नेकपाको नाममा ठगीधन्दा

काठमाडौं :  वर्तमान संसदीय व्यवस्थाको विकल्पमा नयाँ समाजवादी व्यवस्थाको विकल्प प्रस्तुत गरेको नेकपा देशको बैकल्पीक उदीयमान राजनैतिक शक्ति हो । राष्ट्रलाई माया गर्ने देशभक्तहरुले भविश्यमा राष्ट्रहितका लागि काम गर्न सक्ने शक्तिको रुपमा यसलाई आशाको नजरले हेरिरहेका छन् भने परिवर्तन नचाहने यथास्थितिवादीहरुले सकभर यसलाई शुरुमै निमोठन चाहन्छन् । त्यसैको परिणाम पछिल्लो पटक नेकपालाई सार्वजनिक रुपमा खुल्ला सभा सम्मेलन गर्न एकखालको अघोषित प्रतिबन्ध लगाइएको छ । नेकपाको उदाउदो प्रभावलाई प्रयोग गरेर कतिपयले आफ्नो फाइदा पनि लुटिरहेका छन् ।

हाल नेकपाले देशब्यापी रुपमा एकीकृत जनजागरण तथा जनप्रतिरोध अभियान संचालन गरिरहेको छ । जस अन्तर्गत राजनैतिक वैचारिक प्रशिक्षण, स्कुलिङ, संगठन निर्माण र सुदृढीकरण, जनसत्ता गठन पुर्नगठन र विकास निर्माणको साथै जनकारबाहीहरु समेत गरिरहेको छ । नेकपाले अहिले नेपाली समाजको प्रमुख दुश्मन दलाल पुँजीवाद भएको निस्कर्ष सहित त्यसका अगंहरुमा प्रहार गरिरहेकोे छ । अर्कोतिर राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुमा अन्य कम्युनिष्ट पार्टीहरुबिच कार्यगत एकता गरेर अघि बढिरहेको छ । जस अनुसार यही चैत्र २१ गते मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच राष्ट्रियताको विषयमा संयुक्त कार्यक्रम तथा कार्यगत एकता गर्ने सहमती समेत भएको छ । यसै गरी नेकपाले सेना, प्रहरी, राष्ट्रियताका पक्षधर र राष्ट्रवादी शक्तिलाई राष्ट्रियता रक्षाको लागि एक हुन आह्वान गरेको छ ।

सरकारले स्वदेशी उद्योगहरु बन्द गराउने, कौडिको मुल्यमा बेच्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरी विदेशीहरुको भर पर्ने, राष्ट्रघाती सन्धी सम्झौताहरु गर्दै देशलाई विदेशी व्यापारको केन्द्र बनाएकोमा नेकपाले विरोध गरेको छ । सरकारले राष्ट्रिय उद्योगहरुको स्थापना र संरक्षण गरी बढ्दो युवा बेरोजगारीलाई घटाउने काम नगरी राष्ट्रलाई कंगाल बनाउने काम मात्र गरिरहेको छ । यस्तै सत्तामा विराजमान भएकाहरुले विदेशी प्रभुहरुको अगाडि लम्पसार पर्ने र एकपछि अर्को गर्दै राष्ट्रहित विपरितका कार्यहरु गरिरहेका छन् । नेपाललाई प्रत्यक्ष नोक्सानी हुने गरी कोशी उच्च बाँध, अरुण तेश्रो र माथिल्लो कर्णाली परियोजनामा भारतलाई हालीमुहाली गर्न दिइएको छ । यस्तै नेपाल भारत सिमाक्षेत्रमा भारतीय पक्षबाट बारम्बार भुमिअतिक्रमण र हस्तक्षेप हुने गरेको छ । भारतीय पक्षले नेपाली भूमिमा आएर जनतालाई दुख दिने, आतंकीत पार्ने, गोली हान्ने र निर्वाध भारतीय प्रहरी नेपाल पसेर पक्राउ गर्ने काम गर्दा पनि सरकारी अधिकारीहरु त्यसको कुनै प्रतिवाद गर्ने क्षमता राख्दैनन् । केही दिन पहिले मात्र युरोपियन युनियनले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर नेपालको विषयमा प्रतिवेदन जारी गर्दा समेत सरकारले विज्ञप्ति निकाल्ने बाहेक अरु कदम चाल्न सकेन । सरकारले चाहने हो भने यूरोपियन युनियनका कर्मचारीहरुलाई स्पष्टीकरण लिने देशनिकाला गर्ने जस्तो कारबाही गर्न सक्दछ ।

यस्तै हालै मात्र अमेरिकी दुतावासले स्थानिय समुहहरुबाट खतरा रहेको भनि सुरक्षा निकायको हवाला दिदै आफ्ना नागरिकलाई चन्द्रागिरि केवुलकार नजान आह्वान गरी नेपालको आन्तरीक मामलामा हस्तक्षेप गरेको छ । नेपाल स्थित अमेरिकी दुतावासले आफ्ना नागरिकलाई चन्द्रागिरी केबुलकार सहित काठमाडौं वरपरको क्षेत्रमा घुमफिरमा नजान ‘ट्राभल एडभाइजरी’ जारी गरेको भन्ने समाचार केही दिन पहिले काठमाडौंबाट संचालीत केही अनलाईनमा छापिएको थियो । उक्त समाचारमा भ्रष्टाचार काण्डमा मुछिएका आन्तरिक राजश्व विभागका पुर्व महानिर्देशक चुडामणी शर्माको घरमा तोडफोड गर्ने विप्लव नेतृत्वको नेकपाले चन्द्रागिरीलाई टार्गेटमा राखेको भन्ने झुटो विवरण उल्लेख छ । जबकि विप्लव नेतृत्वको नेकपाका युवाहरु काठमाण्डौं वरपर होइनकी देशब्यापी जनजागरण अभियानमा छन् ।

आजभोली उद्योगधन्दा, करकारखाना र व्याबसायीहरुलाई विभिन्न खालका ब्यक्ति र समुहले चन्दा माग्ने र विप्लवको पार्टीको मान्छे हु भन्दै धम्क्याउने गरेको खबरहरु प्राप्त भइरहेका छन् । विप्लवको नाममा अन्य विभिन्न ब्यक्ति र समुहबाट चन्दा असुल्ने र धम्क्याउदै बन्दुक र बमले त्रास देखाउने गरेको पाइन्छ । यसविषयमा आफ्नो पार्टीलाई बदनाम गराउने कार्यदेखी नेकपा पनि सजग रहन जरुरी छ । बिहीबार मात्र विप्लवको नाममा दुई करोड माग्ने तरुण दलको महाधिवेशन प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुँ भन्दै जग्गा व्यावसायीबाट दुई करोड रुपैयाँ मागेको आरोपमा कांग्रेस निकट तरुण दलका महाधिवेशन प्रतिनिधिसहित चार जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । यस घटनामा संलग्नहरुले भारतको दिल्लीमा गएर भारतीय नम्बरबाट एसएमएस गरी गोरखा सुलीकोट घर भई काठमाडौंको नयाँ बजारमा बसोबास गर्ने जग्गा व्यवसायीलाई धम्की दिदै रकम नदिएमा घर बमले उडाइदिने र ज्यान मार्ने भन्दै धम्क्याएका थिए । अहिले विप्लवले नेतृत्व गरेको नेकपाको नाममा ठुलो रकम लिने व्यक्तिहरु सक्रिय रहेको बताइन्छ । त्यसैले पनि विप्लवले नेतृत्वको गरेको नेकपाको बढ्दो राजनैतिक प्रभावलाई प्रयोग गरेर आफ्नो फाइदा लुट्ने व्यक्ति र समुहप्रति नेकपाले आवश्यक निगरानी गर्न जरुरी देखिन्छ । नत्र डर धम्की देखाएर चन्दा असुली गर्ने मात्र नभई हत्या आतंक र हिंसात्मक गतिविधि गरी सो पार्टीलाई बदनाम गराउने व्यक्ति र समुहहरु सक्रिय हुन सक्दछन् ।
२०७५ वैशाख १ गते बिहान ७ : ५२  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :