जनप्रतिनिधिहरूको राजीनामा माग

काठमाडौँ : जिल्ला जनपरिषद् दाङले जनप्रतिनिधिहरूको राजीनामा माग गर्दै राजीनामापत्र बुझाएको छ । दाङका ४ गाउपालिकाअन्तर्गत दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका प्रमुख उप्रमुखलाई राजीनामापत्र बुझाउँदै आफ्नो पदबाट राजीनामा दिई वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेपाली जनताको महाअभियानमा ऐक्यबद्धता जनाई जनसरोकारका विषयमा गम्भीर बन्न आग्रह गरेको छ ।
थारुवान स्वायत्त प्रदेशअन्तर्गत जिल्ला जनपरिषद् दाङका कार्यालय सचिव भगवान चौधरीद्वारा हस्ताक्षरित राजीनामा दिनेबारे पत्रमा भनिएको छ, ‘विभिन्न शीर्षक–उपशीर्षक खडा गरी चर्को कर असुल गर्ने, १०० रुपैयाँसम्मको पुरानो करलाई १००० देखि १०,००० सम्म पु¥याएर नेपाली जनताको ढाड सेक्ने काम भइरहेको छ । विकास निर्माणलगायत समितिहरूमा आफ्नै श्रीमान्–श्रीमतीलगायत नजिकका नातागोतालाई समितिको प्रमुख बनाउने कामले जनप्रतिनिधि भनिएकाहरूको नियत कस्तो छ ? भन्ने कुरा दिनको घामजत्तिकै छर्लङ्ग छ ।’
विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

 नेपालमा यतिबेला संसदीय व्यवस्थाको स्थानीय चुनावबाट निर्वाचित भनिएका जनप्रतिनिधिमार्फत जनतालाई विभिन्न रूप र बहानामा शोषण गर्ने काम भइरहेको छ । विभिन्न शीर्षक–उपशीर्षक खडा गरी चर्को कर असुल गर्ने, १०० रुपैयाँसम्मको पुरानो करलाई १००० देखि १०,००० सम्म पु¥याएर नेपाली जनताको ढाड सेक्ने काम भइरहेको छ । विकास निर्माणलगायत समितिहरूमा आफ्नै श्रीमान्–श्रीमतीलगायत नजिकका नातागोतालाई समितिको प्रमुख बनाउने कामले जनप्रतिनिधि भनिएकाहरूको नियत कस्तो छ ? भन्ने कुरा दिनको घामजत्तिकै छर्लङ्ग छ । विभिन्न समितिमार्फत कर्मचारीसँग मिलोमतो गरी चर्को कमिसन असुल गर्ने काम कम निन्दनीय छैन । यी सबै तथ्यले के कुरा स्पष्ट हुन्छ भने चुनाव जित्नलाई बगाएको पैसाको खोलो आफूतिर फर्काउने र खर्च गरिएको रकम राज्यकोषबाट असुलउपर गर्ने गरी अपनाइएको संस्थागत र योजनागत भ्रष्टाचार हो भन्ने कुरा आज कसैका अगाडि छिपेको छैन । उल्लिखित सबै कुरा तपाईंका आफ्ना व्यक्तिगत आकाङ्क्षा मात्र नभएर दलाल संसदीय व्यवस्थाले तपाईंहरूलाई सिकाएको आफ्नो नीतिगत कुराजस्तै हो । संसदीय व्यवस्था भनेकै दलाल पुँजीपतिहरूको संरक्षण गर्ने र श्रमजीवीहरूको श्रमको मूल्य शोषण गर्ने र शासकहरू मेटाउने व्यवस्था हो । अतः यस्तो व्यवस्थाले प्रतिनिधि भई जनतामाथि शासन गर्ने शासक बनी जनताबाटै दण्डित हुनुभन्दा बरु अहिले नै आफ्नो पदबाट राजीनामा दिई वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न नेपाली जनताको महाअभियानमा ऐक्यबद्धता जनाई जनसरोकारका विषयमा गम्भीर बन्न शालीनतापूर्वक आग्रह गर्दछु । जनप्रतिनिधिकै नाममा जनतालाई नै सास्ती दिने काम जनतालाई कुनै पनि हालतले स्वीकार्य हुँदैन । तसर्थ समयमै जनताका पक्षमा निर्णय गरी जनविरोधी साबित नहुन सचेत बनाउँछौँ ।
२०७५ वैशाख ११ गते मंगलबार मध्यान्न १२ : ४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :