सीतायण : निभा शाह

औँला छोडेर
प्रत्येक पुरुषका आँखामा राम छ
त्यसैले त
शिवलिङ्गका आँखामा
स्त्रीदेह
कि त काशी हो
कि त सोनागाछी हो ।

सीताको अग्निपरीक्षा
सीताको योनीपरीक्षा थियो राम
राम तिम्रो देहको
अग्निपरीक्षा लिने को छ राम ?

शिवलिङ्ग ढुङ्गाका हुन् कि
शिवलिङ्गका नाइटामुनिका हुन्
यिनको अग्निपरीक्षा लिने को छ राम ?

राम, तिमीले
सबरीको जुठो बयर चाख्यौ कि
तिमीले सबरीको देह चाख्यौ
तिम्रो देहको
अग्निपरीक्षा लिने को छ राम ?

सीताले रावणको
जुठो बयर चाखी कि
सीताले रावणको देह चाखी
भन्दै
सीतादेहको अग्निपरीक्षा लिने
यहाँ त
मठैमठका रातासेता मठाधीशहरू छन्
राम, तिम्रो देहको
अग्निपरीक्षा लिने को छ राम ?

यो मुकुन्डोको दुनियाँमा
त्रिशूल बोक्नेभित्र त
राम हुने नै भए
यहाँ त
हँसिया–हथौडा बोक्नेभित्र नि राम छ
रामायण बोक्नेभित्र त
राम हुने नै भए
यहाँ त
कम्युनिस्ट घोषणापत्र बोक्नेभित्र नि राम छ
औँला छोडेर
यहाँ प्रत्येक पुरुषका आँखामा राम छ ।

स्त्रीदेहको लालपुर्जा बोक्ने
संसद् भवनको
इँटाइँटामा राम छ
भित्ताभित्तामा राम छ ।
गर्भाशयबाटै
को नै काशी भएर आयो
को नै सोनागाछी भएर आयो ?
स्त्रीदेहलाई
काशी र सोनागाछी बनाउन
पितृसत्ताका जराजरामा राम छ ।

हजारौँहजार वर्षदेखि
जब युगहरूले लालपुर्जा बोक्दै आए
त्यहाँदेखि यहाँसम्म
स्त्रीदेहभरि झुसिल्कीराहरू छन्
हेर त
बैँस छँदा
बलात् वनबेश्या आम्रपाली
बैँस सकिएछि
भिक्षुणी आम्रपालीका देहभरि
झुसिल्कीराका झुसहरू छन् ।

पत्रपत्र पङ्खुँडी जोडिएर
फूल बन्छ
कणकण बालुवा रेत रोडा जोडिएर
चट्टान बन्छ
सङ्गठित भएर उठ स्त्री
कति रामायण बोक्छौ
सीतायण बोक
कति रामायण लेख्छौ
रोजायण लेख ।
… … …
रोजा विश्वविख्यात नेत्री हुन् ।  स्रोत : रातो खबर साप्ताहिक

२०७५ वैशाख २५ गते मंगलबार अपरान्ह ६ : ३६ मा प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :