समृद्धिको विकासे सपना : शोभा दुलाल

देशमा राजनीतिक क्रान्ति पूरा भइसकेको र अब आर्थिक क्रान्ति मात्र बाँकी रहेको गीत माकेहरूले गाउन थालेको हेटौँडा महाधिवेशनदेखि नै हो । मानौँ यहाँ जनतालाई राजनीतिक अधिकारको पूर्ण प्रत्याभूति राज्यले गरिदिएको छ र अब मात्र आर्थिक समृद्धि गर्न पाए जनताले ‘स्वर्गीय आनन्द’ प्राप्त गर्नेछन् । आफ्नै देश, आफ्नै घर अनि आफ्नै आँगनमा बसीबसी विकासको अनुभूती गर्न सक्नेछन् । अब प्रश्न उठ्छ– आर्थिक समृद्धि के नेताहरूका भाषण पछिपछि आउँछ ? कि सँगसँगै आउँछ ? आर्थिक समृद्धिका लागि चाहिने आधारभूत तत्वहरू ( इमानदारी, निष्पक्षता, प्रतिबद्धता) केके हुन् ? आर्थिक समृद्धिको नारा उराल्ने मुखहरू इमानदार हुनुपर्छ कि पर्दैन ? हरेक समाजको प्रगति, विकास र समृद्धिका निश्चित आधारहरू हुन्छन् । विकास र समृद्धिका समस्याहरू हुन्छन् । ती समस्याहरू समाधान नगरी समृद्धिको सपना पूरा हुँदैन । सामान्य आँखाले हेर्दा पनि आर्थिक समृद्धि ल्याउने हातहरू निष्पक्ष र प्रतिबद्ध हुनुपर्छ कि पर्दैन ? जसका आधारभूत र सामान्य प्रश्नहरूको उत्तर धेरै नेताका साथै बुद्धिजीवीहरूले समेत खोजेको देखिँदैन ।

हाम्रो देशमा सबैभन्दा बढी बिक्ने नै सपना हो जसलाई किन्नका लागि पैसा हुनेदेखि नहुने भिखारीले समेत आफूले भिख मागेर जम्मा गरेको रकम सपनामै खर्च गरिरहेका हुन्छन् । किनकि भोक उसलाई पनि लाग्दो हो । सपना किन्नेहरू २००७ सालदेखि यता किनेका किन्यै छन् । तर कोही कहीँ पुगेका छैनन् तर जसले सपनाहरूलाई बेच्न थाले तिनीहरू भने रोडपतिबाट करोडपति हुँदै खर्बपति भए । चप्पले कहलाउनेहरू टाउको दुख्दा पनि बैङ्कक जाने भए । चप्पल पड्काउनेहरू स्कार्पियो नचढी नहिँड्ने भएका छन् । हाम्रो देशमा यी र यस्तैखाले कुराहरूले नै घर गरेको छ । यसलाई फेर्ने कुरा त छैन । सुधारसम्म गर्ने भन्ने पनि कुरामा मात्र सीमित भएको छ । सपना व्यापारीहरूले बेच्दा असली समाजवादै भनेर बेच्छन् तर विपनामा सामान्य पुँजीवादमा पाइने मूल्यमान्यता, नैतिकता, आचरणसमेत पालना गर्न सक्दैनन् । मुखले राम्रोराम्रो भन्छन्, बगलीमा छुरा राख्छन् ।

पुँजीवादीहरूले पनि आफ्नो मूल्य, मान्यता, नैतिकता र आचरणको एउटा निश्चित दायरा बनाएका हुन्छन् । यसलाई नाघ्नासाथ ऊ खेलबाट बाहिर भइहाल्छ तर जजसले समाजवादी सपना बेचिरहेका छन् तिनीहरू त आफ्नो स्वार्थअनुकूल जति तन्किन पनि सक्छन् । जति खुम्चन पनि सक्छन् । जसले गर्दा बेच्नेहरूको वर्गउत्थान हुन्छ । ऊ आर्थिक समृद्धिलाई चुम्न सम्छ जो पुस्ता–दरपुस्ता सपना किन्न बाध्य हुन्छ किनकि उसको बाँच्ने आधारै सपना हुन्छ । उनीहरूको पुस्ता–दरपुस्ता दरिद्र हुँदै जान बाध्य भैरहेका छन् ।

आर्थिक समृद्धिका लागि चाहिने आधारभूत तत्वहरूमा सर्वप्रथम आर्थिक समृद्धि ल्याउन उठ्ने हातहरू निष्पक्ष साथै प्रतिबद्ध हुन अत्यावश्यक छ जुन आजभोलिका (भाषणबाज नेताहरू) सपनाका व्यापारीहरूसँग एक पित्को पनि छैन । त्यसका लागि हामी हिजोका तिनीहरूका आचार व्यवहारलाई सामान्य विश्लेषण मात्र ग¥यौँ भने यथार्थ आफैँ चिच्याइचिच्याइ बोल्नेछ । विगत २०४६ सालदेखि सत्ता र प्रतिपक्षमा बसेर मुलुकको ढुकुटीमा राइँदाइँ गरेका दुई पार्टीहरू नेकपा एमाले र नेपाली काङ्ग्रेस छन् भने विगत दस वर्ष रगतको खोलो बगाएर त्यसैलाई सत्तारोहणको मूलबाटो बनाउँदै आएको माके पनि दस वर्षदेखि घरिघरि सत्ताकै चास्नीमा डुबुल्की मार्न पुगेको छ । यो अवस्थामा अब सोचाँै– तिनीहरूले साँच्चै देशको समृद्धि चाहन्थे भने केले छेक्यो होला, के उनीहरूले रोके होलान् जो बिहानदेखि बेलुकीसम्म नै श्रम गरेर, पसिना बगाएर पहिलो मालिकलाई खुवाएर उसको दयाले पाएको ज्यालाबाट आफ्नो बिहान बेलुकीको छाक टार्दै आएका छन् । उनीहरूको समृद्धिका लागि हाड घोट्दै बाँचिरहेका अनि मालिकका सन्ततिका लागि जनशक्ति उत्पादन गरिरहेका छन् । ती जो समृद्धिको सपना व्यापारीहरू हुन् तिनीहरूले त कहिल्यै उनीहरूको समृद्धि चाहेनन् होला । त्यसैले भएको भन्नै भन्ने कुरा निरीह जनतालाई बुझिबस्ने फुर्सद कहाँ छ र ?

जुन समृद्धिका लागि नभइनहुने कुरा हो त्यो चीजको गन्धलाई समेत बेचेर खाने दलाल दलहरूले देशको समृद्धि गर्छुभन्दा पनि हाँसो लाग्ने स्थिति बनेको छ । बेलाबेलामा हामी विभिन्न समाचारहरू अखबारमा पढ्न पाउँछौँ– ‘घुस लिँदालिँदै पक्राउ’, ‘आचारसंहिता उल्लङ्घन कारबाही भएन’, ‘बालिका बलात्कार, हत्या’ जस्ता हिंस्रक घटनाका दोषीहरूलाई केलाउने हो भने अनगिन्ती छन् । प्रहरी प्रमुख नै सुन तस्करीमा संलग्न, निर्वाचन आयोग नै भ्रष्टाचारमा जनप्रतिनिधिहरू नै बोक्सीकाण्डमा संलग्न र महालेखा परीक्षकको प्रतिवेदन त राष्ट्रिय लज्जाको विषय बनेको छ । राहत होइन, तीन हजार प्रतिशतसम्म करवृद्धि गरिएको छ । यो हो हामीले भोगेको यथार्थ । जसले हाम्रो समाज र देशको आचरणको प्रस्ट ऐना देखाइरहेकै छन् । उच्च वर्ग र दलका संरक्षकहरूले जेसुकै अन्याय–अपराध र जे गरे पनि कि पैसाले किन्छन् कि दलहरूको आडमा उभिएरै चोखिन्छन् । जो निम्नवर्ग, निरीह छ, ऊ झूटा आरोपमा जेल बस्न बाध्य पारिन्छन् । यस्तो संस्कार र संस्कृति त यस्तो लाग्छ जनता आफैँ जागरुक भएर सत्ता सञ्चालनमा सक्रिय भूमिका खोज्न नसक्दासम्म भोलिसम्म पनि तिनले राज गर्नेछन् अनि पचासीजनालाई समृद्धिको सपना बेच्छन् पन्ध्रजनाको समृद्धि हुन्छ । यही नै उनीहरूको मूल सूत्र हो । त्यसैले यसलाई नउल्ट्याउँदासम्म कदापि देश, जनता कसैको भलो हुने स्थिति छैन ।

जननियन्त्रित शासन व्यवस्था, विदेशी हस्तक्षेपको अन्त्य, निजी स्वामित्वको उन्मूलन हुने समाजवादी व्यवस्था नभएसम्म समृद्धिको सपना सम्भव छैन । पुँजीवादी देशहरूले पछौटे उत्पादन प्रणाली र सामन्तवादको अन्त्य गरेर पँुजीवादी विकास गरेका थिए । नेपालमा त पुँजीवादको विकास गर्न पनि समाजवाद आवश्यक भएको छ । अन्यथा समृद्धिको सपना गैरसरकारी संस्थाको विकासे नाराजस्तै अधुरो सपना भइरहनेछ ।

२०५७ वैशाख २५ गते मंगलबार अपरान्ह ६ : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :