चुनाव विरोधि गतिविधि तीव्र, ३० गते नेपाल बन्द हुने

biplap-112
 अम्बिका चन्द/काठमाडौं बैशाख २८, विस वर्ष अगाडि नै असफल भइसकेको संसदीय व्यवस्थालाई ब्युँताएर दलाल संसदीय व्यवस्थालाई सस्थागत गर्न घोषित स्थानीय निकायको चुनावको मिति नजिकिँदै गर्दा त्यसको खारेजी र बहिष्कारका गतिविधिहरु देशैभरि तीव्र बनिरहेका छन् । चितवनमा प्रचण्डपुत्री रेणु दाहालले चुनावी प्रचारमा प्रयोग गरेको गाडी जलेर ध्वस्त हुनुको साथै विभिन्न ठाँउमा गरी करिब एक दर्जन सवारी साधनमा तोडफोड र आगजनी भएका छन् । रुकुमलगायतका केही जिल्लाहरुमा अनिश्चितकालिन बन्दको घोषणासमेत गरिएको छ । चितवन, सिन्धुलीलगायत देशका विभिन्न ठाउँका उम्मेदवारहरुका घरहरुमा कालो झण्डा गाडिएका छन् भने कतिपय उम्मेदवारहरुलाई चेतावनी स्वरुपका पत्रहरुपनि पठाइएका छन् । जनकपुर व्यूरो, पश्चिम ताम्सालिङ्ग, धौलागिरी, भेरीलगायतका विभिन्न व्यूरोहरुले प्रेस विज्ञप्ति जारी गर्दै देश र जनताको विपक्षमा, सिमित सत्तासिनहरुको स्वार्थअनुरुप गर्न लागिएको चुनावमा सहभागी नहुन भन्दै उम्मेदवारहरुलाई चेतावनी दिएका छन् ।

जनयुद्धको आधार इलाका पहाडी जिल्ला कालिकोटमा चुनाव प्रसारप्रसार गर्न पुगेको टोलीलाई स्थानीय बासिन्दाले लखेटेर पठाएका छन् भने त्रिवेणी गाउँपालिकालाई चुनाव प्रचार प्रसार निषेधीत क्षेत्रसमेत घोषणा गरेका छन् । यता मकवानपुरस्थित शिवम सिमेन्ट कारखानाको ५ वटा स्काभेटरमा एक समूहले आगो लगाई ध्वस्त पारेको छ । काठमाडौंको हात्तिगौडामा एउटा बम विष्फोट हुनुको साथै एउटा कार र मोटरसाइकलमा आगजनी भएको छ । रुकुम खलंगाको चुनावका पर्चा पप्लेट च्यातिनुका साथै मठ भन्ने ठाँउमा पाइप बम विष्फोट भएको छ । उता गोरखामा रहेको निर्वाचन कार्यालय तोडफोड भएको छ भने स्थानीयले चुनाव प्रचार सामाग्रीहरु जलाएर नष्ट पारिदिएका छन् । धादिङ्ग र नुवाकोटमा उम्मेद्धारले प्रयोग गरेका गाडीहरु जलाइएका छन् भने सिन्धुलीमा गाउँपालिकाका साइनवोर्डहरु फालेर जनसत्ताका बोर्डहरु टाँगिएका छन् । नेकपाले चैत्र २४ गतेदेखि शुरु गरेको चुनाव भण्डाफोर तथा जागरण अभियान पनि देशभरी चलिरहेको छ । ठाँउठाँउमा घरदैलो कार्यक्रमहरु चलिरहेका छन भने सभा र भेलाहरु पनि भइरहेका छन् । कालीकोटको रासकोटमा चुनावमा भोट हाल्न आउनुपर्छ भन्दै डेढ सयदिेख दुई सयको संख्यामा शसस्त्र, जनपथ र म्यादी प्रहरी लगेर गाँउ पसेका माओवादी केन्द्रका कार्यकर्ता र स्थानीय वासिन्दाविच दोहोरो झडपसमेत भएको छ । नेकपाका स्थानीय कार्यकर्ताहरुलाई पक्राउ गर्न खोज्दा प्रहरी र स्थानीय वासिन्दावीच झडप भएको थियो । झडपका क्रममा स्थानीयले प्रहरीका ३ थान राइफलसमेत भा“चिदिएका छन् । केही प्रहरी घाइतेसमेत भएका छन् । स्मरणीय छ २०५४ सालमा ज्यादती गर्न गाँउ पसेको भन्दै स्थानीय महिलाहरुले प्रहरीका राइफल खोसेर तत्कालीन जनमुक्ति सेनालाई बुझाएका थिए । त्यो घटना निकै चर्चित बनेको थियो ।

देशैभरी धरपकट र गिरप्तारी तीव्र
शान्तिपूर्ण तरिकाले चुनाव वहिस्कारको प्रचारप्रसार कार्यमा लागेका नेकपाका दर्जनौँ नेताकार्यकताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । गृहमन्त्रालय अन्तर्गतको सुरक्षा समितिको बैठकले नै निर्णय गरेर चुनावको लागि विप्लव नेतृत्वको नेकपा चुनौती रहेको भन्दै पक्राउको लागि ठाडो आदेश गरेको छ । यसैको सिलसिलामा नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेललाई सिन्धुली तर्फ गइरहेको अवस्थामा बर्दिबासबाट र विष्णु महर्जन नारायणलाई म किर्तिपुरमा बाटोमा हिडिरहेको बेला पक्राउ गरेको छ । उता बर्दिया जिल्लाकी इञ्चार्ज देवकला अधिकारीसहित २१ जनालाई पक्राउ गरेको छ भने कास्कीमा सेक्रेटरीसहित १ दर्जनलाई पक्राउ गरेको छ । यता धादिङ्ग गजुरीबाट १२ जनालाई पक्राउ गरेको छ । पार्टीको जिल्ला समितिको वैठक सकेर बाटोमा हिडिरहेको बेला भुवन गुरुङ्ग, राजकुमार तामाङ्ग, प्रवेश तामाङ्ग लगायतकालाई पक्राउ गरेको हो । उता सिन्धुलीका जिल्ला सेक्रेटरी हरिकृष्ण घिमिरेलाई छोरी लिएर उपचारको लागि अस्पताल जाँदै गर्दा बाटोबाट नै गिरप्तार गरेको छ । त्यहाँ घिमिरेसहित अन्य ३ जनालाई पनि गिरप्तार गरिएको छ । उता प्रचण्डका भाई नारायण दाहालको ठाडो निद्रेशनमा चितवनका एक व्यापारीलाई पनि पक्राउ गरेको छ । सुर्यमुखी छापाखानाका मालिक रवीन मिश्रलाई पनि पक्राउ गरेको छ । चितवनमै अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय सदस्य तथा चितवन जिल्ला अध्यक्ष विष्णु कोइरालालाई भरतपुर हाकिमचोकस्थित घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको छ । साथै अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष कृष्ण परियारलाई पनि घरबाटै पक्राउ गरेको छ । सुर्खेतका सेक्रेटरी रामबहादुर खड्कालाई पनि पक्राउ गरेको छ ।

राताे खबर साप्तािहक बाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :