जीवन्त प्रस्तुति : द थ्योरी अफ एभ्रिथिङ : गुणराज

 

अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा विज्ञानसम्बन्धी चलचित्रहरू त बनेका छन् तर विज्ञानको आविष्कार र खोजप्रति पूर्ण इमानदार रही बनेको चलचित्र यो मात्र हो जसले भौतिकवादलाई स्थापित मात्र गरेको छैन कि थप व्याख्या खोज पनि गरेको छ । स्टिफिनको भौतिकवादमाथिको विकासलाई यस चलचित्रको वियष भएकाले सच्चा माक्र्सवादीहरूका लागि खोज, अनुसन्धान र विकास गर्न मद्दत गर्दछ ।

७ नोभेम्बर २०१४ मा अमेरिकाबाट प्रदर्शन सुरु भएर एक सातामा नै विश्वका चर्चित ८ सय २ वटा चलचित्र हलका प्रदर्शनबाट १२ करोड २८ लाख ७३ हजार ३ सय १० अमेरिकी डलर कमाउन सफल भएको अङ्ग्रेजी चलचित्र द थ्योरी अफ एभ्रिथिङको प्रदर्शन फेरि सुरु भएको छ । १ करोड ५० लाख अमेरिकी डलरको लगानीमा बनेको चलचित्र पहिलो प्रदर्शन हुँदै गर्दाभन्दा बढी अहिले चर्चामा रहेको छ । स्टिफिन हकिङकी जीवनसँगिनी जेन हकिङद्वारा लिखित पुस्तकका आधारमा एन्थोनी एमसी कार्टनको स्त्रिन प्ले र जेम्स मार्सको निर्देशनमा बनेको उक्त चलचित्रमा त्यसका मुख्य पात्र स्टिफिन हकिङको भूमिकामा चर्चित हलिउड कलाकार इडिइ रेडम्यान र स्टिफिनकी प्रेमिका वा श्रीमती जेन हकिङको भूमिकामा फ्यालिसिटी रहेकी छिन् ।

चलचित्र द थ्योरी अफ एभ्रिथिङको प्रसङ्ग ल्याउन र सामान्य समीक्षा गर्न खोजिएको छ । यो चलचित्र प्रदर्शनमा आएको ४ वर्षपछि किन अहिले समीक्षा गर्न खोजियो त ? यो प्रश्न उठ्न सक्दछ । जसको जीवन र आविष्कारका आधारमा यो चलचित्र बनाइएको छ ती व्यक्ति स्टिफिन हकिङको गएको १४ मार्च २०१८ मा ७६ वर्षको उमेरमा मृत्यु भएको छ । स्टिफिन ज्युँदो रहँदा नै उनको जीवन र वैज्ञानिक खोजहरूका विषयलाई लिएर बनाइएको यो चलचित्रमाथि पहिलो प्रदर्शनकै समयमा धेरैले समीक्षा गरेका छन् । तीमध्येका म्याथ्यो टोमी, सिमन मिराउडो, सी.जे. जोनसन, सिमोन फोस्टर, जिम सेम्ब्री, लेइग प्याच, सेबेस्टियन जावाला काहन, मार्टिनेज, युरी क्लेन, रोबर्ट कोज्डेर, जोस टेरी, एन्जेलो मुरेड्डा रहेका छन् । यिनीहरूको समीक्षामा यो चलचित्रको प्रस्तुति, स्टिफिनको जीवनपद्धति, प्रविधि र कलाकारको अभिनयका पक्षहरू मात्रलाई बढी प्रस्तुत गरेका छन् । उनीहरूले यो चलचित्रले दिन खोजेको मुख्य पक्ष के हो भन्नेबारेमा खासै उठान गरेका छैनन् । उनीहरूको उठान भौतिकवादी सौन्दर्यशास्त्रीय दृष्टिकोणका आधारमा छैन । भौतिकवादी मान्छे र भौतिकवादी खोजलाई आधार बनाइएको चलचित्रलाई भौतिकवादी सौन्दर्यशास्त्रीय पद्धतिद्वारा मूल्याङ्कन गरिएन भने उक्त चलचित्रप्रति अन्याय त हुन्छ नै साथै भौतिकवादमा पछिल्लो क्रममा भएको विकासलाई नबुझ्नु पनि हुन जान्छ । त्यसैले असाध्यै सङ्क्षिप्तमा यहाँ उक्त चलचित्रको समीक्षाभन्दा पनि परिचय दिने कोसिस गरिएको मात्र हो । सौन्दर्यशास्त्रीहरूले अलि विस्तृत समीक्षा गर्लान् । यस चलचित्रको माक्र्सवादीय सौन्दर्यशास्त्रीय समीक्षा आवश्यक छ ।

चलचित्रको कथावस्तु

स्टिफिन र उनका साथी ब्राइन साइकल चढेर १९६३ मा क्याम्ब्रिज विश्वविद्यालयमा गएको दृश्यबाट चलचित्र द थ्योरी अफ एभ्रिथिङ सुरु हुन्छ । उनी भौतिकशास्त्रको पनि ब्रह्माण्डसम्बन्धी ‘ब्रह्माण्डको विस्तारका विशेषताहरू’ मा विद्यावारिधि गर्दै गरेका हुन्छन् । त्यही क्रममा उनको भेट जेनसँग हुन्छ र उनीहरूका बीचमा प्रेम सुरु हुन्छ । स्टिफिनलाई पीएचडीको थेसिस तयार पार्न सहयोग होस् भनेर उनका गुरुले एक दिन जे जे थोम्सनले इलेक्ट्रोनको खोज गरेको प्रयोगशालामा पु¥याइदिन्छन् । स्टिफिन त्यहीँ बसेर आफ्नो थेसिसलाई सूत्रबद्ध गर्ने कोसिस गरिरहेका हुन्छन् । उनले ब्ल्याकबोर्डमा चकले छिटोछिटो लेखिरहेका हुन्छन् । तर उनका औँलाहरूले राम्रोसँग चक समात्न सक्दैनन् । स्टिफिनलाई अप्ठ्यारो महसूस हुन्छ । उनी खोच्याउँदै बाहिर निस्किएका हुन्छन् । चौरमा पुगेपछि सिमेन्टको बाटोमा नराम्रोसँग पछारिन पुग्छन् । त्यहाँबाट उनीलाई उपचारका लागि अस्पताल भर्ना गरेर सबै परीक्षण गरिन्छ । परीक्षणबाट स्टिफिनलाई एमियो ट्रोफिकल ल्याटेरल स्क्लेरोसिस भन्ने मासंपेशी निष्क्रिय हुँदै जाने रोग लागेको रहेछ । उनका डक्टरले उनलाई उनका सबै मांसपेशीहरू काम नलाग्ने हुँदै गएर अबको २ वर्ष मृत्यु हुने कुराको जानकारी दिएका हुन्छन् । ंस्टिफिनले दिमाग के हुन्छ नि भनेर सोध्छन् । डक्टरले दिमागले काम गर्न सक्छ भन्ने जबाफ दिन्छन् ।
२२ वर्षको उमेरमा नै यस्तो प्राणघातक रोग लागेपछि पर्ने मनोवैज्ञानिक प्रभावलाई चित्रित गरिएको छ । केही समयको विरक्ततापछि स्टिफिन फेरि आफ्नो अध्ययनमा लिप्त हुन पुग्छन् । शारीरिक रूपमा असक्त हुँदै गर्दा उनले विद्यावारिधि सक्छन् । त्यसको केही समयपछि उनलाई एउटा प्रवचनमा बोलाइएको हुन्छ । उनलाई श्रीमती जेनले ह्विलचियरमा हालेर प्रवचन कक्षमा पु¥याउँछिन् । त्यो प्रवचनमा देशविदेशका चर्चित वैज्ञानिकहरू उपस्थित भएका हुन्छन् । त्यहाँ उनले कृष्णविवरको बनावटका बारेमा लठेब्रो बोलीमा सकीनसकी आफ्ना धारणा पेस गर्दछन् । उनले पेस गरेका धारणाहरूलाई कैयौँ वैज्ञानिकहरूले वाहियात भन्दछन् । तर एकजना पूर्वसोभियत सङ्घको विज्ञान प्रतिष्ठानका प्रोफेसर खालात्निकोभलाई स्टिफिनको धारणा ठीक लाग्छ । स्टिफिनले त्यहाँ कृष्णविवरको बनावटका बारेमा व्याख्या गरेका हुन्छन् । उनले कृष्णविवरहरूले विकिरण उत्सर्जन गर्ने भएकाले तिनीहरू तातो र प्रकाश पनि दिने हुन्छन् भनेका थिए । उनले कृष्णविवर विकिरण उत्सर्जन गर्छ भनी पत्ता लगाएकाले त्यो सिद्धान्तलाई हकिङ रेडिएसन भन्न थालिएको  ।

एकातिर उनका २ वटा बच्चाहरू जन्मिसकेका हुन्छन् । उनीहरूको भरणपोषण गर्नुपर्ने हुन्छ । अर्कोतिर स्टिसफन शारीरिक रूपमा एकदमै कमजोर भएका हुन्छन् । स्टिसफनको स्याहारसुसार गर्नुपर्ने हुन्छ । त्यस बेलासम्म स्टिफिन विश्वविख्यात भएका हुन्छन् । यी सबैको चाँजोपाँचो उनकी श्रीमती जेनले गर्नुपर्ने हुन्छ । त्यसैले जेन हैरान परेसान भएकी हुन्छिन् । यी सबै परिघटनाहरू स्टिफिनकी आमा इसावेल हकिङले हेरिरहेकी थिइन् । त्यसैले इसावेलले जेनलाई चर्चमा गएर सङ्गीत सिकेर आफ्नो विरक्ति र थकावट कम गर्न र ताजा बन्न सुझाव दिन्छिन् । जेनले चर्चबाट जानेथन भन्ने व्यक्तिलाई बोलाएर आफ्नै निवासमा गीत÷सङ्गीत सिक्न थाल्छिन् । त्यही क्रममा जेनको हिमचिम जानेथनसँग बढ्दै जान थाल्छ । त्यही क्रममा जेनले अर्को छोरा जन्माउँछिन् । जेनलाई त्यो बच्चा स्टिफिनको नभएर जानेथनको भएको आरोप इसावेलले लगाउँछिन् ।

एकपटक एकजना नर्सको स्याहारसुसारमा स्टिफन बोर्डरमा एउटा कार्यक्रमका लागि गरिएको निमन्त्रणामा जान्छन् । त्यही क्रममा उनलाई निमोनियाले ग्रसित बनाउँछ । डक्टरले अप्रेसन गरेर मात्र उनलाई बचाउन सकिने तर अप्रेसनले उनको लठेब्रो बोली पनि गुमेर जाने भएकाले स्टिफिन सदाका लागि आवाजरहित हुन पुग्दछन् । उनको उपचार र स्याहारसुसारका लागि भनेर एलियन मासोन आइपुग्छिन् । स्टिफिनलाई जानेथन र जेनका बीचको सम्बन्धका बारेमा जानकारी हुन्छ । हिँडडुल गर्न नस्कने स्टिफिन बोल्न पनि नसक्ने भैसकेका हुन्छन् । बोल्न पनि नसक्ने भएपछि उनलाई टाइप गरेर बोल्ने कम्प्युटर जडान भएको ह्विलचियर उपलब्ध गराइन्छ ।

त्यही क्रममा उनलाई अमेरिका बोलाइन्छ । चलचित्रको प्रस्तुतिका आधारमा स्टिफिनले जेन जानेथनबीचको सम्बन्ध भैराखोस् भन्नका लागि अमेरिका एलियनलाई लैजाने निर्णय गर्दछन् । त्यही क्रममा जानेथनसँग जेनको औपचारिक सम्बन्ध कायम हुन पुग्दछ । स्टिफिनले अमेरिकामा आफ्नो बहुचर्चित प्रवचन दिन्छन् । केही समयपछि उनी फेरि बेलायत फर्किन्छन् । एक दिन उनलाई बकिङ्घम दरबारबाट बोलावट आउँछ । स्टिफिनले जेनलाई पनि बोलाएका हुन्छन् । त्यहाँ उनीहरूका ३ वटै सन्तानसँग भेट हुन्छ र चलचित्र समाप्त हुन्छ ।

चलचित्रको वैचारिक पक्ष

स्टिफिन र उनले खोज गरेका भौतिकवादी सिद्धान्तमा आधारित तथ्यहरूका बारेमा विश्वमा विभिन्न दृष्टिकोणबाट व्याख्या गरिएको छ । उनी आइन्सटाइनपछिका सबैभन्दा प्रभावशाली र खोजकर्ता वैज्ञानिक मानिन्छन् । तर उनका बारेमा माक्र्सवादी दृष्टिकोणमा कुनै धारणा व्यक्त गरिएको छैन । उनले ब्रह्माण्डको उत्पत्ति, कृष्णविवरहरूको चरित्रका बारेमा पत्ता लगाए । त्यसैगरी ब्रह्माण्डमा रहेका सबै बलहरूलाई एकीकृत गर्न सकिन्छ भन्ने धारणा राख्दै गए । वास्तवमा यही सिद्धान्त नै द थ्यौरी अफ एभ्रिथिङ हो । यी कुराहरूका बारेमा चलचित्रमा कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । भौतिकवादीहरूका लागि सबैभन्दा महत्वपूर्ण कुरा उनले भगवान्का बारेमा खण्डनमण्डन गरेका छन् । चलचित्रका धेरै प्रसङ्गहरूमा भगवान्प्रति विश्वास नभएको धारणा व्यक्त गरेका छन् ।

चलचित्रमा अमेरिकामा उनले दिएको एउटा प्रवचन प्रस्तुत गरिएको छ । त्यसमा उनलाई सोधिएको छ, ‘तपाईंले भगवान्प्रति विश्वास नभएको बताउनुभएको छ ।’
स्टिफिन पात्रले उक्त प्रश्नको लामो उत्तर दिएका छन् । उनले उत्तरमा भनेका छन् ः

तिमीसँग कुनै यस्तो जीवनदर्शन छ जसले तिमीलाई सहयोग गरोस् ?

हामी त अर्बभन्दा बढी तारापुञ्जहरूमध्येको औसत ताराको कक्षमा घुम्ने एउटा ग्रहमा बस्ने विकसित बाँदरको प्रजाति मात्र होऔँ । तर सभ्यताको उदयदेखि नै विश्वमा अन्तर्निहित मान्छेमा सुझबुझको चाहना रहेको छ । ब्रह्माण्डको सीमा परिस्थितिका बारेमा धेरै नै विशेष रहने गरेको छ । कुनै पनि सीमा नहुने ती के विशेषहरू हुन सक्छन् …। मानव चाहनामा सीमारहित हुनका लागि के गर्नुपर्छ ? हामी सबै फरकफरक छौँ । खराब जीवन पनि देख्न सकिन्छ । तर पनि जहिले पनि सफलता पाउनका लागि केही न केही रहने गरेको हुन्छ । जहाँ जीवन हुन्छ, त्यहाँ आशा रहन्छ ।’

अहिले विश्वमा धार्मिक कट्टरता बढेर गएको छ । मूलतः क्रिस्चियन, मुस्लिम र हिन्दुधर्मको अतिवादीकरण बढेर गएको छ । यिनै धर्मप्रति कट्टरहरूको ठूला र शक्तिशाली देशहरूमा सरकारहरू बन्ने गरेका छन् । धार्मिक कट्टरतामा मान्छे मारिराखिएका छन् । अझ अमेरिकामा त त्यो मात्रा झनै बढेको छ । त्यहाँको राष्ट्रपतिले बाइबल लिएर नै सपथ खानु पर्दछ । विश्वका धनी वैभवशाली भनिने देशहरूमा धार्मिक कट्टरता भएको बेलमा यो चलचित्रमा भगवान् छन् कि छैनन् भनी बहस गराइएको छ । मुख्य चरित्र पात्रले भगवान् नभएको तथ्यसहित पुष्टि गरेको यस चलचित्रमा देखाइएको छ । साथै ब्रह्माण्डसम्बन्धी आदर्शवादी धारणालाई पूर्ण रूपले खण्डन गरिएको छ । अझ राम्रो पक्ष भनेको स्टिफिनले उनको वास्तविक जीवनमा जेजे कुराको खोजी गरेर पत्ता लगाए ती वैज्ञानिक खोजहरूलाई दर्शकले बुझ्ने गरी चलचित्रमा प्रस्तुत गरिएको छ ।

अभिनयमा जीवन्तता

यो चलचित्र वास्तविक जीवनमा आधारित हो । तापनि जीवनलाई पर्दामा जस्ताको तस्तै उतार्न निकै गाह्रो हुन्छ । तर इडिइ रेडम्यान स्टिफिनको भूमिकामा सशक्त रूपमा उत्रिएका छन् । लाउँला र खाउँला भन्ने उमेरको २२ वर्षको केटो एकाएक जीवनमरणको लडाइँमा पुग्नु, डक्टरले उसको आयु केवल २ वर्ष तोक्नु, पूर्ण अपाङ्ग भएर पनि आफ्नो जीवनको लक्ष्य तय गर्नु र त्यसलाई पु¥याइछाड्न सबैखाले सङ्घर्षलाई चुनौती दिनु यस चलचित्रको असाध्यै सबल पक्ष हो ।

अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा विज्ञानसम्बन्धी चलचित्रहरू त बनेका छन् तर विज्ञानको आविष्कार र खोजप्रति पूर्ण इमानदार रही बनेको चलचित्र यो मात्र हो जसले भौतिकवादलाई स्थापित मात्र गरेको छैन कि थप व्याख्या खोज पनि गरेको छ । स्टिफिनको भौतिकवादमाथिको विकासलाई यस चलचित्रको वियष भएकाले सच्चा माक्र्सवादीहरूका लागि खोज, अनुसन्धान र विकास गर्न मद्दत गर्दछ । एउटा जीवन पूरै बोल्ने यो चलचित्रमा विज्ञान र भौतिकशास्त्रमा मात्र संवादहरू गरिएका छन् ।
स्टिफिनको वास्तविक जीवन पढ्न उनले आफैँ लेखेको मेरो सङ्क्षिप्त इतिहास (ःथ द्यचष्भा ज्ष्कतयचथ) पढ्नुपर्छ र उनको खोजका बारेमा जानकारी राख्न समयको सङ्क्षिप्त इतिहास (ब् द्यचष्भा ज्ष्कतयचथ त्ष्mभ) पढ्नुपर्छ । तर उनको खोज र जीवनी एकैचोटि जान्न चाहनेहरूले चलचित्र थ्योरी अफ एभ्रिथिङ हेर्नुपर्छ । स्रोत रातो खबर साप्ताहिक
२०७५ वैशाख ७ गते शुक्रबार अपरान्ह ३ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :