पुर्वी नेपालमा बन्दको अत्याधिक प्रभाव, रातो खबर संवाददाता प्रहरीद्वारा गिरफ्तार

 

 

रोहीत ढकाल / जनकपुर : रातोखबर साप्ताहिकका संवाददाता विजय लामालाई प्रहरीले गिरफ्तार गरेको छ । लामालाई सर्लाहीको बागमती नगरपालिकाको कार्यालय नजिकैबाट गिरफ्तार गरिएको जनाइएको छ । समाचार संकलनको क्रममा रहेका लामालाई गिरफ्तार गरी हरीवन प्रहरी कार्यालय राखिएको छ । यसैबिच नेकपाले शनिबारको लागि आह्वान गरेको नेपालबन्दको प्रभाव बिहानैदेखी पूर्व–पश्चिम राजमार्गको सर्लाहीदेखी सप्तरीसम्मको सडक खण्डमा अत्याधिक परेको छ । उक्त क्षेत्रमा छिटफुट ट्रक र स्थानीय सवारी साधन सडकमा देखिए पनि लामो दुरीका सवारी साधन भने ठप्प रहेका छन् । उता सिन्धुलीको मरिन क्षेत्रमा पनि बन्दको पुरै प्रभाव परेको स्थानीयले बताएका छन् । उक्त स्थानमा मोटरसाईकल समेत चलेका छैनन् । उता बर्दिवास सिन्धुली सडक खण्ड पनि सुनसान देखिएको छ । बन्दको पूर्व सन्ध्यामा ठाउँठाउँमा बम बिष्फोटका घटना भएका छन् । बन्दको दिन बिहानै गौशाला–सम्सी सडक खण्डमा पर्ने महोत्तरी जिल्लाको सम्सी गा.पा. १ स्थित पर्सामा शक्तिशाली सिलिण्डर बम विष्फोट भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उक्त विस्फोटको आवाज टाढासम्म सुनिएको थियो । बर्दिवास सिन्धुली सडक खण्डमा पर्ने महोत्तरी जिल्लाकै बर्दिवास न.पा. ३ स्थित पाटु भन्ने ठाउँमा बन्दकर्ताले रूख ढालेर सडक अवरूद्ध गरेका छन् । उक्त स्थानमा बम जस्तो देखिने शंकास्पद वस्तु समेत फेला परेको छ । सडक अवरूद्ध खुलाउन प्रहरीको एउटा टोली उक्त स्थानमा पुगिसकेको जानकारी प्राप्त भएको छ । त्यस्तै सिन्धुली जिल्लाको मरिन गा.पा. ५ स्थित तिनपाटनमा शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । उता सिन्धुली जिल्लाकै कमलामाई नपा ६ स्थित धुरा बजारमा प्रेसर कुकर बम फेला परेको छ । उक्त बम डिस्पोज गर्न सेनाको डिस्पोजल टोली उक्त स्थानमा पुगिसकेको छ ।  राज्यद्वारा आफ्ना नेताकार्यकर्तालाई गिरफ्तार गरी झुट्टा मुद्दा लगाएको, निर्मम यातना दिएको, अदालतले निर्दोष सावित गरी रिहा गर्न आदेश दिए पनी पुनः अदालत परिसरबाटै गिरफ्तार गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले प्रतिरोध संघर्षकारूपमा आज बैशाख २२ गते नेपाल वन्दको गर्नुपरेको बताएको छ ।

२०७५ वैशाख २२ गते अपरान्ह २ : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :