जनसांस्कृतिक महासंघ कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न

कपिलवस्तु : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले संस्कृतिको वर्गीय पक्षधरता हुने भन्दै नयाँ जनवादी संस्कृतिका पक्षमा सवै लेखक, कलाकार तथा संस्कृतिकर्मीहरु एकजुट हुनुपर्ने बताए । नेता भुसालले संसदीय राज्यसत्ताको दमन विरुद्ध सर्वहारा श्रमजीवी वर्गले निरन्तर संघर्ष गर्दै आइरहेको भन्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागी एकीकृत जनक्रान्तिको पक्षमा सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन निर्देशन गरे ।

नेकपा कपिलवस्तुका सेक्रेटरी सुनिलले नेपालको जनवादी सांस्कृतिक आन्दोलनको वैचारिक नेतृत्व महासंघले गरेको भन्दै जनवादी गीत संगीत तथा कला साहित्यको माध्यमद्धारा जनताको राज्यसत्ता स्थापना गर्न महासङ्घले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे । अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले नेपाली संस्कृति साम्राज्यवाद तथा विस्तारवादी संस्कृतिको व्यापक चक्रव्युह फसेको भन्दै जनवादी, देशभक्त र राष्ट्रिय स्वाभिमानी संस्कृतिको पक्षमा सांस्कृतिक आन्दोलन आवश्यक भएको बताए । उनले दास संस्कृति र आत्मसमर्पणवादी दलालीकरणको संस्कृति विरुद्ध संघर्ष गर्नुपर्ने बताए ।


भेलाले कमरेड देवराजको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । भेलामा नेकपा कपिलवस्तु इन्चार्ज संगम, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष रुपा बुढा मगर, अखिल नेपाल जनसांस्कृतिक महासंघ रुपन्देहीका मिना, सहिद परिवार, क्षितिज परिवार र रक्तरञ्जित सांस्कृतिक परिवारका कलाकार लगायत ३ दर्जन कला संस्कृतिकर्मीहरुको सहभागिता रहेको थियो । भेलाको अवसरमा कलाकार आशिषले कविता वाचन गरेका थिए । महासंघका ब्युरो सदस्य एवं क्षितिज परिवारका संयोजक संयोगको अध्यक्षता, नेकपा केन्द्रीय सदस्य भेषराज भुसालको प्रमुख आतिथ्यता र रक्तरञ्जित सांस्कृतिक परिवारका संयोजक देवराजको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।
२०७५ वैशाख ७ गते शुक्रबार बिहान १० ५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :