वैज्ञानिक समाजवाद–साम्यवादको खोज : विप्लव, महासचिव, नेकपा

…गताङ्कबाट क्रमश
(ग) वैज्ञानिक समाजवादी–साम्यवादी व्यवस्थाको खोज

माक्र्स–एङ्गेल्सले वैज्ञानिक समाजवादको अनुसन्धान गर्ने क्रममा विकास गर्नुभएको तेस्रो विषय समाजवादी–साम्यवादी राजनीतिक व्यवस्थाको खोज हो । उहाँहरूले आधुनिक मानवसभ्यतामा चलेका राजनीतिक व्यवस्थाहरू मुख्यतः आदिम समाज (आदिम साम्यवाद), दास व्यवस्था, सामन्ती व्यवस्था र पुँजीवादी व्यवस्थाहरूको बारेमा गहन अध्ययन गरेर वैज्ञानिक समाजवादी–साम्यवादी व्यवस्थाको सिद्धान्त विकास गर्नुभयो । वैज्ञानिक समाजवादी—साम्यवादी व्यवस्थाको अनुसन्धान मानवजातिको राजनीतिक इतिहासमै सबैभन्दा जनवादी, प्रगतिशील, क्रान्तिकारी र वैज्ञानिक सावित भयो । किनकि यसले मानवजातिलाई राज्यव्यवस्थाको उत्पत्ति, विकास र यसको भविष्यबारे वैज्ञानिक दृष्टिकोण दियो । जब कि त्यसबेलासम्म राज्यलाई वैज्ञानिक भौतिकवादी दृष्टिबाट नभई एक ईश्वरीय शक्तिको देनको रूपमा बुझिन्थ्यो । माक्र्सले राज्यबारे वैज्ञानिक साम्यवादी सिद्धान्त पत्ता नलगाउँदासम्म मान्छेहरूले राज्यलाई कसरी बुझ्दथे भन्ने सन्दर्भमा लेनिनले बढो मार्मिक प्रकारले प्रस्तुत गर्नुभयो । उहाँले लेख्नुभएको छ, ‘तपाईंलाई सायदै यस्तो दोस्रो प्रश्न मिल्ला, जसलाई बुर्जुवा विज्ञान, दर्शनशास्त्र, विधिशास्त्र, राजनीतिक अर्थशास्त्र तथा पत्रकारिताका प्रतिनिधिहरूले जानीबुझी या बिना–जानीबुझी आजसम्म पूरा धर्मसम्बन्धी प्रश्नहरूको साथमा मिलाइदिन्छ, न केवल धर्मसम्बन्धी मतहरूका प्रतिनिधि, अपितु यस्ता मान्छे पनि जो आफूलाई धर्मसम्बन्धी पूर्वाग्रहहरूबाट मुक्त मान्छन्, मौजुदा राज्यको विशिष्ट प्रश्नलाई धर्मसम्बन्धी प्रश्नहरूसँग मिलाइदिन्छन्, यो मतले धेरै नै पेचिलो, विचारधारात्मक दार्शनिक दृृष्टिकोण तथा आधारसमेत निर्माण गर्नलाई प्रयत्न गर्छ कि राज्य एक दिव्य वस्तु, एक अलौकिक वस्तु हो, ऊ केही यस्तो शक्ति हो, जसको सहारामा मानवजाति बाँच्ने गर्छ । साथै, ती जनतालाई त्यस्तो तत्व सुम्पेको हुन्छ या सुम्पिन सक्छ या आफ्नो साथ लिन्छ, जो मनुष्यको उपज होइन, वल्की ऊभन्दा बाहिरबाट प्राप्त भएको हुन्छ, त्यो हो दिव्य मूल शक्ति’, (लेनिन, हिन्दी, खण्ड ९, राज्यको बारेमा, पृ. ७५) । राज्य सन्दर्भमा रहेको यो आदर्शवादी, ईश्वरवादी दृष्टिकोणलाई वैज्ञानिक समाजवादी–साम्यवादी दृष्टिकोणले समाप्त गर्दै मानवजातिलाई वर्गविहीन, जातिविहीन, राज्यविहीन समाजमा पु¥याउने वैज्ञानिक भौतिकवादी विचार दियो ।

वैज्ञानिक समाजवाद–साम्यवादको अनुसन्धानअगाडि पनि समाजवादी चिन्तक र सिद्धान्तहरू नभएका होइनन् तर ती वैज्ञानिक दृष्टिकोणमा आधारित नभएर भाव, भावना, शुद्ध इच्छा, भावावेगबाट पैदा हुन पुगेका आदर्शवादी, दैविक, काल्पनिक, निम्न पुँजीवादी, बुर्जुवा समाजवाद, अराजकतावादी खालका थिए; जुन विचारहरू वास्तविक जीवनमा प्रयोग हुन सम्भव थिएनन् । जस्तो कि आदर्शवादी साम्यवादको परिकल्पना २४ सय वर्ष पहिले प्लेटोले गरेका थिए । उनले त्यतिबेलै शोषणविहीन र उन्नत समाजको परिकल्पना गर्दै आदर्श शासक र आदर्श राज्यको विचार अगाडि सारेका थिए तर त्यो त्यसबेलाको निरङ्कुश राज्य र भाग्यवादी समाजमा लागू हुन सम्भव थिएन र लागू भएन पनि । आजभन्दा २१ सय वर्ष पहिले क्राइस्टले पनि क्रिस्चियन धर्मको स्थापना गर्दा ‘क्रिस्चियन समाजवाद’ को परिकल्पना गरेका थिए । उनले प्रभुको इच्छाअनुसार यस्तो समाजको निर्माण गर्ने धारणा राखेका थिए । यसलाई माक्र्स–एङ्गेल्सले ‘क्रिस्चियन समाजवादको’ उपमा दिंदै धर्मबाट समाजवादको निर्माण सम्भव नभएको विश्लेषण गर्नुभयो । सन् १८२४ बाट ब्रिटेन, फ्रान्स, जर्मन आदिमा काल्पनिक समाजवादको जन्म भयो । यसका मूल विचारकमा ओवेन, फुरिय, साइमनहरू थिए । उनीहरूले शासकहरूलाई शिक्षा दिएर, उनीहरूको मन बदलेर, शान्तिपूर्ण तरिकाले समाजवादको निर्माण गर्नुपर्ने विचार राखेका थिए । माक्र्स–एङ्गेल्सले यसलाई ‘काल्पनिक समाजवाद’ भन्दै वर्ग–समाजमा यो सम्भव नहुने निष्कर्ष दिनुभयो । माक्र्सकै समयमा अर्को अराजकतावादी समाजवाद पनि देखाप¥यो । अराजकतावादी–समाजवादीहरूले क्रान्ति गर्नु सही हो तर राज्यसत्ता निर्माण गर्नु गलत हुन्छ, राज्यबिनाको समाज निर्माण गर्नुपर्छ भन्ने दृष्टिकोण प्रस्तुत गरे । यो दृष्टिकोणको अगुवाइ बाकुनिन र ब्लाङ्कीहरूले गरेका थिए । वर्ग टक्कर र पुँजीवादी समाज कायमै रहेको अवस्थामा त्यस्तो समाजको अस्तित्व सम्भव नहुने भन्दै यो विचारलाई माक्र्स–एङ्गेल्सले खण्डन गर्नुभयो । सोही समयमा ‘सामन्ती समाजवाद’, ‘निम्न बुर्जुवा समाजवाद’, ‘जर्मन सच्चा समाजवाद’ र ‘बुर्जुवा समाजवाद’ पनि देखिएका थिए । ‘सामन्ती समाजवादी’ हरू माक्र्स–एङ्गेल्सको भनाइमा फ्रान्सेली क्रान्ति र ब्रिटेनको संसद् सुधार आन्दोलनमा परास्त भएका सामन्ती अभिजातवर्गहरूको दृष्टिकोण थियो । यसको विचार गरिब–दुःखीहरूलाई राज्यद्वारा राहत र सहयोग दिएर समाजमा भएको असमानतालाई मेटाउँदै जानुपर्छ भन्ने थियो । वर्गहरूबीचको पेचिलो सङ्घर्षको अवधिमा यो विचारको कनै प्रभाव पर्ने स्थिति थिएन । माक्र्सले अभिजातवर्गको केही विलापको गीत, कही हास्य–व्यङ्ग्य, केही अतीतको संस्मरण भन्दै टिप्पणी गर्नुभयो । ‘निम्न बुर्जुवा समाजवाद’ फ्रान्स, बेलायतजस्ता राष्ट्रहरूमा बुर्जुवावर्ग र सर्वहारावर्गको कठोर सङ्घर्षमा चेपुवामा परेर सङ्कट महसुस गरिरहेका सहरिया व्यापारीहरू, स–साना किसानहरू, वेतनभोगी कर्मचारीहरू थिए । यसलाई माक्र्सहरूले ‘निम्न पँुजीवादी समाजवाद’ भएको विश्लेषण गर्दै पुँजीवाद रहँदासम्म यो सफल नहुने निष्कर्ष दिनुभयो । माथि उल्लिखित विभिन्न विशेषताका समाजवादहरूको वैज्ञानिक विश्लेषण गर्दै र ती गलत सिद्धान्त र विचारहरूको खण्डन गर्दै माक्र्स–एङ्गेल्सले वैज्ञानिक साम्यवादी सिद्धान्त अगाडि सार्नुभयो । जब माक्र्स–एङ्गेल्सले वैज्ञानिक समाजवादी–साम्यवादी राज्यव्यवस्थाको सिद्धान्त प्रस्तुत गर्नुभयो, तब यो आजसम्म नदेखिएको वर्गविहीन, जातिविहीन, शोषणविहीन राज्यव्यवस्थाको निर्माण गर्ने सिद्धान्तको रूपमा स्थापित हुन पुग्योे । यो अनुसन्धानले लुटमा आधारित पुँजीवादी व्यवस्थाको मात्र समाधान दिएन कि समाजमा घुमिरहेका सबैखालका गलत र भ्रामक काल्पनिक, आदर्शवादी, अराजकतावादी समाजवादबाट पनि मुक्ति दियो । यसले मानवजातिलाई नयाँ युगमा प्रवेश गर्ने मार्ग खोलिदियो । अपसोचको कुरा माक्र्स–एङ्गेल्सको निधन भएपश्चात् उहाँहरूको नाम लिँदै बर्नस्टिनले ‘संशोधनवादी समाजवाद’ को धारणा अगाडि सा¥यो । उसले ‘संशोधनवादी समाजवाद’ दिँदा कुनै नयाँपन र वैज्ञानिक आधार दिन सकेन र त्यो सम्भव पन थिएन । पुरानै निम्न पुँजीवादी एवम् पुँजीवादी समाजवादकै जस्तो वर्ग–समन्वयद्वारा या संसदीय व्यवस्थाभित्रै सहभागी भएर समाजवाद ल्याउने धारणा दियो । उसको तर्क केवल यति फरक थियो कि विश्व माक्र्स–एङ्गेल्सको समयभन्दा नयाँ परिस्थितिमा पुगेकोले, पुँजीवादी संसदीय व्यवस्था लोकतान्त्रिक बन्दै गएको र त्यहीँबाट जनताको अधिकारको नेतृत्व गर्न सम्भव रहेकोले बल प्रयोग र क्रान्तिको मार्ग हिँड्न आवश्यक छैन, संसद्बाटै समाजवादमा पुग्न सकिन्छ । बर्नस्टिनले समाजवादी आन्दोलनमा यो संशोधनवादी समाजवादको धारणा अगाडि ल्याएपछि निम्न पुँजीवादी आधार भएको युरोपियाली मजदुर आन्दोलनमा फैलिन पुग्यो । फ्रान्सको मिलेराँ, जर्मनको सिदेमान, नोस्केलगायतले संशोधनवादी विचारलाई संसद् र सरकारमा पुँजीपतिवर्गसँग गएर प्रयोग पनि गरे तर यो विचारले कम्युनिस्ट आन्दोलनलाई वाधा–अवरोधभन्दा केही गरेन । यो ‘संशोधनवादी समाजवाद’ का विरुद्ध लेनिनले कडा र व्यापक सङ्घर्ष सञ्चालन गरेर एक तहसम्म परास्त गर्नुभयो, जसबारे तल अर्को बुँदामा विस्तारमा चर्चा गरिनेछ । सन् १९५६ देखि गद्दार खु्रस्चोभले अगाडि सारेको तीन ‘स’ को समाजवाद पनि यही संशोधनवादी समाजवादकै नयाँ रूप थियो । आज पनि विश्वभर ‘संशोधनवादी समाजवाद’ को हावा चलिरहेको छ । श्रमिकवर्गको मत लिएर चुनाव जित्न कम्युनिस्ट नाम राख्नुपर्ने अनि पुँजीवादी लुटेरासँग मिलेर सत्ताको रसास्वादन गर्न र भद्दा प्रकारले पुँजीवादीहरूभन्दा बढी घटिया लुटपाटमा सहभागी बन्न ‘संसद्बाट समाजवाद’ भन्ने कुरूप चरित्रमा यो प्रदर्शित भइरहेको छ । भारतमा ज्योति बसु समूह र नेपालमा प्रचण्ड–केपी समूह (माके र एमाले) हरू यसमा नाङ्गो प्रकारले लागिरहेका छन् । यसखाले संसद्वादी संशोधनवादको विरुद्ध पनि कम्युनिस्टहरूले चौतर्फी सङ्घर्ष सञ्चालन गरिरहेका छन् ।

माक्र्स–एङ्गेल्सले वैज्ञानिक समाजवाद–साम्यवाद अनिवार्य छ भनेर संश्लेषण गर्नुभन्दा पहिले आर्थिक उत्पादन, वर्गको उत्पत्ति, वर्गसङ्घर्ष, राज्यसत्ता र राजनीतिक सभ्यताको उत्पत्ति र विकासबारे केही महत्वपूर्ण विषयमा अध्ययन–अनुसन्धान गर्नुभयो । जसले समाजमा वर्ग, राज्यसत्ता, क्रान्तिको विकास कसरी भए र तिनको अन्त्य भएर वैज्ञानिक साम्यवाद कसरी उदाउनेछ भन्ने बोध गराउँदछन् । ती अनुसन्धान निम्न रहेका छन् ः
१. वर्गको उत्पत्ति, वर्गसङ्घर्ष र राज्य
२. राज्यसत्ता र क्रान्ति
३. वैज्ञानिक समाजवादी सत्ता र सर्वहारावर्गको अधिनायकत्व
४. राज्यसत्ताको अन्त्य र साम्यवादी विश्वको निर्माण

१. वर्गको उत्पत्ति, वर्गसङ्घर्ष र राज्यको उत्पत्ति

माक्र्स–एङ्गेल्सले पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको विजय किन सुनिश्चित छ भन्ने सन्दर्भमा गर्नुभएको पहिलो अनुसन्धान वर्ग, वर्गसङ्घर्ष र राज्यसत्ताको उत्पत्तिबारे गरेको अनुसन्धान हो । उहाँहरूले ऐतिहासिक भौतिकवादी अनुसन्धान विधिको प्रयोग गरेर के साबित गर्नुभयो भने मानवसमाजमा कुनै समय वर्गहरू थिएनन्, वर्गसङ्घर्ष थिएन र राज्यसत्ता पनि थिएन । जब मानवसमाजको विकास आधुनिक समाजतिर भयो, त्यसपछि मात्र समाजमा वर्गहरूको जन्म भयो । वर्गहरूको जन्म भएपछि मात्र वर्गसङ्घर्षहरू देखिए र राज्यसत्ताको पनि जन्म हुन पुग्यो । मानव इतिहासअनुसार के पुष्टि भएको छ भने समाजमा १० हजार वर्षपहिलेसम्म वर्ग थिएनन् किनकि त्यसबेलासम्म मानवजातिले अर्थ–उत्पादन कार्यमा निजी स्वामित्व रहने गरी भाग लिइसकेको थिएन । मानवले आफ्नो जीवनयापन वा प्राकृतिक स्रोतमा वा सामूहिक श्रममा निर्भर रहेर पूरा गर्दथ्यो । जब मान्छेले श्रमद्वारा आफूलाई आवश्यक पर्ने वस्तुहरू उत्पादन गर्न थाल्यो, त्यसले क्रमशः मान्छेहरूका बीचमा नयाँ अर्थ–सम्बन्ध (माल विनिमयको तहमा) को विकास गर्न थाल्यो । जब ऊ उत्पादन–कार्यमा स्थायी प्रकारले भाग लिन थाल्यो र जीवनका आवश्यकता पूरा गर्ने मालहरू उत्पादन गर्न थाल्यो तब क्रमशः निजी सम्पत्तिको विकास हुन पुग्यो । त्यसमाथि असमान स्वामित्व देखाप¥यो । जब समाजमा निजी सम्पत्ति र असमान स्वामित्वको उत्पत्ति भयो, त्यसपछि समाजमा हुने र नहुने वर्गहरू पैदा हुन पुगे । एकथरी धनी र अर्कोथरी गरिब, एकथरी उत्पीडक र अर्को उत्पीडित, एउटा शासक र अर्को शोषित हुन पुगे । जब समाजमा विपरीत स्वार्थ भएका वर्ग पैदा भए र हुने, शोषक, उत्पीडक, शासकले आफ्नो स्वार्थको रक्षा गर्नुपर्ने भयो, त्यसपछि मात्र शासकवर्गको हित रक्षाका लागि राज्यसत्ता जन्मिन पुग्यो । वर्ग र राज्यसत्तासम्बन्धी यस विकासलाई स्पष्ट पार्दै माक्र्स–एङ्गेल्सले भन्नुभयो, ‘आजसम्म विद्यमान समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो’, (माक्र्स, कम्युनिस्ट घोषणापत्र, पृ. २५) । माक्र्सको उक्त संश्लेषणलाई जोड दिँदै एङ्गेल्सले उल्लेख गर्नुभयो, ‘एकपछि अर्को गर्दै विकसित भएका धनोपार्जनका नयाँ–नयाँ रूपहरूमा अर्थात् धनसञ्चयको निरन्तर अभिवृद्धिमा सर्वव्यापी मान्यताको छापसमेत लगाइदेओस्; त्यस्तो संस्थाको कमी थियो जसले समाजलाई वर्गहरूमा विभाजित गर्ने भर्खरै मात्र सुरु भएको प्रक्रियालाई मात्र नभएर ऐश्वर्य–सम्पन्न वर्गले निर्धनवर्गको शोषण गर्ने अधिकार तथा अघिल्लो वर्गद्वारा पछिल्लोमाथिको आधिपत्यलाई चिरस्थायी तुल्याइदेओस् । अनि त्यस्तो संस्थाको प्रादुर्भाव भयो । राज्यको उत्पत्ति भयो’, (एङ्गेल्स, परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति, पृ. १२९) । लेनिनले माक्र्स–एङ्गेल्सको राज्यबारेको विचारलाई थप पुष्टि गर्दै लेख्नुभयो, ‘यस्तो समय थियो, जतिबेला राज्य हँुदैनथ्यो, जब सामान्य सम्बन्ध स्वयम् समाज, अनुशासन, श्रमको व्यवस्थालाई आदत, परम्पराहरूको बलमा तथा आदर सम्मानद्वारा यथास्थितिमा राखिन्थ्यो, जो कुलपतिहरू वा नारीहरूलाई प्राप्त हुन्थ्यो, उस जमानामा नारीहरूको सबै विषयमा पुरुषहरूको साथ समान अधिकार प्राप्त थियो, अपितु कहिलेकहीँ उनको स्थिति पुरुषहरूको स्थितिभन्दा उच्च हुन्थ्यो’, (लेनिन, हिन्दी खण्ड ९, राज्यका बारेमा, पृ. ७९) । लेनिनले राज्यको उत्तपत्तिबारे थप भन्नुहुन्छ, ‘राज्य त्यस समयमा प्रकट हुन्छ, जहाँ जब वर्गहरूमा समाजको विभाजन प्रकट हुन्छ, जब शोषक तथा शोषित प्रकट हुन्छन् । जस्तो कि तपाईं सबैले बुझ्नुहुन्छ, सैनिकहरूको सशस्त्र दस्ता जेलहरू अरूको इच्छालाई हिंसाबाट वशमा राख्ने साधन जो राज्यको सारतत्व हो’, (लेनिन, हिन्दी खण्ड ९, राज्यको बारेमा, पृ. ७७) । यी भनाइले बुझाउँछन्, समाजमा सम्पत्ति, वर्ग, वर्गसङ्घर्षहरू पैदा भएपछि मात्र त्यसमाथि हस्तक्षेप गर्न र एक वर्गको स्वार्थ रक्षा गर्न राज्यसत्ताको उत्पत्ति भयो । वर्ग, वर्गसङ्घर्ष र राज्यसत्ताबारे माक्र्स–एङ्गेल्स–लेनिनले यो दृष्टिकोणको विकास नगर्दासम्म यी सबै विषयलाई दैवी शक्तिको उपज मानिन्थ्यो । दैवी शक्तिको उपज मान्नुको कारण वर्ग र राज्यसत्तालाई जड, स्थायी, अपरिवर्तनीय र परनिर्मित वस्तु मानिन्थ्यो । यसलाई माक्र्सले राज्यसम्बन्धी आदर्शवादी, सामन्तवादी र पुँजीवादी दृष्टिकोण भन्नुभयो । माक्र्स–एङ्गेल्सले वर्ग, वर्गसङ्घर्ष र राज्यसत्ता सन्दर्भमा गरेको यो अनुसन्धान वैज्ञानिक समाजवाद–साम्यवादको विजयलाई पुष्टि गर्ने बलियो आधार बन्यो ।

२. राज्यसत्ता र क्रान्ति

माक्र्स, एङ्गेल्सले वैज्ञानिक समाजवादी–साम्यवादी राजनीतिक व्यवस्थाको अनुसन्धान गर्ने क्रममा राज्यसत्ता र क्रान्तिको सम्बन्धबारेमा पनि नयाँ विचार विकास गर्नुभयो । उहाँँहरूले वर्गहरूबीचको सङ्घर्षले राज्यसत्ताको जन्म गरायो भन्नेसँगै राज्यसत्ताभित्र चल्ने वर्गसङ्घर्षले क्रान्तिलाई अनिवार्य रूपमा जन्म दिन्छ भन्ने नियम पनि पत्ता लगाउनुभयो । समाजमा चल्ने वर्गसङ्घर्षहरू उत्पादक शक्ति अर्थात् श्रमिकवर्गको विकास सत्तासीनवर्ग अर्थात् मालिकवर्गलाई पराजित गर्ने स्तरमा नहुँदासम्म सन्तुलनभित्रै हुन्छन् तर जब पुरानो मालिक–वर्गभन्दा नयाँ उत्पादक शक्ति श्रमिकवर्ग वा नयाँ सर्वहारावर्ग बलियो हुन पुग्छ, तब वर्गसङ्घर्षले पुरानो सत्तालाई नै मिल्काउने तहको क्रान्तिको चरित्र ग्रहण गर्न पुग्छ । यो यति शक्तिशाली र कठोर हुन्छ कि रक्तपातपूर्ण युद्धको चरणबाट समेत पार हुन्छ । क्रान्ति सफल भयो भने पुरानो सत्ताको स्थान नयाँ शक्तिशाली वर्ग श्रमिक वर्गअनुरूपको नयाँ सत्ताले लिन पुग्छ, क्रान्तिमा सफल वर्ग नै नयाँ सत्ताको सञ्चालक मालिकवर्गमा परिणत हुन्छ । क्रान्तिको यो विशेषताबारे चर्चा गर्दै माक्र्सले भन्नुभयो, ‘सर्वहारावर्गको विकासका सामान्य चरणहरूको मोटामोटी वर्णन गर्दा हामीले विद्यमान समाजभित्र थोरबहुुत गुप्त ढङ्गले चलिरहेको गृहयुद्धको त्यस बिन्दुसम्म वर्णन गरेका छौँ, जहाँ पुगेपछि उक्त युद्धले खुल्ला क्रान्तिको रूप लिन्छ र पुँजीपतिवर्गलाई हिंसात्मक ढङ्गले उखेलेर फाली सर्वहारावर्गको शासनको जग बसाल्छ’, (कम्युनिस्ट घोषणापत्र, पृ. ३७) । माक्र्सले अगाडि गएर क्रान्तिले पुरानो सत्तासँग सामान्य मात्र होइन, गुणात्मक रूपले नै नाता तोड्छ भन्ने उल्लेख गर्दै क्रान्ति भनेकै त्यही भएको प्रस्ट्याउँदै भन्नुभयो, ‘कम्युनिस्ट क्रान्ति भन्नु नै परम्परागत सम्पत्ति–सम्बन्धसित सबभन्दा आधारभूत रूपले नाता तोड्नु हो । त्यसैले त्यसको विकासले परम्परागत विचारहरूसित पूर्ण रूपमा नाता तोडेको कुरामा कुनै आश्चर्य छैन’, (माक्र्स, कम्युनिस्ट घोषणापत्र, पृ. ४७) । उहाँँहरूको निष्कर्षअनुसार राज्यसत्ता र क्रान्तिबारे सहजै बुझ्न सकिन्छ, जब समाजमा श्रमिकवर्ग (उत्पादक शक्ति) मालिकवर्ग (उत्पादनका साधनको स्वामित्ववाला शक्ति) को बीचमा आर्थिक एवम् राजनीतिक अन्तर्विरोध सामान्यभन्दा माथि पुग्छ र त्यो पुरानो सम्बन्धमा अड्नै नसक्ने स्तरमा वृद्धि हुन्छ तब नयाँ वर्गशक्तिले मालिकवर्गका विरुद्ध विद्रोह गर्न थाल्छ । जब विद्रोहलाई मालिकवर्गले नियन्त्रण गर्न राज्यसत्तालाई प्रयोग गर्छ, तब वर्गसङ्घर्ष राजनीतिक क्रान्तिमा बदलिन्छ । त्यही क्रान्तिले पुरानो सत्तालाई फाल्छ र नयाँ सत्ताको जन्म गराउँछ । जस्तो कि इतिहासमा दास मालिकको सत्ताविरुद्ध किसान र सामन्त शक्तिले क्रान्ति गरे र दाससत्ताको स्थानमा सामन्ती सत्ता स्थापना गरे; सामन्ती सत्ताविरुद्ध पुँजीवादीवर्गले क्रान्ति ग¥यो र सामन्ती सत्ताको स्थानमा पुँजीवादी राज्यसत्ता स्थापना ग¥यो । ठीक त्यसैप्रकारले अब पुँजीवादी सत्ताका विरुद्ध सर्वहारा वा कम्युनिस्ट शक्तिले क्रान्ति गर्दैछ र पुँजीवादी सत्ताको स्थानमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्दैछ । वर्गविभाजित समाजमा वर्गसङ्घर्ष, राज्यसत्ता र क्रान्ति यस्ता अवश्यम्भावी प्रक्रिया हुन्, एक वर्गले अर्कोविरुद्ध गर्ने क्रान्ति यति अनिवार्य छन् कि माक्र्स–एङ्गेल्स–लेनिन–माओले बारम्बार भन्नुभएजस्तै वर्गविहीन साम्यवादी समाजमा नपुग्दासम्म यसबाट कसैले पनि छुट्कारा पाउन सम्भव छैन । वर्ग–समाज रहँदासम्म जोकोहीले केवल क्रान्तिलाई समर्थन वा विरोध मात्र गर्न सक्छ । यसरी हेर्दा क्रान्ति नै यस्तो सुडेनी हो जसले नयाँ सत्ताको शिशुलाई अनिवार्यतः जन्म गराउँदछ ।

३. वैज्ञानिक समाजवादी सत्ता र सर्वहारा अधिनायकत्व

वैज्ञानिक समाजवादी–साम्यवादी राज्यव्यवस्थाको अनुसन्धान गर्ने सन्दर्भमा माक्र्स–एङ्गेल्सले पत्ता लगाउनुभएको अर्को विषय वैज्ञानिक समाजवादी सत्ता र सर्वहारावर्गको अधिनायकत्व हो । उहाँँहरूले राज्यसत्तासम्बन्धी अनुसन्धानमा के भेट्टाउनुभयो भने मानवजातिलाई वर्गविहीन, शोषणविहीन, जातिविहीन साम्यवादी सभ्यतामा पु¥याउन एउटा निश्चित अवधिसम्म सङ्क्रमणकालीन राज्यव्यवस्था आवश्यक रहनेछ, त्यो नै वैज्ञानिक समाजवादी सत्ता हो । यसको अर्थ के हो भने समाजवादी सत्ताले पुँजीवादी सत्ताको अन्त्य त अवश्य गर्नेछ तर सम्पूर्ण रूपले निषेध भने गर्न सक्नेछैन । वैज्ञानिक समाजवादले केवल पुँजीवादलाई निषेध गर्दै महान् साम्यवादतिर जाने पुलको काम गर्नेछ । पुँजीवादको सम्पूर्ण निषेध केवल साम्यवादले मात्र गर्नेछ । त्यही भएर माक्र्स–एङ्गेल्सले वैज्ञानिक समाजवादलाई सङ्क्रमणकालीन व्यवस्था पनि भन्नुभयो ।

वैज्ञानिक समाजवाद एक सङ्क्रमणकालीन राज्यसत्ता हुन्छ भन्नुको अर्थ के हो भने यसले नागरिकहरूलाई प्रगति, अग्रगमन र रूपान्तरणको नेतृत्व मात्र गर्नेछैन, पुरानो वर्ग वा सत्ताबाट गलहत्याइएको तर पुनः पुँजीवाद स्थापना गर्न चाहने समाजवादविरोधी तत्वलाई नियन्त्रण गर्ने अधिनायकत्वको काम पनि गर्दछ । वैज्ञानिक समाजवादको यो विशेषताबारे स्पष्ट पार्दै माक्र्सले भन्नुभयो, ‘पुँजीवाद र साम्यवादी समाजको बीचमा पहिलोबाट दोस्रोमा क्रान्तिकारी रूपान्तरणको अवधि रहन्छ । … यसै अवधिअनुरूप राजनीतिक सङ्क्रमणको समयावधि पनि हुन्छ । यस समयावधिमा राज्य पनि सर्वहारावर्गको क्रान्तिकारी अधिनायकत्वसिवाय अरू केही पनि हुन सक्दैन’, (माक्र्सको उक्ति लेनिनले उल्लेख गर्नुभएको, राज्य र क्रान्ति, पृ. ७८) । माक्र्सले यही विषयलाई जोड दिँदै अगाडि भन्नुभयो, ‘मैले थपेको कुनै नयाँ कुरा छ भने त्यो निम्न कुरा प्रमाणित गर्ने तर्क मात्रै हो, वर्गसङ्घर्षले अनिवार्यतः सर्वहारावर्गको अधिनायकत्वतर्फ डो¥याउँछ । यो अधिनायकत्व स्वयम्ले सबै वर्गहरूको उन्मूलनतर्फको सङ्क्रमण हो …’, (लेनिन, राज्य र क्रान्ति, पृ. ३३) ।

माक्र्स यो निष्कर्षमा व्यवस्थित प्रकारले त्यसबेला पुग्नुभयो, जब सन् १८७१ मा फ्रान्सको पेरिसनगरमा सर्वहारावर्गले विजय हासिल गरेर पनि समाजवादलाई स्थिरता दिन सकेन, उल्टो सर्वहारावर्ग पराजित भयो र हारेको पुँजीपतिवर्गले पुनः आफ्नो सत्ता फर्काउन सफल भयो । पेरिसमा सर्वहारावर्ग किन हार खानुप¥यो भन्ने समीक्षा गर्दा माक्र्स अरूभन्दा फरक निष्कर्षमा पुग्नुभयो र त्यसको मूल कारणमा सर्वहारावर्गले अधिनायकत्व प्रयोग गर्न नसक्नुलाई पत्ता लगाउनुभयो । जब कि त्यो क्रान्तिको नेतृत्व गर्ने प्रुधो, ब्लाङ्कीहरू नै सर्वहारावर्गको सत्ता र अधिनायकत्वका विरुद्धमा थिए । जब पेरिस कम्युनले आफ्नो सशस्त्र शक्तिलाई पनि एकप्रकारले विसर्जन ग¥यो, पुँजीवादीहरूलाई आर्थिक र प्रशासनिक कार्यमा छूट दियो, तब उनीहरूले कम्युनार्डहरूलाई बाँच्ने मौका पनि दिएनन् । उनीहरू अधिनायकत्वमा जति प्रस्ट थिए, कम्युन त्यसरी तयार नहुनु नै हार बन्न पुग्यो । यसको निष्कर्षमा माक्र्स एकदमै ठोस रूपले पुग्नुभयो र उहाँ नै सही साबित हुनुभयो । माक्र्सपछि यस सन्दर्भमा लेनिन यति स्पष्ट हुनुहुन्थ्यो कि उहाँले वैज्ञानिक समाजवादमा सर्वहारावर्गको अधिनायकत्व किन जरुरी पर्छ र त्यसको महत्व कति छ भन्ने बोध गराउन ‘राज्य र क्रान्ति’ भन्ने पुस्तक नै तयार गर्नुभयो । उहाँले लेख्नुभयो, ‘यो साधन (राज्य) वा डन्डाद्वारा हामी समस्त शासनलाई नष्ट गरिदिन्छौँ । साथै जब संसारमा शोषणको सम्भावना रहनेछैन, जमिनको स्वामी, कारखानाहरूको स्वामी हुनेछैनन् । कस्तो हुनेछैन भने कोही चौरासीव्यञ्जन खाना र कोही एक छाकका लागि भोकै मरोस्, तब यसको कुनै सम्भावना रहनेछैन । हामी यस मेसिनलाई कुँडाकर्कटको थुप्रोमा फ्याँकिदिनेछौँ तब राज्य रहनेछैन, शोषण रहनेछैन । यस्तो छ, हामी कम्युनिस्टको दृष्टिकोण’, (लेनिन, हिन्दी खण्ड ९, राज्यका बारेमा, पृ. ९५) ।

माक्र्स–लेनिनका उल्लिखित निष्कर्षहरूले साबित गर्छन्– आर्थिक उत्पादन सम्बन्धको विकास, वर्गहरूबीचको सङ्घर्ष र क्रान्तिका कारणले पुँजीवादसम्मका सबै शोषणकारी व्यवस्थाहरूको अन्त्य वैज्ञानिक समाजवादी सत्ताको स्थापनाले मात्र गर्दैन, त्यसका लागि वैज्ञानिक समाजवादी सत्तासँगै सर्वहारावर्गको अधिनायकत्व पनि आवश्यक पर्छ । माक्र्सले संश्लेषण गर्नुभएजस्तै वर्गहरूको अन्त्य र राज्यको अन्त्य गर्दै मानव–दुनियाँँलाई वैज्ञानिक साम्यवादतिर अग्रसर गराउनेछ । अन्ततः आफैँ अधिनायकत्वलाई पनि अन्त्य गरिदिनेछ । जब अधिनायकत्व रहनेछैन त्यहाँ वर्ग र राज्य पनि रहनेछैनन् ।

४. वैज्ञानिक साम्यवाद

माक्र्स–एङ्गेल्सले वैज्ञानिक समाजवादी–साम्यवादी राज्यव्यवस्थाका क्षेत्रमा गर्नुभएको सबैभन्दा महत्वपूर्ण र प्रमुख अनुसन्धान वैज्ञानिक साम्यवाद (कम्युनिजम) हो । वैज्ञानिक साम्यवाद आजसम्मका मानव–समाज र सभ्यताहरूको उच्चतम् एवम् उत्कर्षको संश्लेषण हो । यो यस्तो परिकल्पना हो जसलाई झट्ट हेर्दा एक आदर्शवादी स्वप्नद्रष्टाको कल्पनाजस्तो महसुस हुन्छ तर यो त्यस्तो काल्पनिक वा आदर्शवादको कल्पना होइन जो मात्र कल्पित मनोकाङ्क्षाको मन्त्रद्वारा निर्देशित हुन्छ । बरु यो यस्तो वैज्ञानिक र वस्तुवादी परिकल्पना हो जो हजारौँ तथ्यहरूद्वारा परिष्कृत भएको छ र एक वैज्ञानिक प्रतिबिम्बका रूपमा अभिव्यक्त भएको छ । जसलाई वैज्ञानिक भएको साबित गर्न कुनै महासङ्कट पर्दैन, बरु गलत देखाउन चाहिने खण्डन असम्भव छ । कसैले तर्कको बलमा खण्डन गर्ने प्रयत्न गरे पनि गलत साबित गर्न सम्भव छैन ।

साम्यवादको अनुसन्धान मानव–दुनियाँँका लागि कति महत्वको छ भन्ने सन्दर्भमा माक्र्स–एङ्गेल्स स्वयम्ले यसरी उल्लेख गर्नुभएको छ, ‘युरोपमा एउटा भूतले तर्साइरहेको छ– साम्यवादको भूत । … युरोपका सबै सत्ताधारीहरूले साम्यवादलाई अब एउटा शक्तिका रूपमा स्वीकार गरिसकेका छन्’, (माक्र्स–एङ्गेल्स रचना १, कम्युनिस्ट घोषणापत्र, पृ. ४६) । त्यसैगरी साम्यवादी सभ्यताको अनुसन्धानले मानव–दुनियाँँमा पारेको प्रभावको महत्वबारे लेनिन भन्नुहुन्छ, ‘कम्युनिस्टको अर्थ के हो ? कम्युनिस्ट ल्याटिन भाषाको शब्द हो । ल्याटिनमा कम्युनिस्टको अर्थ सामूहिक भन्ने हुन्छ । कम्युनिस्ट समाज भनेको यस्तो समाज हो जसमा सबै मानिसहरू मिलीजुलीकन सामूहिक श्रम गर्छन् ! यो नै साम्यवाद हो’, (लेनिन, युवक सङ्घका कार्यहरू, सन् १९२०, नेपाली, भाग ८, पृ. २७) । यो भनाइबाट बुझ्न सकिन्छ, साम्यवाद त्यस्तो मानवसभ्यता हो जहाँ सम्पत्तिमा निजी स्वामित्व मात्र हुनेछैन, निजी सम्पत्तिका कारणले पैदा भएका वर्गहरू रहनेछैनन्; वर्गशोषण र विभेदहरू हुनेछैनन्; निजीत्वका लागि युद्धहरू हुनेछैनन्, एकले अर्कोलाई दबाउन बनाइएको राज्य हुनेछैन । त्यहाँ केबल स्वतन्त्रता, समानता, उन्नति, समृद्धि, विज्ञान र सभ्य मानवजाति रहनेछ । लेनिनको भाषामा, ‘त्यसबेला समाजले आफ्नो झन्डामा लेख्न सक्नेछ– प्रत्येकबाट उसको योग्यताअनुसार प्रत्येकलाई उसको आवश्यकताअनुसार ( लेनिन, राज्य र क्रान्ति, पृ. ८६) । माक्र्स–एङ्गेल्सले यसलाई बोध गराइदिनुभएको छ, त्यसैको परिणाम वैज्ञानिक साम्यवाद हो ।’

वैज्ञानिक साम्यवादबारे कतिपय यो सम्भव नरहेको तर्क गर्छन् । खासगरी पुँजीवादका नाइके र लेखनदासहरूले साम्यवादप्रति आँखा झिम्क्याएर असहमति र रोष व्यक्त गर्छन् । उनीहरूकै होहल्लामा लागेका ढुलमूले लेखक र लम्पटहरूले पनि विरोधमा सहमति जनाउँछन् । उनीहरू साम्यवाद कम्युनिस्टहरूको कल्पना मात्र भएको, सुन्न मीठो भए पनि व्यावहारिक प्रयोगमा लागू हुन नसक्ने तर्क गर्छन् । तर मानवसभ्यताको ऐतिहासिक विकासक्रमको ज्ञानले के सिद्ध गर्छ भने मानवजातिले एकपछि अर्को उन्नत, आधुनिक, स्वतन्त्र, सभ्य समाज खोज्दै र निर्माण गर्दै आएको छ । उसले समयसापेक्ष एकपछि अर्को सफलता पनि हासिल गर्दै आएको छ । मान्छेले कसरी ढुङ्गेयुगबाट कृषियुगमा फड्को मा¥यो, दासयुगबाट सामन्ती युगमा विकास ग¥यो र सामन्ती युगबाट पुँजीवादी युगमा प्रवेश ग¥यो भन्ने पक्षलाई अध्ययन ग¥यो भने थाहा हुन्छ– हरेक नयाँ युग पुरानोभन्दा गुणात्मक रूपले उन्न्त र आधुनिक रहने गरेको छ । हरेक परिवर्तनले मानवजातिलाई अरू स्वतन्त्र, मुक्त, समानतामूलक र समृद्ध समाजतिर बढने चेतना र विचार दिएको छ । तथापि मान्छेले खोज्दै आएको एउटा आकाङ्क्षा विभेद, उत्पीडन, दुःख र असमानताबाट मुक्त दुनियाँँको निर्माण अझैसम्म प्राप्त गर्न सकेको थिएन । त्यसलाई वैज्ञानिक दृष्टिकोण, विचार र योजनासहित पूरा गर्नु थियो, त्यही हो साम्यवाद !

साम्यवाद असम्भव देख्ने मान्छेहरूले के कुरा बुझेका छैनन् भने पुँजीवादसम्मको विकास, सुख–समृद्धि नै अन्तिम होइन । अहिले जसले आफूलाई सबै पुगेको ठान्छन्, त्यो निजी नै किन नहोस्, योभन्दा पनि सुख र सुन्दर समाज र जीवन आउँदो युगभित्र छिपेर बसेको छ, त्यो युग आज भोगेभन्दा सबै दृष्टिले उन्नत र सभ्य हुनेछ । त्यो नै साम्यवाद हो । साम्यवाद कसैमाथि शोषण, उत्पीडन नगरीकनै सारा मानवजातिको सुख, शान्ति र समृद्धिको आधार बन्छ भने त्यो असम्भव कसरी हुन्छ ! जस्तो कि लेनिन भन्नुहुन्छ, ‘समाजवादको स्थापनाका लागि प्रयास गर्दा हामी कुन कुरामा विश्वस्त छौँ भने त्यो साम्यवादतिर विकसित भएर जानेछ । अनि यसका साथसाथै मानिसहरूको विरुद्ध जुनसुकै प्रकारको बल प्रयोग, साथै एक व्यक्तिमाथि अर्को व्यक्तिको र जनसङ्ख्याको एक हिस्सासमक्ष अर्को हिस्साको अधीनता पनि बिलाएर जानेछ । कारण त्यसबेला मानिसहरूको बल प्रयोगबेगर र जोरजुलुमबेगर सामाजिक जीवनका आधारभूत सर्तहरूलाई पालना गर्ने बानी बसिसक्नेछ’, (राज्य र क्रान्ति, पृ. ७५) । मानवजाति एक दिन अवश्य नै साम्यवादमा पुग्नेछ । उसले आफ्नो क्षमतालाई अर्को मान्छेलाई उत्पीडन गर्न र मुनाफा सोहोर्न प्रयोग गर्नेछैन, प्रकृतिका प्रतिकूलतालाई परिवर्तन गर्न र मानव–जीवनलाई अरू आधुनिक र समृद्ध गर्नेमा प्रयोग गर्नेछ । वैज्ञानिक साम्यवादमा हरेक नागरिकको निजी जीवन सामूहिक समृद्धिको अङ्ग बन्नेछ । जुन जीवन आजको निजी सुख–समृद्धिभन्दा तुलनै गर्न नसकिने गरी आनन्दमय हुनेछ । स्रोत : भर्खरै प्रकाशित पुस्तक ‘वैज्ञानिक समाजवाद’ बाट

वैज्ञानिक समाजवाद–साम्यवादको खोज

वैज्ञानिक समाजवाद–साम्यवादको खोज – विप्लव, महासचिव, नेकपा

२०७५ वैशाख २५ गते मंगलबार बिहान ८ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :