भारतका चार आयामिक हस्तक्षेप केपी चुप बसे

 

 

काठमाडौँ : नेपालमाथि भारतले चार आयामबाट हस्तक्षेप बढाएको विज्ञहरूले बताएका छन् । यसरी नेपाली राष्ट्रियतामाथि भैरहेको अतिक्रमणका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले चुँसम्म पनि नबोलेको खुलासा पनि विज्ञहरूले गरेका छन् । उनीहरूले आफूलाई राष्ट्रवादी हुँ भनेर गर्जने केपी शर्मा ओली दिल्ली मोदीका सामु मुसा भएको पनि बताएका छन् । बागबजार स्थित होटेल हार्दिकमा ४ गते मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेकपासहित चार दलले आयोजना गरेको ‘भारतसँगका असमान सन्धि÷सम्झौता र राष्ट्रियताको प्रश्न’ विषयक अन्तक्र्रिया कार्यक्रममा विज्ञहरुले उक्त कुरा बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनपरिषद् नेपालका केन्द्रीय प्रमुख सन्तोष बुढामगरले अन्तक्र्रियालाई सम्बोधन गर्दै भन्नुभयो, ‘नेपालमा भारतको हस्तक्षेप बढ्दै गएको छ । यहाँको जलस्रोत, भौगोलिक क्षेत्र र आर्थिक क्षेत्रमा भारतले हस्तक्षेप गर्दै आएको छ । यसबाट मुक्त हुनका लागि एकीकृत जनक्रान्तिको माध्यमबाट नेपालमा समाजवाद ल्याउनुपर्छ । नेपालको क्रान्ति पूरा गर्न सच्चा क्रान्तिकारीहरू एक हुन जरुरी छ । त्यसका लागि हामीहरू लागिपरेका छौँ ।’  जलस्रोतविद् दीपक ज्ञवालीले भन्नुभयो, ‘नेपालको जलस्रोतमाथि भारतले गिद्देनजर लगाएको छ ।’ उहाँले नेपालमा भएका महाकालीलगायत असमान सन्धि, माथिल्लो कर्णाली, अरुण ३, कोसी उच्च बाँधका बारेमा केपी ओलीले नरेन्द्र मोदीसँग केही पनि कुरा गर्न नसकेको पनि बताउनुभयो । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालका ७१ स्थानको ६० हजार ६ सय २० हेक्टर जमिन भारतले मिचेको बताउनुभयो । लिपुलेकलगायत सीमा मिचिएका स्थान फिर्ता गर्नेबारेमा ओलीले कुरै नउठाएको उहाँले बताउनुभयो । अर्थविद् एवं पूर्वगभर्नर तथा योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले प्रश्न गर्नुभयो, ‘महाकाली सन्धि संसद्बाट पारित हुँदै गर्दा केपी ओलीले वर्षको १२ खर्ब भारतले नेपाललाई दिने भएको छ, किन नेपालीले बुझ्दैनन् भनेका थिए । अहिले खै कति पैसा आयो ?’त्यसैगरी परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले सबै असमान सन्धिसम्झौता खारेज गरी पञ्चशीलका आधारमा नयाँ सन्धि गर्नुपर्ने बताउनुभयो । स्रोत : रातो खबर साप्ताहिक
२०७५ वैशाख ५ गते बुधबार बिहान ९ :१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :