राष्ट्रघात र निरङकुशताका विरुद्ध नेकपाद्वारा २२ गते नेपाल बन्दको घोषणा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी यही वैशाख २२ गते नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले वैशाख १४ गते अर्थात शुक्रबार एक वक्तव्य जारी गर्दै आफ्नो पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेका छन् । वक्तव्यमा भनिएको छ “वर्तमान केपी—पीके गठबन्धन सरकार दिनदिनै फासिस्ट बन्दै गइरहेको छ । आफूलाई कम्युनिस्ट भनेर जनतामा भ्रम छरिरहेको यो सरकारले जनताको संघर्षबाट प्राप्त सीमित अधिकारहरु पनि खोस्दै गइराखेको छ । विचार राख्ने, सभाजुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ, भनें भ्रष्ट्राचारी, कालोबजारी, राष्ट्रघातीहरुको संरक्षण गरिरहेको छ । भ्रष्टाचार, कालोबजारी, राष्ट्रघातको विरोध गर्ने जनता हाम्रो पार्टीका नेता र कार्यकर्ताहरुलाई घरमा बसिरहेको, सांगठनिक काममा लागेको बेला, भेला सम्मेलन गर्दा गिरफ्तार गरेर बेपत्तासम्म पार्ने काम यो सरकारले गरिराखेको छ । सरकारका यस्ता रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।
केपी सरकार बनेदेखि हाम्रो पार्टी, जनवर्गीय संगठनमाथि व्यापक दमन गरिरहेको छ । भ्रष्टाचारलाई कार्वाही गर्नुको साँटो उल्टै उनीहरुलाई संरक्षण गरिरहेको छ । देशमा राष्ट्रघात भैराखेको छ । गत बुधबार मात्र पनि कञ्चनपुरको बिचफाँटामा भारतीय एसएसबीले नेपाली जमिन अतिक्रमण गरिरहेको छ । त्यसप्रति सरकार एक शब्द बोल्दैन । केपी सरकार बनेदेखि संकटकाललाई बिर्साउँदै १२ जनाभन्दा बढि हाम्रा कार्यकर्तालाई बेपत्ता पारेको छ । हाम्रो पार्टीका केन्द्रीय सदस्य किरण राई, युवा संगठनका अध्यक्ष बाबुराम राई, महिला संगठनका महासचिव धिरेन्द्रा उपाध्याय, जिल्लाका प्रमुखहरु, यहाँसम्म कि पढाइरहेका शिक्षकहरुलाई समेत गिरफ्तार गरेर मुद्दा लगाएको छ । राज्यको यी हर्कतहरुका विरुद्ध हाम्रा लागि प्रतिरोध अनिवार्य हुन गएको छ । त्यसैले यही वैशाख २२ गते नेपाल बन्दको आयोजना गरिएको छ । विगतमा जस्तै यस पटकको बन्दमा पनि सबै न्याय प्रेमी, देशभक्त, प्रगतिशिल र वामपन्थी शक्तिहरुमा सहयोग, समर्थन, ऐक्यबद्धताको अपेक्षा राख्दछौं ।”
साथै उक्त बक्तव्यमा वैशाख १९ गते देशैभरी प्रदर्शन, वैशाख २० गते कोण सभाहरु, वैशाख २१ गते साँझ साल जुलुस र वैशाख २२ गते नेपाल बन्द सहितको कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।


२०७५ वैशाख १४ गते शुक्रबार मध्यान्न १२ ३५ मा प्रकाशिच

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :