बुटवलमा नेकपाको वृहत आमसभा / जनताको मुक्ति नभएसम्म आन्दोलनबाट फर्कनौं : चन्द

शिव डुम्रे / बुटवल : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले जनताको मुक्ति नभएसम्म आन्दोलनबाट नफर्कने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार नेकपाले रुपन्देहीको बुटवलमा २९ औं जनआन्दोलन दिवसको अवसरमा गरेको बृहत आमसभामा बोल्दै नेता चन्दले राज्य जनताप्रति उत्तरदायी नभएको भन्दै जनताहरुले यतिबेला राज्यविहिन भएको अनुभूति गरिरहेको बेला आफूहरुले जनसत्ता, जनअदालतलाई सक्रिय बनाएको बताए । प्रधानमन्त्री केपी ओलीले विप्लवलाई अराजनीतिक आरोप लगाएकोप्रति टिप्पणी गर्दै नेता चन्दले क्रान्तिकारी नेता स्टालिनलाई संसोधनवादी नेता खुश्चेवले लगाएको आरोपसँग तुलना गरे । एक फरक प्रसंगमा बोल्दै चन्दले हिजो सँगै लडेका बालकृष्ण ढुंगेलहरुलाई जेलमा राखेर बाम एकता गर्ने प्रचण्ड–ओलीको सबै डिजाईन भारतीय दलालहरु भएको पुष्टि ओलीको भारत भ्रमणको क्रममा गरिएका असमान सम्झौताहरुले गरेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेकपामा केन्द्रीय सदस्य भेषराज भुषालले केपीको राष्ट्रवादको मुकुटो भारत भ्रमणले खुस्काएको टिप्पणी गरे । भारत, अमेरिका र युरोपियन युनियनले नेपालमा धार्मिक र जातीय हिंसा बढाएर अशान्ति ल्याउँदै क्रान्तिकारी आन्दोलनलाई कमजोर पार्न खोजेकोप्रति सबैलाई सचेत हुन आग्रह गर्दै नेता भुषालले राज्यले आफ्ना खुला कार्यक्रमहरुप्रति दमन गर्नुभन्दा सेना र पुलिसलाई सिमानाको रक्षार्थ पठाउन सुझाव दिए । बहुदलको पुनर्बहालि भएको ऐतिहासिक ०४६ सालको जनआन्दोलनको २९ औं बर्ष प्रवेशको अवसरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशभर नै वृहत ¥याली तथा आमसभाको आयोजना गरेको थियो । यता लुम्बिनी ब्युरोले पनि लुम्बिनीका ७ वटै जिल्लाबाट आफ्ना पार्टीका नेताकार्यकर्तालाई बुटवलमा जम्मा गरी वृहत ¥यालीको आयोजना गरेको हो । बुटवलको मुख्य बजार चौराहाबाट सुरु भएको ¥याली चौराहा, मिलनचोक, बसपार्क, पुष्पलालपार्क, अमरपथ हुँदै ट्राफिकचोकमा सभामा परिणत भएको थियो । ब्युरोभरीका जिल्लाहरुबाट ५ हजारभन्दा ठूलो संख्यामा रहेका बृहत ¥यालीमा उत्सव झाकीँ तथा पन्चेबाजाहरुले स्वागत गरिएको थियो । कार्यक्रममा जनसांस्कृतिक महासंघ अन्तर्गत क्षितीज सांस्कृतिक परिवारको विशेष प्रस्तुती समेत गरिएको थियो । लुम्बिनी ब्युरो सदस्य तथा कपिलवस्तु इन्चार्ज संगम पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रुपन्देही जिल्ला इन्चार्ज सरद वलीले गरेका थिए भने स्वागत पाल्पा जिल्ला इन्चार्ज सामना वि.क.ले गर्नुभएको थियो ।

सोही कार्यक्रममा नेकपा (माओवादी केन्द्र)लगायतका पार्टीबाट विद्रोह गरी ३५६ जना नेकपामा प्रवेश गरेका थिए । एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष वृहस्पती शुक्ला, जिल्ला सचिवालय सदस्य उमेश कुर्मी, माओवादी केन्द्रका मजदुर संगठन रुपन्देहीका जिल्ला सदस्य राजु केसी, नेकपा माओवादी केन्द्र नवलपुरका जिल्ला सचिवालय सदस्य तथा वाईसिएलका सदस्य अनिल परियार, नेकपा माके पार्टी जिल्ला सचिवालय सदस्य तथा महिला जिल्ला सदस्य नर्मदा रानाभाटलगायत गरी ३५६ जना अन्य पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए । २०४६ सालमा तत्कालीन वाम मोर्चा (मशाल, मसाल, माक्र्सवादी लगायत) र संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको नेतृत्वमा जनआन्दोलनको उत्कर्षमा पुगेको दिनको सम्झनामा नेकपालगायतका पार्टीहरुले प्रत्येक बर्ष चैत २४ गते जनआन्दोलन दिवस मनाउँदै आएका छन् । देशका अन्य ठाउँहरुमा पनि नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(माले), माक्र्सवादी विचार मन्च लगायतले जनआन्दोलन दिवस मनाएका थिए ।

२०७४ चैत २५ गते बिहान ११ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :