“थोत्रा किताब” र केपी ओली : सुदर्शन

 

कुनै जमानामा ‘चीनको अध्यक्ष हाम्रो पनि अध्यक्ष’ भन्दै माओचतुङको गुणगान गाउँदै ‘वन एरिया वन यूनिट, वन स्क्वायड वन एक्सन’को योजनामा धर्मप्रसाद ढकालको टाउको गिड्न संलग्न केपी ओली आज नेपालमा दलाल संसदीय व्यवस्थाको नायक बनेका छन् । एक दशक अघि ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ र ‘भारतसँग टे«न्च युद्ध’ लड्न जनमुक्ति सेनालाई आदेश दिने पीके दाहाल यो देशका कुख्यात खलनायक भएका छन् । उनलाई सत्र हजार नेपाली जनताका छोराछोरीहरुको रगतमा मस्ती मार्न आनन्द आएको छ । उनीहरुका लागि माक्र्स, लेनिन र माओका किताबहरु थोत्रा भएका छन्, बाइबल, कुरान रामायण र महाभारत ताजा भएका छन् । हिटलर, मुसोलिनी र जंगबहादुर आदर्शपात्र भएका छन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद उनीहरुको लागि थोत्रो भएको छ र अधिभूतवादी आदर्शवाद एवं अध्यात्मवाद ताजा भएको छ । यही कारणले गर्दा केपी ओलीले पीके दाहाललाई एउटै मंचमा राखेर भनेका छन् –‘आजभोलि कोही सिद्धान्तका कुरा गर्छन्, कहिलेका थोत्रा किताब पढेर, ठूला सिद्धान्त र क्रान्तिका कुरा गरेर हुँदैन…,’ र ‘शान्ति खलबलिन दिइन्न, समृद्धिको यात्रा रोकिदैन…’आदि ।

वाह–वाह ! १४ वर्ष बनवास बसेर ‘रामराज्य’ चलाईरहेका राम–लक्ष्मण । आज माक्र्सवादमाथि यसरी प्रहार गर्दा र क्रान्तिकारीहरुको धज्जी उडाउन पाउँदा गर्व लाग्दछ होइन महाशयहरु । तर महोदय याद राख, जनता धेरै पारखी हुन्छन् । तिमीहरुले टेकेको धर्ती भुकम्प र भुस्खलनले भरिएको छ । शहीदहरुको रगत पिएर मदहोस नहुनु महाशयहरु । तिनका साथी र परिवारहरुले विश्वासघाती र गद्दारहरुको अनुहार हेर्दै मुर्मुर्रिरहेका छन् । घाइते–अपाङग योद्धाहरुका चहराएका घाउहरु सुतली बम मात्र होइन मानव बम बन्ने स्थिति आउँदैछ । श्रमजीवी र उत्पीडित जनता आक्रोसित छन् । आक्रोस, पीडा र गरीबीको अभिब्यक्ति नै क्रान्ति र माक्र्सवाद हो । इतिहासको अग्रगामी
बाटोमा कोही बाधक बनेर आउँछ भने उसले त्यसलाई किच्दै अघि बढ्नुको विकल्प हुँदैन । पश्चगामी यात्राका महारथीहरु महान इतिहासको पाङग्रामुनी परेर नष्ट हुनुको विकल्प रहँदैन ।

काउत्स्की, खु्रश्चेभ र तङ साओफङका शिस्यहरु भन त माक्र्सवादी पुस्तक कसरी थोत्रा भए ? अनि तिमीहरुका फोस्रा भाषण कसरी नयाँ भए । देशमा स्थापित राष्ट्रिय उद्योगहरु हेटौडा कपडा कारखाना, बुटवलको धागोकारखाना, भृकुटी कागज उद्योग, बालाजु र पाटनका उद्योगहरु, हिमालय सिमेन्ट कारखाना, छाला जुत्ता कारखाना, लुम्बिनी चिनी मिलहरुमध्ये कतिपयलाई दलालहरुको हातमा बेच्नु र कतिपय उतिखेरै हटाउनु अनि देशलाई साम्राज्यवादी बजार बनाउनु–यही हो नयाँ कुरा ! गरीब–दुःखी जनताको टोलटोलमा विद्यालयको सट्टा चर्चहरु स्थापना गर्नु र उनीहरुलाई ‘सहयोगी हात’ ‘मिलीजुली दाजुभाइ’ जस्ता लुटका घर खोलेर बाइबल पढाउनु–यही हो माक्र्सवाद भन्दा नयाँ चीज ! बाइबलका रक्षक डोनाल्ड ट्रम्प र रामायणका गायक मोदिलाई ढोग्नु– यही हो ताजा ब्यवहार ! जनतालाई कङगाल बनाएर मुट्ठीभर राजनैतिक दलालहरु अर्बपति बन्नु–यही हो जीवन ब्यवहार ! …….. शान्ति, विकास र समृद्धिका नाममा जनतालाई बुटमुनि कुल्चिन खोज्नु र विकास बजेटमा नेताहरुले लूट मच्चाउनु कसरी जीवन अनुसारको सिद्धान्त हुन्छ ? त्यसकारण जनताले राम्रोसँग बुझेका छन् कि भेडाको छाला ओढेका ब्वाँसाहरु साधारण ब्वाँसाहरुभन्दा दशगुणा बढी पापी हुन्छन्, मुस्कुराईरहेका बाघहरु दाह्रा र नङग्रा फिजाएर गर्जने बाघ भन्दा दशगुणा बढी डरलाग्दा हुन्छन् र चिनीले बेरिएका गोलीहरु साधारण गोलीभन्दा दशगुणा बढी विध्वंशक हुन्छन् ।

जसरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा बिग्रिएका कम्युनिस्टहरुले फाँसिवादी भूमिका खेलेका थिए त्यसरी नै नेपालमा कुहिएका कम्युनिस्टहरुले सोही भूमिका खेल्न थालेका छन् । पीके र केपीले त्यस्तै भूमिका खेल्दैछन् जस्तो जर्मनीमा शीदेमानले रोजा लक्जेमवर्ग र कार्ल लिब्कनेख्तको निर्मम हत्या गरेका थिए भने भारतमा ज्योति बसुले चारु मजुमदारको हत्या गरेका थिए ।

माक्र्सवादलाई “थोत्रा किताब”को संज्ञा दिने केपी ओली र पीके दाहाल ज्यू, माक्र्सवादका आधारभूत सिद्धान्तहरुमध्ये कुन चाँहि थोत्रो भएको छ । वर्गसंघर्षको सिद्धान्त आधारभूत रुपमा साम्यवाद नआएसम्म बैज्ञानिक हुन्छ । निश्चय नै अहिलेका उत्पीडित र उत्पीडकको स्वरुप बदलिएको छ । नेपालमा सामन्तवादको सट्टा दलाल पुँजीवाद नेपाली जनताको प्रमुख दुश्मन बनेको छ । किसान, मजदुर, सिपाही, सुकुम्बासी र मध्यमवर्ग क्रान्तिका प्रेरक तत्वहरु बनेका छन् । अन्तर्राष्ट्रियरुपमा निगम पूँजीवाद तथा उत्तर साम्राज्यवाद श्रमिक जनताको दुश्मन हो । वर्ग संघर्षको उच्चतमरुप सशस्त्र संघर्ष हो । माक्र्सले ‘पुरानो समाजबाट नयाँ समाज जन्माउन बलले धाईको भूमिका खेल्छ’ भन्ने कुरा आज झन् बैज्ञानिक सावित भएको छ । केपी ओली र पिके दाहालले पुरानो समाजबाट नयाँ समाज बैज्ञानिक समाजवाद जन्माउन बाधक बन्दछन् भने जनता बल प्रयोग गर्न तयार हुन्छन् । दलाल संसदीय ब्यवस्था बचाउन उनीहरु सेना प्रहरीको प्रयोग गर्छन भने जनताले हातमा दही जमाएर बस्दैनन् । ‘बन्दुकबाट छुट्टि पाउन बन्दुक उठाउनैपर्छ’ भनेर माओले व्यवहारिक परीक्षणविना भन्नुभएको होइन । सशस्त्र क्रान्तिबाट सत्ताच्यूत भएको वर्ग जनताको जनवादी अघिनायकत्वबिना हातमा दही जमाएर बस्दैन । उसको प्रतिक्रियावादी आदत नियन्त्रण गर्दै पुनर्संस्कार गरेर मात्र वास्तविक मानव जातिको समाज व्यवस्थालाई साम्यवादमा पु¥याउन सकिन्छ । सर्वहारा अधिनायकत्व अथवा जनताको जनवादी अधिनायकत्व बैज्ञानिक समाजवादी संक्रमणकालको विधि नै हो । त्यसैले माक्र्सले १८४८–१८५० को फ्रान्सेली क्रान्ति असफल भइसकेपछि ‘ फ्रान्समा वर्गसंघर्ष १८४८–१८५०’ नामक कृतिमा भन्नुभएको छ –

‘समाजवाद स्थायी क्रान्तिको उदघोषण हो, सामान्यतः वर्गविभेदको उन्मुलन गर्न, त्यस वर्ग (विभेद–अनु.)मा आधारति रहने सम्पूर्ण उत्पादन सम्बन्ध उन्मुलन गर्न, त्यो उत्पादन सम्बन्ध अनुरुपरहने सम्पूर्ण सामाजिक सम्बन्ध उन्मुलन गर्न, त्यो सामाजिक सम्बन्धको परिणामकारुपमा सम्पूर्ण बिचारको क्रान्तिकारीकरण गर्न आवश्यक रहन्छ।’

यति बैज्ञानिक संश्लेषण गरिएको माक्र्सवादको माथि उल्लेखित किताब कसरी थोत्रो भयो ? यसकारण थोत्रो भयो कि उनीहरुले साम्राज्यवाद र पूँजीवादको दर्शन बहुलवादमा विश्वास गर्न थाले । त्यसैमा पूर्णरुपले आत्मसमर्पण गरे । उनीहरुले वर्गसंघर्ष, सशस्त्र संघर्ष एवं इतिहासमा बल प्रयोगको भूमिका र जनताको जनवादी तथा सर्वहारावर्गको अधिनायकत्वको विरोधमा उत्रिएर जनतालाई आफु दलाल पूँजीवादी भएको स्पष्ट पारेका छन् । नत्र भने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भन्दा अधिभूतवादी आदर्शवाद नयाँ कसरी हुन्छ ? त्यसकारण केपी ओली र पीके दाहाल साम्राज्यवादका दलाल सावित भएका छन् ।

माक्र्स र एङगेल्स आफैले भन्नुहुन्थ्यो–‘माक्र्सवाद कुनै जडसुत्र होइन, बरु कार्यमा पथप्रदर्शक हो ।’ अनि यो कसरी थोत्रो हुन्छ । स्वयं भौतिकवाद गतिको सिद्धान्त हो । त्यसकारण हामीले भनेका छौं कि आज माक्र्सवादका आधारभूत सिद्धान्तलाई दह्रोसँग पकडेर यसको विकास गर्नुपर्दछ । यो विकासको मुर्तिकरण कार्यदिशा र कार्यक्रममा हुन्छ ।

त्यसकारण हामीले कार्यदिशामा एकिकृत जनक्रान्तिको विकास गरेका छौं । हामीले हाम्रो कार्यक्रम बैज्ञानिक समाजवादमा विकास गरेका छौं । अनि संसारभरी सिनो खोज्दै हिड्ने गिद्धहरुले हामीलाई थोत्रो किताब पढेर वा थोत्रो सिद्धान्त रटेर क्रान्ति हुँदैन भन्दै बकवास गर्ने ? माक्र्सवादमा कही सुतली बमको सिद्धान्त हुन्छ भनेर उडाउने धृष्टता गर्ने ? सुतली बमको सिद्धान्त र नियम नभए कसरी त्यो पीके दाहाल र केपी ओलीको टाउकोमा विस्फोट हुन्छ त ? सिद्धान्त थाहा नभएका मुर्खहरुले सिद्धान्तका कुरा नगर्दा ठीक होला कि ? माक्र्सवाद परित्याग गरिसकेका र नवप्रतिक्रियावादमा पतन भइसकेकाहरुले आफ्नो पार्टीको नामबाट कम्युनिस्ट हटाउँदा नै जनता भ्रमबाट मुक्त हुनेछन् । हामी भने लेनिनको उक्ति दोहो¥याइरहनेछौं–‘क्रान्तिकारी सिद्धान्तविना क्रान्तिकारी आन्दोलन हुनै सक्तैन ।’

श्री केपी ओलीले ‘खेल र खाल उठिसक्यो अब च्याँखे थापेर हुँदैन’ भन्ने अभिब्यक्ति रिपोर्टर्स क्लवमा उभिएर नेपाल कम्युनिस्ट पार्टीलाई औलो ठड्याएका छन् । उनले पीके दाहाललाई साक्षी राख्दै उनलाई जुवा हारेको र खेल हारेको सावित गरेका छन् । नेकपालाई जुवा हारेको खालमा च्याँखे थाप्न खोजेको भनी गम्भिर आरोप लगाएका छन् । श्री केपी जी, हामी पीके दाहाल जस्ता क्रान्तिलाई जुवामा दाउ लगाइदिने हारेका जुवाडे होइनौं । हामी बलियो जुवाडेको साथ लिएर कमजोरलाई हराउने च्याँखे पनि होइनौं । हामी जनतालाई बलियो बनाएर उनीहरुमाथि आधारित भइ क्रान्ति जुवामा हालेर भाग्नेलाई जुवा खालमै गाडेर अघि बढ्ने निरन्तर क्रान्तिका योद्धाहरु हांै । हार र जीतबाट गुज्रँदै अन्तिम विजय हासिल गर्न खुकुरीको धारमा हिड्न तयार भएका जनताका बफादार सिपाहीहरु हौं ।

केपीले रिपोर्टर्स क्लवमा रिपोर्ट गरेका छन–साम्राज्यवादलाई खुसी पार्न । उनले भनेका छन्–‘शान्ति खलबलिन दिइन्न, समृद्धिको यात्रा रोकिदैन…।’ नेकपाका विरुद्ध साम्राज्यवादको साथ लिएर यो धम्की ! गद्दारहरुले यो याद गर्नुपर्दछ कि साम्राज्यवादको काल उसकै पेटमा उम्रदै गएको छ । अन्ततः अति एकाधिकार नै साम्राज्यवादको काल हो जसलाई हामीले उत्तर साम्राज्यवाद भनेका छौं । हामी शान्ति र समृद्धिका विरोधी होइनौं, बरु त्यसको बलियो पक्षपाती हौं । इतिहासले धेरैपटक सावित गरिसकेको छ कि शान्ति र समृद्धिको बाधक साम्राज्यवाद र त्यसका घरेलु दलालहरु हुन् । अमेरिका शान्ति, समृद्धि, प्रजातन्त्र र मानव अधिकारका कुरा गर्दछ । तर त्यो नै यस्तो साम्राज्यवाद हो जसले शान्ति, समृद्धि, प्रजातन्त्र र मानव अधिकारको मुकुन्डो लगाएर भर्खरै सिरियामा आइएस नामक गुण्डाहरु लिएर ४ लाख ५० हजार भन्दा बढि जनताको कत्लेआम गरिरहेको छ । यसमा रुस पनि प्रत्यक्ष रुपमै संलग्न छ । त्यहाँ १ करोड भन्दा बढि जनता विस्थापीत भएका छन् । अग्रगामी चेतनालाई ‘थोत्रा किताब’ भन्ने केपी ओली र पीके दाहाल कसरी शान्ति र समृद्धिका अग्रदुत हुन्छसक्छन् ? यी वास्तवमा क्रान्तिकारी आन्दोलनबाट भागेका भगौडाहरु हुन् भन्ने कुरा कोटी–कोटी जनताका मन मतिष्कमा अंकित छ । यी साम्राज्यवादको पूजा गर्दछन् भन्ने कुरा पनि दुनियाँले बुझेका छन् । यी पश्चगमनतिर फर्केका प्रतिगामीहरुले कसरी देशमा समृद्धि ल्याउँछन् । यी शान्ति र समृद्धिका बाहक होइनन्, जनताको सम्पत्ति लुट्ने लुटेराहरु हुन् । यिनले जनताको सम्पत्ति ढुकुटीबाट रित्याएर लाजै नमानी श्वेतपत्र जारी गरेका छन् । उनीहरुले मन्त्रीहरु र सांसदहरु तलबमान बढाइरहेका छन् र विकास बजेटमा भ्रष्टाचार गरिरहेका छन् । देशको विशाल जलश्रोत भारतलाई सुम्पेर ढाडिएका जुकाहरुले क्रान्तिकारीहरुलाई दमन गर्ने र आप्mनो लागि शान्ति ल्याउने दुस्साहस गर्दैछन् ।यो देशमा स्थापित राष्ट्रिय उद्योग र कलकारखाना बेचेर खानेहरुले कसरी समृद्धि ल्याउन सक्छन् ? यहाँबाट कुनै पनि चीज निर्यात हुँदैन । साम्राज्यवादी बजार बनेको छ यो देश ।

अन्तत : माक्र्सवादी किताब र सिद्धान्त थोत्रा भएका होइनन्, बरु केपी र पीकेका दिमाग थोत्रा भएका हुन् । उनीहरु नै थोत्रो साम्राज्यवादका थोत्रा शिस्यहरु हुन् । स्राेत : राताे खबर साप्ताहिक

२०७४ चैत २८ गते अपरान्ह ७ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :