प्रमुख आयुक्त यादवको घरमा बम विस्फोट

 

काठमाडौँ : निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको हात्तीबनस्थित निवासको पर्खालमा शक्तिशाली बम विस्फोट भएको छ । विस्फोटले पर्खालको भित्ता भत्किनुका साथै झ्यालका सिसाहरू फुटेका छन् । एउटा बम विस्फोट भएको केही समयमा नै नेपाली सेनाको बम डिस्पोजल टोली गएर विस्फोट नभएका २ वटा बम सेनाले विस्फोट गराएको थियो । लगातारजस्तो ३ वटा विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् । प्रमुख आयुक्त यादवले सोमबार पत्रकारसम्मेलन गरेर राज्यले आफ्नो सुरक्षा दिन नसकेको भन्दै सञ्चारमाध्यमका सामु आँसु झारेका थिए । स्मरण रहोस्, केही दिनअगाडि मात्र महालेखा परीक्षकको कार्यालयले निर्वाचन आयोगले निर्वाचनमा गरेको खर्चको विवरण र बेरुजूको तथ्याङ्क सार्वजनिक गरेको थियो । उक्त तथ्याङ्कका आधारमा व्यापक घोटाला भएको कुरा सार्वजनिक भएको थियो । सामान्य चिया र यातायात खर्चमा पनि ठूलो घोटाला भएको समाचार सार्वजनिक भएको थियो । महालेखा परीक्षकको कार्यालयले निर्वाचन आयोगलाई पठाएको लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन रातो खबरलाई प्राप्त भएको छ । उक्त प्रतिवेदनका आधारमा निर्वाचन आयोगमा ठूलो रकम घोटाला भएको देखिएको छ जसअनुसार यातायातका साधन, इन्धन र आइफोन किन्दा ठूलो रकम हिनामिना भएको देखिन्छ । उदाहरणका लागि निर्वाचन आयोगबाट ५० मिटरको दूरीमा रहेको होटेल एलो पेगोडासम्म ३७ जनाले प्रतिव्यक्ति २ हजारका दरले ट्याक्सी चढेको बिल पेस गरिएको छ । स्रोत : रातो खबर साप्ताहिक
२०७५ वैशाख १२ गते बुधबार बिहान ९ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :