हजार माइलको बाटोमा चामुण्डादेवीको मृत्यु : अनिल ‘विरही’

सामाजिक दलाल पुँजीवादी राजनीतिक फाँटको आलोचना र महिमा मण्डित एकसाथ गर्दै आइरहेका कवि, लेखक, नारायण ढकालको नयाँ उपन्यास ‘हजार माइलको बाटो’ हालै प्रकाशित भएको छ । महान् जनयुद्धका कवि रोहित कोइरालाको कालजयी कविता ‘हजार माइलको लामो बाटो’ को एक पंक्तिलाई नै उपन्यासको शीर्षक राखिएकोले माक्र्सवादी फाँटका धेरै पाठकको ध्यान आकृष्ट गर्न सक्छ । गहन संवेदना पैदा गर्नु र त्यसमा टेकेर माक्र्सवाद, वर्गसंघर्ष, जनताको इतिहास, बलिदान तथा परिवर्तनको चाहना र प्रयासलाई निरुत्साहित गर्नु त्यस पंक्तिका बुद्धिजीवीको रणनीति हो । स्वतन्त्र देखिन यदाकदा आफ्नो वर्गप्रतिनिधि (वर्ग होइन) को समेत आलोचना गर्नु उनीहरूको दाउपेच हो । एमालेरूपी सामाजिक दलाल पुँजीवादी पार्टीका कार्यकर्ता नारायण ढकालले आफ्नो नयाँ कृतिमा त्यो भूमिका राम्ररी पुरा गरेका छन् । नेपाली समाजको वर्गसंघर्षको पछिल्लो र उत्कर्ष जनयुद्धलाई बद्नाम गर्नु, विभ्रम सिर्जना गर्नु, न्यूनीकरण गर्नु र भविष्यमा त्यसप्रकारका आन्दोलन उठ्न सक्ने सम्भावनाको जरा उधिन्नु ढकालको नयाँ कृतिको उद्देश्य देखिन्छ । जनयुद्ध विरोधी तिनै साहित्यको पंक्तिमा उनको पछिल्लो लामबन्दी हो ।

साहित्य वास्तविक जीवनबाट कच्चा पदार्थ लिएर जीवनलाई यथार्थभन्दा अझ बढी आदर्शमय, केन्द्रित, सुन्दर, परिस्कृत रूपमा, प्रस्तुत हुने अथवा गरिने सांस्कृतिक उत्पादन हो । गोर्कीको शब्दमा यो ‘दोस्रो प्रकृति’ नै हो । तर यो उपन्यासको उठान नै वास्तविक जीवनभन्दा कोशौँ टाढा बलिउडको स्वैरकल्पना प्रवृत्ति र शैलीको अनुकरणबाट सुरु भएको छ । राजा रणबहादुर शाहले लहडको भरमा काजी बालनरसिंह कुँवर (पछि जङ्गबहादुर राणा) लाई धरहराबाट हाम्फाल्न, हात्ती समात्न, इनारमा हामफाल्न लगाउँथे रे ! एकजना सामन्तीकी छोरी गायत्री (नायिका) नामक धीरेन्द्रसँग प्रेममा आकर्षित हुन्छे । त्यसरी कथा अगाडि बढ्छ । कथाको उठान नै वास्तविक जीवनभन्दा टाढा छ र गलत छ । माक्र्सवादी सौन्दर्य चिन्तनसँग कथाको उठान नै गोरु बेचेको साइनोसमेत नजोडिएको बुझ्न सकिन्छ ।

शासक वर्गको भाषाले शासित भाषालाई कसरी खान्छ भन्ने व्यावहारिक उदाहरण ढकालले प्रस्तुत गरेका छन् । “नेपालीमा अनुत्तीर्ण होइन्छ भन्ने भयले उसका पढेलेखेका छिमेकी र नातेदारले उसलाई नेपाली मात्र बोल्न हौस्याएका थिए । अझ उसलाई भनेका थिए– “पर्वते साथीहरूसँग मात्र संगत गर्नु, उनीहरूको संगतले नै चाँडै नेपाली सिकिन्छ र जाँचमा पनि सजिलो हुन्छ , डर हुँदैन” ढकाल भन्छन्– पर्वते भाषाले नेपालका अन्य भाषालाई कसरी बर्बाद गर्दै गएको छ ? यो सटिक उदाकरण हो । भाषालाई दैनिक जीवन निर्वाहको साधनबाट अलग गरिदिएपछि स्वतः मर्दै जान्छ ।

प्रेमी–प्रेमिकाको बीचमा प्रेमभाव प्रकट गर्ने आ–आफ्नै शैलीहरू हुन्छन् । ती शैलीहरू सामाजिक चेतना र त्यसले पैदा गरेको प्रचलित संस्कारभन्दा बाहिर हुँदैनन् । सामन्ती समाजमा नारी जाति पुरुषको दासी ठानिन्छे । त्यस अर्थमा पुरुषको गोडा धोएर पानी खानु, भित्री वस्त्र सफा गरिदिनु कुनै बेला सामान्य घटना थियो तर आज यो संस्कार विवाहित र कट्टर खस ब्राह्मण समाजमा पनि छैन । अझ विवाह पूर्व त त्यस्तो कल्पनै गर्न सकिन्न । त्यसप्रकारको चेतना भएको समाजमा प्रेम विवाह हुनु, त्यसप्रकारको सोच बनाउनु सम्भव पनि हुँदैन । प्रेमिका गायत्रीले धीरेन्द्रासँग प्रेमभाव प्रकट गर्न उसको भित्री वस्त्र धोइदिन्छे । हेरौँ त्यसप्रकारको सन्दर्भ– धीरेन्द्रले नुहायो । नुहाएपछि तौलिया बेरेर कट्टु फे¥यो । कट्टु धुन लाग्दा गायत्री नजिकै आई र उसको हातबाट खोसेर साबुन धस्न थाली ।” आजको नेपाली समाज यथार्थसँग यो प्रेमभाव प्रकट गर्ने शैली यथार्थपरक छैन । यद्यपि यो पञ्चायतकालीन प्रसङ्ग हो । अपवादमा त्यसप्रकारको शैली भए नै पनि त्यसप्रकारको शैली आदर्श हुन सक्दैन । जीवनमुखी, जनमुखी, लेखकले पछौटे प्रवृत्ति र पात्रलाई नायक बनाउन सक्दैन । आफूलाई प्रगतिवादी भन्न रुचाउने नारायण ढकालको यस्तो प्रस्तुति महिला मुक्ति र स्वाभिमानको विपक्षमा रहेको छ । यो पुरुषवाद, हिन्दु धार्मिक रुढिवादी चेतनाको झुसिलो डकारजस्तो लाग्दछ । त्यसैले यो कृति महिला मुक्ति आन्दोलनको विपक्षमा पछौटे चेतना बोकेर आजको समयको किचकन्या बनेर उभिएको छ ।

एउटा क्रान्तिकारी बाटोमा लाग्दै गरेको युवाको मनोविज्ञान कस्तो हुन्छ ? समाजको नियमित प्रक्रिया र जीवनदृष्टि कस्तो हुन्छ ? यस विषयमा लेखक उपन्यासको नायक धीरेन्द्रमार्फत भन्छन्– “उसलाई सबका सब विद्यार्थी देखेर विरक्त लाग्न थाल्यो । मूर्खहरू ! जीवनको लघु आकाङ्क्षाले पीडित मूर्खहरू ! छिटोभन्दा छिटो प्रमाणपत्र हत्याउने, सरकारी जागिरमा झुण्डिने, एउटा भाले वा पोथीको व्यवस्था गर्ने र बच्चा कोरल्ने सस्तो सपना बोकेर आएका अदना मूर्खहरू !” धीरेन्द्रमा आएको त्यसप्रकारको जीवन दर्शनसँगै नयाँ सामाजिक अन्तरविरोध देखापर्दछ । क्रान्तिकारीको जीवन स्वाभाविक नभएर अप्राकृतिक स्वरूपमा प्रकट गराउँछन् लेखक ढकाल ।

उपन्यासमा धीरेन्द्र, मनोहर, दिलबहादुर जस्ता जाली फटाहा, अपराधी मनोवृत्ति भएका र सामन्ती उत्पीडनको कारण पीडित पात्रहरू उभ्याइएका छन् । उनीहरूले भोगेका पीडा, उत्पीडन र विकृतिको अन्तर्यमा निजी सम्पत्ति सम्बन्ध मूल कारण हो । निजी स्वामित्वको उन्मूलन र समाजवादी समाज व्यवस्था स्थापना त्यसको उपचार विधि हो तर लेखकले त्यसलाई नियतिको खाडलमा धकेलेर छोडेका छन् । जनताहरू दैनिक जीवनका समस्याबाट उन्मुक्तिको चाहना बोकेर कम्युनिस्ट पार्टीको नजिक आउँछन् । भावना विचार निर्माणको ढोका हो । ऋषिमुनि सन्त वा ब्रह्मज्ञानी भएर कोही पनि आन्दोलनमा आउन्न र त्यसप्रकारको अवस्था न्यून हुन्छ । लेखक ढकालले पीडित, अपमानित, उपेक्षित, शोषित भएर आएको क्रान्तिकारी पंक्तिलाई स्वार्थलम्पट कार्यकर्ताका रूपमा प्रस्तुत गरेका छन् । उनी वैज्ञानिक विचार र दर्शन जनतामा पुगेपछि त्यो भौतिक शक्तिमा बदलिन्छ भन्ने मान्यताको विपक्षमा देखिन्छन् । उनी रूपान्तरणको मानवीय गुणलाई अस्वीकार गर्छन् । उनी भन्छन् “सायद यही हीनताबोध र ‘स्व’ स्थापनाका निम्ति आफूभित्र जन्मेको अस्तित्वबोधले नै उसलाई नेपालको वाम राजनीतिमा छिटोछिटो डुबाउँदै लग्यो ।” यसरी उपन्यासकार ढकालले नेपाली राष्ट्रियताको रक्षा, राजतन्त्र र सामन्तवादको विरुद्ध, मानवजातिको स्वतन्त्रताको पक्षमा भएको गंगालाल श्रेष्ठ, आजाद ऋषि देवकोटा, कृष्ण सेन इच्छुक हुँदै आजसम्मका सारा बलिदान र आदर्शको न्यूनीकरण गरेका छन् । सायद यसरी सत्तारुढ वर्गको चाकरी गरेर उनले मदन पुरस्कारको भीख मागिरहेका होलान् ।

माओ त्से तुङ र जोसेफ स्टालिन क्रान्तिकारी माक्र्सवाद र संशोधनवादरूपी दलाल पुँजीवादको सीमारेखा भएका छन् । उपन्यासकार ढकालले वाम आन्दोलनको गीत गाउँदै त्यसैको हुर्मत लिने विभीषणाको भूमिकामा देखिन्छ । सबै सबै छद्म पुँजीवादी लेखकहरूले जसरी नै ढकाल महोदयले माओ सांस्कृतिक क्रान्ति र स्टालिनप्रति विषवमन गरेर निगम पुँजीवादको ‘नूनको सोझो’ गरेका छन् ।

उपन्यासको मध्यममा पुग्दा नपुग्दै उपन्यासकार लेखकले वर्गदृष्टिकोणको विषयमा बहस उठाएर छन् । वर्गसम्बन्ध के हो ? वर्ग र संस्कृतिको सम्बन्ध कस्तो रहन्छ ? त्यससम्बन्धी वर्गीय दृष्टिकोण के हो ? यी प्रश्नहरू एकसाथ आउँछन् । हेरौँ केही वाक्यहरू –
“अनि एउटै घरका दुई वर्ग हुन्छन् कि हुन्नन् ?”
“हुन्छन् किन हुन्नन् ? वर्ग भनेको आर्थिक र सांस्कृतिक दुवै कुरा हो । तसर्थ, एउटै घरमा पनि दुई वर्ग हुन सक्छन् । विचारमा बाबु एउटा र छोरो अर्को वर्गका हुन सक्छन् ।”

भनिन्छ मान्छेका मानसिक अवस्थाहरू उसका भौतिक अवस्थाका प्रतिविम्बहरु हुन् । सांस्कृतिक सम्बन्धहरू आर्थिक सम्बन्धका अभिव्यक्ति हुन् । आर्थिक वा उत्पादन सम्बन्धले संक्रमणकाल पूरा गर्दा नगर्दै आर्थिक र सांस्कृतिक सम्बन्धहरू एकै दिशामा प्रवाहित भैहाल्छन् । कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स त्यसका उदाहरण हुन् ।

उपन्यास जब २०४६ सालको परिवेशमा प्रवेश गर्छ, उपन्यासमा अनौठा, आकस्मिक संवेदनाहरू पोखिन्छन् । २०४६ सालको सहिदमञ्चको पहिलो सभामा नेता गिरिजाप्रसाद कोइरालाले ‘यो जित कांग्रेसको हो, यो जित पञ्चको पनि हो, यो जित राजाको पनि हो’ भन्नासाथ उग्रविरोध भयो । तर गिरिजाप्रसाद कोइरालाले सही भनेका थिए । २०४६ सालको जनआन्दोलनमा एकातिर कांग्रेस वाममोर्चा थियो । दुई मोर्चाका अलग अलग कार्यक्रमहरू थिए । चैत २४ गतेको उत्कर्षले गणतन्त्र र जनतन्त्रको माग ग¥यो । कांग्रेस राजा र वाममोर्चाको हातबाट नारा र मुद्दा फुस्केको थियो । त्यसकारण हतार–हतार सम्झौता गरियो । ढल्न लागेको राजतन्त्र र दण्डित गर्नुपर्ने पञ्चहरूलाई प्रतिस्पर्धा गर्ने अवसर दिइयो । त्यसकारण त्यो जनताको हार थियो । पञ्च, राजा र कांग्रेसको जित थियो । जनआन्दोलनको सुरु नै जनताको अपेक्षा र स्वार्थको विपक्षमा थियो । एमाले (तत्कालीन माले) वृत्तका बुद्धिजीवीहरूको आँखामा उसैबेला मोतीबिन्दुको रोग लागेको खुलासा गरिएको थियो । गिरिजाले सभामा बोलेका कुरा सही थिए । समयले पुष्टि गरेको यथार्थबाट जनतालाई वञ्चित गर्ने ठालुहरू विदेशीको निर्देशनमा नखरा गर्नेहरू नै समस्या हुन् ।

उपन्यासका नायक धीरेन्द्र राजनीतिक रूपले माले कार्यकर्ता हुन् । जुन पार्टीले २०३५ सालमा नै माओविचार मुल्तबीमा राख्यो । त्यसपछि पक्ष विपक्षमा बहस चलाउने भन्यो । यथार्थमा बहस नभएर माओ र स्टालिनको विरुद्ध जनमत बनायो । त्यसपछि दू्रतगतिमा साम्राज्यवादी विचार र उसका दलालहरूको घुसपैठ गरायो । जनमत संग्रहलाई सुरुमा सक्रिय बहिष्कार भन्यो । केही दिनमै बहुदलको विपक्षमा नजाने भन्यो र चुनाव नजिक पुग्दा बहुदलमा मतदान गर्नु सही हुने धारणा सार्वजनिक ग¥यो । त्यसप्रकारको विचलन र अस्थिरताको गर्भाधारण माले पार्टीमा २०३५ सालमै भएको थियो तर ढकालहरूको दृष्टिशक्ति कमजोर भयो । जुन देख्न उनलाई १ दशक कुर्नुप¥यो । हेरौँ, अर्को केही अंश– “यस्ता अनेक प्रश्नले आफूलाई लखेटिरहेका बेला धरिेन्द्रको आस्थाको धरोहर मानिएको पार्टीले पहिलेको सादा जीवन, उच्च विचार र प्रगतिशील बाटो छोड्न थाल्यो । त्यसले संविधान जारी भएपछि सत्ताइस बुँदामा फरक मत राखेर आलोचनात्मक समर्थन गरेको थियो । तर केही समयमै नजानिंदो तवरले ती बुँदाहरू बिर्सिएझैं ग¥यो ।” तत्कालीन माले पार्टीको सन्दर्भमा त्यो कुनै नयाँ परिघटना थिएन । माक्र्सवाद परित्याग गरेपछि प्रतिध्रुवीय कित्तामा जानु, बुर्जुवा सत्ता स्वीकार गर्नु र त्यसको कारिन्दा बन्नु अनिवार्य थियो । उपन्यासकारको एउटा आत्म–स्वीकृति भने मननयोग्य छ । उनी भन्छन्–
“हिजो हामीले सोभियत संघ पक्षीय कम्युनिस्ट पार्टीलाई संशोधनवादी भन्थ्यौँ, कांग्रेसलाई नयाँ मण्डले भन्थ्यौँ । आज आएर हामी पनि उनीहरू जस्तै भयौँ कि ?”
के फरक छ त, मात्र झण्डा र इतिहासको अहंकारबाहेक ?”
मानवजातिको मुक्ति आन्दोलनमा राष्ट्रघात–प्रतिक्रान्तिहरू भइरहेको छन् । ठेस लाग्छन् । बलिदान हुन्छ । त्यस्तो बेला निराशा हुन्छ । असन्तुष्टि हुन्छ । एकथरी आत्महत्याको बाटो लाग्छन् वा दास बन्दछन् । अर्कोथरी विद्रोह गर्छन् । “आफ्नो स्वतन्त्रता र मुक्तिको लागि हतियार उठाउन तयार नहुने मजदुरहरू दासको व्यवहार गरिन लायक हुन्छन्” लेनिनने भन्नुभएको छ तर उपन्यासकार निराशा र वर्गसंघर्ष अर्थात्् माओवादलाई एउटै देख्छन् । उनी भन्छन्–‘म निराशा भएको त छैन । यो मेरो आलोचना हो, आन्दोलनप्रति म निराश छैन, निराशाले कि आत्महत्या कि त माओवाद खोज्छ … ।’ ‘ मैले भनिहालेँ– माओवादी युद्ध क्रान्तिको नाममा कि त आत्महत्या, कि त ठगी हो ।’

बुद्धिजीवीको नाममा नारायण ढकालहरू भाडाको बुद्धिजीवी बन्नु, दलालहरूको चाकरी गर्नु, ऐतिहासिक भौतिकवादका नियमहरू अस्वीकार गर्नु स्वभाविक हो । उनीहरूले भोगिरहेको गणतन्त्र शान्तिपूर्ण सडक नखराको बलमा प्राप्त भएको हो ? यो जनताप्रतिको भयानक अपमान र हिंसा हो कि होइन ? माओ त्से तुङले त्यसप्रकारका दुष्टहरूलाई ‘कलमका हत्यारा’ अर्थात् रगत नबगाईकन जनताको हत्या गर्ने अपराधी’ भन्नुभएको छ । संशोधनवादीहरूको सदबहार विशेषता के हो भने उनीहरू पूर्ववर्ती विद्रोहको समर्थन गर्छन् र आजको विद्रोहको विरोध गर्छन् । सत्ता धारी र शासक वर्गलाई उनीहरू सहयोग गर्छन् । आजको विश्व बदलिएको छ, शोषण बदलिएको छ । साम्राज्यावाद बदलिरहेको छ । त्यसकारण क्रान्तिको बाटो र तरिका बदल्नुपर्छ । त्यो कुरा सही होला तर भाडाका बुद्धिजीवीहरूको सुझाव के त आत्मसमर्पण ? चौतर्फी निराशा, पलायन, अकर्मण्यता, अविश्वास, अराजकता, पसुचेत, उपभोक्तावाद सृजना गर्नु र लुटको राज्य उथावत् राख्न सहयोग गर्नु सदाचार हो ? यो देश बर्बाद हुनुमा भाडाका सिपाहीभन्दा बढी भाडाका बुद्धिजीवी दोषी छन् भन्ने छर्लङ्ग हुन्छ । क्रान्तिले क्षतिको सामना गरिरहेको बेला यस्ता नपुंसकहरू सिंह–जुरो उध्याएर आउँछन् र शासकको चाकरी बजाउँछन् । चाकरीमा पनि आ–आफ्नै भङ्गिमा हुन्छन् ।

हरेक आन्दोलन कमजोर हुँदा प्रतिक्रान्तिहरू त्यसको गला रेट्न कम्मर कस्छन् । जब आन्देलन शक्तिशाली बन्दै जान्छ, जनदुश्मनहरू साखुल्ले बनेर घुसपैठ गर्छन् र जनविरोधी काम गर्छन् । अझ यो भन्न सकिन्छ, जितको समयमा प्रतिक्रान्ति चाकरी गर्दै आउँछ भने हारको समयमा त्यो आलोचना गर्दै आउँछ । पार्टीे रङ्ग बदल्दै गएपछि त्यो विरोधीको शैली चन्दैन । धीरेन्द्र भन्दछ, ‘ माक्र्सवादका सबै पुराना शब्दावली त्यागेर पुराना पञ्चहरूको बाटोतिर अग्रसर एमालेको डीएनएमा नरेन्द्रनाथ मिलिसकेका थिए तर सशस्त्र युद्ध गरिसकेका माओवादीमा जान खुट्टा उचाल्नु ज्यादै असाधारण कुरा थियो ।’ चमेराहरू नचिन्नु आन्दोलनको समस्या हो तर त्यो नै मूलपक्ष होइन । अर्कोतिर तत्कालीन शाही सेनाको भाषा बोल्छन् उपन्यासकार । माओवादीले जनतालाई धम्क्याएर बन्दुक तेर्साएर बास लिन्थ्यो भन्न पुग्छन् उनी । कारिन्दारले मालिक रिझाउन त्यत्ति गर्नपथ्र्यो । माओवादले आलोचनाको स्वारमाथि प्रतिबन्ध लगायो, आलोचना गरेकै कारण यातना, हत्या ग¥यो । उनी भन्छन्, मेरो प्रश्न छ, २०४८ सालमा शान्तिपूर्ण जनसंघर्ष गर्दा दर्जनौँ नागरिक मार्ने तिम्रो प्रजातन्त्र कि माओवाद ? सरमछाडा नराधमहरूलाई इतिहासको मान्यता हेक्का पनि नहुँदो रहेछ ।

जनताको विद्रोहमा अकल्पनीय धोका भएको छ । त्यसकारण उसबेलाका योद्धाहरू नायकहरू अनेक रूपमा छरिरहेका छन् । कहालिलाग्दा दृश्यहरू यत्रतत्र छरिएका छन् । कांग्रेसले राणा र दरबारसँग सम्भmौता गरेपछि, एमालेले वर्ग पक्षधरता छोडेपछि त्यस्तै भएका थियो । एउटा पात्र सतीको श्राप सम्झन्छ । समयलाई बुझ्न नसक्दा भएको परिणाम ठान्छन् उपन्यासकार ढकाल । हामी त्यसप्रकारको निष्कर्षमा पुगेका छैनौँ । पराजय सधैं अवैज्ञानिक हुन्थ्यो भने कपर्निकस, न्युटन वा जेम्सवाट सधैँ गलत सावित हुन्थे । एक झमटमा इतिहासको समग्र मूल्याङ्कन हुँदैन ।

उपन्यासकार ढकालले संसदीय व्यवस्थाको चुनाव र लोकतन्त्रको भने सटिक चित्रण गरेका छन् । एकजना पात्र भन्छ, ‘घर–घरमा राखिएका साइनबोर्डहरूको हुलमा सबैजसो राष्ट्रिय पार्टीको उपस्थिति थियो । ती भविष्यमा हुन सक्ने अर्को निर्वाचन पर्खेर बसेका अजिङ्गरजस्ता लाग्थे । भोको अजिङ्गर, जोे कुनै सिकार कुरेर बसेको छ ।’ के यी भोका अजिङ्गरले नेपाली समाजका समस्याहरू समाधान गर्न सक्लान् ? तत्कालीन माओवादीले बुर्जुवा शिक्षाको अभ्यास ग¥यो । अर्कोतिर निजी विद्यालय बन्द गराउने प्रयास गरेकै हो । बुर्जुवा शिक्षा बहिष्कारको आविष्कारक ढकालकै पार्टी तत्कालीन नेकपा (माले) हो । बडा बुद्धिजीवीमा यो कस्तो स्मृति–भ्रम !

नेपालसहित विश्वका सबै वाद, विचार, दल र नेताहरूलाई साम्राज्यवादरूपी ‘रक्तबीज’ ले खाइरहेको उपन्यासकारको निष्कर्ष छ । शिवको आशीर्वादले मैमत्त रक्तबीज नामक राक्षस समन गर्न सक्ने चामुण्डादेवीको पुनर्जन्म आवश्यक देख्छन् उनी । आजको चामुण्डादेवी नेपाली जनता हुन् । किसान, मजदुर, देशभक्त, श्रमिक हु्न् । हेपिएका–च्यापिएका नर–नारी हुन् । रुसमा लेनिन, चीनमा माओ, भियतनाममा हो ची मिन्हको अवतारमा चामुण्डादेवी प्रकट भए । नेपालमा पनि उनको जन्म हुन्छ, अर्को विकल्प छैन । जहाँ समस्या, त्यहाँ समाधान, जहाँ रक्तबीज यहाँ चामुण्डादेवी । हो आजको रक्तबीजले पुरानो हतियार फालेर नयाँ हतियार बोकेको छ । आजको चामुण्डादेवीले पृथ्वीजत्रो जिब्रो बनाएर होइन, नयाँ हतियार बोकेर मात्र आजको मानवद्वेषीे राक्षस समन गर्न सक्नेछिन् । तर उपन्यासकार नारायण ढकालको चामुण्डादेवीको नजन्मँदै मृत्यु भइसकेको छ । उनको बाझो गर्भमा चामुण्डादेवीको जन्म सम्भव देखिन्न तर नेपालमा नयाँ चामुण्डादेवीको बीजारोपण भइसकेको छ । उसको गर्भेतरङ्ग मात्रैले राक्षसजगत्मा हल्लीखल्ली भइसकेको छ । जसबाट उपन्यासकार ढकालसमेत त्रसित देखिन्छन् । स्रोत: रातो खबर साप्ताहिक

२०७४ चैत २३ गते अपरान्ह ४ : ४७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :