नेकपाले गरेको नेपाल बन्दको प्रभाव देशभरी / बन्द अवज्ञा गर्ने दर्जन सवारी साधनमा तोडफोड

 

 

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव आज देशभरी नै परेको छ । बन्दको दिन लामो तथा छोटो दुरिका सवारी साधन ठप्प रहे । बन्दको दिन कैलालीको धनगढी, बाँकेको नेपालगन्ज, सुर्खेतको विरेन्द्रनगर, दाङको तुल्सीपुर र घोराही, कपिलबस्तुको चन्द्रौटा र गोरु सिङ्गे, रुपन्देहीको बुटवल र भैरहवा, चितवनको भरतपुर, कास्कीको पोखरा, सुनसरीको इटहरी, झापाको विर्तामोड र काँकडभित्ता, मोरङको विराटनगर, सुनसरीको धरानलगायतका साना ठूला शहरहरुमा बन्दको प्रभाव अत्याधिक परेको छ । तर यता काठमाडौं उपत्यकामा बन्दको प्रभाव कम परे पनि अन्य ठाउँमा भने उद्योगधन्दा, कलकारखाना सबै बन्द रहे । तर एम्बुलेन्स लगायत अत्याआवश्यक सामान बोकेका सवारीसाधन भने संचालनमा रहे । सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई पक्राउ गरेको, बेपत्ता बनाएको, झुट मुद्दा लगाएको र सभासम्मेलनहरुमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपाले एक दिने नेपाल बन्दको घोषणा गरेको थियो । साथै भारतीय पक्षले नेपाली भुमिमा लगातार हस्तक्षेप गर्दा पनि सरकार मुखदर्शक बनेको नेकपाको भनाई छ ।

बन्दको अवज्ञा गर्ने सवारीसाधनमा तोडफोड

नेकपाले गरेको बन्दको दिन काठमाडौंबाट दाङ जादै गरेको एक यात्रुबाहक बसमा कपिलबस्तुको गोरुसिङ्गेमा पेटोल बम प्रहार भयो । बन्द कर्ताहरुले बन्दको अवज्ञा गर्ने सवारी साधनमा बम प्रहार गर्दा मालीका कालीका यातायातको ६ ख ३९७४ नम्बरको गाडिमा क्षति पुगेको बताइएको छ । यस्तै पुर्व झापाको बिर्तामोडबाट पाँचथरतर्फ गइरहेकोे गाडिमा मेची राजमार्गको पुवाखोला खण्डमा आगजनी गरिएको छ । महोत्तरी जिल्लाको सम्सी गा.पा. १ स्थित पर्सामा शक्तिशाली सिलिण्डर बम विष्फोट भएको स्थानीयले बताएका छन् । त्यस्तै सिन्धुली जिल्लाको मरिन गा.पा. ५ स्थित तिनपाटनमा पनि शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । उता सिन्धुलीकै कमलामाई नपा ६ मा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको बताइएको छ ।

गएराती मात्र बाँकेको हवलदारपुरमा रहेको विक्रम पाण्डेको निर्माण कम्पनी कालीका कन्ट्रक्सनमा बम विस्फोट हुँदा उक्त कम्पनीमा ठुलो परिणाममा क्षति पुगेको छ । विस्फोटबाट कार्यालयमा क्षतिपुग्नुका साथै त्यहाँ रहेका सम्पुर्ण सामाग्रीहरु जेनेरेटर, डोजर, अलकत्रा मिक्स्चर मेसिन जलेर नस्ट भएको बताइएको छ । यस्तै चितवनको राप्ती नगरपालिका उपमेयर इमानसिहं लामाको घरमा गएराती बम विस्फोट भएको छ । भारतीय जिएमआर कम्पनीको कार्यालयको भवनमा बम विस्फोट भएको छ । मध्यरातमा लमजुङको मस्र्याङदी गाउँपालिकास्थित भारतीय जिएमआर कम्पनीको कार्यालयको भवनमा बम विस्फोट भएको हो । केही दिन पहिला मात्रै संखुवासभाको खाँदबारीमा रहेको भारतीय कन्सुलर कार्यालयमा बम विस्फोट भएको थियो ।

यसैबीच बन्दको दिन प्रहरीले विभिन्न ठाँउहरुबाट नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेकपाका म्याग्दी इन्चार्ज विकिरण क्षत्री र योङ्ग रेड फोर्सका केन्द्रीय सदस्य सुमित घर्तीमगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्लाका जनपरिषद प्रमुख देवबहादुर रोकाय, जनकपुरका रातो खबर संवाददाता विजय लामा, चितवनबाट प्रदिप लामा, नेकपाका प्युठान इन्चार्ज चिन्तामणि घिमिरे र केशवलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७५ वैशाख २२ गते शनिबार अपरान्ह ६ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :