भारतमा नेपालीहरुकाे सम्मेलन

 

किङ थापा / भारत :‘नेपाली जनताको मुक्ति र राष्ट्र समृद्धि हाम्रो एक मात्र सपना हो नेपालीहरू – एक होऔँ ! विचार संप्रेषण र सुदृढ संगठनको लागि प्रथम राज्य सम्मेलन सफल पारौँ !!’ भन्ने नाराका साथ वैशाख २१–२२ गते भारतमा रहेका नेपालीहरूको संगठन ‘प्रवासी नेपाली जनसमाज भारत’ को संयुक्त राज्य सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कार्यालय सचिव धु्रबले नेपाली जनताको मुक्ति नभएसम्म नेपाली भूमिमा संघर्षको अन्त्य नहुने भएकोले त्यसको नेतृत्व नेकपाले गरेको बताए । आफ्नो पार्टीले नेपाली जनताको पूर्ण मुक्ति नभएसम्म प्रवासी नेपालीहरूको पनि मुक्ति नहुने भन्दै नेपाली जनता र राष्ट्रको समृद्धिबाहेक आफ्नो अर्को कुनै स्वार्थ नभएको बताए ।

हरियाणा तथा पञ्जाब राज्यको संयुक्त सम्मेलन चण्डीगढको मुहाली क्षेत्रमा भएको थियो । उक्त सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा प्रवास ब्युरो इन्चार्ज प्रतीकले लाखौँ प्रवासी नेपालीहरूको भविष्यका लागि निरन्तर संघर्ष गरिरहने बताए । सम्मेलनले विष्णु नेपालीको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्य समिति निर्माण गरेको छ; जसको उपाध्यक्ष पदम विक, सचिव दुर्गा केसी, सह–सचिव रामचन्द्र रोका, कोषाध्यक्ष रामप्रसाद परियार रहेका छन् । यस्तै सदस्यहरूमा पोषण खडका, टोपबहादुर ओली, विनोद विक, अमर विक, सुजन सारु मगर, भीमबहादुर परियार, तुलसी डाँगी, मस्त केसी, बिष्णु जीएम, पुष्प चन्द, शान्ता बस्नेत, कृष्ण झाँक्री, अमर पुन, कुल, वीर विक र तुलसी पुन रहेका छन् ।

सम्मेलनमा एकता समाजका केन्द्रीय अध्यक्ष आजाद सेन, उपाध्यक्ष दामोदर पङ्गेनी, कोषाध्यक्ष भीमकान्त घिमिरे, केन्द्रीय सदस्य गोविन्द बिसी, महेन्द्र चन्द, तिलक केसी, दिल्ली राज्य सदस्य पुरन थापालगायत उपस्थित थिए । सम्मेलनमा जनसांस्कृतिक परिवारका संयोजक सुशील सुनार, अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य केशव थापा र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका तेजबहादुर रोकालगायत विभिन्न संगठनका प्रतिनिधिहरूले पनि सहभागी थिए । जनज्योति सांस्कृतिक परिवार नोएडा, दिल्लीका कलाकारहरूले सांस्कृतिक प्रस्तुति देखाएका थिए ।

२०७५ वैशाख २४ गते सोमबार अपरान्ह १ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :