चितवनमा प्रहरी आतंक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी चितवनले आफ्नो पार्टीका नेताकार्यकर्तामाथि सरकारी दमन तिव्र पारिएको भन्दै विरोध तथा भत्सर्ना गरेको छ । जिल्ला इन्चार्ज लालबहादुर बिसीले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै आफ्नो पार्टीका जिल्ला स्तरिय नेता कार्यकर्ताहरुलाई प्रहरीले विनाकारण पक्राउ गरी हिरासतमा राखेको बताएका छन् । साथै विसीले चितवन सेक्रेटरी धु्रब लगायत आफ्नो पार्टीका नेताकार्यकर्ताहरुको घर घरमा पुगेर प्रहरीले धम्की दिने र आतंकित पार्ने काम गरेको पनि बताएका छन् । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ–

प्रेस वक्तव्य
विगत केही दिन देखि चितवनमा एमाले माओवादी केद्रको सामाजिक दलाल पूँजीवादी सरकारको निर्देशनमा प्रहरीले हाम्रो पार्टीका कार्यकर्तालाई गिरफ्तार गर्ने र कार्यकर्ताको घरमा खानतलास गर्ने गरेको छ। हालै पार्टी डिसिएम कृष्ण बराल,मित्र केसी, एसिएम समिर थापा,विद्यार्थी जिल्ला सहसचिव सुदिप पौडेल र जिल्ला समिति सदस्य दिवस भुसाल्लाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको छ । यसै गरी सर्वसाधरण जनतालाई पनि हाम्रो पार्टीको नाममा गिरफ्तार गरी हिरासतमा राखिएको छ । विगतमा राज्यले लगाएको संकटकालको समय जस्तो गरी पार्टी डिसएस क. धु्रव लगायत अन्य कार्यकर्ताको घरमा छापा मार्ने र परिवारलाई आतङ्कित गर्ने काम गरिएको छ । आफैले बनाएको प्रचलित संविधान, ऐन र कानुनको आफै धज्जी उडाएको छ । दलाल संसदीय व्यवस्था र यसका प्रतिनिधिले गर्ने करछली, भ्रष्टचार, कमीसनखोर, जमिन दृष्टिबन्धक राख्न लगाएर किसानलाई भुमीहिन बनाउने र घुसखोरीको संरक्षण गर्न सामाजिक दलाल सरकारले हाम्रो पार्टीको नेता कार्यकर्ताको घरमा खानतलास, धरकपड र गिरफ्तारी गर्ने गरेको छ । हाम्रो पार्टी दलाल सरकार र यसका कथित स्थानीय निकायले जनतामाथि जवरजस्त थोपरेको कर लगायत सवै हरकतका विरुद्ध आन्दोलन गरिरहेको छ । यसैले जनता र राष्ट्रलाई बरवादी गर्ने दलालहरु जनताको पक्षमा गरिएको आन्दोलनको निशानामा पर्ने कुरा स्वभाविकै हो । गिरफ्तार गरिएका हाम्रो पार्टीको कार्यकर्ता शिघ्र रिहाइ नगरे आन्दोलन चाप र मात्रा अझ बढने कुरा निश्चित छ । त्यसैले गिरफ्तार गरिएका हाम्रो पार्टीको कार्यकर्ताको शिघ्र रिहाइको माग गर्दछौ । अन्यथा आन्दोलन गर्न वाध्य हुनेछौ । यसबाट उत्पन्न हुने परिणामको जिम्मा स्वंय सामाजिक दलाल सरकार हुनेछ ।

 २०७५ साल बैशाख २ गते आइतबार १२ : ५५मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :