पक्राउको विरोधमा नेकपाद्वारा पूर्वी नेपाल बन्द

 

 

अम्बिका चन्द / काठमाडौँ : नेकपाका नेताकिरण राई लगायतका नेता नेताकार्यकर्ताको रिहाई र झुटठा मुद्दा खारेजीको माग गर्दै सो पार्टीको पूर्वी कमान्डले मंगलबार आह्वान गरेको बन्दको प्रभाव दिनभर प¥यो । बन्दको दिन नेकपा पूर्वी कमान्डअन्र्तगत मेचीकोशी र सगरमाथा अञ्चलमा लामो तथा छोटो दुरीका सवारी साधन, शिक्षण संस्था उद्योग धन्दा र कलकारखाना बन्द भए । कतिपय ठाउँमा भने बन्दको अवज्ञा गर्ने सवारी साधनमाथि बन्दकर्ताले तोडफोड र आगजनी गरिदिएका छन् । बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताले बिहानै काठमाडौंबाट काँकभिट्टा जाँदै गरेको यात्रुबाहक रात्रीबसलाई पुर्वपश्चिम राजमार्गको काने पोखरीमा आगजनी गरिदिएका छन् । त्यसैगरी सुन्दरहरैचामा एउटा मिनि ट्रक र अर्को ट्रिफरमा पनि बन्दकर्ताले आगजनी गरिदिएका छन् । त्यसैगरी मोरङ बेलबारीमा २ वटा ट्रकमा पनि आगजनी भएको छ । बन्दको दिन झापादेखि सुनसरी, विराटननगर चल्ने सुर्योदय यातायात प्रालिको इटहरीमा रहेको कार्यालयमा आजगनी भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राई लगायतका नेताकार्यकर्ताहरुलाई प्रहरीले धनकुटाको हिलेबाट पक्राउ गरेको थियो । चैत्र ५ गते साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा हिले बजारमा भइरहेको सभास्थलबाटै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
बन्दको पूर्वसन्ध्यामा सोमबार बेलुका पूर्वका विभिन्न जिल्लामा मशाल जुलुस निकालिएको थियो । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका नौसय टोल, धनुषाधाम, तेजनगर लगायतका स्थानहरुमा नेकपाका समर्थकहरुले मशाल जुलुस निकालेका थिए । यसैबीच सिराहाको कर्जनाहा, बरहराचोक, सिन्धुलीको हरिहरपुरगडी क्यानखोला, कालीलेकमा पनि मशाल जुलुश निकालिएको छ । यस्तै सप्तरीको बोदे बर्साही नगरपालिका ५ बराहा, मोरङको बेलबारी नपास्थित पुर्वपश्चिम राजमार्गमा रहेका लक्ष्मीमार्ग, झापाको दमक, मेचीनगर, कुमरखोद र ढुकुरपानीमा पनि मशाल जुलुस निकालिएको थियो । यसैविच पूर्व बन्दको दिनप्रहरीले बाबुलाल पासवानसहित ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पासवानलाई विराटनगरबाट मोटरसाइकलसहित गिरफ्तार गरिएको हो । यस्तै योङ रेड फोर्स, नेपालका संखुवासभा अध्यक्ष ङिमा शेर्पा, युवा सदस्य अविशेक मोक्तानलाई पनि प्रहरीले फुङ्लिङ बजारबाट पक्राउ गरेको छ । यस्तै शिक्षक संगठनका उदयपुर अध्यक्ष युवराज कार्कीलाई गाईघाटबाट पक्राउ गरिएको छ ।

नेपालस्थित भारतीय क्याम्पमा विस्फोट

मोरङको विराटनगर अवस्थित भारतीय क्याम्पमा सोमबार साँझ शक्तिशाली बम विस्फोट भएको छ । नेपाल सरकारले पटकपटक ताकेता गर्दा पनि भारत सरकारले उक्त क्याम्प हटाउन अटेर गर्दै आएको थियो । दिल्लीले सो दुतावासलाई मान्यता दिन लबिङ गर्दै आइरहेको छ । नेकपा सहित विभिन्न राजनैतिक पार्टीहरुले सो कार्यालय बन्द गर्न दबाव दिँदै आइरहेका थिए । सुनसरी दुहबीको एउटा मदिरा कारखानामा बम विस्फोट भएको समाचार प्राप्त भएको छ । यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरी र मोरङको सिमानामा पर्ने बुडी खोलाको पुलमा बम भेटिएको छ ।

त्यसैगरी नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले मङ्गलबार पूर्वी क्षेत्र बन्द गर्न सघाउने सबै पक्षलाई धन्यवाद दिँदै सरकारले बिनाकारण गिरफ्तार गरेका नेता र कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्न आग्रह गरेका छन् । विज्ञप्ति जारी गर्दै विरहीले २०६५ सालमा बाढी नियन्त्रण गर्न विराटनगरमा बनाइएको भारतीय बाढी नियन्त्रण कार्यालयले क्रान्तिकारी आन्दोलनविरुद्ध जासुसी गरिरहेकाले उक्त कार्यालय तत्काल बन्द गर्न चेतावनी पनि दिएका छन् । पार्टीका नेता र कार्यकर्ता रिहा नगरिए र विराटनगरस्थित भारतीय कार्यालय बन्द नगरिए अझ उच्च स्तरको सङ्घर्ष सञ्चालन गरिने विरहीको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :
ओली–दाहाल नेतृत्वको सामाजिक दलाल पुँजीवादी प्रवृत्ति तथा उनीहरुको राष्ट्रघाती, जनघाती र फासिस्ट चरित्रका विरुद्ध हाम्रो पार्टीले निरन्तर सङ्घर्ष गर्दै आएको छ । हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज किरण राईसहित उदयपुर, सुनसरी, मोरङ, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, झापालगायत स्थानबाट ५० औँ कार्यकर्तालाई गिरफ्तार गरेर झूट्टा मुद्दामा फसाइएको छ । त्यसका विरुद्ध चैत २९ देखि सुरु भएको सङ्घर्षको कार्यक्रम वैशाख ४ गते पूर्वी कमान्ड बन्दसहित सम्पन्न भएको छ । उक्त कार्यक्रम सफल पार्न अहोरात्र खट्ने नेता–कार्यकर्ता सहयोगी जनसमुदाय, यातायत व्यवसायी, व्यापारी, उद्यमी, सञ्चारकर्मीसहित सबैप्रति हार्दिक धन्यवादसहित अभार प्रकट गर्दछ ।

२०६५ सालमा कोसी नदीको बाढी नियन्त्रण गर्न बनाइएको विराटनगर १३ स्थित भारतीय बाढी नियन्त्रण कार्यालय अझै हटाइएको छैन र त्यसले नेपाल देश र क्रान्तिकारी आन्दोलनको विरुद्ध जासुसी गरिरहेको छ । उक्त भारतीय जासुसी कार्यालय हटाउन र हाम्रा नेताकार्यकर्ता रिहा गर्न माग गर्दछौँ । अन्यथा साम्राज्यवाद र उसको नेपाली दलाल सरकारका विरुद्ध थप सङ्घर्षमा उत्रन बाध्य हुनेछौँ ।
स्रोत : रातो खबर साप्ताहिक
२०७५ वैशाख ५ गते बुधबार बिहान ९ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :