नेकपा पूर्वी कमान्डको चेतावनी

 

काठमाडौँ: नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले मङ्गलबार पूर्वी क्षेत्र बन्द गर्न सघाउने सबै पक्षलाई धन्यवाद दिँदै सरकारले बिनाकारण गिरफ्तार गरेका नेता र कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्न आग्रह गरेका छन् । विज्ञप्ति जारी गर्दै विरहीले २०६५ सालमा बाढी नियन्त्रण गर्न विराटनगरमा बनाइएको भारतीय बाढी नियन्त्रण कार्यालयले क्रान्तिकारी आन्दोलनविरुद्ध जासुसी गरिरहेकाले उक्त कार्यालय तत्काल बन्द गर्न चेतावनी पनि दिएका छन् । पार्टीका नेता र कार्यकर्ता रिहा नगरिए र विराटनगरस्थित भारतीय कार्यालय बन्द नगरिए अझ उच्च स्तरको सङ्घर्ष सञ्चालन गरिने विरहीको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :
ओली–दाहाल नेतृत्वको सामाजिक दलाल पुँजीवादी प्रवृत्ति तथा उनीहरुको राष्ट्रघाती, जनघाती र फासिस्ट चरित्रका विरुद्ध हाम्रो पार्टीले निरन्तर सङ्घर्ष गर्दै आएको छ । हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज किरण राईसहित उदयपुर, सुनसरी, मोरङ, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, झापालगायत स्थानबाट ५० औँ कार्यकर्तालाई गिरफ्तार गरेर झूट्टा मुद्दामा फसाइएको छ । त्यसका विरुद्ध चैत २९ देखि सुरु भएको सङ्घर्षको कार्यक्रम वैशाख ४ गते पूर्वी कमान्ड बन्दसहित सम्पन्न भएको छ । उक्त कार्यक्रम सफल पार्न अहोरात्र खट्ने नेता–कार्यकर्ता सहयोगी जनसमुदाय, यातायत व्यवसायी, व्यापारी, उद्यमी, सञ्चारकर्मीसहित सबैप्रति हार्दिक धन्यवादसहित अभार प्रकट गर्दछ ।
२०६५ सालमा कोसी नदीको बाढी नियन्त्रण गर्न बनाइएको विराटनगर १३ स्थित भारतीय बाढी नियन्त्रण कार्यालय अझै हटाइएको छैन र त्यसले नेपाल देश र क्रान्तिकारी आन्दोलनको विरुद्ध जासुसी गरिरहेको छ । उक्त भारतीय जासुसी कार्यालय हटाउन र हाम्रा नेताकार्यकर्ता रिहा गर्न माग गर्दछौँ । अन्यथा साम्राज्यवाद र उसको नेपाली दलाल सरकारका विरुद्ध थप सङ्घर्षमा उत्रन बाध्य हुनेछौँ ।


२०७५ वैशाख ४ गते मंगलबार अपरान्ह ७ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :