवादी धाराभन्दा बाहिरसमेत ती गीतहरू लोकप्रिय रहेका छन् र ‘विप्लव संकलित रचना, भाग १ प्रकाशित भएको एक वर्षभित्र उहाँको अर्को मौलिक रचना ‘वैज्ञानिक समाजवाद’ प्रकाशित भएको छ । पहिलो कृति उहाँ संलग्न पार्टीको प्रकाशन गृहले प्रकाशित गरेको थियो भने पछिल्लो कृति ‘रातो प्रकाशन गृह’ ले प्रकाशित गरेको छ ।

कृतिमा १३ वटा फरक–फरक शीर्षकमा रचनाहरू रहेका छन् । जसमा वैज्ञानिक समाजवादको पृष्ठभूमि, उतारचढाव र यसको अपरिहार्यताको विषयमा विशद् व्याख्या गरिएको छ । ‘वैज्ञानिक समाजवादको खोज’ शीर्षकमा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सभन्दा पूर्वका दार्शनिक, ऋषि र सन्त तथा उदार शासकहरूले मानवजातिको सेवा तथा भलाइका लागि गरेका प्रयत्नहरूको व्याख्या गरिएको छ । ती प्रयत्नहरूको असफलता के कारणले हुन गयो भन्ने विषय पनि स–विस्तार व्याख्या गरिएको छ । माक्र्सवादको विपक्षमा रहेको आदर्शवादी दर्शन विभिन्न हाँगामा रहेको, त्यसले एकेश्वरवादी अर्थात् ईश्वर एक मात्र रहेको भन्नेहरूमाथि भीषण दमन गरेको भए पनि माक्र्सवादको विरुद्ध भने एउटै मोर्चामा बसेर कसरी लडिरहेका छन् ? भन्ने विषयमा कृतिमा व्याख्या गरिएको छ । अध्यात्मवादी अथवा आदर्शवादीहरूले राजा, महाजन, सामन्त वा पण्डित–पुरोहित, मुल्ला, पादरी (धार्मिक नेता) ईश्वरका प्रतिनिधि हुन्,उनीहरूको विरोध ईश्वरकै विरोध हो र भयानक अपराध हो भन्ने कुराको दावी गर्छन् । त्यसको आधारमा हजारौं वर्षदेखि आर्थिक, राजनीतिक, सांस्कृतिक शोषण र दमन गर्दै आएका छन् । जसको विरुद्ध तथ्यगत खण्डन गरिएको छ । जसअनुसार राजा, सरकार, पार्टी, नेताहरू हिजो जस्ता थिए, आज त्यस्तै छैनन् । यिनीहरू बदलिइरहेका छन, नासवान् छन् र यिनीहरूको पतन वा नास अनिवार्य छ । नयाँ जन्मन्छन् । त्यसैले आजका सत्ताधारी संस्था र व्यक्तिहरू निषेध नयाँद्वारा हुन्छ, क्रान्तिद्वारा नयाँ व्यवस्था आउँछ भन्ने कुरालाई सविस्तार व्याख्या गरिएको छ । आज उपभोक्तावाद उत्कर्षमा छ । राजनीतिक बेश्यावृत्ति चरममा चलिरहेको छ । दल बदल विहीं कसैलीको आधारमा चलिरहेको छ । घटना हेरेर कम्युनिस्ट कार्यकर्ताहरू पीपलको पातझँै सानो हावाको झोक्कामा पल्टा मारिरहेका हल्लिरहेका छन् । यस्तो बेला मान्छेलाई वैचारिक रूपले संगठित गर्ने, दह्रो मनोबल निर्माण गर्ने र अर्काको सपनाको भरिया नबन्न यो कृतिले पे्ररित गर्नेछ । ‘तिम्रो आफ्नो सपना भएन भने तिमीलाई अरू कसैले आफ्नो सपनाको भरिया बनाउँछ’ एकजना दार्शनिकले भनेका छन् । आज केपी ओलीजस्ता पँुजीवादका दलालहरू अध्ययन, खोज, प्रश्न, आलोचना र सपना मार्न प्रेरित गर्दैछन् । यो दुई विश्वदृष्टिकोणको बीचको संघर्ष हो । पुँजीवादी विश्वदृष्टिकोण (केपी ओली) र माक्र्सवादी विश्वदृष्टिकोण (विप्लव) बीचको भीषण गोलाबारी हो । आदर्शवादले, सामन्तवाद र पुँजीवादले मजदुर, किसान र श्रमिकलाई सबै शोषण, उत्पीडन, अन्धविश्वास सहेर बस, यी ईश्वरकै उपज हुन् । ईश्वरकै इच्छाले मात्र परिवर्तन हुन्छन् भनेर अस्त्रशस्त्रविहीन बनाउँछ । यो कृतिले श्रमिकवर्गलाई बलियो अस्त्र प्रदान गरेको छ ।

मानवजातिको आधुनिक चेतना शुन्यबाट भएको होइन । यो खण्डित र विछिन्न रूपमा होइन कि निरन्तरता र उत्कर्षको रूपमा भएको हो । कृतिकारले त्यसलाई अझ चहकिलो पार्नुभएको छ । उहाँ भन्नुहुन्छ– बाँच्नको लािग मान्छेले अरू जनावरले भन्दा फरक प्रकारले श्रम गर्न थाल्यो । श्रमको कारणले नै मान्छेको पुच्छर हराउँदै, हात गोडा फरक बन्दै अरू जनावरबाट अलग भयो । श्रमको चेतना र विचारको कारण मान्छे आधुनिक समाजका विभिन्न चरण पार गरेर पुँजीवादी युगभित्र आइपुगेको छ । आज मान्छे पुँजीवादबाट वैज्ञानिक समाजवादतिर यात्रारत छ र सम्भवतः आउँदा केही शताब्दीपछि पँुजीवादको अन्त्य हुनेछ । विश्वमा साम्यवाद आउनेछ र त्यो पनि विकासको नियमअनुरूप नै नयाँ बन्दै जानेछ, (पृ.१५) । यसरी कृतिले माक्र्सवादी ज्ञानशास्त्रको अविच्छिन्नतालाई कायम राख्दै, त्यसलाई खेत खलियानामा पु¥याउने उद्देश्यसहित सरलीकृत गर्दै विकास वा समृद्धीकरण गरेको छ । लेखकले बुझ्ने र बदल्ने प्रक्रियाबीचको द्वन्द्ववादलाई सरल तर सुबोधगम्य शैलीमा प्रस्तुत गर्नुभएको छ । ‘द्वन्द्वात्मक भौतिकवादी दर्शनले मानवसमाजलाई वैज्ञानिक ज्ञानद्वारा बुझ्न र परिवर्तन गर्न सकिन्छ भन्नेमा विश्वास गर्छ । वस्तु समाज र राज्यको जन्म र विकासबारे वैज्ञानिक बुझाइ भइसकेपछि तिनलाई परिवर्तन पनि गर्न सकिन्छ भन्ने यसको मान्यता हो, (उही, पृष्ठ १५) । बुझ्नु र बदल्नु विषयको सन्दर्भमा लेखकको निष्कर्ष छ । सरल शैलीमा गम्भीर भावबोध गर्नु र त्यसैगरी प्रस्तुत गर्नु लेखकको मौलिकता हो ।
भ्रमराझँै घुम्नु तर ठोस र पेचिलो प्रस्तुति गर्न नसक्नु संश्लेषणको समस्या हो । यो मूलतः जिम्मेवारी र क्षमताबीचको अन्तरविरोध नै हो । यो कृति त्यसप्रकारका समस्याहरूबाट पृथक कृति हो ।

संसारलाई बुझ्न र बदल्न सकिन्छ भन्ने ज्ञान प्रामाणिक रूपले राख्नु नै द्वन्द्वात्मक भौतिकवादी दर्शनको सबैभन्दा ठूलो योगदान हो । जसको आधारमा वैज्ञानिकहरू प्रकृतिका सारा रहस्यहरूको कारण खोज्न उत्साहित भएका छन् र प्रकृतिसँगको संघर्षमा विजयी भएका वा हुँदैछन् । संसार परिवर्तनशील भएकोले बदलिँदो कुरा निश्चित र अनिवार्य भए पनि क्रान्ति र परिवर्तनको चाहनाले मूर्तरूप ग्रहण गरेको अवस्था छ । लेखकले कृतिमा यी विषयलाई स–विस्तार व्याख्या गरेका छन् । संशोधनवाद भनेको कम्युनिस्ट आन्दोलनभित्र घुसेको छद्म पँुजीवाद हो । यसले आफूलाई कम्युनिस्ट भएको दावी गर्छ तर पुँजीपतिवर्गको सेवा गर्छ । त्यसप्रकारको बानियाँगिरीलाई (कालो बजारी) परास्त नगरी क्रान्तिकारी माक्र्सवादको विकास गर्न सम्भव छैन । ऐतिहासिक सन्दर्भसहित माक्र्स, लेनिन, स्टालिन र माओले समकालीन संशोधनवाद कस्तो कस्तो रङका जामा भिरेर प्रकट भए ? उनीहरूको विरुद्ध कसरी संघर्ष भयो, कृतिमा व्याख्या गरिएको छ । यो अध्यायले हाम्रो समयको संशोधनवादसँग कसरी लड्ने ? त्यसको महत्व कति छ ? भन्ने दिशाबोध गराएको छ । कृतिमा भनिएको छ, ‘श्रमिकवर्गको मत लिएर चुनाव जित्न कम्युनिस्ट नाम राख्नुपर्ने अनि पुँजीवादी लुटेरासँग मिलेर सत्ताको रसास्वादन गर्न र भद्दा प्रकारले पुँजीवादीहरूभन्दा बढी तुच्छ लुटपाटमा सहभागी बन्न ‘संसद्बाट समाजवाद’ भन्ने कुरूप चरित्रमा यो प्रदर्शित भइरहेको छ, (पृ. २५) ।’ पुँजीपतिवर्ग र उसको राजनीतिक प्रणालीमा बसेर श्रमिकवर्गलाई लुटपाट गर्नु र चुनाव जित्न अथवा जनतामा भ्रम छर्न कम्युनिस्ट झन्डाको दुरुपयोग गर्ने मनोवृत्तिको उपज नै संशोधनवाद हो । जो नेपालमा आज सामाजिक दलाल पुँजीवादको रूपमा प्रकट भएको छ । ओली दाहाल मण्डलीले त्यसको प्रतिनिधित्व गरिरहेको छ ।

कृतिको दोश्रो अध्याय हो, ‘वैज्ञानिक समाजवादको सफलता’ या अध्यायमा लेखकले वैज्ञानिक समाजवादले व्यवहारको कसीमा कुन कुन क्षेत्रमा सफलता हासिल ग¥यो ? मानवसभ्यताको क्षेत्रमा यसले के कस्ता योगदानहरू प्रदान ग¥यो, मानवसभ्यताको क्षेत्रमा यसले के कस्ता योगदानहरू प्रदान ग¥यो भन्ने प्रश्नहरूको जवाफ दिएका छन् । माक्र्सवादी दर्शनको आधारमा पहिलो सर्वहारा क्रान्ति सन् १८७१ को पेरिस विद्रोह थियो । सन् १८७१ मार्च १८ मा पहिलो पटक पुँजीवादी सत्ता बदलेर सर्वहारा सत्ता कायम भएको थियो । त्यो क्रान्तिले माक्र्सवादको वैज्ञानिकता पुष्टि ग¥यो । त्यसपछि पेरिस कम्युनको सफलता र असफलताबाट शिक्षा लिएर सन् १९१७ मा लेनिनको नेतृत्वमा रुसमा महान् अक्टोबर क्रान्ति सम्पन भयो । यो माक्र्सवादको अर्को सफलता र विजय थियो, अक्टोबर क्रान्तिलगत्तै फासिवादरूपी (हिटलर) पुँजीवादसँग माक्र्सवादले विजय प्राप्त ग¥यो । हिटलरको पराजय अन्ततः पुँजीवादकै पराजय थियो । हिटलररूपी पुँजीवादको पराजयलगत्तै पूर्वी युरोपमा समाजवादी क्रान्तिको लहर आयो, त्यसपछि सन् १९४९ मा कृषिप्रधान र औपनिवेशिक देश चीनमा जनवादी क्रान्ति सम्पन्न भयो । त्यही आसपासमा कोरिया, भियतनाम, कम्बोडिया, क्युबालगायत धरतीको एक तिहाइ भू–भाग र जनसंख्याको आधारमा समाजवादी सत्ता स्थापना भए । वस्तुगत आधार नभईकन ती क्रान्तिहरू सम्भव थिएनन् । आज विश्वमा समाजवादी सत्ता सत्तारुढ अवस्थामा छैन । समाजवादी क्रान्तिका उपलब्धिहरूको पक्ष–विपक्षमा बहसहरू चलिरहेका छन् । सत्तारुढ पुँजीपतिवर्गले भौतिकसत्ता प्रयोग गरेर समाजवादको विरुद्ध ढुंगामुढा वर्षाइरहेको छ । संशोधनवादी चमेराहरू पुच्छर लुकाएर भागिरहेका छन् । यस्तो समयमा लेखकको प्रकाशित कृतिमा वैज्ञानिक समाजवादका उपलब्धि र सफलताको विषयमा सूत्रबद्ध प्रस्तुति गरिएको छ । भियतनामी क्रान्ति, कोरियाली क्रान्ति र क्युबाली क्रान्तिको सन्दर्भमा कृतिमा सकारात्मक विचार प्रवाह गरिएको छ, जसको विषयमा विश्व कम्युनिस्ट आन्दोलनमा प्रश्नहरू छन् ।

कृतिको तेस्रो स्थानमा ‘वैज्ञानिक समाजवाद–साम्यवादको लोकप्रियता’ शीर्षकको आलेख समावेश छ । वैज्ञानिक समाजवादी क्रान्ति सफल भएपछि त्यसको प्रभाव र लोकप्रियता कस्तो थियो त भन्ने सन्दर्भमा यहाँ उल्लेख छ । लोकप्रियताका विश्चित आधारहरू थिए, जसको विषयमा कृतिमा प्रस्तुत गरिएको छ । त्यस्तो लोकप्रिय व्यवस्था कसरी विस्थाप्ति भयो त ? प्रश्न उठ्छ, वैज्ञानिक समाजवाद लोकप्रिय हुनुमा मूलतः आजसम्मको राजनीतिक व्यवस्थामा सबैभन्दा वैज्ञानिक र जनवादी हुनुले हो, लेखकको निष्कर्ष छ । माक्र्सवादले दर्शनको क्षेत्र र त्यसको आलोकमा समाजवादी सत्ता स्थापना गरेर आफ्नो वैज्ञानिकता र जनपक्षीयतामा आफूलाई श्रेष्ठ सावित गरेको छ, जसको कारण यसको लोकप्रियता घटेको छैन । यसका प्रवर्तक कार्ल माक्र्स २० आँै शताब्दीकै लोकप्रिय दार्शनिक सावित हुनुभएको छ र समाजवादको पारो उकालो चढिरहेको छ ।


पुँजीवादसँगको संघर्षमा वैज्ञानिक समाजवादले ठूलो क्षति र धक्का खानुपरेको यथार्थ हो । त्यसको वस्तुगत र आत्मगत कारणको खोजी गर्नु आजका माक्र्सवादीहरूको दायित्व हो । लोकप्रियताले किन निरन्तरता पाउन सकेन ? यो नै अनुसन्धानको विषय हो । ‘वैज्ञानिक समाजवादले व्यहोरेको आसफलता’ शीर्षकको आलेख त्यस विषयमा केन्द्रित रहेको छ । वैज्ञानिक समाजवादी व्यवस्थाले वैचारिक, राजनीतिक श्रेष्ठतालाई निरन्तरता दिन नसकेकोले भौतिक सत्तामा क्षति व्यहोर्नुपरेको लेखकको निष्कर्ष छ । लेखकको निष्कर्ष छ, ‘… संशोधनवादी विचलनहरूले के सावित गरेका छन् भने वैज्ञानिक समाजवादको निरन्तर सफलता कुनै भौतिक शक्तिद्वारा निर्धारित हुँदैन, त्यसको विपरीत सैद्धान्ति एवं वैचारिक सफलता कुनै भौतिक शक्तिद्वारा निर्धारित हुँदैन, त्यसको विपरीत सैद्धान्तिक एवं वैचारिक सहीपनाद्वारा हुन्छ । भौतिक शक्तिमा बलियो भएर पनि वैचारिक–राजनीतिक विचलन भयो भने सत्ता गुमाउन पुगिन्छ, (पृ. ६२) । वैज्ञानिक समाजवादी सत्ताले ‘निरन्तर क्रान्तिको सिद्धान्त’ लागू गर्न र समयानुकूल विकास गर्न नसक्दा समस्याको भुँमरीमा फसेको लेखकको निष्कर्ष छ । आज माक्र्सको लोकप्रियता घटेको छैन, माक्र्सवादको अनुयायी झन्झन् बढिरहेका छन् र तर माक्र्सवादी सत्ता छैन । यसको रहस्योद्घाटन गर्दै लेखकले विचार र राजनीतिमा विकास गर्नुपर्ने जिकिर गरेका छन् । लेखकले समाजवादी सत्ताको विघटन र त्यसले पैदा गरेको नकारात्मक प्रभावलाई वैचारिक राजनीतक विपत्ति भनेका छन् । विपत्तिको समाधान निरन्तरताले दिन सक्दैन ।

कृतिको सम्भवतः सबैभन्दा महत्वपूर्ण रचना ‘वैज्ञानिक समाजवाद असफल हुनुको कारण’ हो । रोग पत्ता लगाएपछि नै चिकित्सकले बिरामीको सही उपचार र निदान गर्न सक्छ । समाजवादी सत्ता असफल हुनुमा पुँजीवादी चिन्तकहरूले ‘जनतान्त्रिक नभएको र काल्पनिक भएको’ दुई थरी आरोप लगाएका छन् । तर, लेखकले तयो आरोपलाई स–प्रमाण खण्डन र अस्वीकार गर्दछन् । ‘थोरै भए पनि समाजवादका मान्यतालाई चोर्न र लागू गर्न वाध्य भएको छ । यदि पुँजीवादले समाजवादका विशेषतालाई केही मात्र भए पनि अनुशरण गर्दैनथ्यो र सत्तौ–अठाराँै शताब्दीकै अमानवीयता लाद्ने मूर्खता गथ्र्यो भने यो बीसौं शदीमा सम्पूर्ण रूपले नामेट भइसक्थ्यो । पँुजीवादले वास्तवमा समाजवादको श्वास लिएर जीवन चलाइरहेको छ, (उही पृ. ६७) ।’ त्यसो भए समस्या कहाँ छ त ? लेखकले त्यसका आन्तरिक र बाह्य दुई कारण सुझाएका छन् । आन्तरिक कारणमा द्वन्द्ववादको गतल प्रयोग, विपरीतको एकत्वलाई बुझ्ने समस्या, वस्तुको रक्षा र विकासमा समस्या सुझाइएको छ । विकासमा स्थिरता हँुदा समस्याहरूको समाधान र नयाँ जनअपेक्षा सम्बोधन भएन भन्ने रहेको छ । माक्र्सले ‘वस्तुलाई बदल्नु मुख्य कुरा हो’ भन्नुभएको थियो । एक पटक बदलेपछि (क्रान्तिपछि) काम सकियो त ? बदलिएको वस्तुलाई निरन्तर बदलिरहन पर्दैन त ? यहाँ माओको निरन्तर क्रान्तिको सिद्धान्त लागू भएन । त्यसैगरी समाजवादी सत्ता ढल्नुको पछाडि साम्राज्यवादी घेराबन्दीलाई सहायक कारणको रूपमा प्रस्तुत गरिएको छ । हामीले चाहने र मिहिनेत गर्ने हो भने आन्तरिक कारणहरू निदान गर्न सकिन्छ र भन्ने यसको निष्कर्ष हो ।
सन् १९९० मा पूर्वी युरोपसहित सोभियत संघको पतन र पुँजीवादको पुनरोदयपछि पुँजीवादी प्रजातन्त्रलाई फोकोयामा–हेरिजहरूले ‘अन्तिम अस्तित्व’ भनेका थिए । उनै फुकोयामा र डेरिडाहरू पुँजीवादले समाधान दिन नसकेकोमा निरास छन् । लेखकले पँुजीवाद समाधान होइन भन्ने विषद व्याख्या ‘पुँजीवादको पुनः असफलता र संकट’ आलेखमा गरेका छन् ।

कृतिको सातौँ आलेख हो– ‘पुँजीवादका खराबीहरू’ । यो आलेखमा कृतिकारले पुँजीवादी व्यवस्थाका सीमाहरूको विषयमा व्याख्या गरिएको छ । पँुजीवादको पश्चगामी यात्रा औंल्याउँदै लेखकको भनाइ छ । ‘सुरुमा पुँजीवादले सामन्तवादविरुद्ध विद्रोह गर्दा धर्मबाट राज्यलाई अलग गरेको थियो तर आज जब वैज्ञानिक समाजवादले पुँजीवादलाई परास्त गर्न थाल्यो, तब पुँजीवादले आफूलाई पछि फर्काउँदै धार्मिक दृष्टिकोणसँग मिलाउन पुग्यो, (पृष्ठ ९७) ।’ यो आलेखको महत्वपूर्ण पक्ष के हो भने पुँजीवादको उत्तर–साम्राज्यवादी अनुहार विस्तारमा उदाङ्गो पारिदिएको छ । पुरानै अनुहारको साम्राज्यवाद कतै नभेटिने तथा यहाँ प्रस्तुत गरिएको छ । त्यसपछि दक्षिणपन्थी संशोधनवादको व्याख्या, चरित्र र त्यसको विरुद्ध संघर्षको महत्व विषयक आलेख हो– संशोधनवादी कम्युनिस्टको जन्म र असफलता । त्यसपछिका थप चारवटा आलेखहरू वैज्ञानिक समाजवादको अनिवार्यता, त्यसका उज्याला पक्षहरू, अपरिहार्यता, प्रतिक्रान्ति शिक्षाहरू र क्रान्तिको कार्यदिशामा केन्द्रित छन् ।

निष्कर्षमा लेखकको भनाइ छ– हामीले समाजवादको असफलतापछिको पुँजीवादलाई हेप्याँै भने थाहा हुन्छ, समाजवादको असफलतामा खुसी मनाउनुबाहेक पुँजीवादले मानवसमाजका लागि कुनै नयाँ सिद्धान्त, मूल्य–मान्यता, आदर्श र नयाँपन दिन सकेको छैन । उता साम्यवाद र त्यसका प्रवर्तकको लोकप्रियता बढ्दा–बढ्दै पनि सत्तारुढ हुन र समाज व्यवस्थाका समस्या समाधान गर्न सकिरहेको छैनन् । त्यही ऐतिहासिक दायित्वबोधमा केन्द्रित भएर यो कृति तयार भएको हो । तीन दशकभन्दा लामो राजनीतिक अनुभव, विश्वका क्रान्ति र प्रतिक्रान्तिको अनुभव (नेपालको जनयुद्धसमेत) र झन्डै २ वर्षको अथक मिहिनेतपछि लेखकको यो कृति तयार भएको छ । यसले नेपाली क्रान्ति, रातो झन्डा र माक्र्सवादी साहित्यमा महत्वपूर्ण योगदान गर्नेछ । हरेक चिन्तक, अनुसन्धानकर्ता र माक्र्सवादी विद्यार्थीका लागि यो कृति अध्ययन गर्नैपर्ने कृतिको पङ्क्तिमा अग्रस्थानमा रहेको छ । स्रोत : रातो खबर साप्ताहिक
२०७५ वैशाख २६ गते बुधबार साँझ ७ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :