मोदीको नेपाल भ्रमण

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपालको दुई दिने भ्रमणमा यही वैशाख २८ गते आउँदैछन् । उनको भ्रमणको नेपालमा तयारी यहाँको सरकारले भन्दा पनि बढी भारतीय सरकारले गरिराखेको छ । भ्रमणको मिति तय भएदेखि नेपालका लागि भारतीय पूर्व ३ जना राजदूत काठमाडैंमा नै बसिराखेका छन् । भारतीय सेना अत्याधुनिक सैनिक जहाज र हेलिकप्टरसहित जनकपुर, काठमाडौं र मुस्ताङको रुढ क्लियर गर्न, सुरक्षाको सुनिश्चितता गर्न भन्दै अड्डा जमाएर बसेको छ । नेपाल सरकार भने मनाङदेखि मुस्ताङ जाने बाटो, बेनी मुस्ताङ बाटो र मुस्ताङ जाने पैदल बाटो ३ दिनका लागि बन्द गरिएको सूचना निकाल्ने, यहाँ संघीय सांसद्, मुख्यमन्त्री, प्रदेश सांसद्, प्रशासनका प्रमुखहरू, सुरक्षा निकाय बाटो बढार्ने, भित्ता पोत्ने, रङ्ग लगाउने काममा व्यस्त छन् । यसैगरी शंकास्पद गतिविधि देखिएका भन्दै भन्दै धमाधम गिरफ्तारी सुरु गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई त काठमाडौं, जनकपुर र मुस्ताङमा देख्नेबित्तिक्कै गिरफ्तार गरेर वैशाख ३० गतेसम्म राखिदिन प्रधानमन्त्रीको मातहतमा रहेको विशेष अनुसन्धानलाई निर्देशन दिइएको छ ।

यसरी मोदीको नेपाल भ्रमणको तयारीका नाममा एकातिर भारतीय सेना अत्याधुनिक फौजी जहाज र हेलिकप्टरसहित प्रवेश गर्नु, सेनाको ठूलै टुकडी नेपालमा नै बस्नुले नेपालको सुरक्षा क्षेत्रप्रति प्रश्नचिन्ह खडा गरिदिएको छ भने अर्कोतिर नेपालको सुरक्षा भारतीय छाताभित्र रहेको भन्ने तथ्यहरूलाई यसले उजागर गर्दै नेपालको सार्वभौमिकतामाथि पनि प्रश्न उठाइदिएको छ ।
मोदी नेपाल आउने तिथि–मिति तय भइराख्दा कञ्चनपुरको पुनर्वासमा दिनदिनै जसो सीमा अतिक्रमण भइराखेको खबर आइराखेको छ । त्यहाँ स्थानीय नेपाली र भारतीय सीमा सुरक्षा बलका बीचमा झडप भइराखेको छ ।


मोदीको नेपाल भ्रमणको समयसारिणीअनुसार केपी र उनी दुवै जनाले संयुक्त रूपमा सिंहदरबारबाट अरुण–३ को शिलन्यास गर्ने कार्यक्रम पनि तय गरिएको छ । अरुण – ३ विद्युत निर्यात परियोजना भएकाले यो राष्ट्रघाती छ भन्दै सर्वत्र विरोध भइराखेको छ । उक्त परियोजनाको विरोध कुनै एक पार्टी विशेषले मात्र नगरेर सबै देशभक्त, नेपालका जलस्रोतविद्, जलविद्युतविज्ञ, पूर्व नोकरशाहहरूले पनि विरोध गरिराखेका छन् । तर ओली सरकारले यो राष्ट्रहित विपरीत र नेपालको प्राकृतिक साधनमाथिको दोहन हुने अरुण – ३ लाई नेपाल भ्रमणका क्रममा उपहार दिँदैछ ।

मोदीको यो भ्रमण राजकीय, विशुद्ध भारतीय प्रधानमन्त्रीको हैसियतमा भए पनि उनी यहाँ पाठपूजा गर्न आउँदैछन् । नेपाल अहिले धर्मनिरपेक्ष राष्ट्र हो तर मोदी नेपाल धर्मनिरपेक्ष भएको बेखुस छन् । त्यसैले यो भ्रमणलाई उनले धार्मिक बढी बनाएका छन् । उनको जनकपुरमा सिधै अवतरण, त्यहाँ उनले गर्ने पूजापाठ, त्यसपछि उनको मुस्ताङमा रहेको मुक्तिनाथको दर्शन र पूजा पाठ गर्ने कार्यक्रमले नेपालको संविधानलाई ठाडै चुनौती दिएको छ । उनको पार्टी निकटको राष्ट्रिय स्वयंसेवक दल जो अतिहिन्दूवादी संस्था हो । र, यसले भारतका मुसलमानका विरुद्ध मात्र नभएर त्यहाँका दलितहरूमाथि पनि दमन गरिराखेको छ, तिनीहरूकै सहयोग र समर्थनमा नेपालमा पनि अतिहिन्दूवादीहरूको चलखेल भइरहेको छ ।

मोदीको नेपाल भ्रमण–पूर्व भए गरेका गतिविधि, उनको नेपाल बसाइ र कार्यक्रम समयसारिणी आदिलाई अध्ययन गर्दा उनको भ्रमणले नेपालमा आशंका, तनाव त भएकै छ । साथै, देशभक्त, जनतान्त्रिक शक्ति र जनतामा एक किसिमको आतंक सिर्जना भएको छ । यो भ्रमणका क्रममा उनले गर्ने क्रियाकलाप, केपीको उदाङ्गिदै गएको राष्ट्रवादको मुकुण्डो पूरै च्यातिँदै जाँदा पटाक्षेप हुने परिदृश्यप्रति सचेत नेपाली जनता झ्न बढी आशंकित र आतंकित हुन पुगेका छन् । त्यसैले नरेन्द्र मोदीको यो भ्रमणले नेपाल र नेपाली जनतालाई आतंकित बनाएको छ । सम्पादकीय 
२०७५ वैशाख २६ गते बुधबार अपरान्ह ४ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :