३ महिने युवा अभियान उद्घाटन / भव्य रूपमा जनआन्दोलन दिवस मनाइयो

रोहित ढकाल / जनकपुर : नेपाल कम्युनिस्ट पार्टी धनुषाले २९ औँ जनआन्दोलन दिवश भव्य रूपमा मनाएको छ । धनुषाधाम नपा ५ तेजनगरको कदमचोकमा शनिबार कार्यक्रम आयोजना गरी उक्त दिवस मनाएको हो । दिवसको अवसरमा ३ महिने युवा अभियानसमेत उद्घाटन भएको छ ।

नेकपा धनुषाका इन्चार्ज राजुको प्रमुख आतिथ्य, योङ्ग रेडफोर्सका जनकपुर इन्चार्ज मोहित, पार्टीका जिल्ला जनसरकार प्रमुख विहारी, जिल्ला जनअदालत प्रमुख आदम, मजदुर संगठनबाट देव, धनुषाधाम नगर सेक्रेटरी महेन्द्र, सहिद परिवारबाट सुबेदा खातुनको आतिथ्य रहेको उक्त कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी अमरले गर्नुभएको थियो ।

प्रमुख अतिथि राजुले ’’इतिहासका विभिन्न कालखण्डमा परविर्तनका खातिर भएका आन्दोलनहरूको स्मरण गराउँदै २०४६ सालको जनआन्दोलनको २९ औँ बर्ष पुरा भएको सम्झना स्वरूप कार्यक्रमको आयोजना गरिएको’’ बताउनु भयो । आजसम्म भएका सबै आन्दोलनमा नेतृत्वले गद्दारी गरी आन्दोलनलाई सम्झौतामा लगेर टुड्ग्याई दिएका कारण जनताका अधिकारहरू स्थापित हुन नसकेको बताउँदै वहाँले सबै खाले उत्पीडन, शोषण र अन्याय अत्याचारको अन्त्य गरी जनताको अधिकार स्थापनाका लागि फेरी पनी एकपटक वालिदानीपूर्ण संघर्षमा उत्रिन र एक भएर एकीकृत जनक्रान्तिमा गोलबन्द हुन समेत सम्पूर्ण जनसमुदायलाई आव्हान गर्नुभयो ।

उक्त कार्यक्रममा ३ महिने ’’युवा संगठन सुदृढीकरण तथा वैज्ञानिक समाजवादका लागि युवा’’ अभियान उद्घाटन समेत भएको छ । अभियान उद्घाटन गर्दै प्रमुख अतिथि राजुले युवाहरूको व्यापक सहभागिता बिना एकीकृत जनक्रान्ति पुरा हुन नसक्ने बताउँनु भयो । युवाहरूलाई सफलतापूर्वक अभियान सञ्चालन गर्न र व्यापक रूपमा एकीकृत जनक्रान्त्रिमा सहभागि हुन समेत आव्हान गर्नुभयो ।

अभियान उद्घाटन कार्यक्रमस्थल कदम चोकबाट सरसफाई कार्यक्रमका साथ सुरू भएको थियो । तिन महिनासम्म चल्ने उक्त अभियानमा योङ्ग रेडफोर्सका धनुषा जिल्ला अध्यक्ष कालिमको नेतृत्व तथा स्थानीय युवाहरूको अगुवाईमा प्रत्येक नगर तथा गाउँमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने, सरसफाई कार्यक्रम संचालन गर्ने, सम्पूर्ण युवाहरूलाई वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिमा गोलवन्द हुन आव्हान गर्ने, एकीकृत जनक्रान्तिका पक्षमा युवाहरूलाई संगठित गर्ने, राष्ट्रघाती, जनघाती, भ्रष्टाचारी, दलाल, सुद्खोर र सुराकीहरूका विरूद्ध प्रचारात्मक तथा संघर्षात्मक कार्यक्रम संचालन गर्ने साथै राजनीतिक तथा वैचारिक कार्यक्रमसमेत संचालन गर्ने जनाइएको छ ।
२०७४ चैत २५ गते अपरान्ह ४ ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :