केपी ओलीको भारत भ्रमण सरकार टिकाउन राष्ट्रघात !

काठमाडौं : यही चैत २३ गते केपी शर्मा ओली भारतको भ्रमणमा जाँदैछन् । सरकारी पक्षबाट ओलीको भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नगरिने बताइराखिएको छ । यसो भनिए पनि ओली सरकारले महाकाली सन्धिको कार्यान्वयन पञ्चेश्वर आयोजनाको निर्माणप्रक्रिया सुरु होस् र दक्षिणएसियाली सहयोग सङ्गठनको बैठक बस्ने वातावरण भारतले गरिदेओस् भन्ने चाहना राखेको देखिन्छ । यसका साथै जलस्रोतसम्बन्धी बिजुली विनिमय गर्न ‘इनर्जी बैङ्किङ’, महाकाली सन्धिको कार्यान्वयन, पञ्चेश्वर परियोजनाको निर्माण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटी, भारतको निर्देशिकामा फेरबदल, लम्की–बेलौरी अन्तरदेशीय प्रसारण लाइन निर्माणजस्ता एजेन्डा बनाएको बुझिन्छ ।

किन राष्ट्रघाती छ अरुण ३ परियोजना

चैत २४ गते भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदर मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्लीस्थित हैदराबाद हाउसबाट शिलान्यास गर्दैछन् । यो परियोजना नेपालमा सबैभन्दा बढी विवादित छ । नेपालका जलस्रोतविद् र देशभक्तहरूले विरोध गर्दै आएका छन् । यसरी विरोध गर्नुको कारण यो परियोजना राष्ट्रघाती छ । भारतीय कम्पनी सतलजले निर्माण गर्ने परियोजनाबाट ९०० मेगावाट बिजुली उत्पादन हुन्छ । त्यहाँ उत्पादित विद्युत्बाट नेपाललाई २१.९ प्रतिशत नेपाललाई दिने भनिएको छ र विद्युत् उत्पादन भएको २५ वर्षपछि उक्त परियोजना नेपाललाई हस्तान्तरण गर्ने भनिएको छ । यसरी हेर्दा यो परियोजना नेपालको हितमा भएको जस्तो लाग्दछ । तर यो परियोजना निर्माण गर्दा स्थानीय जनतालाई उक्त परियोजनाको सेयर किन्ने अधिकार छैन । नेपाललाई दिने भनिएको विद्युत्को नियमन गर्ने कुनै संयन्त्र निर्माण गर्ने प्रावधान छैन । जसले गर्दा भारतले नेपाललाई दिने भनिएको विद्युत्को कुनै सुनिश्चितता छैन । २५ वर्षपछि त्यो परियोजना जीर्ण भएको हुन्छ र उत्पादन क्षमतामा ठूलो मात्रामा ह्रास हुन थाल्छ । त्यसले गर्दा यसको विद्युत् उत्पादन दक्षता ह्रास भएर जान्छ । यस्तो परियोजनालाई बूढो भनिन्छ । यस्ता परियोजना मर्मतसम्भारमा ठूलो रकम लाग्दछ । त्यसैले यो परियोजना राष्ट्रघाती छ ।

महाकाली र पञ्चेश्वर

२०५० सालतिर एमाले मित्रहरूले ‘महाकाली नदी साझा हो पानी आधाआधा हो’ भन्ने नारा लगाउँदै आन्दोलन गरेका थिए । त्यही क्रममा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय गाडी दुर्घटनामा मृत्यु भएको थियो । महाकाली सन्धि र पञ्चेश्वर परियोजनाको एमालेले विरोध गरेकाले भण्डारी र आश्रित मारिएको भनी प्रचार गरेका थिए । विरोध हुँदाहुँदै २०५२ साल माघमा सन्धि भएको थियो । पहिला विरोध गरे पनि एमालेले उक्त सन्धिका पक्षमा संसद्मा मतदान गरी पारित गराउने भूमिका निर्वाह गरेको थियो । त्यही परियोजनालाई जसरी पनि पूरा गराउने भनी केपी ओली लागिपरेका छन् ।

श्वेतपत्रको खेल

गत शुक्रबार अर्थात् चैत १६ गते केपी ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा उनका अर्थमन्त्री युवराज खतिवडाले संसद्मा ९ बुँदे श्वेतपत्र जारी गरेका थिए । भारतमा हुन लागेको भ्रमणलाई प्रभाव पार्ने गरी जनतामा भ्रम छर्न यसो गरिएको बुझिएको छ । उक्त श्वेतपत्रमा समावेश तथ्यहरू पूरै आधारहीन भएको अर्थविद्हरूले बताउँदै आएका छन् । अर्थमन्त्रीले यसो गर्नुको आशय केपी ओली भारत गएर सन्धि वा सम्झौता गरेपछि नेपालको अर्थतन्त्रमा तीव्र विकास हुँदैछ भन्ने देखाउनु रहेको छ ।

केपीको संसद्मा भाषण

२० गते संसद्मा ५० मिनेटसम्म दिएको भाषणमा केपी ओलीले भारतसँग गर्ने छलफल र निर्णयको पुलिन्दा नै पेस गरेका छन् । भारत भ्रमणका क्रममा उनले विगतका सम्झौता र सन्धिहरूलाई कार्यान्वयन गर्न विशेष जोड गर्ने र नयाँ थप पनि गर्ने कार्ययोजना भाषणका क्रममा पेस गरेका थिए । उनले भारतसँगको सम्बन्धलाई व्यापक विस्तार र सुदृढ गर्ने कुरा पनि गरेका छन् । भारतले सबै कुरा गरिदिने तर्कहरू ओलीले राखेका थिए । मोदीले भन्दै आएको कनेन्टिभिटीलाई उनले विशेष जोड दिएका छन् ।

यी तथ्यहरूबाट कुनै बेला राष्ट्रवादी देखिएका केपी ओली आफ्नो सरकार टिकाउनका लागि मात्र भए पनि भारतका सामु झुक्दैछन् । यो भ्रमणले उनले अघिल्लो सरकारको पालामा देखाएको राष्ट्रवाद धराशयी हुँदैछ । स्रोत : रातो खबर साप्ताहिक

२०७४ चैत २१ गते बिहान १० : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :